Skip to main content

Posts

Showing posts with the label गृहपृष्ठ

इपियसपिडीत नेपालीहरूलाई खुलापत्र

कोरियन भाषा परीक्षा पासगरी कोरिया जान नपाएका इपियस पिडीत मेरा प्रिय नेपाली दाजुभाई तथा दिदीबैनीहरू, तस्वीर स्रोतः अनलाइन खबर डट कम म एक विदेशिएको तिमीहरुकै एउटा दाजु/भाई/साथीको तर्फदेखि हार्दिक प्रेम तथा सम्झना स्वीकार गर । आज अचानक तिमीहरुलार्इ म यो पत्र किन लेख्तैछु, त्यो म सविस्तार वर्णन गर्ने नै छु । तर त्योभन्दा पहिले म तिमीहरुलाई मेरो परिचय संक्षेपमा राख्न चाहन्छु ।  उमेरले म २८ बर्षको युवा हुँ । विवाहित पनि छु । अध्ययनका शिलशिलामा फिनल्याण्डमा छु । अध्ययन पनि गर्दैछु ।  नेपालमै बि.सं. २०६२ मा नै मैले स्नातक तह उत्तीर्ण गरिसकेको छु । स्नातकोत्तरका लागि फिनल्याण्ड, नर्वे र जर्मनी मध्य एउटा देशमा आउन चाहन्थेँ । तर ती देशका कुनैपनि विश्वविद्यालयमा मैले स्नातकोत्तरका लागि भर्ना पाइँन । कारण, यी देशमा स्नातकोत्तर तहमा भर्ना हुनका लागि स्नातक तहको पाठ्यक्रम चार वर्षको हुनुपर्दो रहिछ । फलतः युरोपमा आएर अध्ययन गर्ने मेरो चाहनालाई साकार पार्न मैले फिनल्याण्डमा स्नातकका लागि आवेदन दिएँ । आईएलटिएस पनि गरेँ । प्रवेश परीक्षामा सामेल भएँ । र, उत्तीर्ण भएपछि यहाँ आउन योग्य ठहरिए...

एउटी चेली, यौनसम्बन्ध र लघु मानवहरू

फेरि एकपटक मैले लघु मानवहरूलाई सम्बोधन गर्नु पर्ने भयो । लघु मानवहरूका एकदम सीमित अनि अपाहिज ज्ञानका विषयमा प्रश्न उठाउनु पर्ने भयो । सन्दर्भ एउटा घटनासँग सम्बन्धित छ । आजै मात्र अनलाइन खबरमा एउटा समाचार पढेको थिएँ, मैले । समाचारको शिर्षकले नै मेरो ध्यान आकृष्ट गर्‍यो – ‘नेपाली चेली दुबईमा पक्राउ !’ समाचार अनुसार एक पाकिस्तानी युवासँगको ‘अवैध’ सम्बन्ध कारण त्यहाँको अदालतले नेपाली चेलीलाई एक वर्षका लागि जेल चलान गरेछ । समाचार पढ्दै गर्दा ‘इन्टरनेशन ट्रान्जिट’ का रूपमा विकास हुँदै गएको भनिएको संयुक्त अरब ईमिरेट्स जस्तो देशमा मध्ययुगिन कानुनी ब्यवस्था देख्दा टिठ लाग्यो मलाई, अनि गम्भिर पनि कि यो सोचेर – जहाँका डान्सबारहरूमा विभिन्न देशबाट युवतीहरू आयात गरिन्छ, नाँगा नाचहरू देखाइन्छ त्यो वैध छ । जुन देशको शेख, मोहम्मद विन रसिद अल जायद चालीस जनाका एक्ला पति छन्, त्यो पनि वैध छ दुवईमा । तर एउटी विदेशी कामदार युवतीले अर्को एउटा विदेशी कामदार युवकसँग यौन सम्बन्ध राख्नु ‘अवैध’ छ दुबईमा ! मलाई साँच्चिकै विरोधाभाषपूर्ण लाग्यो त्यहाँको कानुन ! हुन त संस्कार अनुसारको कानुन हुने हो । कति विदेशीहरू...

