चौथो प्रभावशाली ब्यक्तित्व कामरेड नील पुन !

फोटो साभारः उहाँकै फेसबुकबाट 
बच्चा छँदा मेरो जीवनको नायक कोही थियो भने त्यो नील पुन थियो । यदि त्यो बखतमा मलाई कसैले भविष्यमा गएर को जस्तो बन्छस् भनेर सोधेको हुन्थ्यो भने मेरो जवाफमा नील पुन हुन्थ्यो ! करिब ६ फुट लम्बाईको त्यो घगडान ब्यक्तित्वसँग मैले जिन्दगीभरमा मुश्किलले ३ मिनेट भलाकुशारी गरेको हुँला तर खै किन म्याग्दीमा नील पुन बाहेकको जब्बर ब्यक्तित्व भएको नेता अहिले सम्म जन्मे जस्तो लाग्दैन मेरो आफ्नो बुझाईमा !
म चार कक्षामा पढ्थे त्यतिखेर । ०५१ सालको मध्यावधीमा हाम्रो घरको भित्ता गाउँका अरु केहि घरका भित्ताहरु झैं पोस्टरै पोस्टरले धपक्क पारिएको थियो । लेखिएको थियो – आगामी सरकार एमालेको अल्पमतको होइन बहुमतको ! अनि लेखिएको थियो– सूर्य चिन्हमा मतदान गरी क. नीलबहादुर पुन (तिलीजा)लाई अत्याधिक बहुमतले विजयी गराऔं ! र, उनै नील पुन एकदिन हाम्रा गाउँमा पनि झुल्केका थिए चुनावी प्रचारका लागि । उनकै टोलीसँग करिब एक महिनापछि हाम्रो बुबा पनि गाउँ आउनुभएको थियो, त्यो बखत ! बुबाले मलाई र भाईलाई उनीछेऊ लगेर चिनाउनुभएको थियो – मेरा छोराहरु भन्दै !
चौरसँग जोडिएको मेरो मावलको घरनेरको चाँपको बोटमा एउटा ठूलो प्रचार टोलीहरुसँगै बसेका उनलाई मैले नमस्कार भनेपछि उनले हाँस्दै लालसलाम भने । आफ्नो अभिवादनलाई सुधार्दै मैले मसिनो स्वरमा बोलेँ – लालसलाम ! भलै मलाई लालसलाम किन गरिन्छ ? थाहा थिएन । मलाई त्यो अनौठो अभिवादन लाग्यो । र, त्यसमा निकै आकर्षण पाएको थिएँ । उनले मुस्कुराउँदै हामी दुईभाईको नाम सोधेका थिए । भाईले लाज मानेर नाम भनेन, मैले नै भनिदिएँ – भाईको नाम सुजन हो, मेरो नीराजन ! त्यसपछि उनले सोधेका थिए कतिमा पढ्छौं बाबुहरु ? मैले भाईतिर हेर्दै, त्यल्ले दुईमा मैले चारमा भनेको थिएँ ! अनि उनले सोधेका थिए – भोट के मा ? यतिखेर भने मेरो भाईपनि बोल्यो, दुवैको आवाज एकै पटक निस्कियो – सूर्यमा ! अनि उनले हाम्रो बाबातिर हेर्दै मुस्कुराए । र छुट्टिनु अगाडि उनले हाम्रो रोल नं. सोधेका थिए, यो पल्ट पनि भाई चुप लाग्यो । मैले मेरो चाँहि भनेँ – दुई ! भाईको भनिनँ, मलाई उसको रोल नं थाहा थिएन । उनले लौ बधाई छ, धेरै पढेर असल मान्छे बन्नुपर्छ हैं भने । मैले मुन्टो हल्लाएर उनीबाट ओझेल भएँ, भाई म भन्दा अगाडि नै बोइकोमा पुगिसेकेको थियो – दुध र भात खान !
निल पुनको भाषणले जति ताली कसैले पाएन त्योदेखि यता हाम्रो गाउँमा । उनले यो गर्छु र त्यो गर्छु भन्दा बढि आफूहरुका संघर्षका कथाहरु भनेका थिए । हो, त्यतिखेरदेखि नै हो मलाई कम्युनिष्ट भनेको गरिवका लागि लड्ने क्रान्तिकारीहरुको पार्टी हो भन्ने लागेको ! भलै, कम्युनिष्टहरुले नेपालमा खास प्रभाव छाड्न सकेका छैनन ! धाराप्रवाह भाषण गर्न सक्ने पुनको बोलीमा सम्पूर्ण जनताहरुलाई एकाग्र र उत्साहित बनाउने त्यो क्षमता थियो जसले अरिमठेहरुलाई पनि सहमत गराउन सक्थ्यो । यसरी नील पुनले भाषण गरेर गएपछि ममा पनि एकाएक उनको भूत सवार भयो, मेरा धेरै सहपाठीहरुलाई सम्झना हुन सक्दछ – म हाम्रो कक्षामा रहेको भाँचिएको मेचलाई भित्तामा अडेस लगाएर त्यसमाथि बसी भाषण गर्थे – नील पुन बनेर उनकै शैलीमा ! पुनले नै भाषणमा जातिय छुवाछुत गर्नु सामाजिक अपराध हो भनेको सुनेर नै मैले त्यो बेला मेरो एकजना चित्रबहादुर किसान नामको दलित साथीलाई अङ्गालो हालेर पानी पिएको थिएँ । अनि भुजा बनाउने चामल फाँक हालेको थिएँ । यसरी निल पुनको भाषणले मलाई दुईवटा ज्ञान दियो मेरो जीवनमा, पहिलो संसारमा मात्र दुई जात छ अनि दोश्रो चाँहि ठूलो भिडको आकर्षणको केन्द्र बनेर उनीहरुका अगाडि धाराप्रवाह कसरी प्रस्तुत हुने ?
चुनाव जितेर गएपछि उनले के गरे ? वा गर्छु भनेका कति वाचा पूरा गरे ? त्यसको हिसाव राख्नेहरु पनि होलान् तर मलाई उनको ब्यक्तित्वले त्यो दिनदेखि अत्यन्तै प्रभाव पारेको छ जुन दिन उनले मलाई नमस्कारको साटो लालसलाम सिकाए । अहिले उनी म्याग्देली राजनीतिमा गुमनाम छन्, सुनेको छु कुनै जमानामा सर्वहारावर्गको अधिनायकत्वको वकालत गर्ने उनी अहिले पूँजीवादको नाइके भनिएको अमेरिकामा गुमनाम जिन्दगी बाँचेका छन अरे तर उनको त्यो घगडान ब्यक्तित्व मेरो मानसपटलमा अझै ताजा छ । ममा त्यो नील पुन बन्ने चाह अझै उत्तिकै उत्कट छ ! मेरो विश्वास हो, एकदिन म म्याग्देलीहरुलाई उनीहरुका एउटा प्रिय नेता नील पुनको झल्को मेटाउने गरी राजनैतिक मैदानमा जान्छु, जान्छु !

Comments

Popular posts from this blog

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

नेताको छोरा १ - समाज, विकास र चुनाव

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा