नेताको छोरो ४, गोजीमा कति छ ?

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्रो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)


image: image source
यो श्रृङ्खला चुनावका लागि उता नेपाल गएर यता फिनल्याण्ड आइसकेपछि पनि चुनावको ह्याङले धेरै दिनसम्म रन्थनाएका कारण लेख्न आरम्भ गरेको थिएँ, किन्तु, तीन वटा श्रृङ्खला लेखिसकेपछि यसलाई बिचमा छाड्न पुगेछु । अपितू, लेख्नै छाडिसकेको चैं छैन । अतः आज ७ महिनापछि उक्त श्रृङ्खलाको अर्को अध्याय पस्कने कोशिस गरेको छु । 

काठमान्डू ओर्लिसकेपछि चुनावी गर्मीको नमीठो हपहपले स्याप्पै पार्यो । कस्तो अत्यास लागेको जस्तो अनुभूति गर्न पुगेँ मैले । वाक्क लागेर आयो । खासमा त्यस्तो ठूलो उत्साह पनि ममा थिएन । सिवाय, बिसौं बर्षको बुबाले पार्टी राजनीतिमा पुर्याउनुभएको योगदानस्वरूप निकै धपेडीपश्चातः संघिय सांसदको उम्मेदवारीको टिकट पाउनुभएकोमा चाँहि नजानिदो तरिकाले खुशी थिएँ । बस त्यत्ति । त्यहाँभन्दा परको स्वार्थ ममा केहि थिएन ।अहिले यस्तो लेख्दै गर्दा यो पढ्ने जति धेरैलाई बाले जितेको भएर जेपनि लेखेको जस्तो लाग्न सक्छ, त्यो स्वभाविक पनि हो । तर घर पुगेपछि बुबासँगको भेटमा एउटा संवादको जति महत्व थियो मेरा निम्ति त्यो भन्दा पर अरू खासै महत्व राख्ने केहि थिएन ।  

चुनावी खर्च जुट्ने क्रममा थियो । विशेषतः देश विदेशमा रहेका गाउँलेहरू त्यसमा पनि बुबासँग शिक्षा ग्रहण गरेका या संगत गरेका गाउँलेहरूको निस्वार्थ र अनपेक्षित सरसहयोगले बुबासँगै म पनि निकै नै खुशी थिएँ । नाताले नजिकैका मानिने केहि इष्टमित्रहरूलाई छाडेर धेरैजसो नातागोताको उल्लेख्य आर्थिक एवं नैतिक र केहिको त भौतिक उपस्थिति पनि रह्यो । तथापि, चुनावी खर्चको हिसाब किताब सुन्दा चैं म प्रायः झस्किनै रहेँ । बेलाबेलामा नलनाडी फतक्कै भएर आउँथे पनि । बेलाबेलामा झनक्कै रिसपनि उठीरहेको हुन्थ्यो, तर त्यो एक महिना मैले बुद्द हुनुपर्ने थियो । एकादुई सन्दर्भहरूलाई बिर्सिदिने हो भने तनाव र क्रोधलाई मनभित्रै दबाएर बुद्द जस्तो शान्त त्यो एकमहिनामा जस्तो न म कहिल्यै भएको थिएँ, न सायदै हुनेछु ।

