28 February 2016

खोंच, अभिशप्त सोंच र एउटा मञ्च

मलार्इ समितिहरूमा संलग्न हुन उति चाख लाग्दैन । मलार्इ खादा पहिरिनु या पहिराउनुमा श्रेयस्कर पनि लाग्दैन । मलार्इ कथित विजयको अबीर लगाउनुमा अभिरूची छैन । आजसम्म मनोनित गरिएका पदहरू न मैले लिएकै छु न त्यसमा मैले त्यस्तो गहिरो रूची नै राखेको छु । तर केहि हप्ता पहिले सामाजिक संजालमा बाँडिएको एउटा सूचनाले मेरो ध्यान खिच्यो । ख्वै किन किन एक भेलाले गठन गर्ने भनिएको एक समितिमा सदस्य बनेर काम गर्न भित्रैदेखि मन उद्वेलित भएर आयो । एकदम मनदेखि । 

मैले जीवनका महत्वपूर्ण पाँच वर्षहरू बिताएको बेनीको फूलबारीमा अवस्थित जिल्लाकै एक मात्र आंगिक क्याम्पसमा एकदम अनुशासित र लगनशील बिधार्थी भएर बिताएका स्वर्णीम पलहरू मलार्इ अझै पनि उत्तिकै प्रिय लाग्दछन । त्यो क्याम्पसमा प्रवेशसँगै मैले आफूमा हुर्कदो युवाका तनावहरू र तीनलार्इ सामना गर्न सक्ने उर्जा विकासमा आफ्नो प्रतिभालार्इ तिखार्न सिकेको छु । म्याग्दी-कालीको खोंचमा सकुंचित मानवीय चेतनाहरूभन्दा अलिकति विस्फारीत सोंच र विचार लिएर युवाहरूलार्इ जीवन दर्शन सिकाइरहनुहुने आदरणीय अध्यापक/अध्यापिकाहरूसँगको सामिप्यतासँगै मैले आफ्नो बौद्दिकताको स्तरोन्नती भएको महशुस गरेको छु । मेरा लागि देशमै नाम चलेका उत्कृष्ट विश्वविधालयहरूभन्दा कम नलाग्ने उक्त सार्वजनिक क्याम्पसको शैक्षिक तथा अन्य स्तरोन्नतीका लागि, सदा सक्दो काम गर्ने  मेरो मनोकाङ्क्षा रहदै आएको छ । यसर्थ पनि आफूले एक लगनशील विधार्थीका रूपमा बिताएको स्वर्णीम पाँच वर्षको भारा तिर्ने उपयुक्त बखत यहि गठन हुने समितिमा संलग्न भएर गर्न सकिन्छ भन्ने बुझार्इका कारण पनि म पूर्व विधार्थीहरूको मञ्च भनिएको उक्त समितिमा समाविष्ट हुन चाहेको थिएँ । तर बिडम्बना अत्यन्तै उत्कट चाहना ब्यक्त गर्दा गर्दै पनि, सृजनशील कार्यक्रमहरूका सूची तयार पारेर दशौं मिनेटसम्म सम्बन्धित वरिष्ठतम ब्यक्तित्वहरूसँग भलाकुशारी गर्दा पनि कुराको सुनुवार्इ भएन । मलार्इ यसमा दुख भन्दा पनि खेद लागेको छ । 

मलार्इ लाग्दैन, यो पूर्व विधार्थीहरूको मञ्च भनिएको समितिले लाखौं, करोडौंको आर्थिक कारोबार गर्नका लागि नै गठन भएको हो, मलार्इ यो पनि लाग्दैन यो मञ्चले यसमा संलग्न पूर्व विधार्थीहरूलार्इ विभिन्न परियोजनाहरू मार्फत देश विदेश शयर गराउँनेछ । उसो भए, किन मजस्तै विदेशिएका (त्यो पनि उच्च शिक्षाका लागि) मात्र सदस्यका लागि मनोनित हुन चाहँदा चाहँदै पनि त्यस क्याम्पसका पूर्व विधार्थीहरूको मञ्चमा किन अटाउन सकेनौ‌ ? मेरो व्यक्तिगत प्रश्न हो - म समितिमा बसेर केहि लुट्दै थिएँ हो ? 

यदि भौतिक रुपमा उपस्थित जनाउन नसक्नेहरूलार्इ मञ्चमा समाविष्ट गर्ने अभिप्राय थिएन भने किन विश्वभर छरिएर रहेका पूर्व विधार्थीहरूको पहुँचमा पुग्न सक्ने माध्यम प्रयोग गरियो ? किन त्यहि क्याम्पस प्रांगणको १ किलोमिटरको परिधी (रेडियस) भित्र उपलब्ध हुने एउटा सिंगो मान्छे मात्र चाहिएको थियो भने भेला गठनको सूचना गाउँतिरबाट एउटा कटुवाललार्इ बोलाएर घोक हाल्न लगाइएन ? यस्तो गरिदिएको भए सायद बरू म जस्ताहरूको चित्त दुखार्इ हुने थिएन कि? सूचना प्रविधीको आजको युगमा, अझ सूचना प्रविधीको क्षेत्रमा उदाहरणीय जिल्ला मानिने हाम्रो म्याग्दीको त्यो पनि एउटा उच्च शिक्षा अध्ययन/अध्यापन हुने शैक्षिक संस्थाको पूर्व विधार्थीको मञ्च गठनमा विदेशमै बसेर पनि क्याम्पसको गुणस्तर वृद्दीका लागि टेवा पुर्याउन उत्कट चाहना राख्ने युवाहरूको चाहनाको कदर गर्नु यहाँहरूको वशको विषय बन्न सक्दैन भने यहाँहरूले कस्तो खालको नवीन शैलीको विकास गर्दै हुनुहुन्छ ? के म यसलार्इ बञ्चितीकरण या सिर्जनशील सोंचहरू माथि थोपरिएको निरंकुशता नभनूँ ?  मित्रहरू, मलार्इ समितिको पद चाहिएर यो रोइलो गरेको होर्इन मैले त एउटा आधिकारीकता मात्र खोजेको थिएँ, जसले गर्दा मलार्इ उपलब्ध हुने मञ्चहरू प्रयोग गरी आफूले अध्ययन गरेको शैक्षिक संस्थाको गुणस्तर वृद्दीमा नवीन र युगसुहाउँदो योगदानका लागि सहज बनाउने विचारहरू, स्रोतहरूको पहिचान र वितरणमा सहज हुन सकोस् । 
मलार्इ पत्रिकाहरूमा सदस्य मनोनित भएकोमा बधार्इ छपाउन यस्तो मनोकाङ्क्षा पलाएकै थिएन । मैले फेरि पनि आग्रह गर्न चाहे - मैले अनावश्यक अर्को एउटा विशेषण थपेर गमक्क फुली हिड्न त्यो मञ्चमा बस्न खोजेको थिइँन । र, मेरो विश्वास अझै अडिग छ - कि साँच्चिकै काम गर्ने नै हो भने मैले मञ्च खोजीरहनुमा पनि सायदै कुनै औचित्य छ । संकिर्णता र जडताबाट माथि उठ्न नसक्नुभएकोमा यहाँहरूलार्इ हार्दिक बधार्इका साथ अझ अरू धसिंदै म्याग्दी-कालीको खोंचभन्दा माथि उठ्न नसकेको अभिशप्त विचार भगवति मन्दिर मन्तिरको वगरमै रूमल्लिरहोस् भन्ने हार्दिक शुभकामना । 

11 January 2016

रक्सीको कुलत छ कि छैन जाँच्नुस


रक्सी सम्बन्धी लत जाँच्नुस

रक्सी कत्तिको नियमित पिउनुहुन्छ?
    हप्ताको १ वा २ पटक
      दुर्इ हप्ताको १ वा २ पटक
      महिनामा १ वा २ पटक
      प्रायः सधैं
एकपटक पिउन बसेपछि कति पिउनु हुन्छ ?
    १ वा २ क्यान
      ३ या ४ क्यान 
    ५ या ६ क्यान 
    ६ क्यान भन्दा बढी
६ वटा भन्दा बढी क्यान पिउने गरी कतिपटक सम्म पिउनुहुन्छ ?
    १ या २ महिनामा एक पटक 
    महिनैपिश्चे 
    हप्तामा एकपटक 
    करिब सधैं
गत वर्ष भरी यहाँले कतिपटक एकदम धेरै मात्ने गरी पिउनु भो ?
    कहिल्यै पनि 
    ५-६ पटक 
    हप्तैपिश्चे 
    लगभग सधैंजसो
गएको वर्ष यहाँले रक्सि पिएकै कारण कतिपटक विभिन्न अप्ठ्यारो झेल्नुपर्यो?
    २-३ पटक 
    महिनैपिश्चे 
    हप्तैपिश्चे 
        मातेको सबै दिन
गत वर्ष यहाँले कतिपटक बिहान उठ्ने बित्तिकै ह्याङ ओभर मेट्न बिहानै रक्सी पिउनु पर्यो ?
    कहिल्यै परेन
      एक दुर्इ पटक 
    हप्ताको एक पटक जस्तो
      लगभग प्रत्येक बिहान
गएको वर्ष कतिपटक रक्सी पिएको रात के भएको थियो भनेर बिर्सनुभो ?
    कहिल्यै पनि
      एक दुर्इ पटक मात्र
      हप्तैपिश्चे 
    प्रायः सधैं
रक्सी पिएकै कारण यहाँलार्इ चोटपटक लाग्ने या कसैसँग झगडा पर्ने भयो कि नाइँ ?
    अहँ भएन
    भएको छ, तर गएको वर्ष हैन
      गत वर्ष तीन चार पटक भयो 
      भैराख्छ त्यस्तो
के तपाइँको घर परिवार या साथीभार्इहरूले हजुरले चाहे जस्तो ब्यवहार गर्दैनन?
    गर्छन 
    थाहा भएन 
    गर्दैनन
      सम्बन्ध बिग्रिसक्यो
के तपाइँ आफ्नो पिउने बानीका कारण आफै स्वंय दिक्क हुनुहुन्छ ?
    त्यस्तरी पिउँदिन 
    छैन
    कहिले काही लाग्छ 
    छु तर लत छाड्न सक्दिनँ
रक्सीको लतसम्बन्धमा विभिन्न वेभसाइटहरूमा फरक किसिमका अनलाइन जाँचबुझ गर्न सकिने व्यवस्था छ । यो कुनै पनि चिकित्सकको प्रतक्ष्य निगरानीमा तयार पारिएको चेकजाँचको सूची होर्इन । तर यो रक्सीको कुलत सम्बन्धी विभिन्न अध्ययन अनुसन्धानका प्रतिवेदनको गहिरो अध्ययन पश्चातः तयार पारिएको स्वपरीक्षणको नमुना हो । आफ्नो नतिजा थाहा पाउन तलको बक्समा क्लिक गर्नुस् ।

यदि यहाँले यसमा १० भन्दा बढी अंक प्राप्त गर्नुभो भने यहाँलार्इ रक्सीको कुलत छ भन्ने बुझ्नुपर्ने हुन्छ । यसले यहाँलार्इ यथासम्भव चिकित्सकको परामर्श लिन सुझाएको ठान्नुपर्ने हुन्छ ।

31 December 2015

किन यस्तो फेरियौं हामी?

तस्वीर स्रोत
अब त आफ्नोपनका बारेमा लेख्नुपनि धक मान्नुपर्ने अवस्था सृजना हुन लाग्यो । किनकी, आफ्नापनका बारेमा मानिसहरूलार्इ रूची लाग्नै छाड्यो । अझ विप्रेषणको भरमा राज्य धानिएको हाम्रो जस्तो देशमा प्रत्येकलार्इ के लाग्न थाल्यो भने हामीसँग केहि छैन, जे छ विदेशीहरूसँग छ । हाम्रा संस्कारहरू, संस्कृतिहरू, रितीरिवाजहरू ती सबै मक्किएका छन । हामी मध्ये धेरैलार्इ यस्तो पनि लाग्न थाल्यो कि हाम्रा पहिचानको जगेर्ना गर्नुपर्छ भनेर यदि कसैले आवाज उठाउँछ भने कि त त्यो बदलिदो युगको परिवर्तनको वेगसँग प्रवाहित हुन असमर्थ छ या कि त ऊ पाखण्डी हो । पाखण्डी त तपाइँ हामी जस्तो देखासिकीमा सभ्यता देख्ने, अरूमा आफ्नो पहिचान परावर्तन भएको देख्नेहरूलार्इ भनिनुपर्ने हो तर विडम्बना आफ्नोमा आफ्नै सुगन्ध स्वादन गर्ने मान्छेहरू पाखण्डी भनिएका छन् ।
जोन टोमलिन्सन भन्छन्, सांस्कृतिक साम्राज्यवादको उति लामो इतिहास छैन । इश्वीसनको ६० को दशकदेखि यो विषयमा छलफल हुन थाल्यो । पश्चिमाहरूको प्राविधिक प्रगतिले जतिजति उन्नति गर्दै गयो, त्यो भन्दा तिब्रतर गतिमा यिनका सांस्कृतिक प्रभावमा गरिप राष्ट्रहरू पर्न थाले । आर्थिक आधारमा समुदाय वा राष्ट्र गरिव हुन सक्छ तर के संस्कृति कसैको गरिव र कसैको धनी हुन सक्छ ? तर बनार्इदोरहिछ । एक खास संस्कृतिमा बाँचेका मानिसहरूको सोचलार्इ विकृत बनाइदिएपछि संस्कृतिलार्इ पनि आर्थिक आधारमा धनी र गरिवका नाममा वर्ग विभाजन गरेजसरी टुक्राउन सकिदोरहिछ । यतिसम्म निकम्मा बनाउन सकिदो रहिछ कि एकसमय मेरो एकजना नाइजेरियाली साथी वासिऊले मलार्इ बताएथे कि अफ्रिका र एशियाका मानिसहरूलार्इ पश्चिमाहरूले यस्तो दिमाग हाल्देका छन् ताकी हामीहरू हाम्रो केहि राम्रो देख्दैनौं, राम्रोजति सबै उनीहरूमै छ भन्नेमा हाम्रो अन्धसमर्थन छ!
टुन्स्टलले सांस्कृतिक साम्राज्यवादको सरल टिप्पणी यसरी गरेका छन – विश्वभर विभिन्न समुदायमा छरिएर रहेका असली, परम्परागत र स्थानीय संस्कृतिहरू विशेषतः अमेरिकाबाट उत्पादित विभिन्न चिप्ला व्यापारिक मिडिया उत्पादनहरूका कारण निस्तेज पारिएका छन । हुनपनि विदेशी चमकधमकमा हामीहरूले आफ्ना प्रमाणिक अस्तित्वहरूलार्इ यसरी मेटाउँदै गएका छौं कि ती सामान्य बोलिचालीका भाषामा समेत सहज लाग्न थालिसकेँ । जस्तो, हाम्रा गाउँघरतिर बुढा बाजे बज्यैहरू 'कति बज्यो ?' को सट्टा 'ट्याम कति भो?' भने सोध्ने गर्नुहुन्छ ?
ख्रिष्ट्रियन पर्व क्रिसमसको बेला प्रतिष्ठित पत्रिकाले आफ्नो मुख पृष्ठमै एउटा कार्टुन छाप्यो । कार्टुनमा क्रिसमसको अवसरमा नेपालका प्रधानमन्त्रीले मन्त्रिपदको उपहार बाँडेको देखार्इएको छ । ब्यंग्य जति जायज छ, व्यंग्यको जुन पृष्ठभूमी तयार पारिएको छ । त्यो लज्जास्पद छ । महत्वपूर्ण कुरो नेपालमा मुश्किलले २ प्रतिशत मात्र क्रिश्चियन धर्मावलम्बीहरू रहेको सन्दर्भमा 'क्रिसमसको उपहार' का रूपमा प्रधानमन्त्रीले उपहार बाँडेको देखाउनु कुन हिसाबले सहि ठहर्याउन सकिन्छ ? नबिर्सौ नेपाल धर्मनिरपेक्ष राष्ट्र भएपनि त्यो ८० प्रतिशत भन्दा बढी हिन्दु र १२ प्रतिशतभन्दा बढी बौद्द धर्मावलम्बीहरूको घर हो । र, अधिकांशले मनाउने चाड दशैं तिहार नै हो । आफूलार्इ उदार बताउने केहि युवायुवतीहरूले रमार्इलाका लागि या सामाजिक सञ्जालमा सम्प्रेषण गर्नका लागि क्रिसमसका भोजहरूमा भड्किला नाचहरू नाचे, रक्सी पिए या 'क्रिसमस ट्रि' का अगिल्तिर उभ्भिएर तस्वीर खिचे भन्दैमा त्यो देशको चाड हुँदैन ।

सांस्कृतिक साम्राज्यवादको जकडमा हाम्रा जस्ता गरिव राष्ट्रका जनताहरू यसरी आक्रान्त बनाइएका छन कि करिबकरिब हामीहरू विकल्पविहीन बनाइएका छौं । हामीलार्इ हाम्रालागि सोच्न पनि हाम्रो आफ्नै मगजमा भन्दा आयातित मगजमा निर्भर हुनुपर्ने अवस्था सृजना हुँदैछ । हाम्रा चिजहरू विदेशीहरूले 'वाह! तिम्रा यी चिज कस्ता राम्रा!' नभनुन्जेल हामीलार्इ राम्रो लाग्दैन । राम्रा त ती उनीहरूले नबताउन्जेल अघिसम्म पनि बिछट्टै राम्रा थिए नी, तर हामीले आफ्ना चीजमा सुन्दरता देख्न छाड्यौं । के हामी फेरिएकै हौं त ?

