Skip to main content

११. बाँके सार्की जसबाट मैले सिकेँ सीपको विशिष्टीकरण !

म बच्चै थिएँ त्यतिखेर जतिबेला उनी बुढ्यौली उमेरमा पनि सक्रिय जिन्दगी बाँच्दै थिए । त्यतिखेर उनको उमेर कति थियो म उति भेउ पाउँदिन तर उनको मुहारमा जुन ‘चमक’ म पाउँथे त्यो अतुलनिय चमक थियो । त्यहि आकर्षणले भरिएको चमक लिएर उनी बेलाबेलामा हाम्रो घरमा आउने गर्थे । उनी बुढै भएपनि तगडा थिए । जजसकोमा उनले काम गरे र खाना खाए उनीहरुको जिकिर थियो – “बाँकेको जस्तो खुवाई गाउँमा कसैको छैन !” काम त उनी अरु केहि गर्दैनथे सिवाय दाउरा चिर्नु बाहेक, तर उनको दाउरा चिराई गाउँमै अरु कसैको थिएन । उनको दाउरा चिर्ने सीपको तारिफ नगर्ने गाउँमा कोही थिएन । हुन पनि उनको त्यो सिप बेजोड थियो । एकदम तारिफयोग्य !
हो, उनै बाँके मामा जसलाई दाउँरा चिर्नका लागि सबै गाउँलेले निम्ताउने गर्थे । कहिले काही त निकै दिन सम्म उनलाई पर्खनु पर्ने हुन्थ्यो । जब घरमा खाना बनाउनलाई दाउरा सकिएको हुन्थ्यो अनि आमाको गनगन शुरुहुन्थ्यो – “यी बाँके दाईलाई दाउरा चिर्न आऊ है भनेको नी एक महिना भैसक्यो, अहिले सम्म आछैनन ।” हाम्रा बालाई पार्टीको बाहेक घरको काम गर्ने खासै फुर्सद नहुने अनि म र भाई सानै, त्यसकारण पनि आमालाई निकै दुख थियो त्यतिखेर घरायसी कामकाज गर्नलाई । बन फुकाउँदा र कहिलेकाही आफ्नै जग्गाको बुढा रुखहरु ढालेपछि दाउरा चिर्नु पर्ने काम आइलाग्थ्यो, अनि त्यो काम गाउँमा बाँके मामा कसैले गर्न जान्दैनथे !
प्रायः दाउरा चिर्ने काम पर्दा बिहानको खाना हाम्रैमा खाने गरी आउँथे बाँके मामा । हाम्रोमा त्यस्तो दिनभरीको दाउरा चिराई पनि हुन्थेन । अलिअलि हुन्थ्यो जसलाई हुने बिहानबिहान आएर गर्थे । यस्तो गर्दा उनलाई दुईचिज फाइदा हुन्थ्यो । पहिलो उनी बिहान दाउरा चिरेर त्यहि घरमा खाना खान पाउँथे, दोश्रो चाँहि बिहान एक ठाउँमा काम भ्याएर दिउँसो अर्काकोमा जान भ्याउथे । यिनले दाउरा चिरेको हेर्न मलाई निकै नै आनन्ददायक लाग्थ्यो । अनि कहिलेकाही यिनले दाउरा चिरेको हेर्ने पनि गथेँ म । तर उनले चाँहि हप्काउँथे – यहाँ नजिकै नबस, दाउराको चोइटोले लाग्छ ! उनले हप्काए पनि म अटेर गरी गरी उनको सीप हेर्थे, मनमन सोच्दै कि यी मामाले झैं दाउरा चिर्न जाने त आमालाई सजिलो पनि हुने, खुशी पार्न पनि सकिने । एकदुईपटक उनले दाउरा चिर्दै गर्दा बञ्चरो मागेर दाउरा चिर्ने प्रयास पनि गरेको छु, तर कहिल्यै एउटो फक्ल्याँटो पनि निकाल्न सक्दिनथेँ अनि उनी कराउँथे – “तिम्रो रहरले हुन्न भान्जा, जाऊ पढ्न । जे काम आउँछ त्यो पो गर्ने हो । तिम्लाई दाउरा चिर्न आउन्न, मैले पढ्न जान्दिनँ !” तैपनि कहिलेकाही घरमा खाना बनाउनलाई दाउरा चिर्नै पर्यो भने बञ्चरो बोकेर दाउरा चिर्न म आफै कस्सिन्थेँ । तर दुईचोट प्रहार गर्न नपाउँदै आमाले कराईहाल्नु हुन्थ्यो – “उता जा गाईने अहिले आफ्नै खुट्टामा हान्लास् !”  
बाँके मामा खाना चाँही निकै नै खान्थे । तर पनि उनको खुवाईको विषय लिएर उनको अगाडि कसैले पनि केही चित्त दुखाई गर्दैनथे । सायद गाउँलेहरुलाई, “धेरै खान्छौ” भनेर गुनासो गर्दा उनले दाउरा चिर्ने काम त्यसै छाडेर सन्केर हिड्दे भने त बर्बादै हुन्छ नि, भन्नेपनि लाग्दो हो । त्यसकारण मान्छेहरु उनको दाउरा चिर्ने कलाको मात्र प्रशंसा गर्ने गर्दथे । छिटो पनि र राम्रो पनि दाउरा चिर्ने उनको त्यो विशेष कलाको कारणले गर्दा पनि गाउँलेहरुका लागि विशेष महत्वको मान्छे थिए । 
हुन त बाँके मामा स्वर्गे भैसकेको पनि वर्षौ भैसक्यो तर उनले चिरेको दाउराबाट पाकेको खाना खाएका धेरै चौरलीहरुले अहिले विभिन्न क्षेत्रमा विभिन्न सफलताहरु हात पारेका छन । मलाई थाहा छैन मेरा कति गाउँलेहरुले उनलाई अझैसम्म स्मरण गर्दछन । तर मैले उनलाई आज पर्यन्त बिर्सिन सकेको छैन, बरु मेरा जीवनका एक प्रेरक ब्यक्तित्व बनेर उनी मेरो मनमस्तिष्कमा छाइरहेका छन् । उनले मलाई सिकाएका छन् – तिमीजस्तो सुकै होऊ तर तिम्रो विशेष कलाको अगाडि दुनियाँ लम्पसार पर्दछ । त्यसकारण तिम्रो आफ्नो दक्षता के मा छ त्यसमा तिमी परिष्कृत हुँदै जाऊ । सफल बन्दै जाऊ । विशेष बन्दै जाऊ । हो, बाँके मामा मैले पनि अब आफ्नो एउटा क्षेत्र तय गर्ने बेला भएको छ ! साहित्य रोजूँ कि म समाजसेवा ? राजनीतिमा मेरो दक्षताको श्रीवृद्दि होला कि ब्यवसायमा ? म बिडम्बनापूर्ण समयबाट गुज्रिरहेको छु । हो मामा म अझै बिलखबन्दमा छु । 
Post a Comment