अँ, अनि जिन्दगीमा सायदै बिर्सिने गरी केहि परिघटनाहरू पनि घटित भए । ती अनपेक्षित थिए । ती अहिले सम्झना गर्दा ग्लानीयोग्य परिघटनाहरू नै थिए । जस्तै, म प्रायः सदरमुकामममा नै बसेँ । फुपूको घर सदरमुकाममै भएकाले पनि मलाई धेरै हदसम्म सहज भएको थियो । सदरमुकाम नजिकैका गाउँतिर यसो प्रचार प्रसार गर्न गयो, अनि साँझ फुपूकोमा आयो । यस्तैमा एकदिन बिहान उठिसकेपछि गाउँबाट झरेका एकजना मित्रले चिया पिउनलाई यसो चियापसलतिर आउनुस न भनेपछि बाहिर निस्किदै थिएँ, धेरै पुरानो चिनजान भएका एकजना ब्यक्ति मर्निङवाकमा निस्किएका रहिछन्,धेरै वर्षपछिको पहिलो भेट थियो त्यो हाम्रो । मलाई देख्नासाथ उनको दोश्रो प्रश्न थियो, "गोजी कत्तिको गह्रौ छ बाबु?" 
मैले आदार गरेर काका भन्थेँ । बाबासँगै एउटै पार्टीमा काँध जोडेर हिडेका मान्छे, पछिल्लो क्रममा अलि सक्रिय थिएनन् सायद, तर उनीबाट मैले त्यस्तो प्रश्नको अपेक्षा गरेको थिइँन । जिन्दगीमा बिर्सिन नसक्ने एउटा गुण लगाएको थिएँ मैले तीनलाई, जुन अहिले केहि शब्दहरूको सहयोगमा लेखेर आफूलाई हलुका बनाउन चाहँदिन । तर कस्सम, जसलाई जिन्दगीमा पैसाले किन्न नसक्ने एउटा यस्तो गुण लगाएको थिएँ, जुन उनको पैसाकै प्रश्नले बिझायो मलाई । म बुद्द हुनुपरेको थियो, त्यसैले मुस्कानसहित मैले जवाफ दिएँ, "यस्तो काकाहरू जस्तो पैसावालहरू साथमा हुनुहुन्छ, हलुका नै भएपनि मेरो गोजी गह्रौं छ काका !" 
उनले बुद्दबाणीको सार बुझे कि सायद, २, ३ मिनेट अरू केहि गफगाफ भएपछि मसँग छुट्टिएर आफ्नो प्रभातफेरिलाई निरन्तरता दिन लागे, तर छुट्नुभन्दा अगाडि एउटा अर्ति दिन चाहिँ छुटाएनन्, त्यो थियो मेरो एउटा फेसबुक सम्प्रेषण ।

चुनावकै रन्को चलिरहेको थियो, एक विद्वान वामपन्थी लेखकले "अनावश्यक पैसाको चलखेल ठिक स्वभाविक हो, पैसा खर्च गर्न सक्नेले गर्छन, पैसा नहुनेको रूवाईको औचित्य छैन", यस्तै भावको एउटा सम्प्रेषण गर्नुभएपछि, मैले आफूलाई रोक्न सकिनँ । मैले यसको जवाफ लेखेँ । जवाफ यस्तरी लेखेछु, लेख्ने मान्छेलाई त यसले छोयो नै वहाँका अति परम प्रशंसक नाताभित्रकै एक अर्का विद्वानलाई लागेछ, "मुला बबुरो निकै बडा कुरा गर्छ ।" अनि त के चाहियो, चियाको लत लागेको हाकिमलाई चिया पिउन मन लागेर पटकपटक टेबलको घण्टी बजाउँदा पनि घण्टीको आवाजले कोठासम्म ल्याइ नपुर्याएको परिचरलाई आफ्नो कक्षमा अकस्मात भेटेपछि हाकिमको कन्सिरीका रौं कस्तरी ठाँडा पर्छन ? हो, त्यस्तै गरि ती पेन्सन पकाएका हाकिमलाई पनि रिस उठ्यो, उनी जागिरमै हुन्थे, र म उनको परिचर हुँदो हु त सायद, जागिर खाईदिन्थे होला । तर न उनी हाकिम थिए, न म नै परिचर । उम्मेदवारको छोरो भएर पनि चुनावको चटारोमा सवालजवाफ गर्ने म झण्डूसँग रिस फेर्न मेराबाका भोट खाइदिने धम्की दिएका थिए । धम्की फेरि आफ्ना वरिपरीका या मैले चिन्नेसँग खासखुस गर्ने गरि हैन, सामाजिक सञ्जालमा पूरै विश्वले देख्ने गरी । त्यो पनि १ भोट २ भोट खाने हैन पूरै १०० भोट हजम पार्दिने धम्की ! उनको यहि धम्कीबाट अलि अलि डराएका जस्ता ती मर्निङवाकमा निस्केका काकाले मलाई दिएको अर्ति थियो , "तीनलाई भेटेर माफी माग्नू है बाबु ।"   म बुद्दजस्तै बनेको थिएँ, मेरो त्यो बाध्यता थियो । फलतः चिया पिउन निस्केको म, ती काकाको यो दिव्य उपदेश प्राप्त गरेपछि तीनै पेन्सनवाला हाकिमलाई खोज्न थाले ।