28 October 2015

गलतलार्इ म गलत भन्छु, म गलत भए मलार्इ सच्चाऊ

हामीले अर्को एउटा उत्कृष्टता हासिल गरेछौं । धेरै मानिसहरूले यसलार्इ अभूतपूर्व संयोगका रूपमा ब्याख्या पनि गरेँ । केहि बुझक्कीहरूले भने - अब नेपालले फड्को मार्यौ । अनि केहिले सुझाए - यसमा पृथक टिप्पणी गरिनु नकारात्मकताको अर्को एउटा पोयो फुकाउनु हो । मैले फेरि पनि भने - कोही कसैको केही थियो भनेर सहानुभूतिपूर्वक उसलार्इ कुनै पदमा निर्वाचित गराउनु, ल्याइनु प्रजातान्त्रिक चरित्र पक्कै थिएन । होर्इन । र, यो लोकतान्त्रिक मुलुकको एउटा यस्तो दुर्भाग्य बनेको छ कि केही मानिसहरू कसैको कोही भएकै कारणले सांसद बनाइएका छन्, मन्त्री बनार्इए र पछिल्लो परिघटना हामीले देख्यौं - (जननेता) कुनै पार्टीका संस्थापक भएकै नाताले बिध्या भण्डारी राष्ट्रपति पदमा निर्वाचित पनि हुनुभो ।

भर्खरै जारी संविधानको संरक्षकत्व गर्ने देशको प्रमुख ओहोदामा एक महिलाको उदयले मलार्इ पनि प्रफुल्ल पार्नु पर्ने थियो । म पनि भक्कानिनुपर्ने थियो - भावविह्वल हुनुपर्ने थियो । हर्षोल्लास् मनाउनु पर्ने थियो । तर अहँ यो विकसित घटनाक्रमले मलार्इ कुनै हिसाबले गौरभान्वित बनाउन सकेको छैन । म पूर्वाग्रही भएको पनि हैन, यस्तो फरक विचार आउनुका पछाडी केही आधारहरू छन् । म त्यसै बहकिएको हैन ।

आठ वर्षको थिएँ म जतिखेर मदन भण्डारीको हत्या भएको थियो । चार कक्षामा पढ्थे । सबै नबुझे पनि केही बुझेको थिएँ मैले । आफ्नो बुबा संलग्न दलको सर्वोच्च नेताको रहस्यमय हत्याले मलार्इ भावुक नबनाउने कुरै थिएन । मलार्इ याद छ, धेरै दिन बुबा घर फर्किनुभएन । सुनिन्थ्यो - विरोधस्वरूप सदरमुकाममा बा र उहाँका साथीहरू मशाल जुलुश बाल्दै हुनुहुन्थ्यो । कसैको पुत्ला जलाउँदै हुनुहुन्थ्यो । निष्पक्ष छानबिनको माग गर्दै एक स्वतन्त्र छानबिन आयोगको माग पनि गरियो । सरकारले गठन गरेको आयोगमा चित्त नबुझेपछि पार्टीकै छानबिन आयोग पनि गठन गरियो । हात्ति आयो! हात्ति आयो! फुस्स!! भने झैं त्यो आयोगले पनि केहि माखो मारेन । बरू मदनको मृत्युले बिध्या र पार्टीको राजनीतिलार्इ अपुरणीय क्षति हैन अतुलनिय मुनाफा दियो । संसदीय निर्वाचनमा बिध्याले निवर्तमान प्रधानमन्त्रीलार्इ चुनाव हराईन । त्यो सदाशयताको मतले उनको राजनीतिको गोरेटो अझ फराकिलो हुँदै गयो । अतः साइकलमा सवार गर्ने स्वर्गीय पतिकी धर्मपत्नीलार्इ यस्तो असीम सौभाग्य जुर्यो - कि उनी अब करोडौं पर्ने कारगेडमा देशको संरक्षकका नाताले सवार हुनेछिन । ठीक यहि बेला, मलार्इ घोचिरहने विषय के हो भने पटक पटक राज्य संचालनको प्रमुख हिस्सेदार बनेको पार्टी र स्वंय पनि सार्वजनिक लाभको पद धारण गर्ने अबसर प्राप्त गरेकी रहस्मयी हत्याकाण्डमा मारिएका ब्यक्तिकी पत्नीका नाताले निष्पक्ष छानबीन र त्रुटीरहित प्रतिवेदनको माग उनले किन बुलन्द पारिनन् ? उनी कुन त्यस्तो परिबन्धमा परिन जसले उनको आवाज पछिल्लो दुर्इदशकदेखि आफैभित्र गुमनाम छ ? म स्तब्धः छु ।

यसको अलावा, पछिल्ला केहि वर्षदेखि एक जिम्मेवार दलको जिम्मेवार राजनैतिक नेतृत्वमा रहँदा उनीले आफूमा नेतृत्वदायी खुबीको कति विकास गरिन भन्ने पनि महत्वपूंर्ण हुन्छ । एउटा पछिल्लो बहस कार्यक्रम साझा सवालमा प्रस्तुत हुँदा उनले अपनाएको शैली एक सचेत ब्यक्तिका नाताले मेरा लागि त्यो कतै शोभनीय र ग्राह्य थिएन । प्रश्नकर्ताको प्रश्नलार्इ सुन्दै नसुनी एकोहोरो आफ्नै मात्र विचार लादिरहने उनको उक्त शैलीले मलार्इ निकै नै दुखित तुल्याएको थियो । छलफलकै क्रममा उनी थुप्रैपटक तर्कहरूबाट बाहिर निस्किनु पर्ने अवस्थाहरू सृजना भए । तर्कको सहि उठान र अवतरण गर्न नसक्दा उनको तात्कालिक मनोविज्ञान निकै असन्तुलित र झिंझ्याँटलाग्दो प्रतित हुन्थ्यो । नेतृका हिसाबले विकसित घटनाक्रम र जनताका आवश्यकताको उपयुक्त बोध गर्न नसक्नु के त्यो उनको महत्वपूर्ण कमजोरी होर्इन ?


महिला अधिकार र स्वतन्त्रताका विषयमा भण्डारीलार्इ परम्परागत ढाँचाको विचारशैलीको पक्षपोषकका रूपमा पनि चित्रित गरिएको छ, र यो निराधार आरोप मात्र पनि होर्इन । विभिन्न सार्वजनिक बहसहरूमा उनका प्रस्तुतीहरूमा यस्तो छनक पाइने गरिन्छ । विश्व भूमण्डलीकरणसँगै विषय, विचार र सोंचहरूमा महत्वपूर्ण फेरबदल भएका छन् । र, ती निकै ओजपूर्ण, संवेदनशील र पृथकरूपमा उन्नत हुँदै आएका छन् । मलार्इ लाग्छ, महिला भएका नाताले हाम्रा नवनिर्वाचित राष्ट्रपति यस विषयमा सजग हुने नै छिन् ।

अन्त्यमा, राष्ट्रपति पदमा एक जना कुनै पात्र निर्वाचित हुनुले हामीमा पैदा गर्ने उत्साहको ज्वरोले देश र जनताको जीवनमा खास प्राण कहिल्यै पनि संचार गर्दैन । त्यसो हुन्थ्यो त ऐतिहासिक रूपले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति एक फरक सम्प्रदाय (यस अर्थमा कि अभिजात वर्ग वा सम्प्रदायबाहिर) को निर्वाचित हुँदा पनि शासक वर्ग र आम जनसमुदायको सोचमा तात्विक भिन्नता ल्याउन नसक्नुका कारण म निश्चित छु कि देशले एक महिलालार्इ राष्ट्रपतिका रूपमा पाउँदैमा यसले कुनै तात्विक भिन्नता ल्याउने छैन । हामी त्यतिन्जेलसम्म दुर्इ चिरामा यसैगरी विभाजित हुनेछौं जहिलेसम्म हामीले साँचो रूपमा रूपान्तरणको प्रयासको थालनी गर्ने छैन । जहिलेसम्म शक्ति, पैसा र स्रोतसम्पन्नहरूको जयजयकारमा आफ्ना उर्जाशिल समय खेर फालिरहनेछौं । म यत्ति भन्छु - फुरूक्क हैन जिम्मेवार बनौं, अन्धभक्त हैन, सचेतक बनौं । अबुझ, अनदेखा नबनौं, रूपचन्द्र विष्टले भने झैं - थाहा पाऔ भातमाराहरू !


