Skip to main content

फिनल्याण्ड झर्दा बित्तिकै के गर्ने होला ?


विधार्थी प्रवेशाज्ञा (स्टुडेन्ड भिजा) मा फिनल्याण्ड आउँदै गरेकाहरूका लागि केहि उपयोगी जानकारीहरू बुँदागत रूपमा तल प्रस्तुत गरेको छु ।

👶 के मैले नगदमा युरो लिएर आउनु उचित होला ?

👦फिनल्याण्डको चलनचल्तिको मुद्रा युरो भएकाले केहि सय युरो नगदमा लिएर आउनु उपयुक्त हुन्छ । यसो गर्दा बैंक ड्राफ्ट नसाटिन्जेलसम्मको लागि दैनिक रूपमा उपभोगका सामाग्रीहरू किनमेल गर्न सजिलो हुन्छ । 


👶 मोबाइल सिमको लागि के गर्नुपर्ला ?

👦 युरोपभर नै मोबाइल फोनको सीम पाउनु एकदमै सहज छ । विना कुने झन्झट चकलेट या हल्का पेय पदार्थ किने झैं बस्तुको रूपमा यहाँ मोबाइलको सीमकार्ड प्राप्त गर्न सकिन्छ । फिनल्याण्डको हकमा विमानस्थलमा झरेपछि विमानस्थलभित्रै R- Kioski नामको पसलमा सजिलै प्रिपेडसीम प्राप्त गर्न सकिन्छ । यस्तो सीम प्रायः दुइ खालको हुने गर्छन । एउटा नेटमात्र चलाउन मिल्ने सीम, अर्को फोन पनि गर्न मिल्ने फोन । अतः फोन पनि गर्न मिल्ने सीम लिनु ठीक होला । जसको मूल्य पाँचसात युरोभन्दा बढी पर्दैन । पोस्टपेड सीमको लागि फिनल्याण्डमा कम्तिमा २ बर्षदेखि बसेको हुनुपर्छ । अतः आफ्ना चिनजानका तपाइँलाई विश्वास गर्ने (तपैंले विश्वास आर्जन नगरेको अवस्थामा नहुन सक्छ) ब्यक्तिको नामबाट समेत यस्तो सुविधा लिन सकिन्छ । नेपालमा NTC, Ncell जस्तै यहाँ Telia, DNA, Elisha, Moi नामका दुरसंचार कम्पनीहरू छन । मैले धेरै समय टेलियाको सीम चलाए, हाल डिएनएको चलाउँछु । 

👶 बिमानस्थबाट म पुग्नु पर्ने ठाउँसम्म कसरी पुग्ने ?

👦 सामान्यतयाः हेलसिन्की क्षेत्रमा रहेका कलेज एवं विश्वविधालयहरूमा अध्ययनका लागि आउनेहरूका लागि यो त्यति कठीन अवस्था हैन । तर अन्यको हकमा चाँहि तयारी आवश्यक पर्नसक्छ । सबभन्दा उपयुक्त, फिनल्याण्ड आउनुपूर्व आफूले चिनेको कोही हेलसिन्की, भान्ता या एश्पो क्षेत्रमा बस्ने कोही छन की भनेर पूर्व जानकारी लिइ उनीहरूलाई सम्पर्क गरेर एक या दुई रातका लागि उनीहरूसँग बस्ने प्रबन्ध मिलाउन सके राम्रो । यदि कोही चिनजानमा छैन भने यहाँ बसोबास गर्नेहरू पनि रहेको विभिन्न फेसबुक समूहहरूमा कसैले एक रात बास दिन सक्छ कि भनी सोधखोज गर्दा वेश हुन्छ । यसले गर्दा नेपालबाट आउँदा बित्तिकै यहाँ कोही पनि चिनजानमा नरहेकोले हुनसक्ने होमसिकनेशको अवस्था हुँदैन । साथै, फिनल्याण्ड बसोबास गर्दा के कस्ता व्यवहारीक कुराहरू हुँदा रहिछन् थाहा पनि हुन्छ । यदि, कसैलाई हैन म सिधैं आफ्नो गन्तब्यमा जान्छु भन्ने लाग्छ भने त्यसका लागि विमानस्थलबाट दुईवटा रेल हेलसिन्कीका लागि छुट्छन् । ती दुई फरक बाटा भएर हेलसिन्की सेन्ट्रलमैं पुग्छन् । P र I नामका ती रेलहरूमा चढेर तपाइँ हेलसिन्की सेन्ट्रल या Pasila पासिला भन्ने स्थानमैं झर्न सक्नुहुनेछ । जहाँबाट विभिन्न शहरहरूमा जाने रेल चढ्न सकिन्छ । रेल चढ्नु अगाडि तपाइँसँग रेलको टिकट हुनु जरूरी छ । नत्र ८० युरो अर्थात नेरू ११ हजार २ सय (१ युरो बराबर नेरू १४० को विनिमय दर) जरिवाना तिर्नुपर्ने हुन्छ । 

👶 रेलको टिकट कसरी, कहाँ काट्ने ?