जनताको हातबाट निस्केका झापडहरू

सायद धेरै नेपालीहरुले अड्कल काटे झैं एउटा अर्को झापड बर्सिएको छ – अर्को एक थान तथाकथित शिर्षस्थ नेताको गालामा ! दुई वर्ष अगाडि माघ महिनाको चिसोमा तथाकथित एक शिर्षस्थ नेताको गाला रन्काएर शुरु भएको झापड श्रृङ्खला अन्ततः गणतन्त्र नेपालको पहिलो कार्यकारी राष्ट्रपति बन्ने ईच्छा राखेका पूर्व प्रधानमन्त्री एवं सबभन्दा ठूलो दलको सबभन्दा ठूलो नेताको गालासम्म आईपुग्नुलाई हामी सामान्य मान्न सक्दैनौं । यो झापड श्रृङ्खलालाई ब्यक्तिगत आवेग वा बहुलठ्ठीपनको संज्ञा दिन सक्दैनौं । र, हामी राम्ररी बुझ्न सक्छौं कि हिजो यहि झापडको शुभारम्भ हुँदा त्यो जनताको आक्रोश हुने र आज उस्तै झापड सुप्रिमोको गालामा बज्रदा त्यो निकृष्ट, षडयन्त्रकारी वा प्रतिगमनकारी हुनै सक्दैन । जो जसले यसलाई गलत ब्याख्या गरिरहेछन्, सन्निकट भविष्यले उनीहरुको यो सतही बुझाईलाई गलत सावित गरेरै छाड्ने छ । इतिहास साक्षी छ – जहिले पनि जनताहरुले आफ्ना नेताहरुलाई आक्रमण गरेका छैनन् । किनकी जनताहरुले राजनीतिको प्रयोग राम्रोसँग गर्न जानेका छन् । उनीहरु राजनीतिलाई अराजनैतिक बनाउन जान्दैन् । बिग्रेकोलाई बिग्रेको र सप्रेकोलाई सप्रेको देख्ने आँखा...

प्राप्ती मात्र प्रेम होईन्

प्रेम । हजुर यसलाई कसरी बुझ्नुहुन्छ ? त्यो मेरोभन्दा फरक छ । र, म जे बुझ्छु त्यो भन्दा फरक उनको बुझाई होला । उनी अर्थात यो सत्यकथाकी केन्द्रिय पात्र ! मेरो भन्नुको तात्पर्य – अस्तित्वमा रहेका हर बस्तु र विषयका सम्बन्धमा मानिसहरुका पृथक बुझाईहरु हुन्छन् । छन् । झन प्रेम त स्वयंको अनुभूति हो । र, यसलाई अनुभूत गर्ने मानिसले आफ्नै हिसाबले यसको विश्लेषण गर्न पाउनु पर्छ – यो मेरो मान्यता हो । मलाई विश्वास छ यसमा यहाँको पनि असहमति रहने छैन । उनी, मेरी शिष्य । पृथक लाग्छ मलाई उनको जीवन जिउने शैली । मानिसहरुसँग उनले गर्ने अन्तरक्रिया मलाई नौलो लाग्छ । मनपर्छ उनको यो शैली । प्रायः कम बोल्छिन् । वा बोल्दैबोल्दिनन् । तर जब बोल्न थाल्छिन् सबैलाई नजिकको ठान्ने गर्छिन । सायद स्त्री जातिको विशेषता हो, यो । क्षणभरमै खुल्ने ! तर उनको कुरालाई विश्वास गर्ने हो, उनी भन्छिन् – उनी धेरै कम ब्यक्तिहरुलाई मात्र आफ्ना ब्यक्तिगत अनुभवहरु सुनाउन लायक ठान्छिन् । विशेषगरी दुःखका अनुभूतिहरु ! उनले फेसबुके गफगाफमा भनिन् – “सर, म एकदमै टेन्सन (तनाव) मा छु, आजभोली ।” म झस्केँ । अनि सोधेँ – “के भो नानु ?” उनले ...

