क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भिन्न शैलीमा सार्वजनिक हुँदै गएको म देख्तैछु । 

Sanitizer को गलत हिज्जेसहितको स्यानिटाइजर टनेल
कोरोनाको संत्रास नेपालमा भित्रिदै थियो, तर म्याग्दीमा यसको त्रास दुईचार दिन पहिले नै फैलिदोक्रममा थियो । चराचर जगतकाबारे सर्वविज्ञ दुईचार विद्वत महात्माहरू जीवित रहेको स्थानमा, यस्तो हुनु स्वभाविक पनि हो । उसो त ती केहि मान्छेहरू छन जसलाई केहि गर्न कसैको अनुमति चाहिदैन । मलाई यस्तो लाग्ने गर्छ - लुईस चौधौं अझै त्यो खाल्डोमा जिउँदै छन । उनी आफ्ना उत्तराधिकारीहरू मार्फत गर्न (भन्न हैन) लगाइरहेछन - राज्य नै म हुँ, म नै राज्य हुँ । कोरोनाको संत्रास फैलिदै थियो, इटालीमा मान्छेहरू मर्दै थिए, म्याग्दीका हाम्रा वैज्ञानिकहरूलाई लाग्यो, मान्छे इटालीमा हताहत हुन थालिसके, ढिलो गर्नुहुन्नँ अब । रातारात हातलाई किटाणूरहित बनाउने घरेलु सिप पत्ता लगाईछाडे । यता यी घरेलु उपाय बनाएर जनता बचाउँदै (दिग्भ्रमित बनाउँदै) थिए, उता अमेरिकी बैज्ञानिकहरू हातलाई किटाणू रहित बनाउने भनिएको विभिन्न अमेरिकी घरेलु उपायका बारे चिन्ता ब्यक्त गर्दै थिए । उनीहरू भन्दै थिए, घरमा नै बनाइने यी घरेलु विधीमा प्रयोग हुने साधनहरूको अवैज्ञानिक निर्मलीकरण विधीले उल्टै भाइरस, फन्गाइ अनि ब्याक्टेरियाको घुलन हुन सक्छ । अझ घरेलु विधीमा अल्कोहलको आवश्यक मात्राका बारे हुने अज्ञानताका कारण घरेलु स्यानिटाइजर प्रभावहिन त छन नै बरू उल्टै एलर्जिक जेल हुन सम्भावना रहन्छ । हाम्रातिर बैज्ञानिकहरूले बिधी चाँहि पत्ता लगाए, किन्तु प्रक्रिया कत्तिको वैज्ञानिक थियो? त्यसको प्रयोगले के कस्तो प्रभाव पार्यो भन्ने खोजमा लागेनन । किनकी, ती सब तिनका चेतनाभन्दा माथिका कामहरू थिए । त्यसकारण, उनीहरूले ती त्यत्तिकै छाडे । सायद, कतिलाई बिक्री हुन नसकेका आफ्ना घडेरीका टुकडाहरूको तनाव थियो होला, कतिलाई बैंकको किस्ताले सताउन थाल्यो होला । त्यसपछि ती घरेलु विधीका भ्रमहरूबाट मुक्त भए । 

उदार मन भएका हाम्रा विद्वानहरू त्यतिमा मात्र रोकिने कुरा भएन । केहि वर्षपहिले शारीरिक स्वस्थताका लागि साइकलमा सवार हुनुपर्छ भन्दै दुईचार दिन साइकिल कुदाएका एक अर्का सज्जन, लसुन अदुवाको रसले कोरोना भगाउने जिकिर गर्दै थिए । सायद केहि मान्छेले ती सज्जनले पत्ता लगाएको यस्तो अचूक उपाय पनि पक्कै अबलम्बन गरे नै होलान । खैर, त्योभन्दा पनि ताजुब मलाई  त्यतिखेर  लाग्यो जब कोही फेरि निस्के क्लोरिनको झोल बोकेर गाउँ गाउँ, गल्ली गल्ली डिसइन्फेक्ट गर्न । सामाजिक संजालमा वाहीवाहीको भेलबाढी नहुने कुरै भएन । फोस्रो सम्मानमा छात्ति भ्वाक्क फुलायो, अनि क्लोरिनले भरिएको ट्याकंर बोकेर कुद्न थाल्यो । न अहिलेसम्म एक जना संक्रमित भएको तथ्याङ्क छ, न नै तत्काललाई त्यस्तो जोखिम देखिन्थ्यो । रत्नेचौरको चाैरले मात्र हैन दरबाङको कुइनेटोको खिर्रोको बुटोले समेत क्लोरिनको स्वाद चाख्न पाए । थाहा छैन, त्यो झोलले कति करोड कोरोना भाइरसलाई निस्तेज पारे या कति मान्छेलाई के असर गर्यो । थाहा यत्ति मात्र छ - मान्छेहरूले क्लोरिनको असैह्य दुर्गन्ध निशुल्क सुँघ्न चाँहि पाए । कति भाग्यमानि म्याग्देलीहरू, जसले क्लोरिनको गन्ध सुँघ्न पाए !

बेनी खाल्डोमा एउटा प्रवृति झ्याँङगिदो क्रममा छ, जाठो प्रवृती अर्थात जान्ने र बाठो । केहि मानिसहरू यो प्रवृतिको लिगेसी बोकेर हिडिरहेछन, जसका उत्तम दिमागहरूबाट अनेक अनेक उपायहरू उत्पत्ति हुन्छन ।  हात सफा राख्ने घरेलू झोलदेखि, कोरोना भगाउने पेय पत्ता लगाउँदै गाउँका डहरादेखि बजारका गल्लीलाई भाइरसमुक्त पार्न क्लोरिनको झोल छर्कनेसम्मको उपाय अपनाउँदा समेत जिल्लाबाहिर रहेका जिल्लाबासीहरू जिल्ला भित्रिदा भने उनीहरूसँग कोरोना पनि भित्रिने सम्भावना अझै रहेको देखियो । अतः चौधसय चालीस मिनेट सामाजिक संजालमै समय बिताउने हाम्रा वैज्ञानिकहरूको आँखा कोरोनाको उदगम स्थल वुहानका सडकमा गाडीलाई भाइरसमुक्त बनाउन प्रयोग गरिने सुरूङमा परे । अनि यीनका उन्नत मस्तिष्कबाट एउटा गज्जपको उपाय निस्कियो - मान्छेहरू माथि क्लोरिनको झोल छर्ने उपाय! विद्वानहरूलाई लाग्यो, भारतको प्रहरीले जस्तो रासयनिक झोलको पिच्कारी पो हान्नुभएन, फलामका डन्डीमा प्लास्टिकको खोलको छानो छाएर बनेको सुरूङमा मान्छे पसाएर यो झोल छर्किनूमा के अमिल्दो छ र? त्यहि माथि, विज्ञानको सामान्य जानकारीसम्म नराख्ने पत्रकारहरू छन, यिनलाई समाचार चाहिएको छ, छाप्दिहाल्ने भए । छापि पनि हाले । सामाजिक संजालमा फोटो छाउने भो, समाजसेवाको असंख्य चाङमा फेरि अर्को नवीन (?) काम पनि थपिने भो । गज्जप त त्यतिबेला भो, जब किअन्ततिर बैज्ञानिकहरू आफ्नो खोजहरूको परिक्षण ल्याबमा त्यो पनि व्यवस्थित तरिकाले गर्छन, हाम्रा वैज्ञानिकहरूले प्रायः खोजको अनुसन्धान आफैमाथि गरिरहेका छन । अर्थात, यसको परिणाम के निस्कन्छ भन्ने यीनलाई पहिल्यै थाहा छ । हैन यी विद्वान हुन कि अन्तरयामी? म बबुरो बिलखबन्दमा परेको छु ।

चार्ल्स बुकोस्कीले आफ्नो एक कृति पोस्ट अफिसमा लेखेका छन, के तिमी दुनियाँले कस्तो बन्नुपर्छ भन्नु भन्दा पहिले नै तिमी को थियौं ? भन्ने याद गर्न सक्छौ ?  त्यस्तै, आज मैले लेख्नुपर्ने भएको छ, मान्छेलाई कसरी झुक्काएर कम दाममा उसका घर घडेरी फुत्काएर रातारात छ आठ लाख कुम्लाउने भन्ने दिमागले, कसरी हुन्छ - आफ्नो गैर समाजवादी व्यवसायको साम्राज्य विस्तार गर्ने अनि बाहिरचाँहि साम्यबादी समाज निर्माणको नेता बन्ने भ्रमपूर्ण यथार्थले थिचिएकाले या सकेसम्म सबै खोला, नाला, खोल्साखोल्सीको दोहन गर्ने तर पर्यावरणको संरक्षण भाँडमा जाओस् भन्ने मस्तिष्क लिएर सार्सकोभ २ जस्ता मानव सभ्यता नै संकटमा पार्न सक्ने नवीन भाइरसबाट सुरक्षित हुने उपायहरूबारे सोच्न भ्याइदैन । कृपा गरेर आफ्नो व्यवसाय वैधानिक अनि व्यवसायिक मूल्यमा आधारित रहेर गरिदे । समाजमा तिमीले गर्न सक्ने योगदान यो भन्दा बढि अर्को के हुन सक्छ ?





Comments

Ram BK said…
Worth reading dai. Your article are always best.
-Ram
कतिले पढ्लान ?? कतिले बुझ्लान ??? दाई मूल्यांकन गर्ने हैसियत राख्दिन । ����

Popular Posts