Skip to main content

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?" 
दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ । 

त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट नभएपछि कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भलाकुशारीमा लिम्बु भाइले मसँग मेरो मोबाइल नम्बर सोधे, पछि कुराकानी हुँदै गयो, उनी रहेछन् इलामका रोशन लिम्बु । उच्च शिक्षा हासिल गर्ने, र सुन्दर भविष्य बनाउने उत्कट चाहना बोकेर भर्खर भर्खर फिनल्याण्ड झरेका । जसरी म फ्लाइ दुबाइको जहाज चढेर काठमाण्डुबाट, दुबाई विमानस्थलमा बिसाएर एक रात झरेको थिएँ, हेलसिन्की भान्ता विमानस्थल सन् २०१२ को अगष्ट मसान्तमा ! त्यसै गरी यो ब्लग पढ्दै गरेको तिमी पनि त आएथ्यौ होला या आउने तर्खरमा हौला कुनैदिन हामीले जस्तै सपनाको जहाज चढेर, जसरी यहाँ आइपुगिसकेका छन् धेरै धेरै रोशनहरू अनि रोशनीहरू पनि !
हाम्रो भेटको केहि हप्तापछि रोशन अनि उनका अन्य साथीहरू माथिबाट हेलसिन्की झरे । हेलसिन्की नपुग्दै अलि वरै हेलसिन्कीको एउटा टुप्पो छुने अर्को नगरको एक बजारकेन्द्र नजिकै एक नीजि कम्पनीको वटा सुत्ने कोठा र भान्छा अनि बैठकसँगै भएको अर्को कोठालाई पनि सुत्ने कोठा नै बनाएर दुखसुख जना कहिलेकाही त्यो भन्दा बढी हुने गरी बस्न थालेको उनले बताएथे। अनि निम्ता दिएथे मलाई पनि एकदिन उनीहरूको निवासमा । म पुग्दा त्यहाँ थिए छजना नेपाली भाइहरू । हप्ताको पच्चीस घण्टा काम भएका एक जना, फाट्टफुट्ट काम गर्ने अर्का एक जना, बाँकी अरू सब रोजगारीको खोजीमा । ती मध्य कोही महिना पहिले मात्र यहाँ आइपुगेका थिए, कसैको महिना त कसैको महिना भैसकेको थियो, यता बितेको समय । उनीहरूलाई त्यसरी भेटिसकेको पनि आधा वर्ष बितेर यतै आइसकेछ । 
    अलि अस्ति बाटोमा टहलिदै गरेको मसँग ठोक्किन आइपुगेको थियो, टाउकोमा कालो फेता (पकडी) गुथेको एकजना पञ्जाबी । एकैछिन् उसँग मेरो भलाकुसारी भएको थियो । उसले - "फिलहाल् फिनलैंड में काम मिलने की कोई चान्स् हि नहि बन रहा हैं, पाजी ।" भन्दै मनभित्रैदेखि एकखाले दुखेसो पोखेथ्यो । थाहा छैन्, ती आधा दर्जन भाइहरूसँग पनि अझै त्यहि पञ्जाबी मान्छेको जस्तै गुनासो छन् वा छैनन् । तर रोशन भाइले बेरोजगार बस्नु परेको छैन, अहिलेसम्म । किनकी, मसँग भेट भएपछि उनले मसँग पालैपालो मेरै वल्ट खाताबाट काम गरे केहि समय । विदेश आएर घरमा पहिलोपल्ट खर्च पठाए उनले । अनि किने एउटा आइफोन, त्यो पनि नयाँ मोडलको पूरै पैसा एकैपटक तिरेर ! "हेर्दाहेर्दै लिम्बुले आइफोन बोक्ने भयो", उनका साथीहरूले चिया पिउँदै त्यसदिन हँसिमजाक गरेथे, जुन दिन उनीसँगै म पनि पुगेथे उनीहरूको कोठामा, रोशनको नयाँ आइफोन बोकेर ! 

"हाउ, दाजु, जिन्दगी मजाक त बनाउनु भएन् नी । कमाइ अलि गज्जब रहिछ । भोली त बेरी टिप्नु पो जानुपर्ला !" मेरो प्रतिस्थापनमा वल्ट गरिरहेका उनले हठात् सुनाए एकदिन । भोलीपल्ट, बडेमानको झोलामा भयभरका आफ्ना सबै लत्ता कपडा खाँदेर, दुइतीन महिनाका लागि बेरी टिप्न सात सय किलोमिटर परको साइत गरेर हिडेका उनलाई बिदाई गर्न तिक्कुरिला रेल स्टेशनमै पुगेथेँ म । कायानीको जंगललाई लक्ष्य बनाएर राम्रै दाम कमाउने अठोटका साथ उनी रेल चढेर गएपछि यत्ति लाग्यो, यो भाइको जत्तिको जोश त देखाउनैपर्छ तीनले जो विदेशमा 'जे पनि गर्ने' दृढ संकल्पका साथ देश छाड्न पुग्छन् । यस्तै दृढ संकल्प बार्ह बर्ष पहिले मैले पनि गरेथेँ । अनि मेरा अरू धेरै साथीहरूले पनि गरेथे । 
यो ब्लगपोष्टको नायक रोशन भाइ बेरी टिप्न कायानीको जंगल छिरेको थिए तर फर्कदा उनले आफ्नो नाम 'रोशन' गरेर फर्के । जंगलबाट साँझ विश्रामस्थल फर्केपछि हप्ता दिनमा उनले मलाई कामको अनुभव सुनाउँथे । एक दिन उनले तीनवटा बाल्टी पुरै ब्लु बेरीले भरेको सुनाएथे, अर्को दिन चार, त्यसको अर्को दिन पाँच गर्दै, छ वटा बाल्टी साना साना बेरीले टम्मै भरेको सुनाएथे । उनी अगाडि नै बेरी टिप्न गएका कति नेपाली विद्यार्थीहरू दुईतीन दिन मात्रै टिके, अलिकति थोरै हप्ता दशदिन सम्म । रोशनसहित मुस्किलले आधा दर्जन अरू नेपाली भाइहरू जंगलमा बेरी ननिथ्रिउन्जेल उतै बसेछन् । फेरि यतै फर्केर आउँदा रोशनसँग सात आठहजार युरो बचत मात्रै थिएन, उनको एउटा सग्लो नाम पनि थियो ।

"त्यो दाइले त एकैदिन तीनसय चौरासी किलो बेरी टिपेको रे नी, किलो कै साढे दुई युरो दाम, दिनमैं सवा लाख नेपाली कमाएको रे नी ।" बेरी टिप्न बुढासँग कायानी पुगेर हप्ता दशदिन मैं फर्केकी एक बैनीले रोशनकाबारे मसँग चर्चा गरेकी थिइन् । उमेर त उनको रोशनको भन्दा दुईचार वर्ष बढी नै हो, तर भाइ निस्क्यो जब्बर । दिन मै सवा लाख कमाउन सक्नेलाई भाइ भन्न उनको मनले मानेन, सायद त्यसैले उनले दाई भनीन् ।

"तहल्कै गरेछ नी लिम्बुले, आउने साल बेरी टिप्न जाने सोच बनाएकाले समेत उसको नाम सुनेका छन्, दाई ।" रोशनकै एक अर्का फ्ल्याट मेटले मसँग ह्वाट्सएप कलमा बताएथे । 
तिक्कुरिला रेल बिसौनीमा चुरोट तान्दै गरेको भाइलाई, मैले नै बोलाएर परिचय गरेथेँ, जो पछि कायानी जंगल जाने दिन त्यहि स्टेशनमा पुगेर बिदा गर्न पुगेथेँ । र, आज त्यही भाइ यो ब्लगपोष्टको केन्द्रिय पात्र बन्न पुगेका छन् । किनभने, उनको कथामा प्रेरणाका गुण रसस्वादन गर्न पुगेँ मैले, र म चाहन्छु यो मिठास् अरूहरूमा पनि पुगोस्, विशेषतः पछिल्ला वर्षहरूमा फिनल्याण्ड आइपुगेका तमाम नेपाली भाइबैनीहरूमा, जोसँग अलिकति उत्साह, अनि अलि धेरै आशा बाँकी छ - सुन्दर भविष्य निर्माणको!
#berrypicking #storyfromfinland #nepalistudent

Comments

  1. यथार्थ भोगाई लेख्नु भएकोमा धन्यवाद

    ReplyDelete
  2. One of the superb article, hats up किनभने, उनको कथामा प्रेरणाका गुण रसस्वादन गर्न पुगेँ मैले, र म चाहन्छु यो मिठास् अरूहरूमा पुगोस्, विशेषतः for new student who willing to come to Finland.

    ReplyDelete
    Replies
    1. मिठो प्रतिक्रियाका लागि हजुरलाई न्यानो माया।

      Delete
  3. Gajjab. Pardeshiko vogai

    ReplyDelete
  4. लेख यथार्थ र प्रेरणादायी छ। प्रेरणाका श्रोत कर्ता र लरखक दुवै जनालाई बधाई छ।

    ReplyDelete
    Replies
    1. टिप्पणी लेखेर हाम्रो हौसला बढाउनु हुने दाजुलाई पनि हार्दिक आभार!!

      Delete
  5. कस्तो आटीलो फुर्तिलो भाई हो ! यही जोश र आटले अघि बढ्ने हो भने, जीवनमा ठूलो सफलता हासिल गर्न सक्छ भाइले, शुभकामना छ भाई!

    ReplyDelete
    Replies
    1. हो नी भाइ, निकै फुर्तिलो, इमान्दार अनि जोशले भरिपूर्ण छन् भाइ रोशन हजुर जस्तै।

      Delete
  6. यसैपनि वर्मा गए कर्मसँगै भनिन्छ, कर्मठको अर्को नाम नेपाली पनि हो । रोशन भाइको बाल्यकाल पक्कै हाम्रोजस्तै जंगलमा काफल र ऐसेलु टिपेर वितेको थियोे अनि बाहुनजस्तो लाग्ने काठमाडौंको भाइ सुखसयलमा हुर्केको हुनसक्छ । कथा सबैका हुन्छन् तर कथावाचकको शैली र शील्पले नै कथाहरू रोमाञ्चक र पाठकको मनमा बस्न सक्छन् । लामो समयको विश्रामपछि फक्रिएका कथाहरू फुलिरहुन् ।

    ReplyDelete
    Replies
    1. गुरुलाई यो ब्लग मनपर्नु भनेको सम्भवत मेरो लेखन शैली अलि सुध्रिदै जानुको संकेत पनि हो। गुरुले भने जस्तै लामो समयको विश्रामपछि अलि मेहनतका साथ लेख्ने काम शुभारम्भ गरेको छु। मैले जस्तै गुरुले पनि लामो समयदेखि अध्यावधिक गर्न छोड्नुभएको आफ्नो ब्लग पुन अध्यावधिक गरी म जस्ता पाठकहरुलाई यहाँका सिर्जनाहरू अध्ययन गर्ने मौका प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु।

      Delete
  7. Afnai Katha ra bhai pratiko maya dekkera ekdam khusi Lago dai Ani dai ra bhaiko sambandha sadhai kayam rahos.

    ReplyDelete
  8. Finally I read your blog. Sorry for the delay. I am glad the main character was able to make his living and save his money. Lots of us come abroad with different dreams and life is not as easy as we see in the social media. People do not see the struggle behind our iPhones. People will not see the sleepless night due to anxiety and stress on not being able to get a job but will definitely see the car you ride. Life abroad is not easy but hardwork pays off unlike in Nepal. Imagine making that money in Nepal picking up tea leaves in Illam. Why would he leave Nepal?
    A thoughtful blog, Dai. 👍👏

    ReplyDelete
    Replies
    1. And finally this post has got an outstanding comment. Thank you so much baini, for your time and effort to make this wonderful remark. I am so glad to know that you loved my writing. Keep pouring your love and support.💙💙💙

      Delete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...