गुराँसे क्रान्ति, पूर्वराजा र जनता

फेरि आज ज्ञानेन्द्र शाहका तस्बीर र खबर पढ्ने औसर प्राप्त भयो । राजगद्दी त्याग्न वाध्य भएपछि उनी केहि समय चुप लागेर नै बसेका थिए । सायद उनलाई लाग्यो पनि होला, जनताले राजा चुनेका हैनन् त्यसका कारण जनताहरु के भन्छन् उनले जनमत लिन चाहेनन् । सुरुक्क गद्दी त्यागी लुरुक्क नागार्जुन छाडेर गए । हुन त एक जमानामा आफ्ना पुर्खाहरुको बल र विवेकको प्रयोगबाट प्राप्त औसर थियो– राजगद्दी । तसर्थः आफूभन्दा शक्तिशाली शक्तिको उदयपछि उनले गद्दी त्याग्नुपर्ने प्राकृतिक पद्दती हो उनले सिकेको संस्कारमा । त्यसकारणः पनि अत्यन्तै लाचारीता पूर्वक उनले गद्दी त्याग्नु पर्‍यो । र, आजभोली हामीहरुले पत्रपत्रिकामा पढ्दै आएका ज्ञानेन्द्र शाहको नामका अगाडि एउटा उपमा अर्थात पूर्वराजा यसैको परिणती हो ।  मन्दिर र शक्तिपीठ डुल्ने आफ्नो सनातनको परम्परा अनुरुप ‘पूर्वराजा’ पनि मन्दिरहरु डुलेको हुनुपर्छ सायद । मन्दिर डुल्नुको पछाडि धार्मीक उद्देश्यबाहेक उनी अरु कुनै उद्देश्यले प्रेरित छन् भन्ने कुरो कम्तिमा पनि मलाई चाँहि विश्वास छैन । किनकी उनलाई राम्ररी थाहा हुनुपर्छ, आफ्ना प्रत्येक राजकीय सम्बोधनको अन्तिम छ शब्दहरु ‘श्र...

जीवन चलिरहन्छ - अनवरत !

यहि कार्तिक २३ गते अर्थात नोभेम्बर ८ तारिखका दिन म २७ वर्ष पूरा गरी जीवनको २८ औं वर्षमा प्रवेश गर्दैछु । यहाँसम्म आइपुग्ने क्रममा जीवनमा मैले अनेकौं तीतामीठा अनुभवहरू संगालेको पनि छु । ती अनुभवहरू सम्भवतः यहाँहरूका झैं पक्कै छैनन् । किन्तु, हाम्रा भोगाईहरूले हामी सबैलाई एउटै पाठ चाँहि सिकाएको हुनुपर्छ - जीवन जिउने कला ! मेरो विश्वास छ, जीवनको अविरल यात्रामा हामीले सामना गर्नुपर्ने कैयन कठिन चुनौतीहरूले हामीलाई जीवन के हो भनेर बुझ्नलाई अझ प्रेरित गरेका छन् । हामी सधैं सुखभोग मात्र गर्दैनौं, हाम्रा लागि दर्दहरूको पनि आफ्नै महत्व छन् । सायद जीवनमा दर्द, विवशता र लाचारीपन नहुँदा हुन त बाँच्नुको  पनि त महत्व नरहँदो हो ।  मैले आफ्नै जीवनलाई मिहीन पाराले बुझ्ने प्रयास गर्दै गर्दा के पाएको छु भने, जीवन सुन्दर छ र यसका थुप्रै अँध्यारा पाटाहरू पनि छन् । केहि मानिसहरू सधैं जीवनका उज्याला पाटाहरूलाई अङ्गाल्छन्, उनीहरू अँध्यारा पाटाहरू देख्तैदेख्दैनन् वा इन्कार गर्छन् । र, उनीहरू सधैं सुखी अनि खुशी हुन्छन् । खुशि यस अर्थमा कि अँध्यारोले जीवन छोपिरहेका बखत पनि उनीहरू परपर क्षितिजसम्म उज्...