30 September 2015

अत को मनको भडाँस

समकालिन अंग्रेजी साहित्यका युवा कवि क्रिश जेमीको एउटा भनार्इ छ - 
“There are two circumstances that lead to arrogance: one is when you're wrong and you can't face it; the other is when you're right and nobody else can face it.” 
(दुर्इ वटा परिस्थतिहरू जसले आक्रोशपूर्ण अवस्थामा लैजान्छन् - एउटा जतिखेर तिमी गलत हुन्छौं, र त्यसको सामना गर्न सक्दैनौ, र अर्को त्यतिखेर जतिबेला तिमी सहि हुन्छौ तर अरू कसैले  त्यसको सामना गर्न सक्दैनन् ।)
दुरूस्तै यहि भनार्इको सादा अर्थ, अहिले हामीले भोगिरहेकाे अवस्था हाे । ६५ बर्ष अगाडिदेखिको सार्वभौम सत्ता सम्पन्न जनताको चाहनाअनुरूप संविधानसभाले संविधान जारी गर्यो, खुशियाली मनाउनुपर्छ । दिपावली गराउनुपर्छ । एशियाकै उत्कृष्ट संविधान आएको छ । जोजससँग असन्तुष्टिहरू छन् ती पनि समयक्रमसँगै संबोधन हुँदै जान्छन् । बग्रेल्ती यस्तै टिप्पणीहरू सुनेँ, पढेँ । ९० प्रतिशत भन्दा बढी जनताका प्रतिनिधीहरूले हस्ताक्षर गरेको संविधान जारी हुँदा एक नेपाली हुनुको नाताले प्रफुल्ल हुनुपर्ने हो तर हृदयदेखि मुस्कान मेराे निस्किन सकेन, मलार्इ माफ गर्नुहोला । तर यहि आधारमा मलार्इ - तँ नेपाली हैनस् नभनिदिनुहोला, चित्त दुख्छ मेरो । 
छिमेकी देशमा संविधान जारी हुँदा, स्वागत गरेन, भारतले अघोषित नाकाबन्दी गर्यो । डटेर सामाना गरौं । त्यसले नाकाबन्दी गरे के भो ? चिन छँदै छ ! भूकम्पले प्रभावित नाका यथाशिध्र खोल्नुपर्छ, अरू संभावित नाकाहरू पनि सुचालू गराउनुपर्छ । भारतीय च्यानलहरू बन्द गरौं । पेट्रोल नपाए केहि हुँदैन, साइकल चढौंला । हाम्रो स्वाभिमान गिर्न दिनु हुँदैन । नेपाली शीर ठाडो पारेर हिड्नुपर्छ कटबाँस जस्तो । उसको देशमा भएका असमझदारीका बारेमा हामीले कहिल्यै हस्तक्षेप गरेनौं, उसले कसरी हाम्रो स्वाधिनतामा दख्खल दिन पाउँछ ? यस्ता थुप्रै टिप्पणीहरू गरिए, भनिए, । भारतको पछिल्लो रबैयाबाट अाघात पुग्नुपर्ने थियो, त्यो क्षोभ ममा पैदा भएन । माफ गर्नुहोला  । तर यहि आधारमा म एक सामान्य युवालार्इ भारतीय एजेन्ट नठानिदिनुहोला, चित्त दुख्छ मेरो । 
एक थान संविधान जारी त भएको छ, तर थुप्रै विमति र असमझदारीबीच जारी भएको संविधान जसले देशको आधा हिस्सा ओगटेको जनसंख्यालार्इ खुशी पार्न सकिरहेको छैन त्यस्तो अवस्थामा सचेत युवाका हिसाबले मलार्इ यो दिपावली मनाउने हदको खुशीको क्षण हो भन्ने लागेन । मैले यसको पूर्ण समर्थन गर्न सकिनँ । भन्न त ९० प्रतिशत जनताका प्रतिनिधीहरूको हस्ताक्षरबाट आएको भनिएको संविधान भनिएको छ, तर ९० प्रतिशतभन्दा बढी जनताले सुझाएको प्रतक्ष्य कार्यकारीको सुझावलार्इ रद्दीको टोकरीमा फ्याकेर देशलार्इ मुलधारका दुर्इ/तीन दलको मनखुशीमा नचाउने प्रपञ्चका साथ संसदीय ब्यवस्था लादिए पछि मैले कसरी मान्न सक्छु यो ९० प्रतिशत जनताको जनप्रतिनिधीहरूको सहभागिताले पारित गरेको संविधान हो ? भनिएला, नब्बे प्रतिशतको हस्ताक्षर छ, लोकतान्त्रिक प्रक्रियाबाट आएको हो । तर अचम्म लाग्दो यस्तो लोकतान्त्रिक प्रक्रिया जहाँ सभासद संसोधन प्रस्ताव राख्न पाउँदैन, राखिएको संसोधन प्रस्तावमा स्वस्थ छलफल र बहस हुँदैन । हुन्छ र हुन्नको ध्वनी मतका आधारमा संविधानका धाराहरू पारित हुँदै जान्छन । अनि त्यहि ९० प्रतिशतको आलाप लगाएर संविधानको वैधता प्रष्ट्रयाउन जोरजबरजस्ती गर्न खोज्ने कथित राष्ट्रवादी नेताहरूको रवैयाले मलार्इ वाक्क पारेको छ ।
संविधानसभाका हलमा कर्मकाण्डी प्रक्रिया चलिरहँदा देशको आधा हिस्सा ओगट्ने जनसंख्या सडकमा ओर्लिदा, राज्यको प्रभावकारी भूमिका किन हुन सकेन ? के ती नेपाली जनताहरू हैनन् ? के तीनका मागहरूका विषयमा संवाद हुन सक्दैन ? निरंकुश चित्रित गरिएको राजसंस्था परिवर्तनका लागि २५ जनाको शहादत काफि थियो, तर युगौको आन्तरिक उत्पीडन अन्त्यका लागि ४२ जनाको बलिदानी काफि छैन मेरो देशका शासकहरूका लागि । के ती मधिसे थारूहरूको जीवनको कुनै मूल्य छैन ? मेरो स्पष्ट मान्यता हो, राज्य अभिभावक हो । के जनतालार्इ अधिकतम खुशी दिनुपर्ने राज्य संचालकहरूको दायित्व होइन र ? 
सामाजिक संजालमा चलिरहेको नेपाली राष्ट्रवादी अभियानमा मेरो पृथक मान्यता रह्यो, यसैकारण म जस्तै विदेशिएका तर दोश्रो विश्वयुद्दपूर्वका जर्मन नाजीहरू भन्दा खुँखार राष्ट्रवादी एक मित्रले मलार्इ भारतमा बसार्इ सर्न चेतावनीयुक्त आग्रह गरे । जापानको विस्फारीत चेतनामा रहेर पनि आफ्नो दिमागको संकुचनलार्इ अझ फराकिलो पार्न नसकेका नबनेपाली नाजी मित्रको मनोदशाले मलार्इ एउटा प्रश्न गर्न बाध्य बनायो - भारतले दुर्इतीन दिन अघोषित नाकाबन्दी लगाउँदा थला पर्ने कस्तो राष्ट्र निर्माण गरेका रहिछन् हाम्रा नेताहरूले ? मित्र, यति कमजोर धरातलको तिम्रा राष्ट्रवाद कति दिगो छ ? आफूभन्दा फरक नश्लको समुदायलार्इ घृणा गर्ने राष्ट्रवादले साँचो हैन खोक्रो राष्ट्रवादको जन्म गराउँछ । अंग्रेजी वाक्यमा बुझाउन चाहेँ - Such Nationalism creates xenophobes. अहिलेको अपरिहार्यता भारतविरोधी राष्ट्रवाद हो या देश निर्माण गर्ने राष्ट्रवाद ? आत्मनिर्भर हुने राष्ट्रवाद ? दक्षिण कोरियाको राष्ट्रवाद या उत्तर कोरियाको राष्ट्र्वाद ? भारत बिरोधी भावनाको विकासले हाम्रो राष्ट्रियतामा के टेवा दिन्छ ? के यसले मानिसहरूलार्इ हिंसा भड्काउन मद्दत गर्दैन ? हिंसा भड्काउने मध्यपूर्वका देशहरूको राष्ट्रवाद भनेको - स्वाधिन जनताहरूलार्इ फिरन्ते, भगुवा र निरीह शरणार्थी बनाउने नै हो । यसप्रति सचेत हुनुपर्छ कि पर्दैन ? 
मलार्इ लाग्दछ, आडम्बरी देशभक्तिको जुग सकियो, यो युग भनेको चेतनाले भरिएको राष्ट्रियता निर्माण गर्ने युग हो । जसले अन्तर्राष्ट्रिय सम्बन्धहरूको सबलिकरण र आफ्नै राज्यसत्ताप्रति आलोचनात्मक समर्थनमा महत्व दिन्छ । अन्ध राष्ट्रवादको जबरजस्त पक्षपोषणले मानिसलार्इ एउटा कुनै देशको नागरिक हुनुमा गर्व त गराउँला तर मानिस हुनुमा आत्मसन्तुष्टि दिन सक्दैन । हाम्रा लागि भारतले के गर्यो वा गर्छ भन्दा हाम्रा शासकहरूले के गर्दैछन् वा गर्छन् ? के दिए वा दिएनन ? के सके वा सकेनन ? हामी भित्र साँचो राष्ट्रवाद छ वा छैन ? भन्ने बुझार्इ प्रधान हो । आज खुलेर राष्ट्रवादका बारेमा सामाजिक संजालका भित्ता रंगाउने मेरा साथीहरूले कुनै सम्पन्न मुलुकको लागि देशको स्वाभिमान बन्धक राखेको सुन्नु र देख्नु नपरोस् । एक अराष्ट्रिय ब्यक्तिको राष्ट्रिय ब्यक्तिहरूलार्इ शुभकामना छ । जय नेपाल ! जय नेपाली !!!

05 August 2015

साताको विचार

इज्रायली सन्तानका नाममा हामी आदेश दिन्छौ‌ कि जो कसैले आत्माका रक्षा लागि वा भष्ट्रचार (राज्यमा गरिने) का विरूद्द बाहेक अ...

Posted by Nirajan Thapa on Wednesday, August 5, 2015

19 July 2015

म "खेल" खेल्दिनँ

आयरल्याण्ड (स्कटल्याण्डमा समेत) मा आयोजित २० ओभरको विश्वकप छनोट प्रतियोगितामा अपेक्षित खेल पस्कन सकेको भए हाम्रो राष्ट्रिय क्रिकेट टोलीले अर्को बर्ष दक्षिणी छिमेकी राष्ट्र भारतमा विश्वकप खेल्ने अवसर प्राप्त गर्ने थियो । तर छनोटचरणका ६ खेल मध्ये वर्षाका कारण स्थगित एक खेल बाहेक बाँकी पाँच मध्ये चार खेलमा नेपालको हार लज्जास्पद त थियो नै, क्रिकेट प्रशंसकका नाताले मलाई हाम्रो टोलीले जितेको एक खेलमा समेत तारिफ योग्य प्रदर्शन गरेजस्तो लागेन । खेल हो, हारजित हुन्छ । यसले मलाई उती दुखित पनि बनाएन । तर अभ्यासखेलदेखि लयमा नफर्केको टोलीले छनोट खेलमा पनि तारिफयोग्य खेल पस्कन असमर्थ रह्यो । 
कुरो क्रिकेट खेलको मात्र पनि रहेन, अरु खेलहरुमा पनि हामीले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनौ । फिफाको विश्व फुटबलको वरियताक्रममा नेपाली राष्ट्रिय टोली निरन्तर ओरालो लाग्ने क्रम कायमै छ । भलिबल, बास्केटबल र कबड्डीमा पनि नेपाली राष्ट्रिय टोलीले कहिल्यै पनि सुखद नतिजा हासिल गरेनन । कुनै बेला हामी दक्षिण एशियाली क्षेत्रमा मार्शल आर्टसमा तारिफयोग्य प्रदर्शन गर्दथ्यौं, तथापी पछिल्ला दिनहरुमा त्यसमा पनि हाम्रो प्रस्तुती चिन्ताजनक देखिन्छ । तर यस्तो हुनुका कारणहरुका सम्बन्धमा ठोस अध्ययन पनि गर्ने गर्दैनौं । 
खेलकुद क्षेत्रको अधोगतिका बारेमा टिप्पणी गर्नुपर्यो भने हामी मध्ये अधिकांशलाई सजिलो हुने प्रतिक्रिया के हो भने यस क्षेत्रमा राजनैतिक हस्तक्षेप छ । वा, नयाँ प्रतिभाले ठाउँ पाउँदैन । यी दुवैथरी प्रतिक्रियाहरु महत्वपूर्ण टिप्पणी हुन । किन्तु, खेलकुद क्षेत्रमा उल्लेख्य प्रगति हुन नसक्नुको मुख्य कारण हामी आफै हौं भन्ने हामीले नकार्न मिल्दैन । हाम्रो परिवार, हाम्रा बुबाआमा र हाम्रो समाज । 
प्रत्येक बाबुआमाको सपना आफ्ना छोराछोरी डाक्टर, पाइलट, इन्जिनियर, अभिवक्ता वा लेखापरिक्षक बनुन भन्ने नै छ । कति त्यस्ता बाबाआमा हाम्रा समाजमा होलान् जसले आफ्ना बालबच्चाले अतिरिक्त क्रियाकलापका क्षेत्रमा राम्रो गरुन भन्ने चाहन्छन् ? फुर्सदको समयमा एकछिन खेल्न निस्किने बालबच्चालाइ समेत हामी अनेकथरी घरायसी काममा अल्झाउन चाहन्छौं । हामीमा एउटा गहिरो विश्वास के छ भने खेलेर कसैको पनि प्रगति हुँदैन । छैन । 
खेलकुदको प्रसंग आउँदासाथ मलाई मेरै गाउँको बुढो चौरको बेहिसाव याद आउँछ । रत्नेचौरमा लमतन्न चौरमा फुटबलको पोस्ट त गाडिएका छन् तर खेल्ने किशोरकिशोरीहरु उत्साहित देखिदैन । खेल्न पुगेका अधिकांशलाई घरको काम गर्नेै पर्ने बाध्यता हुन्छ । त्यसकारण, ती दत्तचित्त भएर खेल्न पनि पाउँदैनन् । न त खेल्न सिकाउने कोही हुन्छ न त खेलकुदका पर्याप्त साधन नै हुन्छन् । जे जे लिएर ती त्यहाँ खेल्न पुग्छन । सबैजना रमाईलोका लागि खेल्न पुग्छन । एकजनाको पनि सपना हुँदैन । जब सपनाविहिन खेलाडी जबरजस्ती रमाइलाका लागि मात्र खेल्छ, उसँग प्रतिभाको विकास हुँदैन । ऊ कसरी ब्यवसायिक बन्न पुग्छ ? 
रमाईलोका लागि खेल्न शुरु गरेकाहरु येनकेन राष्ट्रिय टोलीमा पर्छन । खेल्ने प्रतिभा भएकाहरुको पहुँच पुग्दैन, वा खेल्दाखेल्दै ती खेल्नै छाडिदिन्छन् । अधिकांश उनीहरुलाई जिवीकोपार्जनका लागि क्रिकेटको पीच वा फुटबलको मैदानभन्दा अरबको मरुभूमी किफायती हुन्छ । उनीहरु त्यतै जान लालयित हुन्छन् । जुन देशमा खेलेर भविष्य सुरक्षित गर्न सकिदैन त्यहाँ खेल्नुको पनि औचित्य रहने कुरो भएन । खेलाडीहरुलाई पैसाको पछाडी कुद्नुपर्ने अवस्था आएपछि त्यो भन्दा ठूलो विडम्बना अर्को के होला ? हो, हामी त्यही बिडम्बनायुक्त समयमा बाँचिरहेछौं ।
एउटा जमाना थियो यहि खेलकुद क्षेत्रमा (नजाने अहिले पनि होला), जतिखेर यस क्षेत्रका दलालहरु आफ्ना बन्धुबान्धवहरुलाई “खेलाडी” बनाएर विदेश पैठार गर्थे । असली खेलाडीहरु त्रिभुवन विमानस्थलबाट घर फर्कन्थे । ती लज्जा, क्रोध र हिनताको असह्य पीडामा जिउँदै मर्थे । ती नक्कली फुटबल खेलाडीहरु, कुस्तीबाजहरु, पौडीबाजहरु वा करातेका डनहरु जापान, कोरीया, हंगकंग, अमेरिका र युरोपका कतिपय देशहरुमा नेपाली शरणार्थीका रुपमा उतैको नागरिक भैसके हामीसँग कुनै हिसाव बाँकी रहेन अब । खासमा राजनीतिको आडमा खेलकुदलाई व्यवसायिक नभई “वैदेशिक रोजगारको व्यापार” बनाउने “दलालहरु” का कारण नेपाली खेलकुद यसरी माथि उठ्नै नसक्ने गरी धसारिन पुगेको हो । 
समग्र नेपाली खेलकुद क्षेत्रको उज्ज्वल भविष्यका लागि आम नेपाली अभिभावकहरु आश्वस्त हुनु जरुरी छ कि खेलमा लगाव भएका आफ्ना नानीबाबुहरुलाई आज खेल्न प्रोत्साहित गर्दा उनीहरुको आर्थिक भविष्य समेत असुरक्षित रहनेछैन । र, आम अभिभावकरु आस्वस्त हुन सक्ने सरकारसँग दिर्धकालीन सोंच, योजना र कार्यान्वयन गर्ने इमान्दारीता हुनु महत्वपूर्ण छ । नत्र नेपाली खेलकुदको अँध्यारो भविष्यतर्फको यात्राको शिलशिला चलिरहनेछन । 