👦 रेलको टिकटका लागि प्रायः सबै रेल स्टेशनहरूमा टिकट मेशिनहरू हुन्छन् (तल चित्रमा हेर्नुस्) जहाँबाट सजिलै आफ्नो गन्तव्यसम्मको टिकट लिन सकिन्छ । विमानस्थलबाट हेलसिन्की या पासिला पुग्नलाई ABC zone को टिकट लिनुपर्छ, जसको मूल्य ४ यूरो १० सेन्ट पर्छ (नेपालीमा कति पर्छ हिसाब गर्नु भो ? केहि छैन शुरू शुरूमा यस्तो हुन्छ । बिस्तारै बानी पर्छ ।) तपाइँसँग खुद्रा नोट ५, १०, २० को भयो भने गज्जप । नत्र शुरूमा ५०, १०० को नोट छ भने R-Kioski मा सीम किनेपछि चानचुन फिर्ता आउँछ, त्यो पैसा टिकट किन्न काम लाग्छ । यदि तपाइँलाई कता कता जाँदा के कस्तो तरिकाले यात्रा गर्नुपर्ने रहिछ भन्ने थाहा पाउनु मन लागेको छ भने यहाँ क्लिक गर्नुस् ।  
लामो दुरीको रेल सेवाको लागि अनलाइन टिकट लिंकबाट  टिकट लिन सकिन्छ । टिकटको शुल्कका लागि फिनिश बैंकको कार्ड मात्र प्रयोग गर्न मिल्ने भएकाले उत्तम उपाय आफ्नो चिनजानको कसैलाई अग्रिम टिकट लिन लगाउनु वेश हुन्छ । उदाहरणका लागि Pasila बाट Jyväskylä को रेलको टिकट भोली मिति १७ अगस्ट २०२१  र अर्को दिन १ सेप्टेम्बर २०२१ मा टिकटको मूल्य तुलना गर्दा यस्तो देखिन्छ । 
Snapshot of train's ticket prices taken on 16.08
छोटो समयमा टिकट लिनु अलि महंगो पर्न जाने यी स्न्यापसटहरूबाट नै देखिन्छ । माथिको मूल्य केहि घण्टा अगाडि लिदा खेरी पर्न जाने मूल्य सूची हो भने तलको टिकटको मूल्य चाँहि करिब आधा महिना पहिले नै टिकट लिदा पर्ने मूल्य हो । हुन त विद्यार्थिका लागि अलि सस्तोमा टिकट पाइने भएता पनि नेपालबाट आउने बेलामा बिधार्थी परिचयपत्र साथमा नहुने हुँदा वयस्क (Adult) वाला टिकट लिनु पर्ने हुन्छ ।

Snapshot of train's ticket prices taken on 16.08

👶 मैले थाहा पाउनुपर्ने अर्को व्यवहारिक कुरो केहि छ ?

👦 अवश्य । नेपालबाट भर्खर भर्खर आएका नेपालीहरूलाई पहिलेदेखि नै यहाँ बसेका केहि नेपालीहरूले ड्राफ्ट साटेको थाहा पाएपछि केहि रकम सापट माग्ने र कतिले फिर्ता नदिने, सम्पर्कविहीन हुने र कतिले चाँहि एकदमै झुलाएर पछिमात्र पैसा फिर्ता गर्ने भएको घटनाहरू सुन्नमा आएका छन । अतः दुईचार दिनको चिनजानको भरमा कसैसँग पनि आर्थिक कारोबार नगरेको नै वेश । 

फिनल्याण्डमा जागिर कसरी खोज्ने भन्ने बारेको ब्लग पढ्न यहाँ थिच्न्रुस् 

फिनल्याण्डकाबारे रमाइला कुराहरू बारेको ब्लग पढ्न यहाँ थिच्नुस्

फिनल्याण्डमा पहिलो पटक क्लब जाँदाको मेरो अनुभवबारे यहाँ पढ्नुस्

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...