पुत्र, पिता र क्रान्तिकारीता

शहरमा एउटा गाँइगुई सुनिन थालेको छ अचेल, कि माओवादी सुप्रिमो अध्यक्ष कामरेडका पुत्रले पार्टीकी एक महिला कार्यकर्तालाई उछिट्टियाए रे ! हुन त बेलाबेलामा बाउछोराका विषयमा निकै गर्मागर्मी कुरो बाहिर आएकै हुन । त्यसकारण पनि यो पछिल्लो कुराले उति गम्भीर अर्थ नराख्ला कतिपयलाई । तरपनि नेपाली संस्कारको त कुरै छाड्दिम क्रान्तिकारीतको बख्यान गरेर नथाक्ने माओवादी पार्टीका अध्यक्षका छोरा अझ एक जिम्मेवार माओवादी कार्यकर्ताले नै कम्युनिष्ट चरित्रको धज्जी उडाएकाले सायद शहरमा यस्तो चर्काचर्की बहस चलेको हुनुपर्छ । यो चर्चा कहिले गएर सेलाउँछ त्यो मैले जान्ने कुरो भएन ! तर मलाई लागेको कुरा प्रचण्डपुत्रले आफ्नो पिताको लागि केहि राम्रो त गर्न सकेनन् बरू आफ्नो पिताको “बचेखुचेको” ईज्जत, शान, शौकत बागमतिमा लगेर सेलाईदिए ! आफ्ना पिता प्रधानमन्त्री हुँदा पिताको सहयोगी भएर देशविदेश भ्रमण गर्ने अत्यन्तै दुर्लभ अवसरहरु पाएपछि यिनलाई लागेको हुँदो हो – म भनेको प्रधानमन्त्रीको छोरो ! ऐश आराम भोग गर्न जन्मेको ! हुनपनि बाउले नै छोराको बानी बिगारेपछि अरुले जे पनि लाग्ने कुरो भएन । मलाई अचम्म लाग्छ, प्रचण्ड जस्तो एउटा...

ख्वै हाम्रो राजनेता ?

ब्यक्तिगत आनीबानी र स्वभावलाई मसिनो गरी केलाउने हो भने महात्मा गान्धीका पनि थुप्रै नकारात्मक पक्षहरु थिए होला । मानिस भएपछि ब्यवहारतः ऊ पूर्णरुपेण भगवान कसरी बन्न सक्छ ? त्यसकारण महात्मा गान्धीलाई भगवान भनिएन/मानिएन । तर उनी निष्ठाको राजनीति गर्थे । र, सधैं परिवर्तन र स्वतन्त्रताको पक्षमा वकालत गरे । परिणाम आज उनी भारतका मात्र हैन विश्वका नेता बन्न पुगे । उनी जिवीत छैनन् तर विश्व राजनीतिका हजारौं जिवीत नेताहरु भन्दा बढी सम्मानपूर्वक स्थान छ उनको । एशियादेखि युरोपसम्म, अमेरिकादेखि अफ्रिकी मुलुकका चप्काचप्कामा उनलाई सम्मानपूर्वक सम्झिन्छन् मान्छेहरु । उनको नाम सम्झिदाँ श्रद्धाले शिरनत गर्छन मानिसहरू । किनकी उनी नेता थिएनन्, राजनेता थिए । राजनेताका नामहरु लिदै गर्दा विश्वसमुदायले उत्तिकै सम्मानपूर्वक सम्झिने नामहरु थुप्रै छन् जस्तो मार्टिन लुथर किङ, माओत्सेतुङ, नेल्सन मण्डेला, डा. मोहम्मद महाथिर, ह्युगो चाभेज, विस्टन चर्चिल आदिआदि । यी विश्वप्रसिद्ध राजनेताहरु एकै झिमिक वा सनकमा राजनेता भएका थिएनन् । यिनीहरुले स्वयंलाई राजनेता भनेर घोषणा गरेका पनि थिएनन् । तर आफ्नो भूगोलमा राजनीतिको ए...

डोजर चलाएर मात्र सडक चौडा हुँदैन

सडक मिचिएको घर भत्काउँदै डोजरः तस्बीर माइसंसार ट्राफिक प्रहरीले अविश्वसनीय रुपमा सडक बिस्तारमा लागेको देख्दा थुप्रै आम नागरिकहरु दंग परेका छन् । सर्बसाधरणहरुका मुहारमा खुशीको लाली पनि देखिएकै हो । बर्षौदेखि भत्काइन नसकेका सार्वजनिक जग्गा मिचेर बनाइएका पहुँचवालाहरुका पर्खाल, पौडी पोखरी र घर माथि एकाएक डोजर दगुर्नु हाम्रो देशको सन्दर्भमा स्वभाविक विषय हुँदै होइनन् । तथापि ट्राफिक महाशाखाले जुन निभर्यका साथ अदम्य साहस प्रदर्शन गरेको छ त्यो उसको कर्तब्य हुँदाहुँदै पनि हामी स्यालुट नगरी रहन सक्दैनौं । यो आँटिलो कदमका लागि ट्राफिक महाशाखाका प्रमुख र मातहतका कर्मचारीलाई हार्दिक धन्यवाद छ ।  तर यति हुँदाहुँदै पनि ट्राफिक महाशाखाले ट्राफिक ब्यवस्थापनको अन्य महत्वपूर्ण कामप्रति भने रमिते भएको देख्दा चित्त बुझिरहेको छैन । सडकमा राखिएका ट्राफिक लाइटहरु प्रदर्शनीका लागि संग्रहालयमा राखिएका ‘वस्तुहरु’ प्रतित हुन्छन् । तीनको मर्मत सम्भारको काम कहिले हुने हो उनै राम जानुन् । बाटो पार गर्नका लागि पैदल यात्रु जेब्रा क्रसिङ भेट्दैन, भेटोस् पनि कसरी ? ती सडकमा बिलाएका छन्, नामनिशान छैन तीनको ...

म, मेरो मान्यता र सकारात्मक सोच

तस्बीरः लिभ एण्ड लभ वर्क                  एकजना साथी भन्ने गर्थ्यो - जब तँलार्इ कुनै ब्यक्तिले अनाहकमा एक थप्पड हिर्काइहाल्यो भने त्यसको प्रतिकार गर्नुको साटो तैलें उसलार्इ बिनम्रतापूर्वक - हजुरले मलार्इ हिर्काउनुको कारण थाहा पाइँन नी ! भनेर सोधिस् भने उक्त ब्यक्ति शीर नत पारेर त्यहाँबाट हिड्छ !              नकारात्मकता र सकारात्मकताका बारेमा मानिसहरूले चर्चा गर्दैगर्दा,  मैले सोचेँ - अरे, सबैकुरालार्इ म कसरी सकारात्मक रूपमा ग्रहण गर्न सक्दछु ? यस्तो कुरा त सकारात्मक सोचका प्रख्यात ब्याख्यता कर्ण शाक्यमा पनि लागू हुँदैन । हरेक कुराको सकारात्मक पक्ष मात्र खोतल्दै जाने हो भने त मानिसले दःखी हुन पनि पाउने छैन सायद । यो मलार्इ घोर आपत्तिको विषय लाग्यो । र, यसले मानिसमा अनिश्चित र अनियन्त्रित विचारको प्रादुर्भाव गराउँदछ भन्ने पनि लाग्यो । हरेक कुरामा सकारात्मक सोचमात्र राख्ने हो भने मैले थुप्रै समस्याहरूका बीचमा निरीह बन्नु पर्ने पनि देखेँ । जस्तो कुनै ब्यक्ति मेरो नजिक फुङ्फुङ्ती चुरोटको धुँवा उडार्...

यसरी बन्छ नयाँ नेपाल

गुराँश क्रान्ति (जनआन्दोलन २) ताका ‘नयाँ नेपाल’ भन्ने शब्दावली निकै चर्चामा आयो । चिया गफ, रत्नपार्कभित्र गरिने बदामे गफ यहाँसम्म कि भट्टीमा समेत भट्टी गफको शिर्षक बन्यो – नयाँ नेपाल ! परन्तु यो शब्दावलीप्रति हामी नेपालीजनहरुको आकर्षण यति कम भएर गयो कि मेलम्ची खानेपानी, काठमाडौं – तराई जोड्ने फास्ट ट्रयाक वा आठलेनको चक्रपथमा जति हामीलाई बिकर्षण छ, जुन भएपनि ठिकै नभएपनि मतलब नभएजस्तो । तर एक आशावादी आम नेपालीका नाताले ‘नयाँ नेपाल’ शब्दावलीप्रति मेरो आकर्षण अझै पनि ज्यूँका त्युँ छ । र, मनभरी नयाँ नेपाल निर्माणका खातिर थुप्रै तर्कनाहरु उब्जिन थालेका छन् । ती तर्कनाहरु ब्यक्तिको ब्यावहारिक परिवर्तनसँग सम्बन्धित भएकाले मैले अनुशरण गर्ने कामपनि थालेको छु । यदि यहाँहरुलाई पनि उपयुक्त लागेमा अनुशरण गर्ने प्रयास गर्नुहोला । जस्तो सार्वजनिक यातायातमा  – यात्रा गर्दा मैले अझैसम्म नक्कली बिधार्थी परिचयपत्र प्रयोग गरेको छैन ।  – महिला, जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्तहरुका लागि सुरक्षित गरिएका सिटमा बस्ने गरेको छैन । – आफूभन्दा अशक्त तथा बृद्ध नागरिकहरुलाई उभ्याएर म मज्जाले ...