खोजेपछि भेट्टिन्छ । भेट्टिए । मैले पहिला पनि नमस्कार गर्थे । अहिले पनि गरेँ । भनेँ, "ल अंकल यस्तै हो, मलाई लाग्या कुरो मैले लेखेँ, हजुरलाई चित्त दुखेछ, माफ गर्नुहोला हैं । यसो मिलेसम्म दुईचार भोट भएपनि बढाइदिनु होला ।" "अहिले अलि फरक फरक विचारमा भएपनि भूपेन्द्रजी (मेरो बा) र हामी साथी हौं । लामो संगत छ हाम्रो । बाबुले नलेख्नुपर्ने कुरो लेख्नुभो, (खासमा नलेख्नुपर्ने लेखेको थिइँन, उनलाई त्यस्तो लाग्यो) । मेरो त बसाइसराइ बनाइसकेकाले भोट यता हुन्नँ उता पश्चिमतराई तिर (ठाउँको नाम याद भएपनि उल्लेख गरिनँ) छ। भूपेन्द्रजीलाई जितको शुभकामना छ ।" उनी हतारमा छु भन्दैथिए, मैले चिया पिएर जानुहोला पनि भनिनँ । त्यहाँबाट उनी छुट्टिएर गएपछि मलाई बोध भो, म बुद्द बन्ने प्रयासमा बुद्दू हुँदै गैरहेको रहिछु । 

क्रमशः

Comments

Mukti Nepali said…
लेख पढ्दै गर्दा देशको वर्तमान स्थिति र चुनावको अवस्थाको बारेमा अवगत हुुन्छ । नेता र नेताका परिवार प्रतिको आम बुझाईलाई सटिक ढंगले प्रस्तुत गर्नुभएको छ । आफ्नो कथाबाट समाजको कथा भन्ने लेखकको शैलीबाट म प्रभावित मान्छे हुँ । अन्तिमको वाक्य बुद्ध बन्ने प्रयास गर्दागर्दै बुद्धु हुदै गएको आफूले जुन अनुभव गरेको व्यक्त गर्नुभएको छ त्यो प्रेरणादायी र भविष्यमा लेखकले नै पनि उक्त गल्ति नदोहोर्‍याउने प्रण गरेको भन्ने भाव बोकेको छ । फेसबुकमा लेखकले गर्ने सवालजवाफसंग प्राय साक्षात्कार भईरहन्छ । र सललल बगेको पानी जस्तो कथन र साना साना वाक्यहरु आकर्षक छन् । पाठक भन्दा साथीको नाताले जितेछ कि कुन्नि !!तत्काल सुधार गर्नुपर्ने फेला पारिन ।
Nirajan Thapa said…
विशेष समय दिएर, पढ्नुभएकोमा हार्दिक धन्यबाद गुरू । यहाँले सुझाव पनि दिनुभएको भए अझ परिष्कृत गर्न प्रेरणा मिल्ने थियो । खैर, एक मित्रको प्रेमलाई मैले निसंकोच स्वीकार गरेको छु । धन्यबाद गुरू ।

Popular posts from this blog

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

नेताको छोरा १ - समाज, विकास र चुनाव

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा