नेताको छोरा २ - टिकट, उत्साह र यात्रा



(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)

"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् ।
मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?"
मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!"
"कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।

यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर्वाचनमा प्राप्त गरेको टिकटका बारे थाहा पाएपछि मैले बाबाटै आधिकारिक पुष्टी लिन चाहेँ । फोन गरेँ । बाको फोन लगभग डेढ घण्टासम्म ब्यस्त रह्यो त्यो दिन । पछि फोन गरेर थोरै दुखेसो पनि पोखेँ, "बा कति ब्यस्त के तपाइँको फोन ? डेढ घण्टामा बल्ल लाग्यो ।"
"चुनावमा मेरो टिकट भो बाबु, त्यो भएर यहाँ साथीभाईको बधाईको फोन आएको आयै छ ।" फोनमा बाको आवाजबाटै म वहाँको भावभंगिमाको अनुमान गर्न सक्थेँ । पक्कै पनि अत्यन्तै धेरै खुशीले बाको मुहार धपक्कै बलेको हुनुपर्छ । २ मिनेट ३४ सेकेण्डको कुराकानीमा मैले अन्तिम प्रश्न गरेँ, "बा, जितिन्छ त चुनाव?" अलिकति उत्साह अनि केहि आशङ्काका बीच बाले जवाफ दिनुभो- "जितिएला नी!" मैले ढाडस दिदै भनेँ, "अब चुनावमा उठेपछि जितिएला नी भनेर कहाँ भो ? जितिन्छ भन्ने हुनुपर्यो नी !" सायद पुत्रको हुनुको धर्म निर्वाह गरिरहेथेँ म । मैले दुई पटकसम्म "बा बा" भनिरहेँ । बाको कुनै जवाफ आएन । लगत्तै टुई टुई --- आवाज सहित फोन विच्छेद भो ।

नेपाल गएर फर्केको ३ हप्ता हुँदै थियो, फेरि नेपाल जानु पर्ने अवस्था बन्न थाल्यो । मलाई खासमा चुनावी भुङ्ग्रोमा पर्नलाई उति इच्छा जागिरहेको थिएन । तर धेरै प्रबुद्द मानिसहरूकै मत के रह्यो भने, छोरा भएको नाताले बासँग साथमा हुनु अनिवार्य शर्त हुनजान्छ । उसोभए राजनीतिमा बाले खर्च गरेको उर्जाशिल समय, मेहनत अनि योगदानको अवमुल्यन भएन र ? मेरो मनले मलाई नै प्रश्न गर्यो । म नाजवाफ नै रहेँ । कुनै एउटा ब्यक्तिले राजनीतिमा दशकौं लगानी गरेपनि चुनावी मैदानमा घरकै सदस्य भएका नाताले जिम्मेवारी लिनुपर्ने भए संगठन, सहयात्रीहरूको उपादेयता चाँहि के रह्यो त ? धेरैलाई मेरो प्रश्न बकबास लाग्यो । अधिकांशले यसलाई भावनासँग जोडेर मलाई नै प्रतिप्रश्न गरेँ, "हैन तँलाई बाको माया लाग्दैन ?"

"हैन तँलाई बाको माया लाग्दैन?" साधारण वाक्य नै हुनसक्छ, जसले केहि पटक तपोबन पुगेर ध्यानमग्न भएको अनुभव गरेको छ । तर म? मसँग त्यो स्वर्णीम अनुभव छैन । त्यसैले, मनमै बिझ्यो । झटपट मैले टिकट पनि हेरेँ । कतारमा १५ घण्टाको विश्राम हुने गरी मैले नेपाल जाने टिकट लिएँ । त्यो टिकटसँगै मनमा अनेकन् रणनीति, दाउपेच, योजनाका एउटा लामो श्रृङ्खला नै तयार भो । तिनै दाउपेच, रणनीति, योजना अनि चुनावी रणनीतिमा केहि उन्नत परिवर्तन गर्ने उत्कट चाहनाका बीच मैले फेरि हबाइजहाजमा पाईला राखेँ । चूनौती, उत्साह, जिम्मेवारी र परिवर्तनका केहि अठोटले भरिपूर्ण त्यो यात्रा मेरो जिन्दगीकै एक उत्साहपूर्ण यात्रा थियो ।

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)