म, रत्नपार्क र मेरो भविष्य

स्नातकोत्तर अर्थात एम.ए । कतिपय बुद्धिजीवीहरु यसो पनि भन्दा रहेछन – एम.ए पछिको पढाई आवश्यक छैन । उनीहरुको टिप्पणी सुनेपछि मलाई लाग्यो विश्वबिधालय जीवनमा यो तहको पढाई सर्वाधिक महत्वको पढाई हो । र, विशेष महत्वका साथ यो तहको पढाई पूरा गर्नु आवश्यक छ । तसर्थः स्नातक तहको अध्ययन सिध्याएको ४ वर्षपछि मैले स्नातकोत्तर तहको अध्ययन पूरा गर्ने अठोटका साथ फेरि एकपटक कलेज जीवनको शुरु गरेँ । लागेको थियो – मसँगै पढ्नेहरु दुईचार साल कमका होलान, मेरो उमेरको खिसिटिउरी पो गर्ने हुन कि ? तर कक्षामा प्रवेश गरेको शुरुकै दिनमा मेरो अनुमान फेल खायो – पढ्नेहरुका लागि उमेर प्रधान कुरो रहेनछ । मेरा कतिपय साथीहरु स्नातक सिध्याएको १५–२० वर्षपछि स्नातकोत्तर तहको अध्ययन गर्न आएका रहेछन । उमेरमा म बुढो भन्ने चिन्ता त्यो दिनदेखि रहेन । चालीस कटेकाहरु भएको ठाउँमा म बबुरो २६ मा चलिरहेको सानो केटो नै देखिएको छु । परन्तु समयसँगै म बदलिन नसकेको हुँ, वा महत्वकांक्षा ठूलो भएछ कुन्नी ? थुप्रै समस्याहरु असरल्ल देखिरहेछु । कक्षाबाट शुरु गरुँ । पहिलो दिनमै मलाई कक्षाको वातावरण कत्ति पनि रुचीकर लागेन । अगाडि प्राध्यापकको लेक्...

सार्वजनिक यातायात, हामी र हाम्रो यात्रा

यसरी सिन्की झैं कोचिन्छ यात्रुहरू । तस्बीर  सहारा संसार डट कम  मलाई हाम्रा सार्वजनिक सवारीहरुमा यात्रा गर्न एकदमै मन लाग्दैन । तर विवश परिस्थितीका कारण सार्वजनिक सवारीहरुमा यात्रा नगर्नका लागि अर्को भरपर्दो र मितव्ययी विकल्प पनि मसँग छैन । त्यसैले, सार्वजनिक सवारीका लागि म त्यस्तो यात्रु हो – जसको हरेक यात्राको पहिलो र अन्तिम रोजाई नै कालो नम्बर प्लेट लपेटेका थोत्रा भारतीय गाडीहरु नै हुन । र, चुपचाप वर्षौदेखि म ती सवारीहरुका माध्यमले हजारौं माइलको दुरी यात्रा गर्दै आएको छु । काला प्लेटका गाडीहरुमा यात्रा गर्दा म सधैं निम्छरो र हेपिएको महशुस गर्दछु । मेरो आत्मसम्मान वा स्वाभिमानको एक अक्षरको पनि त्यहाँ कसैलाई मतलब हुँदैन । अरु त अरु म आफुले रकम तिरेर बसेको स्थानमा आफुले चाहेजसरी सहज र स्वतन्त्र तरिकाले बस्न समेत पाउँदिन । मैले धेरै पल्ट, धेरै ठाउँहरुमा ओहोरदोहोर गर्दा मसहित दुईजनाको स्थान भएको जिपहरुमा चढ्दा, सवारीका चालक तथा सहचालकले त्यो तीनजना अटाउने स्थान भएको जिकिर गरी थप एकजनालाई चढाएको देखेको छु । र, यस्तो गल्ती गर्ने सवारी चालक र उसका सहयोगीहरुलाई कारबाही गर्ने...

नयाँ नेपाल, हामी र हाम्रो धरातल

भूगोल जस्तै सुन्दर हुनुपर्यो हाम्रो मन तस्बीरः गुगल खोज हाम्रो स्तर, जीवनशैली अनि सोच र हामी बसिरहेको यस भूगोलको विकसित भनिएका देशका बासिन्दाहरुको स्तर, जीवनशैली र सोचमा रहेको भिन्नताको भेद खुट्याउनका लागि सबभन्दा पहिले हामीले उनीहरुका बारेमा थाहा पाउनु पर्ने हुन्छ । जब ती विकसित भनिएका मानिसहरुका आचरण र जीवनशैलीका बारेमा हामीले जानकारी पाउँछौ तब हामीले हामी बाँच्दै आइरहेको सामुदायिक दायराको संकुचनताको भेद थाहा पाउँदछौं । मिहिन पाराले हामीले हाम्रो सोच्ने स्तरका सम्बन्धमा जहिलेसम्म अध्ययन गर्न सक्दैनौं, त्यहिले सम्म हामीले आफ्नै स्तरका बारेमा जानकारी हासिल गर्न सक्दैनौं । तसर्थः कम्तिमा पनि हाम्रो पुस्ताले अधिकतम योगदान दिनु आवश्यक छ, पत्ता लगाउनलाई कि हामी र विकसित मानिसहरुबीच के कति फरक छ ? र, गहन ढंगले विश्लेषण गरिनु आवश्यक छ– सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हाम्रो के कति योगदान रहन्छ ?  हामी भन्ने गर्दछौं, हाम्रो देश अत्यन्तै अब्यबस्थित छ । यहाँ कानुनी शासनको अभाव छ । नेताहरु सबै चोर हुन । फटाहा छन । तर हामी आफै सम्मानित संसदबाट ऐन कानुनका रुपमा पास भएर आएका नियमहरु...

यो कस्तो चाड – तीज ?

सानो छँदा तीज आउँदा आमाको पछि लागेर मामाको घर जाने गर्दथ्यौं म र मेरो भाई । आमा, छामाहरु र ठूलीआमाहरुको भेटघाट हुने त्यतिखेरको तिजले हाम्रा आमाहरुलाई एउटा औसर जुटाउने गर्दथ्यो – टाढाटाढाका दिदीबहिनीहरुलाई करिब एक बर्षपछि एकै ठाउँमा जुराउने । आमाहरुले वर्षभरी अनुभूत गरेका दुःखसुखका कुराहरु सुन्न पाउँदा अर्कै किसिमको आनन्द आउने गर्दथ्यो, मलाई पनि । मामाकै घरको तगारोबाहिर रहेको खुल्ला चौरमा गाउँका अरु चेलीबेटीहरु पनि जम्मा भएका हुन्थे, उनीहरुले तीजका भाकामा गाएका गीतहरुले गाउँ नै जुरुक्क पाथ्र्यो । हातका औंला झुराझुरा पर्ने गरी उनीहरुले बजाउने मादलको आवाजले निर्माण गर्ने रौनकका बारेमा शब्दमा म कसरी ब्यक्त गरुँ ? साँच्चीकै भिन्न थियो हाम्रा आमाहरुले उतीबेला मनाउने तिज ।  जति जति मेरो उमेर हुर्कदों छ, उति उति हाम्रा चाडपर्वहरु मनाउने शैलीमा पनि परिवर्तन हुँदै आएको महशुस गर्दै आएको छु, मैले । तीज, महिलाहरुको महान पर्व भन्ने गरिए पनि कतै यो महिलाहरुकै पहुँच बाहिर जान लागेको त हैन ? तीज बिशेष कार्यक्रमहरुमा निश्चित आर्थिक हैसियत भएका महिलाहरुको मात्र उपस्थिती देख्दा यस्तै अनुभूत गरेक...