12 July 2015

म पुस्तक पढ्दिनँ

पाँच वर्षपहिले नर्वेमा छँदा, एक बेलायती साथीले मुहारप्रिस्थिका (फेसबुक) मा सयवटा कितावहरुको सूची प्रस्तुत गरेपछि म निकै बेर सोचमग्न बने । अंग्रेजी साहित्यका पुस्तकहरुको सूचीमा दिइएका मध्य तीनवटा पुस्तकहरुका समीक्षा सम्म मैले पढेको रहिछु । एनीमल फार्म, ग्रेट ग्याट्सबी, वथेलो ! तर उमेरले म भन्दा ३ वर्ष कान्छी उनले एक सय मध्य सत्ताइसवटा पुस्तकहरू अध्ययन गरेकी रहिछन् । र, बाँकी त्रिहत्तर वटा पुस्तकहरू क्रमशः पढ्दै जानेमा आफू विश्वस्त रहेको पनि उल्लेख गरेकी थिईन । 
कितावसम्बन्धी उनको सम्प्रेषण पढेपछि मैले पनि नेपाली साहित्यका दशवटा पुस्तकहरुको सूची बनाएर मुहारप्रिस्थिकामा राखेको थिएँ । तीन दिनसम्म मेरो सम्प्रेषण बार्‍ह जनाले मन पारेको, र एकजना मित्रले चाँहि सूचीमा रहेको तीन वटा पुस्तकहरु अध्ययन गरेको टिप्पणी राखे । बाल्यकालमा पढिसकेको तर कथावस्तु बिर्सीसकेको एक कृति पनि मैले त्यो सूचीमा रोखको थिएँ । जुन कृति पढिसकेको भनेर टिप्पणीकर्ता मित्रले गरेका थिए । त्यसकारण, मैले मित्रवरको टिप्पणीमा विश्वेश्वरप्रसाद कोइरालाको “मोदिआइन” कृतिका बारेमा उनको धारणा जान्न चाहेँ । उनले भने – “खासै त्यस्तो विशेष छैन । अब उहाँको सृजना भएकाले अलिअलि यौन मनोविज्ञान हुने नै भो, नत्र मोदि भन्ने पात्र श्रीमानसँग झगडा गरेर माईती जान्छे, पछि फेरि यौनको तलतल, पारिवारीक दायित्व सम्झेर घर फर्किन्छे । कथा यहि हो !” मलाई मोदिआइनमा कोही मोदी पात्र भएजस्तो याद भएन । मलाई त मोदिआइन नै स्वयं मुख्य पात्र हुन भन्ने लागिरहेथ्यो । तैपनि मित्रलाई यो भेदका बारेमा जान्नलाई केहि सोधिन । 
तर जब मोदिआइन दोश्रो पटक मेरो हातमा पर्‍यो, कृतिलाई गम्भिरतापूर्वक बुझ्ने चेतना एक हिसावले उन्नत नै बनिसकेको अवस्था थियो । धर्म र शास्त्रीय मान्यतामा गहिरो बुझाई भएका विश्वेश्वरप्रसादको कृति मोदिआइन भौतिक आकारले जति सानो र तुच्छ देखिन्छ, यसले प्रसार गर्ने ज्ञान र कथाको केन्द्रिय भाव ती मित्रवरको झुटो अझै तुच्छ टिप्पणीभन्दा हजार गुणा वजनदार पक्कै थियो । लघु आकारको यो उपन्यासको कथा नै मुख्य पात्र मोदिआइनमा केन्द्रित छ । प्रेमदेखि युद्धका पाटाहरु अटाएको कृतिमा यौनमनोविज्ञान मात्र हैन मनोविज्ञानका अनेकन आयामहरु छन । 
यतातिर म रेलमा, बसमा वा हवाइजहाजमा मान्छेहरु पुस्तक पढ्न ब्यस्त भएको देख्छु । उनीहरुले पढिरहँदा मलाई कुत्कुताउँछ । कहिलेकाही म पनि आफूसँग भएका पुस्तकहरु मध्ये कुनै एउटा यात्रा गर्दा बोक्ने गर्छु । पढ्न शुरु पनि गर्छु । तर कोही परिचित मानिस कतै देखिहाले, किताव लुकाउँछु र उतैतिर कुद्छु । यहि बानीका कारण एक वर्ष पहिले किनेको एउटा किताबको एक चौथाई पनि मैले पढ्न भ्याएको छैन । किताब लुकाउनुको पनि कारण छ । मलाई मान्छेहरुले किताब पढेकै कारण “शान झारेको” नदेखुन भन्नेमा म सचेत हुन खोज्छु । तर कहिले काही मनमा यस्तो पनि लाग्छ, के आफूलाई मन परेको पुस्तक आफूनो फुर्सदको समयमा पढ्नु पनि शानको कुरो हुन्छ र ? अरुलाई प्रदर्शन गरेको हुन्छ र ? हुँदैन नी हैं !? तर हामीले यात्रामा कसैले पुस्तक पढ्दै गरेको देख्यौं भने एकपटक अवश्य सोच्छौं – उसले पढेर हामीलाई देखाएको !
गलत सूचना प्रवाह गर्नेहरुदेखि मलाइ एकदमै रिस उठेर आउँछ । जस्तै ती मित्रले जस्तो पढ्दै नपढेको कृतिमा हावादारी विवेचना गर्ने काम । नपढेको वा थाहा नभएको कुरामा त थाहा छैन वा पढेको छैन भने पनि भैहाल्छ नी । तर हामी मध्ये केहीलाई यस्तो लाग्छ कि अहिले झुटो बोलेर कसैको अगाडि सम्मानयोग्य हुन सकिन्छ भने किन झुटो नबोल्नु ? यस्तो सन्दर्भमा प्रायशः म पश्चिमेलीहरु निकै इमान्दार अनि विश्वसनीय भएको पाउँछु । एकपटक एक फिनिश साथीको घरमा रुवान्डाको नरसंहार सम्बन्धी एउटा किताब देखेँ । “ब्रोकन मेमोरीः अ स्टोरी अफ रूवान्डा” ! मैले उनलाई त्यो पुस्तकका बारेमा सोधेँ । उनले किताब पढ्न नभ्याई सकेको कुरा बताए । सायद उनले पढेको छु भनेर सामन्यतयाः रुवान्डाको नरसंहारका बारेमा एकदुई कुरा भनेका भए मैले उनको कुरा अविश्वास गर्नुमा कुनै कारण रहने थिएन । एकछिनका लागि झुटो बोलेर पछि आफ्नो विश्वसनीयता गुमाउनुभन्दा त्यसो नगर्नु उनलाई वेश लागेको हुनुपर्छ । 
पुस्तक पढ्ने बानीले हामीलाई तार्किक बन्न मद्यत गर्छ भनेर पढ्ने हैन, खासमा पुस्तकहरुले हामीलाई मूर्ख हुनबाट जोगाइराखेका हुन्छन् । फुर्सदका समयमा बेकामका चिया गफमा अल्झिनुभन्दा, वा चोके गफहरुमा मस्तिनु भन्दा, एउटा किताव पढौं । त्यसले जीवनका अनेकन् आयामहरुलाई बुझ्न मद्यत गरोस् । यदि आफूले पढ्न खोजेको किताव अझै लेखिएको छैन भने १९९३ को साहित्यतर्फको नोबेल पुरस्कार विजेता अमेरिकी लेखिका टोनी मोर्रिसनले भने झैं “आफैले त्यो लेख्नुपर्छ !” को मर्मलाई पनि बुझिदिओं । 
पुस्तकका विषयमा कुरा गर्दैगर्दा समकालिन विश्व साहित्यका एक हस्ती, जापानी लेखक हारुकी मुराकामीको एक भनाई उद्दरित गर्नु मन लाग्छ । उहाँ भन्नुहुन्छ – "यदि तिमी अरुले पढेजस्तै किताब मात्र पढ्छौं भने तिमी पनि त्यही मात्रै सोच्नेछौ जुन उनीहरुको जस्तै हुनेछ ।” हाम्रो सोचाइको दायरा फगत चिया गफहरुले वा चोके गफहरुले विस्फारित हुन सक्दैन । सोचाइको दायरा बढाउनलाई पनि हामीले पुस्तकहरु अध्ययन गर्ने बानीको विकास गर्नु जरुरी छ ।

01 July 2015

Reservation at Finnish Police Station

In Finland, it's quite confusing for new comers to get adapted with various systems. For instance, if you have to apply for the visa extension or identity card, you have to go to police station but you have to have an appointment.
To facilitate you, here I've come with every steps that you need to follow-
1 First  CLICK HERE , you will be taken to the appointment page of the Police.
a. Click on the tab - Make an appointment

2. The next page appears with the form below. Fill your information in appropriate boxes. 
3, At the end of the form, on Appointments section there is the purpose of your appointment, drop down the list and select your purpose, and click on the Next tab. 

4. Browser will automatically detect your location and display the time table on the right side of the page, however, if your police station is other than your current location then you can select the location from the map or the drop down list (the section on the buttom of left side). Then you can hover your cursor on the time table and book your time. At last you have to confirm your appointment and the police will send you a confirmation text to your mobile. 

Last but not least, never forget to appear at least 5-10 minutes earlier than your appointment time. 


28 June 2015

म शिशा पुछ्दिनँ ७

रेलभित्र यात्रुहरु पस्दै थिए । म भित्र छिरे लगत्तै एउटी मगन्ते फिनिश बुढीआमा पनि रेलभित्र पसीन । रेलको टिकट बेच्ने मानिसले मलाई पुलुक्क हेर्दै, आँखा झिम्काउँदै ती बुढी आमालाई टिकट छ ? भनेर सोध्यो ! टिकट बेच्नेलाई जाँच्ने अधिकार भएपनि उनीहरुले त्यसो गरेको मैले देखेको थिइँन । उसले मलाई आँखा सन्काएका हिसावले मैले के बुझेँ भने – ऊ सायद रेलका यात्रुहरु ती बुढीआमाको माग्नेकामले आजित नहुन भन्ने चाहन्थ्यो । बुढीआमा टिकटको वैधानिकता जाँच गर्ने यन्त्र भएको ठाउँमा पुगिन, यन्त्रमा यात्रुकार्ड राखेपछि हरियो बत्ति बल्यो । बुढीआमा यथास्थानमा फर्किन । ऊ मुसुक्क हाँस्यो । बुढीआमालाई धन्यवाद भनेर चालककक्षभित्र छिर्यो । म ट्वा परेँ !
माग्नेमान्छे समेत टिकट लिएर यात्रा गर्छ । माग्ने मान्छेलाई पनि सम्मानपूर्वक व्यवहार गरिन्छ । हाम्रो र यिनीहरुको संसार कति फरक ?! नियमका कुरा सबैलाई बरावरी लागू हुन्छ । र, नियमको सम्मान पनि त सबैले नै गर्छन । यहाँका मान्छेहरुको “सभ्य व्यवहार” को उत्कृष्ट नमुनाहरुको दृश्यपान गरेपछि मैले धेरैपटक यसरी नै ट्वा पर्नु परेको छ । 
***
एकदिन जेब्रा पारमा म, एकजना युवती र उनको बच्चासँगै भयौं । रातो बत्ती बले पनि त्यहाँ गाडीहरु ओहोेरदोहोर गरेका थिएनन् । म हतारमा थिइँन, त्यसकारण रोकीराखेको थिएँ, तर ती महिलाले जेब्रापार गरेपछि बस चढ्नुपर्ने रहेछ, बस बिसौनीमा आइसकेको थियो । उनीमा अलिकति हतासा देखेँ । हरियो बत्ति बल्यो, हामीहरुले जेब्रापार गर्नै लाग्दा, उनको बस बिसौनीबाट छुट्यो । मेरो बस आईपुग्न अझै छ मिनेट जति थियो ।  
जेब्रा पार गर्दै गर्दा मैले सोधेँ, 
तपाइँले बस छुटाउनु भो, हो ?
हो त ! थोरै निराश भावमा उनले भनीन ।
बाटो पार गर्नुभएको भए हुन्थ्यो नी त, एउटा गाडी पनि त थिएन ।
बच्चाकै अगाडि त्यस्तो गर्यो भने उसले के सिक्ला ? आफ्नो चारपाँच वर्षे बच्चालाई हेर्दै उनले प्रष्ट पारिन ।
मैले समर्थन जनाउनु नपर्ने कारण देखिन । उनले अझ प्रष्ट्याउँदै भनीन – “अधिकांश फिनिश बाबुआमाहरुले जस्तो सुकै परिस्थिती भएपनि आफूसँग बच्चा भएका बखत स–साना कुरामा ध्यान दिने प्रयत्न गर्दछन् ।” 
“तर मैले धेरैपटक देखेको छु कि स–साना बच्चाबच्चीका अगाडि फिनिस बाबुआमाहरुले वेपर्वाह धुम्रपान गरिरहेका हुन्छन् । उनीहरुले यस्तो किन गरेका ?” यसको बचाउमा उनले केही पनि भनिनन् । “यो बिडम्बनापूर्ण छ ।” उनले थप भनिन् – “तर सरकारले १८ वर्ष मुनिकालाई सूर्ति वा अल्कोहलजन्य पदार्थ किन्न र पिउन प्रतिबन्ध लगाएको छ । यसकारण पनि फिनिश बाबुआमाहरुले त्यसो गरेको हुनसक्दछन् ।” उनको यो तर्कले मेरो जिज्ञासालाई पूर्णत सम्बोधन नगरेकाले मैले उनको मत जान्न चाहेँ – “धुम्रपान गर्नेलाई भन्दा उसको वरिपरी रहेका व्यक्तिहरुलाई बढ्ता असर पर्ने हिसाबले पनि के तपाइँ सरकारले आमाबाबुहरुलाई आफ्ना बालबच्चाका अगाडि धुम्रपान गर्न प्रतिबन्ध लगाओस् भन्ने चाहनुहुन्न ?”
“म त सार्वजनिक स्थलमा हुने धुम्रपानलाई समेत प्रतिबन्ध लगाओस् भन्ने चाहन्छु ।” अलिकति मुस्कुराउँदै उनले भनिन ।
“भनेपछि तपाइँ धुम्रपान गर्नुहुन्न ?” मैले जिस्काएको भावमा सोधेँ ।
“म मदिरापान पनि गर्दिन !” उनको बोनस जवाफ आयो ।
“म पनि गर्दिन ।” मैले भनेँ ।
“त्यो हातको के ?” उनले मेरो हातमा भएको वियरको बट्टा औल्याउँदै सोधीन ।
“म गर्मी याममा कहिलेकाही एक वा दुई क्यान पिउँछु । त्यस्तै आधा लिटर भन्दा अलिकति बढी !” झुटको ढाकछोप गर्ने असफल प्रयास थियो मेरो । 
उनी चुप बसिन् । 
मैले प्रसंग बदले । बच्चातिर हेर्दै मैले उनलाई सोधेँ – “बाबुको बुबा ख्वै त ?”
“म एकल आमा (सिंगल मदर) हो । हामी पाँच वर्षजति सम्बन्धमा रह्यौं । बच्चा भैसकेपछि हाम्रो कुरो मिल्न छाड्यो । अनि हामी छुट्टियौं ।” उनले भनिन् ।
“मेरो मुर्ख प्रश्नका लागि मलाई माफ गर्नुस हैं !” विनीतभावमा मैले भनेँ ।
“हैन, केहि छैन ।” सहजतापूर्वक उनको जवाफ आयो ।
“कहाँबाट आउनुभएको ?” उनको प्रश्न थियो ।
मैले जवाफमा भनेँ – “नेपालबाट ।”
“नेपालबाट ?” आश्चर्यतापूर्वक उनले प्रश्न गरिनँ ।
“हजुर ।”
“मेरो पूर्वप्रेमी पनि नेपालको त हो नी ।” बच्चाको कपाल सुम्सुमाउँदै भनिन् । 
“या के गनुहोन्छ ?” नेपाली बोल्ने प्रयास गर्दै सोधीन ।
“म बिद्यार्थी हुँ ।” मैले जवाफ फर्काए ।
मैले केही पर म चढ्ने बस आउँदै गरेको देखेँ । मैले भने – “ल मेरो बस आयो ।”
“हामी साथी बन्न सक्छौं नी ?” उनले साथी बन्ने प्रस्ताव राखीन ।
मैले सहमती जनाएँ । मोबाइल नम्बर आदानप्रदान भयो । बसमा चढेपछि मैले उनको नम्बरमा एसएमएस पठाएँ – हाउस्का तुतुस्तुवा (तपाइँलाई भेटेर खुशी लाग्यो) !
उनले पनि खुशी भएको स्माइली :) पठाईन । 
क्रमशः 

22 June 2015

म शिशा पुछ्दिनँ ६

समय मैं ऋतुकालमा प्रविष्ट नहुने असाध्य नारी रोगले आक्रान्त मेरी धर्मपत्नीको व्यथा नेपाल छाड्दा पनि उस्तै नै रह्यो । त्यसकारण, उनले यो विदेशी भूमीमा पहिलो पटक यहाँको चिकित्सकसँग चेकजाँच गराउनु पर्ने भयो । त्यस हेतू नजिकैको सरकारी स्वास्थ्य केन्द्रमा फोन मार्फत हामीले चेकजाँचको लागि समयको अग्रीम प्रबन्ध गर्‍यौं । उनका लागि आकस्मिक सेवा आवश्यक नभएका कारण, स्वास्थ्यकेन्द्रले तीन हप्तापछिको समयको ब्यवस्था गरिदियो ! तीन हप्तापछि बिहान आठ बजे उनी स्वास्थ्य केन्द्र पुगीन ।

नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ हावापानीका कारण सिर्जित तनावका कारणले त्यस्तो भएको रे डाक्टरले भनेकी !स्वास्थ्यकेन्द्रबाट फर्केर आफ्नो झोला समेत नबिसाई एकै श्वासमा पत्नीले सुनाईन ।

