तिनीहरू, यिनीहरू र हामीहरू

"२ बर्ष पुगेछ है सोम यिनीहरूले तिनीहरूको सत्तोसराप गरेको ?"  साढे दुई बर्षपहिले फिनल्याण्ड आइपुगेको एक मित्रले एनआरएनए फिनल्याण्डको निवर्तमान कार्यकारी समितिका पदाधिकारी एवं सदस्यहरूका बारे यस्तो टिप्पणी गरेपछि मैले चित्त खानु स्वभाविकै हो ।

"ल कसरी थाहा भयो तपाइँलाई?" गम्भीर देखिने कोशिस गर्दै मैले प्रतिप्रश्न गरेपछि उनको जवाफ आयो, "के जाति बजार भन्ने फेसबुक ग्रुप छ नी, हो त्यसैमा लम्बेतान सम्प्रेषण (पोस्ट) हरू थिए त । देख्नु भएन र ?"

उनले इंगीत गरेको त्यो बजार नामको फेसबुक समूहबाट म एकपटक बाहिरिसकेको थिएँ, कारण त्यहाँ संवेदनशील विषयमाभन्दा उट्पट्याङ विषयहरूमा बढी छलफल हुनेक्रम बढेर गएको थियो । अझ त्यसमाथि बजारमा त्यसको मालिकको पूर्ण एकाधिकार । उनलाई मन परेको ब्यक्ति, समूह वा विषयहरू बजारमा छलफल हुने भए तर मन नपरेको व्यक्ति, समूह, विषयहरूलाई उनले बजारमा आउनै नदिने । मानौं कि उत्तर कोरियाका "सर्वमान्य नेता" किम जोङ उन यो फेसबुक ग्रुपको एडमिन छन् । किम जोङको आधिपत्य भएको साम्राज्यमा फरक मतहरूले स्थान नपाउनु स्वभाविकै नै हो । अपितु, यिनै मित्रको सहयोगमा बजारमा चलेका, चलाइएका सबै सबै कुराहरूमा मेरो पनि पहुँच पुनर्स्थापित भएपछि ती चुनावी भाषणहरू एकपटक पढेपछि मलाई रनाहा भयो, - अरे वाह, मान्छेले नेता बन्नुपर्यो भने के के सम्म आश्वासन दिन सक्दो रहिछ ? कति सम्म उडान भर्ने सपना बाड्दो रहिछ ?

एक सज्जनले  बजारमा तीतो पोखेका रहेछन्, एनआरएनएको कार्यकारी समितिमा ठूलाबडाको आशीरबाद चाहिन्छ । तर त्यसमा उनी क्रमभंग चाहन्थे, भयो पनि त्यस्तै कि चुनावै जितेर उनी कार्यकारी समितिमा पुगे । परन्तु, यतिसम्म आलोचनात्मक चेत बोकेका व्यक्ति संलग्न रहेको कार्यकारी समितिका अधिकांश सदस्यहरूले फेरि उहि परम्परा कायम गरे । आफ्ना नजिकका वा चिनेका व्यक्तिहरूलाई सम्पर्क गरी नयाँ कार्यकारी समितिमा रहन अनुरोध पठाए । कतैकतैबाट त्यो निमन्त्रणा मसम्म पनि आइपुग्यो । हिजो बजारमा ठूलोबडाको आशीरबादको बर्खिलाप गर्दै क्रान्ति छेड्नेहरू अहिले आफै आशीरबाद दिने ठाउँमा पुगेपछि यस्तो विरोधाभाष हुने मैले सोचेको थिइँन । सायद हामीहरूलाई दिनु भनेको आशीरबादबाहेक अर्को हुन्छ भन्ने नलागेर पनि होला । तर हामीले दिनसक्ने धेरै चिजहरू छन् जसलाई समष्टीमा योगदान भनिन्छ । 

नेपालीहरूले अंग्रेजीमा गर्ने सम्प्रेषणहरूले उति धेरै इम्प्रेशन पार्दैन मलाई, अपितु, बजारमा सम्प्रेषित भावोत्तेजक अंग्रेजी सम्प्रेषणले राम्रै प्रभाव पारेथ्यो मलाई । सम्प्रेषणका मुख्य बुँदाहरू थिए - 

एनआरएनए फिनल्याण्डप्रति यहाँ बसोबास गर्ने अधिकांश नेपालीजनहरूको सकारात्मक धारणा बन्न सकेको छैन । (धेरैभन्दा धेरै नेपालीहरू बीच संस्थाको पहुँच स्थापित गर्नुपर्छ ।)
संस्थामा तिनै मानिसहरू दोहोरिएका छन् । यो कार्यकाल सचिव रहेको व्यक्ति अर्को कार्यकाल महासचिव बन्ने गरेको छ । (यस्तो खालको सिन्डिकेट हटाउनुपर्छ ।)
सक्नुहुन्छ भने संस्थाको सदस्य बन्नुस, हामीलाई मत दिनुस् । (यहाँहरूको मतले बिजयी बनाए काम गर्नेछौं नत्र भने हामीले प्रयास त गरेका थियौं नि भनेर चित्त बुझाउने छौं । 