Popular posts from this blog

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?" मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!" "कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।
यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर…

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

डा. गोविन्द केसीका शुरूवात तिरका अनशनहरूमा मेरो पूर्ण समर्थन थियो । मैले पनि आफ्ना सामाजिक संजालका भित्ताहरूमा निकै खरा खरा वाक्यहरूसहित तीनका पुछारमा ह्यासट्याग आइएमवीथडाकेसी लेखेकै हुँ । मलाई लुकाउनुपर्ने केहि छैन । डा. केसीका शुरूवाती मागहरू भनेका चिकित्सा क्षेत्रमा बढ्दो राजनैतिक हस्तक्षेप अनि तीसँगै यस क्षेत्रमा बढ्दै गएका विकृती विसंगतीहरूको अन्त्य हुनुपर्छ भन्नेमा केन्द्रित हुन्थे ।तर डा. केसी जति नै निष्ठावान, त्यागी या देवरूप नै किन नहोस उनको, उनका काँधमा बन्दुक राखेर आफ्ना विभिन्न खालका अभिष्ट पूरा गर्न खोज्नेहरूको एउटा ठूलो जमातबाट उनी घेरिएका छन । यो मिथ्याको आरोप हैन । निसन्देहः डा. केसी अनशन बस्नुपूर्व उनले अनशन बस्न थालिसकेपछि स्वास्थ्य क्षेत्रमा महशुस हुनेगरी परिवर्तन भएकै हुन । त्यसको जस पूरापूर उहाँलाई जान्छ । तर यसको अर्थ यो हैन कि स्वास्थ्य क्षेत्र सुधारका लागि सबै कुरा वहाँले नै भनेजसरी हुनुपर्छ । बिडम्बना यो छ कि वहाँको शुरूको अनशन देखि नै माग पूरा गर्ने बहानामा सरकारले एउटा बेथितीको पृष्ठपोषण गर्ने कामको श्रीगणेश गरेको छ । केसीको एक सुत्रिय माग थियो बरिष्ठताका आ…