, ए ! हामी त्यसै के के सोचेर आत्तिएछौं ! ठीकै छ नी त उसोभए ।मैले यतिभनेपछि आफूले स्वास्थ्यकेन्द्रमा बिताएको आधा घण्टाभन्दा बढीको समयमा के के भयो र कस्तो अनुभव रह्यो उनले सविस्तार सुनाइँन । जुन मेरा लागि नौलो विषय थिएनन् ।

म तल बसिरहेकी थिएँ, मेरो नाम लिदैँ डाक्टर आइन । मलाई ह्युभा हुवामेन्ता (शुभप्रभात) भन्दै अभिवादन गरीन । मैले पनि मुन्टो हल्लाएँ । कस्तो लाज लाग्ने नी हैं डाक्टरले पो नमस्ते भन्ने ?!” यती भन्दा मेरी श्रीमतीको अनुहार लाजले अलिकती रातो भएको छर्लड्गै देखेँ मैले । उनलाई सहज बनाउनलाई मैले भन्नु पर्‍यो –“आफ्ना आफ्ना रीतिथिती हुन बुढीमाऊ । उता डाक्टरलाई नमस्ते गर्नुपर्छ । वा भनुँ उमेर, पढाई, ओहोदा नानाथरीका वर्गिकरणमा आफूभन्दा माथिल्लो श्रेणीलाई धनुष्टङ्कार गर्नुपर्यो, मुनिका लाई गराईन्छ पनि, यता सेवाग्राहीलाई सेवा प्रदायकले सम्मान ब्यक्त गर्छन ! हाम्रोमा सम्मान खोजिन्छ मानौं कि त्यो पाउनुपर्ने अधिकार हो, यता सम्मान खोज्नुमा हैन आर्जन गर्नुपर्नेमा विश्वास गर्छन ! यो आर्जन गर्नपट्टि लागे, हामी माग्नपट्टि !
उनले थप्दै गइन् – “उनको जाँच कक्षमा आफूले ढोका उघारेर मलाई पहिला स्वागत गरीन अनि आफू भित्र छिरीन । बस्नलाई मेच देखाइन् । मेचमा सुविस्तापूर्वक बस्नलाई आग्रह गरिन । अप्ठ्यारो तरिकाले अंग्रेजी बोल्दै दुईचार कुराहरु सोधीन । कहिले आएको ? फिनल्याण्ड कस्तो लाग्दैछ ? फिनिश आउँछ कि आउँदैन ? खासमा उनलाई उस्तो अंग्रेजी नआउँदो रहिछ । उमेर पनि पचास पचपन्न भइन होली । उनी अलि अलि मात्र अंग्रेजी बोल्ने म फिनीश कत्ति पनि नबोल्ने । पछि बुझ्नलाई अलि गार्‍हो पर्न थालेपछि मसँग क्षमा माग्दै उनी अंग्रेजीमा दख्खल राख्ने आफ्नी सहायक लिनलाई गइन । आफूले राम्रोसँग संवाद गर्न नसकेकोमा यति धेरै क्षमाशील रहिन की मैले कतिपटक ठीकै छ, बुझिराछु ।भन्दा पनि उनले आइ एम सरीभनेर दोहोर्‍याई रहीन बुढा ! पछि उनको सहायक आएर दोभाषेको काम गरिन ।
मैले एकाग्र मेरी पत्नीलाई सुनिरहेँ ।

पछि चेक गरिसकेपछि आफै ढोका खोलीदिईन । अनि फेरि पनि आफूले अंग्रेजीमा राम्रोसँग दोहोरो संवाद गर्न नसेकेकोमा माफ मागीन । मलाई पो कस्तो अप्ठ्यारो लाग्यो ।
श्रीमतीले आफ्नो अनुभूति मात्र सुनाईनन् नेपालका केही आफ्ना अनुभव र अरुबाट सुनेका अनुभवहरुका बारेमा पनि उप्काईन ।

मैले जिस्काउँदै भनेँ – “प्रसव ब्यथाको बेला डाक्टर नर्सहरु सुत्केरी हुन लागेकी महिलालाई खुब थर्काउँछन रे नी हैं हाम्रो मुलुकाँ ?” उनले मुख रातो पारीन । लाजले होला । मैले सोध्न लाज नमानी जिज्ञासा राखिहालेँ – “साँच्ची हाम्री छोरी जन्मिदा तिमीलाई केही गाली गरेकी नाइँ ?” श्रीमतीका दुबै आँखामा आँशु देखेँ मैले ।
उनको आँशु पुछिदिदैं मैले भनेँ – “बोगटी थर कान्छी माईजुले पनि ब्यथा सहन नसकेर रुँदा एउटी नर्सले खुब गाली गरेकी थिई रे नी त । उतिबेला खुब रमाईलो गरीस अहिले हाम्लाई बेकारको टेन्सन न दे भनेर !
जे पायो त्यो !भन्दै, मजाकमा उनको मुड्की प्रेमपूर्वक मेरो छात्तिमा बज्रियो ।

म यसो गम खान्छु यी फिनिश आम मानिसहरु कति सम्म विनयशील हुन सकेका ? कति क्षमाशील प्राणी यी ? एकपटक मेरै कारण एउटा फिनिश अधवैशें मसँग ठोक्किन पुग्यो, मैले आन्तेक्स (माफ गर्नुस् हैं) भन्नु नपाउँदै उसले माफी माग्यो । ऊ त एक आम मान्छे थियो, उसले त्यसो गर्नु स्वभाविक पनि हो । तर यहाँका प्रहरीहरु पनि कसैले केही गल्ती गरिहालेका छन् भने हाम्रातिरका प्रायःजसो प्रहरी दाजुभाईहरु जस्तो सिधैं झम्टिन जाँदैनन् । एकदम शालीन पाराले सम्भावित अपराधीलाई विनम्रतापूर्वक आफ्नो गाडीमा बसाल्छन् । यदि कुनै जण्डै खालको मनुवा परेछ भने चाँहि भुँइमा लडाएर हात पछाडी हत्कडी लगाएर थानामा लान्छन । उसो त मेरै क्याम्पसका प्राध्यापकहरु म होस वा अरु कोही आफ्ना विद्यार्थीले आफूलाई देख्नुभन्दा पहिला उनीहरुलाई देखे भने अभिवादन गर्छन ! धेरै पटक म चकित हुने गरी बडो आश्चर्यमा परेको छु । यसरी म यहाँको संस्कार देखेर चकमकाउन थालेको साढे दुईवर्ष हुन आँट्यो !

सेतोपाटीमा दिल निशानीले ४८ घण्टाका लागि प्रधानमन्त्री बन्न पाए दश वटा बुँदामा काम गर्ने उद्घोष पढेपछी मेरी श्रीमतीले आफ्नो तर्फबाट एउटा बुँदा थप्न चाहिँन – "कि प्रसव पीडामा छटपटिएकी नारीलाई उचीत मानवीय व्यवहार नगर्ने डाक्टर नर्सहरुको अनुमति पत्र खारेज गराई भविष्यमा उक्त पेशा अबलम्बन गर्नै नपाउने ब्यवस्था पनि गर्नुपर्छ । के भन्नुहुन्छ ?"

 मैले के भन्नु ? बुँदाहरुले देश बन्दैन । परिवर्तन हुँदैन । देश बन्ने एउटा अचूक सुत्रमा मेरो सधें विश्वास छ । अल्बर्ट आइन्सटाइनले सरलीकृत गरेर त्यसलाई भनेका छन् – “जुन विश्व हामीले सृजना गरेका छौं त्यो हाम्रो सोचाईको प्रक्रिया हो । हाम्रो सोचको परिवर्तन विना त्यसको परिवर्तन सम्भव छैन !

के त्यो सोचले हाम्रो पुरुष अहमतावादी संस्कारसँग सानिन्ध्यता राख्दैन होला ? के त्यो सोच हाम्रो अपरिष्कृत परम्परागत बुझाई, गराई र शोषणवादी अहम्सँग सन्निकट छैन होला ? हो, प्रिया यहाँको जस्तै सामाजिक व्यवस्था खोज्ने अधिकार हामीसँग त्यतिन्जेल छैन, जतिन्जेलसम्म हामी हाम्रा खोटी सोंचहरूमा परिवर्तन ल्याउन सक्दैनौं ! र, देश पनि त्यतिन्जेलसम्म त्यस्तै रहनेछ । त्यो यसरी नै परिचित हुनेछ पछौटे, घामड र अहमताको भुङ्ग्रोमा भुटिएका मान्छेहरुको वस्तीको रुपमा !

14 June 2015

म शिशा पुछ्दिनँ ५

तस्वीरमा छोरी 
चार बर्षपहिलेको एउटा घटना याद भो,
“आमा, अब मलाई ज्यामिति बाकस चाहिन्छ है, पर्सीबाट ज्यामितीको पढाई हुन लाइच्च !” म त्यहीबाटो भएर कतै जाँदै थिएँ, एकजना गाउँले भाईले आफ्नी आमासँग ज्यामिति बाकसको माग गर्दैथिए ।
उनकी आमाले झर्किदै भनिन् – “तेरो बाउले पैसा नपठाएको पाँच महिना भैसक्यो, मैले कहाँबाट ल्याएर दिने हो ?”
म बाटोमा टक्क रोकिएँ, आमा–छोराको वार्तालाप सुन्नलाई । बच्चाले माग राखिनै राख्यो, उसलाई बाबुले पैसा पठाउनु या नपठाउनुसँग सम्बन्ध थिएन । आमाले प्रतिजवाफ दिईराखीन् । एकछिन पछि पट्यांग आवाज आयो । आवाजसँगै अर्को करुण आवाज आयो । त्यो रुवाईको आवाज थियो । लगत्तै, म निशब्द त्यहाँबाट हिडेँ ।
एकपटक अमेरिका घुमेर फर्केपछि नयिका रेखा थापाले सार्वजनिक टिप्पणी गरेकी थिईन – “अमेरिकामा अरु त सबै ठीक लाग्यो तर आफ्नो बच्चालाई एक दुई झापड लगाउन पनि नपाइने कुरोले ताजुब बनायो । त्यो कस्तो नियम हो ?” आमा पनि नबनेकी उनले गरेको सार्वजनिक टिप्पणीले एउटी छोरीको बाबु बनिसकेको मलाई चाँहि आश्चर्यचकित बनायो । त्यो अलिकति स्वभाविक टिप्पणी भैकन पनि त्यसले नेपाली संस्कारको दुर्बल पाटोलाई उस्तै प्रष्ट पार्दथ्यो । आज पर्यन्त छोरीलाई एक थप्पड पनि नलगाएको मलाई उनको टिप्पणी कतै न कतै हिंसा र आमा वा बाबु बन्नुको अहमसँग जोडिएको पनि पाएँ ।
कहिलेकाही म यस्तो पनि सोच्दछु कि कति नेपाली बालबालिकाहरु होलान जसले आफ्नो शैशवकालमा कत्ति पनि डर त्रास वा हिंसा सहनु नपरेको होस । अनि फेरि म सम्झन्छु ती दिनहरु कि आमाको आज्ञाकारी सन्तान हुँदाहुँदै एकाध साना त्रुटीहरुमा आमाले लगाएका थप्पडहरु । एक हिसाबले ती मेरा भलाईका लागि नै थिए, किन्तु अर्को हिसाबले त ती हिंसा नै थिए । के ती साना परिणामका यातना थिएनन् त ? फेरि यस बखत मैले ती थप्पडहरुलाई सिधैं हिंसामा जोडेर हेर्दा हाम्रो समाजलाई उती प्रिय नलाग्न पनि सक्दछ । तर ती आफ्ना सन्तानहरु गलत बाटोमा नहिडुन् भन्नका खातिर चालिएका गलत उपाय नै थिए । ती उपायहरु गलत किन पनि थिए भने तीनले बालमनोविज्ञानमा नराम्ररी प्रभाव पार्दछन् । गल्ती गरेपछि बाबुआमाबाट पिटाई खाने एउटा बच्चोले आफ्नो भाई वा बैनीले त्रुटी गर्दा पनि उहि उपाय अबलम्बन गर्छ नै । जस्तो, मैले पनि गरेँ । मैले गल्ती गर्दा आमाबाट चुटाई खाएँ, अनि भाईले गल्ती गर्दा उनले मेरो पिटाई भेटे ।
यहाँ चाँहि म बाटोमा हिड्दै गर्दा कहिलेकाही देख्छु आफ्नो बच्चासँग हिडिरहेका आमाबाबुहरु । र, बच्चासँग आमाबाबुले गर्ने कार्यलापहरु । एकपटक म बस कुरिरहेथेँ, बस बिसौनीमा एउटी अधवैशे महिला र उनको बच्चा पनि सँगै थिए । बस आउनै लागेको थियो बच्चा कुदेर पर पुग्यो र ती महिलाले यति बिनम्रतापूर्वक बच्चालाई फकाएर आफूतिर बोलाईन कि बच्चा अझ अरु परपर दौडियो । उनको केहि जोर नचलेपछि उनी बच्चा लिन दगुरिन । बच्चालाई उनले फकाउँदै केही भनिन् । तिनी आक्रोशमा चिच्याउने वा कराउने समेत केही गरिनन् । यहाँ त्यस्तो कुनै पनि आमाले गर्दैनीन । कुनैपनि बाबुले गर्दैनन । बस पनि आयो र उस्तै स्वभाविक ढंगले उनी बसमा चढिन । अनि मैले झल्याँस्स आफैलाई सम्झेँ, छोरीलाई याद गरेँ सायद त्यो बच्चा र आमाको ठाउँमा मेरी छोरी र म हुन्थ्यौं भने मैले थप्पड नलगाएपनि छोरीलाई तर्साउने तरिकाले नै बोलाउँथे होला । र, छोरी तर्सिदै मनेर आईपुग्थिन होली ।
म बुझ्ने भएपछि मैले के थाहा पाएँ भने आफ्ना छोराछोरीलाई तर्साउने, गाली गर्ने वा एक दुई थप्पड लगाउने मेरो आमा मात्र गर्नुहुन्न । त्यो त प्रायः सबैका आमाबाबुहरुले गर्दारहिछन् । छरछिमेकमै धेरै साथीभाईहरु माथि उनीहरुका आमाबाबुबाट चरम यातना दिने काम हुन्थ्यो । धन्न ! हाम्री आमाले सिस्नोले पोल्नुभएन । थाममा मात्र बाँध्नुभयो एकछिन । अस्पताल भर्ना हुने गरी पिटाई खानुपरेन एक दुई झापड लगाउनु भो मात्र । तर ती आमाबाबुहरु के साँच्चीकै आमाबाबु हुन लायक थिए कि जसले आफ्ना बालबच्चाहरुलाई पिट्नकै लागि जन्माएको जस्तो व्यवहार गरे ? यहाँ सम्मकी कता हो एक जना आमाले आफ्नो जिद्धी छोरालाई तह लगाउन राती घरबाहिर बाँधेर राख्दा बच्चालाई किरा (बाघ) ले खायो रे भन्ने सुनियो ! बच्चामा यस्तो सुन्दा कस्तो अत्यास लाग्यो होला ? म त्यो अत्यासको पीडा अभिब्यक्त गर्नै सक्दिनँ यतिखेर !
हामी धनका गरिव हौंला, तर मनले पनि यतिधेरै गरिव रहिछौं भन्ने बिस्तारै बुझ्दैछु म । आफ्ना मुटुका टुक्रा बराबरका सन्तानसन्ततीलाई राम्रोसँग हुर्काउन पनि कति धेरै छुच्याई गरिराखेका हामीले । मीठो बोलेर फत्ते गराउन सक्ने कामका लागि हामीले कति धेरै उर्जा नष्ट गरिराखेका ? यातना दिएर बालबालिकालाई ठीक पार्न खोजिराखेका हामीहरुले अब हामीले बालबालिकालाई सही मार्गमा ल्याउन अबलम्बन गरेका उपायहरुलाई ठीक पार्नुपर्ने समय भएको छ । ती बदल्नुपर्ने बेला भएको छ । डरले डर जन्माउँछ । यातनाले यातनाकै पृष्ठपोषण गर्दछ । बालबालिकाहरुलाई धम्काएर हैन फकाएर असल बनाउँदा उनीहरुभित्र हामीले एउटा “असल मान्छे” पनि हुर्काइराखेका हुन्छौं ! नानीबाबुहरुलाई “ठीक पार्ने” हैन “असल बनाउने” काम गरौं । ती कलिला मुनाहरुलाई जतनले हुर्काऔं । प्रेमले फूलाऔं !

