" एस्क्युज मी, टेन युरो प्लिज ।" गएको कुनै वर्ष, हिउँदको कुनै एकदिन, ग्यास स्टेशनको छेउमा उभ्भिरहेको म नजिक फटाफट आउँदै अरबी मूलको जस्तो लाग्ने एक ठिटोले, दाहिने हातको तीन औंलाहरू बुढी, माइली र माझीलाई एक ठाम पारेर माग्दै थियो, दश युरो दाम मसँग । उसले पैसा माग्ने बखतको भन्दा धेर विनीत भएको भावमा सोधेथेँ उसैलाई मैले, पैसा माग्नुको कारण । दश युरो पक्का पाइयो भन्ने खुशिमा, मुहारभरी परम ज्योती धपक्क पारेर, बताएथ्यो उसले कारण पैसा माग्नुको - "पेट्रोल हाल्नु छ गाडिमा ।" सेकेन्ड ह्यान्ड टोयोटा यारिस चढ्ने मैले दिइदिएको थिएँ पाँच युरोका दुई थान कलिला नोटहरू उसलाई, जसले बडो शानका साथ चालेथ्यो आफ्ना डेग सेकन्ड ह्यान्ड जस्तै देखिने तर टलक्कै टल्केको (आफ्नो) बिएमडब्ल्यू तिर । हैन यल्ले मलाई पैसा ठग्यो कि साँच्चिकै अभरमा परेर माग्यो? सोच्दै, म घिसार्दै थिएँ मेरा दुई थान पैतालाहरू उहि धुलोले छोपिएको मेरो पुरानो टोयोटा यारिसतिर । म नपुग्दै गाडीमा, ऊ पुगिसकेको थियो अर्को मान्छेको छेऊमा जो भर्खर तेल भर्न छिरेको थियो - ग्यास स्टेशनमा, आफ्नो निस्सान कार लिएर । अनि म खिस्रिक्क परेक...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।