१४. रोमखामी सर जसले मलार्इ भन्नुभो - अध्ययनशील बन !

“अहिलेका डि.एस.पी. ले त फलनाहरुलाई भेटै दिएनछन् ।” सरुवा भएर उहाँ म्याग्दी आईसकेपछि उहाँको बारेमा मैले सुनेको पहिलो टिप्पणी त्यहि थियो । त्यतिन्जेलसम्म हाम्रो जिल्लामा आएका प्रहरीका अधिकृतहरु कि ती एमालेका प्रिय हुन्थे, कि काङ्ग्रेसका । तीनका आफ्नै आसेपासेहरु हुन्थे । जतिखेर पनि एमाले र काङ्ग्रेसीहरुको ठूलो घेराभित्र उनीहरु उकुसमुकुस हुन्थे । जिल्लास्तरका काङ्ग्रेसी र एमालेका नेताहरु, ब्यापारी र कथित समाजसेवीहरुबाहेक अरुको पहुँच उनीहरुसम्म पुग्दैनथ्यो । तर यी नयाँ आएका प्रनाउ चाँहि आफ्नो फुर्सदको समयमा छानिएका र जिल्लाको विकासमा इमान्दारपूर्वक लागिपरेका एकाध नेताहरु, प्राध्यापक र केही विद्यार्थीहरुका माझ आफूलार्इ सिमीत गर्न चाहनुहुन्थ्यो । त्यसकारण मलाई पनि उहाँलाई भेट गर्ने चाहना भित्रैबाट पलाएर आयो ! नयाँ डिएसपीलार्इ अर्थात योगेश्वर रोमखामीलार्इ !
म्याग्दीको टेलिफोन डाइरेक्ट्री सायद म्याग्दी जेसिजको प्रकाशन थियो त्यो, त्यही सानो टेलिफोन नम्बरको सूचीभएको पुस्तिकामा प्रनाउ निवासको नम्बर पत्ता लगाएर मैले उहाँलाई कल गरेको थिएँ । 
“नमस्कार, प्रनाउ निवास ! यहाँको के सेवा गर्न सक्दछु ?” फोन उठाउनेले बोल्यो ।
“नमस्कार हजुर, मैले रोमखामी सरलाई भेटन खोजेको ।” कापेको आवाजमा मैले बोलेको थिएँ ।
मेरो परिचय लिएपछि उसले फोनको लाइन रोमखामी सरलाई दियो !
मैले मन नलाई नलाई “जय नेपाल सर” भनेँ । खासमा मेरो बुझाई आज पर्यन्त यो पार्टीगत अभिवादन लाग्दछ । जुन अभिवादन गर्नेहरुले अभिवादनमा मात्र सिमीत गरेका छन । वास्तविकतामा नेपालको जय नै हुनेगरी काम गरेको भए आज देशको हालत यस्तो किन हुँदो हो ?! उताबाट उहाँले पनि जय नेपालको अभिवादन गरेर मसँग परिचयात्मक कार्यक्रम जस्तो गर्नुभयो । र, भेट्ने समय दिनुभो । भेट्ने समय शुक्रवार अपरान्हको थियो । 
म उहाँले दिएकै समयमा म उहाँलाई भेट्न गएँ । आफ्नो भान्छे प्रहरीलाई उहाँले अ¥हाउनुभो – बाबु, दुई कप चिया लिएर आऊ त ! दुईवटा खुट्टा तनक्क तन्काउँदै त्यहाँबाट ओझेल परेका उनले केहि बेरमा दुईकप कालो चिया लिएर आए । चिया टेबलमा आईसकेपछि उहाँले भन्नुभयो, “हजुरले कस्तो चिया पिउनुहुन्थ्यो कुन्नी ? तर कालो चिया स्वास्थ्यको लागि फाइदाजनक छ ।” मैले खिसिक्क हाँसे र समर्थन जनाएँ । मैले भनिनँ मलाई कालो चिया मन पर्दैन ! उहाँले स्नातक अध्ययनरत मेरो पढाईका बारेमा बुझ्नु भो । र, विशेषगरी साहित्य र पत्रकारीतामा मेरो अभिरुचीका बारेमा ध्यान दिएर सवालहरु सोध्नुभयो । मेरा मनपर्ने कवि÷लेखकहरुका बारेमा सोध्नुभयो । र, छुट्टिनुभन्दा केहिबेर पहिला देशको इतिहासका बारेमा मेरो ज्ञान कति छ त्यो जान्न चाहनुभयो । यसरी हाम्रो पहिलो भेटमा केही औपचारीकता मात्र पूरा भयो । स्मरणीय त यो छ कि त्यो पहिलो भेटमा म गधापच्चिसे युवकलाई उहाँले तपाइँको सम्बोधन गर्नुभएको थियो । 
दोश्रो भेटमा मैले नै उहाँलाई तिमी भन्नका लागि अनुरोध गरेँ । उहाँले सहर्ष स्वीकार्नुभयो । त्यो भेटमा ज्यादातर उहाँले मलाई विश्व सभ्यताको बारेमा बताउनुभएको थियो । मिश्रको सभ्यता, नाइलनदीको सभ्यता यस्तै यस्तै । मैले धाराप्रवाह उहाँलाई सुनिरहेँ । करिब डेढ घण्टापछि उहाँसँग म छुटिएको थियो त्यो दिन ।
भेटहरु निरन्तर चलिरहे । एकदिन उहाँले मेरो मोबाइलमा कल गर्नुभयो, भन्नुभयो – “बाबु, तिम्रो आन्टीले चक्लेट पठाईदेको छ काठमान्डुबाट आज खान आऊ है ।” म आश्चर्यचकित भएँ त्यो दिन । मलाई थाहा थिएन कति छिट्टै म उहाँसँग यति बेस्किन भिज्न पुगेछु ! त्यो दिन साँझ म उहाँकोमा चकलेट खाना गएँ । पहिले जस्तै त्योदिन पनि थुप्रै कुराकानीहरु भए । विशेषगरी सातदलको आन्दोलन चलिरहेको थियो । त्यही आन्दोलन केन्द्रित कुराकानी भएका थिए । उहाँले म्याग्दीमा आन्दोलन शान्तपूर्वक हुने आशा गर्नुभएको थियो । र, भयो पनि त्यस्तै । खासै स्मरणयोग्य तोडफोड वा जनधनको क्षति हुने गरी आन्दोलन पनि भएन !
जेहोस, उहाँसँगको सानिन्ध्यताले मलाई विश्व सभ्यता र इतिहासका बारेमा अभिरुचीपूर्वक अध्ययन गर्ने प्रेरणा मिलेको छ । साँच्चिकै उहाँको अध्ययनशिल बानीले मलाई धेरै कुराको ज्ञान दिएको छ । उहाँको सामिप्यताले नै हो मलाई पनि अध्ययनशील मान्छेहरुसँग सम्बन्ध विकास गर्न प्रेरणा दिएको । उहाँले नै हो मलाई प्रेरित गरेको – पाठ्यक्रमका पुस्तकहरुभन्दा बाहिर पनि हामीले पढ्नुपर्ने, बुझ्नुपर्ने र मनन गर्नुपर्ने थुप्रै पुस्तकहरु छन । तीनलाई अध्ययन गर अनि आफ्नो चेतनास्तरमा सुधार गर । हुनपनि थोरोले फगत भनेका थिएनन् – “पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन !”

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)