07 June 2015

म शिशा पुछ्दिनँ ४

गएको हप्ता त हो नी छोरीले आफ्नी आमा (ममी) को मोबाइल फोनमा ‘मिस्ड कल’ गरेको, अनि मेरी दुलहीले छोरीलाई फोन गरेको । आमा–छोरीको मोबाइल वार्ता सुन्दै गर्दा बोलीरहेका दुईजनामा मैले प्रशन्नताको स्पष्ट भाव पाएथेँ, तर मलाई अलि धेरै गम्भीर बनाईदिए मेरा दुई परीहरुले !
“के गर्दैहुनुहुन्छ नी ?” हामीले यताबाट “छोरी” भनेपछि उताबाट छोरीले बोल्ने पहिलो वाक्य नै यहि हो ! त्योदिन पनि छोरीले उनकी आमाले “छोरी” सम्बोधन गरेलगत्तै यहि प्रश्न गरीन् ।
“तिमीसँग कुरा गर्दैछु ।” वा “भर्खर खाजा खाएँ ।” भनेको भएपनि आज म यसरी सायदै यो लेखिरहेको हुनेथिएँ । तर मेरी पत्नीले भनीन – “म भर्खर पढेर आएको, बाबाले खाजा बनाउनु भयो अनि हामीले खायौं !” यसो भनेर सकेपछि उनले पुलुक्क मतिर फर्केर हेरीन् । उनको त्यो हेराईमा मैले असीम अनुग्रहीत भाव पाएथेँ ।
उनीहरु अरु धेरै कुराहरु गर्दै थिए, मलाई चाँहि पत्नीले बोलेको पहिलो वाक्यले नै एक हिसाबले स्तब्ध बनायो । अझ यस्तो भनूँ कि त्यसले मेरो भावुक हृदयलाई क्षतविक्षत पार्‍यो । उनको तात्कालिक अनुग्रहीत भावले मेरो हृदयमा ल्याएर आएको कम्पनको अहिले म वर्णन गर्न सक्दिनँ ।
प्रायःजसो म कामबाट साढे दुईबजेतिर घर फर्किसकेको हुन्छु । उनी फर्किदा साढे तीनमा केही बढी हुन्छ । र त्यो दिन पनि त्यस्तै भएथ्यो ।
मलाई झट्ट याद भो’ – उनी आउँदा मैले चिया तयार पारेर राखेको थिएँ । बिस्कुट त छदैं थियो । हामीले त्यो दिन खाएको खाजा त्यही चिया बिस्कुट थियो । मैले दुई मिनेट पनि नलगाई उमालेको चिया मेरो पत्नीको लागि “खाजा” भयो । साँच्ची, हाम्रा नेपाली नारीहरु आफ्ना श्रीमान्का स–साना कामप्रति पनि कति धेरै अनुग्रहीत हुन सकेका ? बच्चै हुँदा बुबाले उमालेको चाउचाउलाई आमाले भन्नुहुन्थ्यो – “ल बुबाले बनाएको “अर्नी” खाना आओ बाबुहरु !” आमाले यसो भन्दै गर्दा उहाँको मुहारमा पनि म असीम कृतज्ञता देख्थेँ । मामाघरमा जाँदा पनि माईजुले उस्तै प्रेमभाव सहित भन्नुहुन्थ्यो – “ल भान्जा, मामाले बनाएको ‘घिन्ती’ र चिउरा खाऊ !”
वर्षका ३६५ दिन मध्ये मैले मेरी पत्नीलाई पाँच दिन खाजा बनाएर सघाउँछु होला । तर बाँकी दिनहरुमा त उनले नै हो सबथोक बनाउने  हाम्रा लागि । तर म कहिल्यै अनुग्रहीत भइँन ! सायद खाना खाजा बनाएर खुवाउनुपर्ने उनको जिम्मेवारी हो भन्ने ठानेँ मैले । र, त्यसरी खान पाउनुपर्ने मेरो हक ! मनमा अनेकन तर्कनाहरु खेल्न थाले ।
महिला अधिकार, महिला पुरुष समानताका आदर्शका कुराहरुमा मैले धेरै पटक लेख्दै र बोल्दै आए । मैले मात्र नभै धेरै पुरुषले त्यसो गर्छौ नै ! तथापि यी लेखेर र बोलेर मात्र प्राप्यसाध्य छैनन भन्ने हामीले कहिल्यै बोध गरेनौं । ‘म’ यस्तो पुरुष भएछु कि गफका गुड्डी हाँक्ने तर सिन्को नभाँच्ने !
अस्तिमात्रै काममा म शिशा पुछ्दै थिएँ, आफैले टल्काएको शिशाबाट सडकमा मैले एउटा लक्का जवान ठिटो देखेँ । उसले बच्चाको झोलुंगो (बच्चा राखेर गुडाउने भाँडो) गुडाउदँै थियो । ऊ बच्चा लिएर मैले काम गर्ने किनमेल केन्द्रभित्र छिर्‍यो । म अर्कोतिरको शिशा पुछ्न कुदेँ, ऊ त्यतैतिरको एउटा बच्चाको सामान पाइने पसलभित्र छिर्‍यो । तत्क्षणः मैले सम्झेँ यदि कुनै नेपाली पुरुष एक डेढ बर्षे बच्चा लिएर बच्चाका लागि केही सामान किन्न पसलमा गयो भने, पसलेले सामान दिनुभन्दा पहिले प्रश्न अवश्य सोध्नेछ – “श्रीमती ख्वै र ? आफै आउनुभएको ?”
हालैको दिन मैले एउटा राष्ट्रिय साप्ताहिकमा कामकाजी महिलाको बारे लेखिएको आलेख पढेको थिएँ । आलेखमा थुप्रै महिलाहरुले नेपाली समाजको “पुरुष अहमता” र “सामन्तवादी चिन्तन” को निकै नै घिनलाग्दो अनुभवहरु बाडेका छन । श्रीमान् श्रीमती दुवै काम गर्छन । श्रीमतीले काममा जानुपहिले चिया तयार पार्ने देखि खाना बनाउने ख्वाउने खाने र छोराछोरीलाई विद्यालय पठाउनेसम्मका तारताम्य मिलाउँछिन । काम सकिएपछि दुवै घर फर्किन्छन् । खाजा बनाउँछिन, छोराछोरी श्रीमानलाई ख्वाउने काम गर्छिन । उनीहरुलाई गृहकार्य गर्न सघाउँछिन । तर पुरुष पात्र आराम मात्र गरिरहन्छ । मनोरन्जन लिन्छ – टिभी हेरेर । इन्टरनेटमा सर्फिङ गरेर । आलेखमा भनेजस्तै वास्तविकता के हो भने नेपाली महिलाहरुका लागि आराम भनेको रातीको छ सात घण्टा सुत्ने समय मात्र हो ।
मानवशास्त्रीहरु भन्छन् – ढुंगे युगमा पुरुषहरु शिकार खेल्न जान्थे, महिलाहरु घरमा बसेर बच्चाबच्चीको स्याहारमा लाग्थे । त्यहाँबाट शुरुभएको पुरुष दासता आज पर्यन्त निरन्तर छ । पुरुष पात्रको यस हैकमवादी चरित्रकै कारण दुवै पात्रहरुको यथोचित विकासमा व्यवधान आएको कटु यथार्थ हो । अब बिलम्ब नगरी नेपाली समाजलाई ढुंगे युगबाट माथी उठाउनु पर्ने बेला भएको छ ।
त्यो दिन आओस्, श्रीमानहरुले खाजा बनाउँदा श्रीमतीहरुलाई अनौठो नलागोस् । सबैकाम सँगसँगै गर्ने समय आओस् । कामहरुमा लैङ्गीक विभाजन नहोस् । आउँदो पुस्ताले यस्तो पढ्न पाउन – कुनै समय कामहरु दुई प्रकारका हुन्थे । केही पुरुषहरुले गर्थे, धेरै कामहरु महिलाहरुले गर्थे !

01 June 2015

म शिशा पुछ्दिनँ - ३

म बस्ने घरबाट रेल बिसौनीतिर जाने बाटोको मध्य भागतिर बालबालिकाहरुको स्याहार गर्ने पाइभा कोटी (बालबालिका दिवा स्याहार गृह) छ । किनमेलका लागि पसलहरुमा जाँदा म त्यहीबाटो भएर हिड्ने गर्छु ।
ग्रिश्मकालीन सन्ध्याहरू यति रोमाञ्चक हुन्छन कि राती एघारबजेसम्म घामको उज्यालो हुन्छ । र, एक साँझको ७ बजेतिर म किनमेलका लागि पसल जादैँ थिएँ । मैले एक फिनिश स्वास्नीमान्छेलाई आफ्ना दुईजना बच्चाहरुसँग त्यही स्याहार गृहको खेलमैदानमा खेलिरहेको देखेँ ।
“आइती...” लामो लेघ्रो तान्दै उनको सानो बच्चा आफ्नी आमालाई केही सोध्दै थियो । उसले “आइती” भनेर आमालाई बोलाएको मात्र मैले बुझेँ । किनकी फिनिशमा “आइती” भनेको आमालाई भनिन्छ भन्ने मैले यहाँ आउँदाको पहिलो महिनातिरै थाहा पाइसकेको थियो । बाँकी उसले के सोध्यो मैले बुझिनँ । उसकी आमाले केहि बताइन । ऊ “कितोस” भन्दै खुरुरु दौडियो । उसले आमालाई धन्यवाद भनेको थियो । तत्क्षण मैले मेरी ७ बर्षीया छोरीलाई याद गरेँ । उनले आफ्नी हजुरआमा (मेरी आमा) लाई आमा, र आफ्नी आमालाई ममी भनेर सम्बोधन गर्ने गरेको सम्झेँ । अनि मैले यो पनि सम्झेँ कि मैले मिठाईहरु लगिदिदा वा वार्षिक तथा त्रैमासिक परीक्षाहरुमा उनी सफल हुँदा “बधाई छ छोरी” भन्दा उनले कस्तरी लेघ्रो तान्दै “थ्याङ्क यू” भन्ने गर्थिन । गर्छिन । आफ्नो भाषालाई प्रेम गर्नुपर्छ भन्ने मान्यता राख्ने म जस्तोले समेत आफ्नो सन्तानलाई मातृभाषा प्रयोगको “मोह” जगाउन असमर्थ छु भने, घरमै अंग्रेजी वार्तालाप गर्ने नेपाली परिवारहरुको हविगती झन के होला ?
यता आएदेखि नै मलाई यी आफ्नो भाषाप्रति सानैदेखि सदभावपूर्ण व्यवहार राख्दछन् भन्ने बुझ्न गार्‍हो भएन । यिनीहरुमा आफ्नो भाषाप्रति विछट्टैको प्रेम छ । यहाँ मात्र हैन यूरोपका जति पनि देश घुमेको छु मैले यस्तै अनुभूति गरेको छु । “विश्व भूमण्डलीकरण” को हवाला दिदै यी भाषाको बलात्कार गर्दैनन् – हामीहरुले जस्तो । र, आफूले बोल्ने प्रत्येक वाक्यमा कम्तिमा एक वा दुई अंग्रेजी शब्दहरु मिसाएर आफ्नो “बौद्दिकता” को भद्दा प्रदर्शनमा यी सायदै विश्वास गर्छन ।
एकपटक नेपाली साथीभाईहरुसँग नेपालीहरुले आफ्नो भाषा प्रयोगमा गर्ने कन्जुस्याइँका बारेमा चर्कै बहस पनि भो ।
अधिकांशको प्रतिनिधी तर्क पेश गर्दै एक मित्रले भने “अंग्रेजी वर्डहरुको यूज हुनु नेचुरल कुरा हो यार ।” इंग्लीशलाई नेपालीमा अंग्रेजी भनिन्छ भन्ने पुनः सम्झिन सकेनन सायद उनले थपे – “इंग्लीश मिडियमबाट पढाई हुने बोर्डिङ स्कुलमा पढियो, त्यहाँ एउटा नेपाली बोल्न पाइन्थेन । ह्याभिट भैसक्यो यस्तरी बोल्नुलाई ।”
अनि मैले सोधेथेँ –“तपाइँका हजुरबा हजुरआमा हुनुहुन्छ ?”
उनले भनेका थिए –“सुड्डो (बाबा) का तिरको हुनुहुन्न । तर ममको ड्याड ममहरु चाँहि हुनुहुन्छ ।”
फेरि मैले सोधेको थिएँ – “मामाघर जाँदा आफ्ना हजुरबा हजुरआमासँग पनि अंग्रेजी मिसाएर बात गर्नुहुन्छ उसो भए ?”
“ह्या त्यो त डिफरेन्ट कुरो भैहाल्यो नि!” अत्यन्तै बेपर्वाह तरिकाले उनले तर्क गरे । त्यसपछि मैले केहि तर्क गर्न चाहिनँ ।
तर त्यसो भन्ने उनीमात्र पनि त थिएनन । कतिपय साथीहरु यस्ता थिए जो आफूलाई अत्यावश्यक परेको बखत शुद्ध नेपालीमा वार्तालाप गर्छन । जस्तो, रेलमा यात्रा गर्दै छन् र उनीहरुसँग टिकट छैन । यस्तो बेलामा कसरी ८० यूरो जरिवानाबाट बच्न सकिन्छ भन्नेमा ती पुरै नेपालीमा वार्ता गर्छन । त्यस्तै बाटोमा हिड्दै छन कुनै राम्री फिनिश केटी आफू नजिकैबाट हिडी र अब उसको नितम्ब, जिउँडाल, रुपरंगको बारेमा कुरा गर्नुपर्यो नी ती अचम्मै लाग्दो ढंगले शुद्द नेपालीमा बोल्छन् ।
यो विदेशी भूमीमा मेरा केही साथीहरुले वर्जित काम गर्दा, वा ब्यक्ति विशेषका बारेमा कुरा गर्दा मात्र गर्ने नेपालीभाषाको शुद्ध प्रयोग बुझिनसक्नुको छ ! अझ दुःखद त यो छ कि – अधिकांश हामीहरु नेपाली भाषाको प्रयोगमा रुची नै राख्दैनौं ।
म केही टेलिभिजनका बहसमूलक कार्यक्रमहरु नछुटाई हेर्ने गर्छु । र, प्रायशः बहसमा सहभागी नेपाल सरकारका जिम्मेवार अधिकारीहरु हुन, दलका नेताहरु वा अरु विभिन्न क्षेत्रका बौद्दिक भनिएका ब्यक्तिहरू उनीहरुले प्रश्नोत्तरको क्रममा दिने जवाफमा अंग्रेजी शब्दहरुको प्रयोगलाई विशेष महत्व दिएको पाउँछु ।
मलाई राम्ररी याद छ, २०७० को आषाढ महिनाको “साझा सबाल” को महिला हिंसामा देखिएको दण्डहिनता सम्बन्धी बहस कार्यक्रममा अतिरिक्त प्रहरी महानिरीक्षक नवराज सिलबालले ७० भन्दा बढी अंग्रेजी शब्दहरुको प्रयोग गरेका छन । यो एउटा प्रतिनिधी उदाहरण मात्र हो ।
अनि म बिलखबन्दमा पर्छु, नेपाली भाषाको प्रयोग र यसको प्रवद्र्धनमा कसले जिम्मेवार हुनुपर्ने हो ?
म सुन्न चाहन्छु हाम्रा नानीबाबुहरु आमालाई “ममी” हैन आमा भन्न सिकुन, “थ्यांक यू” हैन धन्यवाद भन्न जानुन । र, प्रत्येक भोर मेरी छोरी मलाई “शुभप्रभात बाबा !” भनून । र मैले भनुँ – “शुभप्रभात छोरी !”
फेरि लाग्छ यो शिशा पुछ्न छाडेर बरु देश जान्छु । र, टल्काउँछु मेरो भाषाको प्रयोगलाई आफैले टिलिक्क पारेर टल्काएको शिशालाई झैं ।