चुनावी घोषणापत्रहरू पढिन्जेल चित्ताकर्षक हुन्छन् भन्ने थाहा नभएको मान्छे थिइँन - म । मलाई यो पनि थाहा थियो, हामी नेपाली जातिहरूले सामूहिक प्रयासमा उच्चतम् योगदान पुर्याउन सक्दैनौै । तर यसका बाबजुद पनि मभित्र अझै एउटा आशा मरेको छैन, मैले त्यसलाई जिवीतै राख्ने कोशिस गरिरहेको छु, त्यो हो -  हामी बदलिने ल्याकत राख्छौं । आफू बदलिने प्रयत्न गर्नका लागि आफैलाई प्रश्न गर्नु पहिलो शर्त हो । यस्तो चित्ताकर्षक चुनावी घोषणापत्र बनाउने, सार्वजनिक गर्ने र समूह नै बनेर चुनाव लडेर भारी मतले चुनाव जित्ने सज्जनहरूले आफैलाई एकपटक प्रश्न गर्नु जरूरी छ । यहाँहरूको कार्यकालमा एनआरएनए फिनल्याण्ड यहाँ बसोबास गरेका कति नेपालीहरू माझमा पुग्यो ? व्यक्तिगत रूपमा संस्थाको गरिमा बढाउन, यसप्रति मानिसहरूको भरोशा कायम राख्न यहाँहरूको कत्तिको योगदान रह्यो ? संस्थाभित्रको सिन्डिकेटमा के फरक आयो ? यहाँहरूले निर्वाचन जितेर त्यो ठाउँमा पुग्नुभो जहाँ तपाइँहरूले प्रयास हैन काम नै गर्न सक्नुहुन्थ्यो, के यहाँहरूले गर्ने भनेको प्रयास त्यहाँ पुगेर काममा परिणत भो ? 

मेरो यो ब्लग पढ्दै गर्दा संस्थामा रहनुहुनेहरूलाई लाग्न सक्छ, लेख्नुजस्तो सजिलो काम गर्न छैन । मलाई पनि त्यस्तै लाग्छ । तर मलाई थप लाग्ने चाँहि के हो भने, हामीहरूको इमान्दार प्रयासबिना हामीहरूले देख्न चाहेको परिवर्तन सम्भव छैन । आज इमान्दारीतापूर्वक मैले लेख्नैपर्छ, संस्थामा चुनाव लडेर वा निर्विरोध निर्वाचित भएर समितिमा पुगेका र राजिनामा ठोकेर बीचबाटै भाग्नेहरूले एनआरएनए अभियानलाई सबभन्दा ठूलो धोखा दिएका छन् । सामाजिक संजालमा निर्वाचित पदाधिकारी एवं सदस्यका रूपमा बधाईका दर्जनौं शुभेच्छा प्राप्त गरी मख्ख पर्ने सज्जनहरू जसले कार्यकारी समितिका बैठकहरूमा पटक पटक अनुपस्थित भएर संस्थाको हुर्मत लिने काम गरेका छन् उनीहरूले संस्थाको विकासको सपनामा पानी छर्केका छन् । 

अन्त्यमा, संस्थालाई फिनल्याण्डमा बसोबास गरिरहेका नेपालीहरूको साझा एवं अभिभावकीय संस्थाको रूपमा विकास गर्न एकाध भ्रमबाट तपाइँहरू सबै माथि उठ्न आवश्यक छ । 

भ्रम १, विश्वविधालयमा अध्ययन एवं अध्यापनरत, या प्रोफेशनल जब होल्डरहरू मात्र संस्थाको कार्यसमितमा आउन योग्य हुन्छन् । (यदि यो सत्य हुन्थ्यो भने संस्थाको सदस्य संख्या १ सय अनि चानचुनमा सिमित हुँदैनथ्यो, सूचना प्रविधीका क्षेत्रमा लामो समय काम गरेका व्यक्तिहरू भएको संस्थाको वेभसाइटले सामान्य खर्चमा प्राप्त हुने SSL certificate पनि नलिइकन वेभसाइटलाई अत्यन्तै जोखिम अवस्थामा राखिने थिएन । 
भ्रम २, सल्लाहकार हुनलाई उमेर खाएको, पढेलेखेको चल्ताफूर्ता हुनुपर्छ । (ग्रिक भनाइ नै छ - पाकेको कपाल उमेरको पहिचान हो,  ज्ञानको हैन । अतः संस्थाको विकासका लागि काम गर्न सक्ने व्यक्तिहरूलाई यसको सल्लाहकार समूहमा राख्नु आवश्यक छ ।)

भ्रम ३, संस्थाले ब्यक्तिलाई खोज्दैन् । (जुन संस्थाका जिम्मेवार पदाधिकारीहरू ब्यक्तिलाई गौण ठान्छन, त्यस्तो ब्यक्तिहरू रहेको संस्था धुलिसात् हुनु सुनिश्चित छ।)

यी भ्रमहरूबाट मुक्त भएर, हामी माथि उठ्न सक्यौं भने सायद, हामीहरू - तिनीहरू र यिनीहरूमा विभाजन हुने छैनौं । डल्लै हामीहरू रहनेछौं ।

अस्तुः


Comments