24 May 2015

म शिशा पुछ्दिनँ २

यो नेपालमा विनाशकारी भूकम्प गएको ३ दिन पछिको घटना थियो । 

पश्चिमतिरको काम्पिनतोरी जाने ढोकाको शिशा उति पुछ्नु पर्दैन । सफा नै हुन्छ । तर आज त्यो ढोकामा जानु मन लाग्यो मलाई । म गएँ पनि । अलिअलि औंलाहरुका डोब परेछन् । नीलो फाइबरमा सुमा र्‍यापिड छर्केर एकै फिटिक हात लम्काएपछि ती नामेट भए । शिशा टलक्कै भो । टल्केको शिशाबाट साठी सत्तरी हात पर रेडक्रसको स्वयंसेवी पोशाकमा एउटा फिनिश अधवैशेंलाई हातमा बट्टा समातेर सहयोग उठाईरहेको देखेँ । मोबाइल निकालेर हेरेँ – नौ बज्न तीन मिनेट थियो । अलिकति अगाडि बढेर यसो चिहाएपछि देखेँ, फिनिशमा लेखेको रहिछ – नेपाललाई सहयोग गरौं ! 

हप्ताको मध्य दिन अलि बढी मात्रामा शिशा पुछ्नु पर्छ मलाई । र, नेपाललाई सहयोग गरौं लेखेको बट्टा बोक्ने फिनिशलाई देखेको दिन पनि हप्ताको मध्य दिन नै थियो । त्यो यस बर्षको अठारौं हप्ताको बुधबार थियो । केहि शिशाहरु पुछपाछ पारेपछि मेरो खाना खाने समय भो । आधा घण्टाको खाना खाने अवधीभर मनमा धेरै तर्कनाहरु उठेँ । खाना पनि नरुचे जस्तो भो । र, फेरि एकपल्ट मैले खाँदाखाँदैको भाग पूरा गर्न सकिनँ । पत्नीले प्रेमपूर्वक तयार पारेको आलु र केराउको तरकारी समेत फाल्नु परो । फालेँ । 

दुई बर्ष पहिले फिनिश रेडक्रसमा करिब डेढ महिनाका लागि प्रयोगात्मक कक्षा थियो मेरो । त्यही बेला हो, एउटा कार्यशाला गोष्ठीमा फिनिश रेडक्रसकी एक अधिकारीले बताएको कि फिनल्याण्डका मानिसहरुले रेडक्रसलाई कति धेरै विश्वास गर्छन र कुनै पनि मानवीय सेवाका लागि यसले संचालन गर्ने रकम संकलन अभियानमा कति धेरै रकम संकलन हुन्छ । उनले भनेकी थिईन – जापानमा भूइँचालो जाँदा करिब १ अर्ब ने. रु. संकलन भएको थियो । 

मैले खाँदाखाँदैको खाना फाल्नु परेको यहि तथ्यांक सम्झना भएर हो । विश्वभरबाट विभिन्न तरिकाले संकलन हुने रकमको सदुपयोग वा ब्यवस्थापन गर्न नेपाल सरकारको दक्षता माथि ठूलो प्रश्न उठ्यो मनमा । विदेशीहरु समेत आफ्नो नीजि तर अत्यन्तै ब्यस्त समयतालिकाको बाबजुद सडकमा सहयोग उठाउँदै गर्दा विदेशी भूमिमा रहेको म एक आम नेपाली युवालाई आफ्नै सरकारप्रति विश्वास नलाग्नु, चानचुने कुरो थिएन । यहि असाधारण कुरोले पोलेपछि मलाई त्यो दिन समेत राम्रोसँग शिशा पुछ्न मन लागेन । एक घण्टा पहिले नै नाइकेलाई जानकारी गराएर म घर फर्के । अघिपछि बसको शिशा नियाल्थेँ । सफा भएको÷नभएको समेत हेक्का राख्थेँ । शिशाको झ्यालबाट परपर सम्म दृश्यमा अटाउने सम्मका चिजबिजहरु ध्यानपूर्वक हेर्ने गर्थे । अप्रिल २५ को शनिबारपछि यता झ्यालबाहिर मन हुत्तिन छाडेको छ । र, त्यो बुधबार त झन एउटै बसमा यात्रा गरेको अर्को एकजना नेपाली बन्धुलाई पनि ख्याल गरेनछु । बसबाट झरेपछि उनको आवाजले पो झस्किएँ – “के हो ब्रो हाम्रो त बालै छैन है ?”

बाल छ भनुँ कि छैन भनुँ ? म बिलखबन्दमा परेँ । मैले मुन्टो हल्लाउँदै भनेँ – “त्यस्तो हैन भाई !” उनले उसोभए कस्तो हो त ? भनेर सोधेनन् । र, मलाई पनि याद भएन् मैले मुन्टो उनको बाल नभएको प्रश्नको समर्थन हल्लाएँ वा असमर्थनमा !
भूकम्प प्रकोपित क्षेत्रहरु कहि कतैं राज्यले राहत बोकेर पुगिनसकेको त्यो चौथों दिन मलाई भूकम्प पिडीत लाखौं नेपालीहरुको “बाल” थियो । मलाई मात्र किन ? म जस्ता थुप्रै नेपाली युवाहरुलाई थियो । तर त्यो बुधबारको साँझसम्म म शतप्रतिशत निश्चित थिएँ – कि नेपाल सरकारलाई भूकम्प पिडीत नेपालीहरुको “बाल” छैन् । 

खाना खाने बेलामा बुढीलाई सुटुक्कै ब्यथा कहेँ – ९ करोड यूरोको “यूरो ज्याकपट चिठ्ठा” पार्न सके त ९० प्रतिशत रकम म भूकम्पपिडीतहरुको लागि खर्च गर्ने थिएँ बुढी ।
बुढीले मुस्कुराईन मात्र ।

मैले मनमनै कल्पेँ – मैले नै सोचेका सात अंक पर्ने हो भने त ! फेरि सम्हालिए १ देखि ५० सम्मका पाँचबटा सम्भावित अंकहरु र १ देखि १० सम्मका सम्भावित दुई बोनस अंक गरी सम्भावित सात अंकहरु पर्ने सम्भावनाको हिसाब गर्न त मेरो प्रिय गणित शिक्षक बालकुमार सरलाई नै सोध्नुपर्ने हुन्छ । तर मेरो अनुमानमा त्यस्तो सम्भावना बोकेको सात अंके लहर करोडौं हुन्छन् । र, मैले नै सोचेका सात अंकको लहर पर्ने सम्भावना ? 

अब भने बालकुमार सरले पनि कपाल कन्याउनु पर्ने हुन्छ ।

खाना खाँदै गर्दा ट्वा परिरहेको मलाई बुढीले झस्काइन् – ओ बुढो के भो ?
मैले भनेँ – अब म शिशा पुछ्दिनँ । 

पत्नीले केही भनिनीन् !

शिशा पुछ्दा प्रयोग हुने रसायन

07 May 2015

म शिशा पुछ्दिन

“पश्चिमतिरको खालीभाग पनि सफा गर्नुपर्ने तिम्रै भागमा पर्ने भो’ हैं ।” – एक भोर काम गर्ने ठाउँको प्यालेस्टाइनी नाइकेले सफाई कोठाको शौचालय सफा गरेर निस्किदै गर्दा भन्यो । काम उति धेरै त होईन तर च्याँठ्ठिदै मैले प्रतिप्रश्न गरेँ – “त्यो बेल्जियन क्याफेको साइडको ?” “अँ, त्यो भुइँतलादेखि माथि टाइगर बारसम्मको ।” फेरि सम्झे झैं गरेर भन्यो – “जम्मा ५ वटा तलाको कुनाकुना परेको भाग न हो, धेरै छैन । त्यहि पनि त्यो भित्ताको काला निला धर्साधर्सी केहि भए त्यो तिम्ले गर्नुपर्दैन, त्यो अर्कैले गर्छ ।” मैले केहि आपत्ति जनाइँन । पोछा लगाएर कनिकनि गर्नुपर्ने होइन । मेसिन चलाउने न हो । त्यो पनि हप्ताको दुईदिन गर्दे हुन्छ । त्यति फोहोर पनि त हुँदैन त्यतातिर । एल्ले थाहा पाउने हैन ! म मनमनै खुशी भएँ । म मुस्कुराएको देखेपछि ऊ पनि मुस्कुरायो । खासमा ऊ नमुस्कुराउने खालको मान्छे नै हैन । मुस्कुराएरै ऊ त्यहाँबाट ओझेल हुन लाग्यो, भन्यो – “सिसाहरु राम्ररी टल्काउनु हैं । मैले त्यसलाई पनि भन्या छु ।” अनि ऊ त्यहाँबाट हिड्यो । म, मेरो ट्रलि गुडाएर सिसा पुछ्न हिडेँ ।
त्यो दिउँसो आफैले टलक्क पारेको शिशाको झ्यालबाट मैले एउटा गज्जपको दृश्य देखेँ । एक जना युवाले हातमा पत्रिकाजस्तो केहि बोकेको थियो, मैले एकटकले उसलाई हेरिरहेँ । उसले मेट्रो स्टेशनमा ओहोरदोहोर गरिरहेका मान्छेहरुतिर त्यो पत्रिकाजस्तो केहि दिन्थ्यो । ती मध्ये धेरैले “पर्दैन, धन्यवाद ।” (एइ कितोस) भन्दै मुन्टो हल्लाउँथे । ती मध्ये अति थोरैले उसले दिएको त्यो पत्रिका लिन्थे । एकैछिन रोकिन्थे, ऊ केहि बुझाउन थाले जस्तो गथ्र्यो । यो दृश्य चलिनैरह्यो । मैले चाखपूर्वक हेरिरहेथेँ । पछाडिबाट कसैले “तेर्भे” (नमस्कार) भन्दै लामो लेघ्रो तान्यो, म पछि फर्किनँ बरु झटपट शिशा पुछ्न लागे, मलाई त्यो पछाडिबाट आउने आवाज आफ्नो नाइकेको जस्तो लाग्यो । मैले नहेरेपछि त्यो आवाज फेरि दोहोरियो – आन्तेक्स (सुन्नुस त) । अब मलाई सुन्नै कर लाग्यो । मैले पछि फर्केर आवाजतिर हेरेँ, त्यहाँ एउटा भद्र मान्छे उभिएको थियो र ऊ मलाई चर्पी कता छ भनेर सोध्न चाहन्थ्यो । मैले बताएपछि त्यो मेरो दृश्यबाट हरायो । मेरो मुटुको चाल फेरि साधारण भयो । काम शुरु गरेको चार महिना नपुगुन्जेल यहाँ धेरैलाई आफ्नो नाईकेसँग डर लाग्छ । काम राम्रो नगरे कामबाटै बिदा गरिदिन्छ त अनि किन डर नलागोस् ? गोर्खा त नेपाल छँदा हो, परदेशिएपछि नेपाली बनिदोरहिछ आफ्नोबाटै !
मैले नाईकेलाई फोन गरेँ । अनि सोधेँ कि के ऊ त्यही सफाइकेन्द्रमैं छ त ? उसले त्यहाँबाट अगाडि नै हिडेको बतायो । मैले एकछिन शिशा पुछ्न छाडेँ । फिनल्याण्डमा को झुटो बोल्छ ? ऊ त यहीँ हुर्के बढेको मान्छे । छ वर्षको हुँदादेखि ऊ यतै छ । अरु त अरु मै झुटो नबोल्ने भएको छु यहाँ आएदेखि । अब ऊ छड्के आउँदैन भन्नेमा ढुक्क भएपछि म तल पत्रिकाजस्तो केहि बाँडिरहेको त्यो युवक छेऊ पुगेँ । १० मिनेटमा उसले धेरै कुरा भन्यो । फिनल्याण्डमा २०० सिटको संसदीय निर्वाचन हुँदै रहिछ । मैले सोधेँ – कहिले हो चुनाव ? मलाई बडो आश्चर्यमा पार्दै उसले भन्यो – “चुनाव भैराखेको छ । विभिन्न कारण, जस्तो स्वास्थ्यसम्बन्धी समस्या वा अरु कुनै जरुरी कारणले १९ तारिख आइतबार फुृर्सद नमिल्नेहरुका लागि दुई सातादेखि मतदानको कार्यक्रम चलिराखेको छ । मान्छेहरुले हुलाकबाट समेत मत पठाउन पाउँछन् । तर मतदान गर्न पाउने अन्तिम दिन चाँहि यहि आइतबार (१९ अप्रिल) हो ।” म ट्वा परिरहेँ ! उसले हातमा लिएको पत्रिकाजस्तो चिजका बारेमा पनि सोधेँ । उसले त्यो आफूले स्वयंसेवा गरिरहेको दलको हेलसिन्की र उसिमा क्षेत्रबाट उम्मेदवार भएकाहरुको उम्मेदवारी नम्बर र उनीहरुको संक्षेप जानकारी समेटिएको प्रकाशन हुन भन्यो । र, मलाई पनि दियो । म उसको पार्टीको त्यो चुनावी प्रकाशन लिएर फेरि शिशा पुछ्न दौडिए । 
दुई बजेपछि मेरो काम गर्ने समय सकियो । आज कामभन्दा अल्छ्याई अलि बढि गरेको अनुभव पनि भो । लोकमानको परिभाषामा यो भष्ट्रचार पक्कै थिएन ! घरमा फर्केपछि मैले उम्मेदवारहरुको विवरण हेरेँ । उसिमा जिल्लाको ३५ सिटमा त्यो युवाको दलको उम्मेदवारको सूची हेरेँ २० देखि ४० को उमेरसमूहका २१ जना, ४१ देखि ५० वर्षका ८ जना र बाँकी ६ जना चाँहि ५१ वर्षमाथिका रहेछन् । प्रत्येक चारवर्षको अप्रिलको तेस्रो आइतबार हुने संसदीय निर्वाचनमा यो पाली त्यो युवाले स्वंयसेवा गरेको दलले १५ सिट जितेको छ । जुन दलको मुख्य एजेन्डा वातावरणीय स्वच्छता हो । 
सबैजसो राजनैतिक दलमा युवाहरुको सक्रिय उपस्थिती रहेको यो विकसित देशको राजनीतिबाट हामीले सिक्नु पर्ने थुप्रै राजनैतिक अभ्यासहरु निसन्देह छन नै । त्यसैले पनि होला, बेलाबेला यहाँको शिशा पुछ्दै गर्दा मलाई अकस्मात देशको राजनीतिको फोहोर पुछ्न मन लाग्ने । अनि मन लाग्ने शिशाजस्तै टलक्क टल्काउन मेरो देशको राजनीति ।
(बेनी साप्ताहिकका लागि)  

15 April 2015

युवानेताको मुर्खताका नाममा

साठीको दशकमा जहिले म बागलुङबजारमा एक नीजि बिधालयमा अध्यापनरत थिएँ, उनीसँग आकलझुक्कल भेट मात्र हुन्थ्यो मेरो । भेट प्रायः साहित्यिक गोष्ठीहरूमा हुने गर्थ्यो । तिनताका निकै साहित्यिक सरगर्मी रहन्थ्यो बागलुङमा । कहिले बिधामन्दिर पुस्ताकलय, त कहिले धौलागिरि क्याम्पसको सभाहल । कविहरूको बीचमा एउटा अर्को कवि हुन्थ्यो छिर्केमिर्के गाउँले झोला बोकेको, हल्का बाक्लो दार्ही जुँघा भएको, मसिनो आवाजमा बोल्ने म भन्दा दुर्इचार बर्ष जेठो जस्तो देखिने राजनैतिक चेत भएको कवि । म उसलार्इ गोविन्द दार्इ भन्ने गर्थेँ । उनलार्इ मेरो नाम धेरैपछि मात्र याद भो ।  कारण, उनी मेरो बाबाको पनि साथी रहिछन् । पछि, उनले असिम प्यारसहित सम्बोधन गर्न थालेँ - शिरीष भार्इ । म त्यसै त्यसै पुलकित हुन थालेँ ।

पछिफेर सामिप्यता बढेपछि, मैले उनलार्इ अझ धेरै बुझ्न थालेँ - उनी अञ्चलमै धेरै विधार्थीहरूले पढ्ने धौलागिरि क्याम्पसको स्ववियू सभापति पनि रहेछन् । एक आम युवामा भन्दा कति हो कति राजनैतिक चेत भएका गोविन्द दार्इले बिस्तारै राजनैतिक सफलताको सिंढी चढ्दै आएका छन । एक परिचितका नाताले उनको सफलतामा मलार्इ असिम खुशी पनि लाग्दछ । तर ६० को प्रारम्भमा शुरू भएको हाम्रो सामिप्यताको गाँठो यसै दशकको उत्तरार्धमा आएर केहि खुकुलो बन्न गयो । कारण थियो - मेरो राजनैतिक टिप्पणी ! गलतलार्इ गलत भन्न सक्ने मेरो साहसमा जब उनको राजनैतिक फरमान हुन शुरू भयो । मैले उनलार्इ स्पष्ट शब्दमा भन्नुपर्यो - देश र जनतामा भ्रम छर्ने काम वा बेफाइदा गर्ने प्रयोजनमा मेरै बाले राजनैतिक चालबाजी गरे पनि म त्यसको सख्त विरोध गर्दछु । मलार्इ यहाँको फरमान अस्वीकार्य छ । लगभग डेढ बर्ष पहिले हाम्रो अन्तिम दोहोरो कुराकानी भएको थियो - सामाजिक संजाल फेसबुकमा । त्यो पनि हालै संविधान सभाको उपनिर्वाचनमा बागलुङ १ की एमाले उम्मेदवार मना के.सी. ले सम्प्रेषण गरेको एउटा तस्वीरमा टिप्पणीका रूपमा ..। 

आज तिनै गोविन्द दार्इको एक सन्काहा, बहुलठ्ठी र हास्यापद कृत्यले मलार्इ मेरो जीवनको केहि महत्वपूर्ण समय यो लेख्नमा खर्च गराएको छ । निर्वाचनको क्रममा भोट किन्न पैसाको बाँडेको आरोपमा एक कांग्रेसी युवालार्इ कुटपिट गरेको अभियोगमा पक्राउ परेका केहि आफ्ना साथीहरूलार्इ निशर्त छुटाउनका लागि गोविन्द दार्इले आमरण अनशन बसेको समाचार, तस्वीर र फेसबुकमा भित्तेलेखनका सम्प्रेषणहरू पढेपछि म केहिबेर स्तब्ध भएँ । मलार्इ दुर्इ कुरा नराम्ररी बिझाए- पहिलो त खराबै भएपनि आफ्ना साथी ठीक छन् भन्ने गोविन्द दार्इको बुझार्इ र उनीहरूका लागि आफ्नो प्राणको पनि पर्वाह नगरी उनले चालेको कदम, दोश्रो यो मनोवृतीबाट ग्रसित हाम्रा युवा नेताको निर्देशन गर्ने भविष्यको राजनीति !
जूलार्इ १९०९ मा बेलायतमा महिलाहरूले पनि निर्वाचनमा मत दिन पाउनुपर्छ भनेर प्रदर्शनमा उत्रेका कारण पक्राउ परेकी वालेस डुनलपले शुरू गरेको भोक हडतालको मर्म, भारतको स्वतन्त्रताका लागि तत्कालिन विट्रिस उपनिवेशका विरूद्द महात्मा गान्धी र उनका साथीहरूले गरेको भोक हडताल, अनि हालै मात्र स्वास्थ्य शिक्षालार्इ माफियाकरण हुनबाट बचाउन डा. गोविन्द के.सीले गरेको अनशनको अबमूल्यन हुने गरि किन गोविन्द दार्इले यस्तो कदम उठाए ? के उनलार्इ लागेको छ - राजनीतिको आवरणमा गरिने सबै कृत्यहरू क्षम्य छन् ?  यस्तो निकृष्ट मनोवृति बोकेर हिड्ने हाम्रा कथित युवा नेताहरूबाट हामीले भोलीको नेपालको कस्तो रूपरेखा कोर्दै छौं ? राजनीति गर्ने ब्यक्ति के लहडी, स्वेच्छाचारी हुनु मिल्छ ? नेताले राजनीतिको धर्म, मूल्य र मान्यतालार्इ मनन गर्नुपर्दैन ? कि, भाषण दिएमात्र पुग्ने हो ?
यो लेख्दै गर्दा, उनको स्वास्थ्य स्थिती कमजोर हुँदै गएको समाचार पढेको थिएँ । र, दुःख साथ, एकदमै संवेदनहीन भएर भन्नुपर्ने हुन्छ मैले कि यो हठका कारणले उनको जीवनमा केहि तलमाथि हुन गएमा मलार्इ कुनै सन्देह लाग्ने छैन । किनकी, म कानुनीराजमा विश्वास गर्दछु । मैले सिकेको राजनैतिक मूल्यले मलार्इ - मूर्खहरूका लागि संवेदनशील हुन बाध्य पार्दैन । अतएवः उनी यो पढ्ने स्थितीमा छन् भने मेरो आग्रह यत्ति हो - गोविन्द दार्इ, मुर्खताले कसैको भलो गर्दैन । अनसनको घोर अपमान गर्ने यो नौटंकी बन्द गर्नुस् । 

09 March 2015

म्याग्दी, तर्क र नांगो नाच

म्याग्दीमा अचम्मको राजनीति छ । उसो त नेपाल नै अचम्मको राजनीतिमा चलिरहेको देश हो । उधोग बाणिज्य संघमा राजनीति, क्याम्पस संचालक समितिमा राजनीति । राजनीतिबाट अछुतो छैन- जिल्ला बाल संगठन, वा कुनै सामुदायिक बिधालयको व्यवस्थापन समिति । अझ म्याग्दीमा त काङ्ग्रेस र एमालेका छुट्टाछुट्टै नीजि बोर्डिङ, केबुल, सहकारी, पसल, ट्युसन सेन्टर, ढिकुटी खेलाउने घोपा, रेष्ट्रँरा, होटल, करिब करिव सबैसबै सेवा प्रदायकहरू छुट्टाछुट्टै छन् । अझ राजनीतिको प्रभाव शुन्यः हुनुपर्छ भनेर ठानिने रेडक्रसमा समेत राजनीति छ म्याग्दीमा । पहिला पहिला काँग्रेसीहरू आलोपालो हुन्थे रेडक्रस अध्यक्ष, अहिले एमालेहरू चलार्इराखेका छन् । मानौं म्याग्दी जिल्ला एमाले र कांग्रेसको बिर्ता हो । र, त्यहाँ उनीहरू आफ्नो क्षमता, शक्ति र पैसाका आधारमा नांगो नाच नाच्न रूचाउँछन् । पछिल्लो क्रममा, राजनीतिको नांगो नाच एमाले र कांग्रेसले खुलेर नाचिरहेका छन् । यो नांगो नाचमा सर्वाङ्ग नाङ्गो नाच चाँहि काङ्गेसले नाचिरहेछ । गीतको बोल छ –

जिल्लाबाट बनेका छन् तीनजना सभासद
हाम्रै माननीयले पाउनु पर्छ प्रमुख अतिथीको पद ...

संविधानसभाको पछिल्लो निर्वाचनमा एउटामात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीबाट प्रत्यक्ष तर्फ निकटम प्रतिद्भन्द्भीलार्इ करिब डेढ हजार मतान्तरमा पराजित गर्दै सभासदमा निर्वाचित एमालेका नवराज शर्मा । प्रत्यक्षमै दुर्इ पटक निर्वाचन लडी क्रमशः कांग्रेसका आयातित उम्मेदवार 'हेलिकप्टर पाइलट' र एमाओवादीका 'नाउराका नायक' सँग पराजित भएपनि आदिवासी जनजातिका कोटाबाट समानुपातिक सभासद बनेका एमालेका नरदेवी पुन । र, अर्का विशेष सभासद हुनुहुन्छ – म्याग्दी काङ्ग्रेसले पनि सभासद पाउनुपर्छ युद्भमा सानेपा दरबारलार्इ घुँडा टेकाउन सफल भर्इ संविधानसभाको गठन भएको एकवर्षपछि सभासद मनोनय भएका रेशम बानियाँ । र, यी तीनजना नतर्कीहरूलार्इ नचाउने काम गरेका छन् म्याग्दीका होनहार काङ्ग्रेस र एमालेजनहरूले ।

जनताले प्रत्यक्षरूपमा आफ्नो मत अधिकार ब्यक्त गरी आफूले चुनेर पठाएका सभासद नै मुख्यतः जिल्लाबासीहरूप्रति बढी जिम्मेवार हुनुपर्ने भएकाले जिल्लामा हुने विशेष कार्यक्रमहरूको प्रमुख आतिथ्यता निर्विवाद रूपमा नवराज शर्माले गर्न पाउनु पर्ने हो । किन्तु, हिजोका मन्डलेहरूले 'प्रजातान्त्रिक समाजवाद' को जलसिंचन गरेर सात साल अगाडिका क्रान्तिकारी काङ्ग्रेसीहरू भन्दा पनि अझ बढि क्रान्तिकारी भएर नेपाली काङ्ग्रेसको ठूलो पिपलको ‍ओतमा पुगेपछि म्याग्दीमा अचाक्ली भएको छ । अचाक्ली पनि यस्तो विधी कि मण्डलेको एक झुण्डले धेरै वर्षदेखि कांग्रेसमा बसेर निष्ठाको राजनीति गरिरहेका केहि ब्यक्तिहरूलार्इ धूलिसात मात्र पारेनन्, केहि वर्ष पहिले राजधानीको सामाखुशीमा अबको निर्वाचनमा म्याग्दी कांग्रेसबाट उम्मेदवार बन्न सक्ने हैसियत राख्ने एक कांग्रेसी युवालार्इ झापु नै लगाए । घटनाक्रमले के देखाउँछ भने – म्याग्दी कांग्रेसको तिब्र मण्डलेकरण हुँदैछ । र, त्यसैको नतिजा हो- यो पछिल्लो नांगो नाच ।

यो नांगो नाच अझ केहि समय उदांगै भएर जारी रहने सम्भावना यसकारण छ कि पूर्व एमाले सांसद (एमाले परित्याग गरिसकेका) चन्द्रप्रकाश बानियाँले यो विषयलार्इ आफ्ना तर्कका चक्रब्युहमा पारेर यो विषयलार्इ झन पेचिलो र अहम् सवाल बनाउने प्रयास गरेका छन् । एमाले परित्याग गरेपछि एमालेप्रति अत्यन्तै अनुदार देखिदै आएका बानियाँ काकाले आफ्नो पछिल्लो लेखमा 'बिचार' को हैन 'बन्धुत्व' को मत ब्यक्त गरेका छन् । उनका तर्कमा एमाओवादीको अप्रत्याशित स्खलनकृत आग्रहपूर्ण मत हावी छ । काठमान्डुमा उनका सुप्रिमो छबिलाल जनादेश कि मतादेश ? को नयाँ बखेडोमा अल्झिरहेका बखत बानियाँकाका म्याग्दीकाली दोभानमा भर्खरैमात्र घोर तपस्याबाट झल्याँस्स भएका छन् । र, उनको नविनतम् बाणी सार्वजनिक भैसकेको छ – सभासद सबै एकै हुन्, चाहे ती प्रत्यक्ष निर्वाचित हुन्, चाहे समानुपातिक वा मनोनित नै किन नहुन् ? संवैधानिक व्यवस्था अनुसारको मर्यादाक्रमको क्रमाङ्कमा सभासद मात्र उल्लेख छ । त्यहाँ सभासदको वर्गिकरण गर्या छैन ? पहिलो संविधानसभाको निर्वाचनमा मनोनित सभासद माधवकुमार नेपाल प्रधानमन्त्री नै भए । जिल्लामा सर्वाधिक पढिने बानियाँ काकाको यो तर्क जब सार्वजनिक भो, तब सुस्ताइरहेका कांग्रेसी पढालेखा युवाहरूमा उत्पातको रक्त संचार भो । ती तङ्ग्रिए । र, ब्यग्रतापूर्वकको पर्खार्इमा कुनै वस्तु प्राप्त हुँदाको खुशी भन्दा अधिक खुशी हुँदै सामाजिक संजालमा उनीहरूले काकाको बाणीहरू सम्प्रेषण गरे । र, लामो निश्वासः लिए – लौ हेर एमालेहरु, सभासदहरू एकै हुन् कि नाइँ ?


जसरी एउटै बिधालयमा अध्यापनरत शिक्षकहरू राहत, नीजिस्रोत, दरबन्दी र स्थार्इका हिसाबले फरक हुन्छन् । जसरी प्रवेशिका परीक्षामा उत्तिर्ण विधार्थीहरू विशिष्ट, प्रथम, द्भितिय श्रेणीका हिसाबले उनीहरू फरक हुन्छन् । जसरी करार, अस्थार्इ र स्थार्इका हिसाबले कर्मचारीहरू फरक मानिन्छन् । त्यसरी नै सभासदहरू उनीहरूको चयनका हिसावले उनीहरूको हैसियत निर्धारण हुन्छ । परीक्षामा प्रश्नहरूको सर्वश्रेष्ठ जवाफ लेखिएका आधारले हैसियत निर्धारण भए झैं, राजनीतिमा हैसियत जनताले निर्धारण गरिदिने कुरालार्इ किन यसरी नजरअन्दाज गरिदैछ ?