एउटा चोक, फुटबल र हस्ताक्षर

हस्ताक्षर गर्दै जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण बि.क. “अझै दुई गोल भएको भए त एघारै जनालाई एकएक गोल पुग्थ्यो नी !” २०१४ को विश्वकप प्रतियोगिताको एशियाली छनोटमा जोडर्नसँगको आफ्नो पहिलो खेल ९–० को विशाल अन्तरले गुमाएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापक कोहीपनि आलोचनाको परिधीबाट फुत्कन पाएनन् । सकभर बराबरी वा पराजित भएपनि थोरै गोल संख्याको अन्तरले मात्र पराजित हुने विश्वास बोकेर अम्मान उडेका नेपाली राष्ट्रिय टोलीका बेलायती प्रशिक्षक ग्राहम रोबर्टस् यस पराजय पछि सबभन्दा बढी आलोचित पात्र रहे । आफ्ना खेलाडीहरुमा जोर्डनका खेलाडीहरुलाई टक्कर दिने अद्धितिय क्षमता रहेको बताउँदै आएका रोबर्टस्, टोलीका अन्य खेलाडी सदस्यहरु पक्कै पनि आफ्नो दाबीले पानी खाँदा सर्बाधिक चिन्ताग्रस्त थिए होलान नै तर सामाजिक सञ्जाल फेसबुक र ट्वीटरका भित्तामा नेपाली फुटबलप्रेमीहरुले त्यो अकल्पनीय हारबाट विक्षिप्त हुँदै आलोचनात्मक टिप्पणीको हदै पार गरेर आफ्ना भित्ताहरु कुरुप पारे ।  हुनसक्दछ, हामी नेपालीको यो एउटा संस्कारगत त्रुटी हो, वा परम्परा नै हो । कमजोर पक्षमाथि आलोचना गर्नु...

राजनीति बिग्रेको देश, हामी युवा, हाम्रा चूनौती र सम्भावनाहरु

मैले धेरैपटक सुन्दै आएको छु – युवाहरु परिवर्तनका संवाहक हुन । यी उर्जाशील शक्ति हुन । युवा शक्तिको समुचित प्रयोगमा घगडान परिवर्तनहरु सम्भव छन । यी सो¥है आना सत्य छन । तथापी यी पेचिला सत्य कुराहरु हाम्रो देशमा कहिल्यै वास्तविकतामा परिणत हुन सकिरहेका छैनन् । सार्वजनिक सभाहरुमा नेताहरुको भाषणमा उच्च प्राथमिकतामा पर्ने युवा सम्बन्धी उनीहरुका यी बुझाईहरु, कार्यान्वयनका बखत कहिल्यै प्राथमिकतामा पर्न सकिरहेका छैनन् । गल्कोट साप्ताहिकले आफ्नो रजत जयन्तीको उपलक्ष्यमा २५ औं अंक तयार पार्दै गर्दा, मित्र दिल शिरीषले युवाहरुका चूनौती र सम्भावनाका विषयमा लेख तयार पार्न गरेको आग्रहपछि मैले अनुभूत गरेको हामी युवाहरुका लागि सबभन्दा ठूलो चूनौती नै हामी युवाहरुका संभावनाका विषय भाषणमा मात्र सिमित पारिनुमा देखेको छु । कतिपय राजनैतिक युवाहरुर्लाइ लाग्ला, यसले फगत कुरा गरिरहेछ । हुनसक्छ, यी राजनीतिमा अभ्यस्त युवाहरुका लागि फगत कै कुरा हो । गलफती नै हो । तर एक आम नेपाली युवा भएर देशमा विद्यमान गञ्जागोल र राजनैतिक हठताका बीचमा कुन नेपाली आम युवाले सम्भावनाका स्वर्गीय स्वप्न देख्न समर्थ होला र ? सधैं भाषणमा ...

बग्रेल्ती साहित्यिक समाज, भानु जयन्ती र साहित्यकारहरु

नेपाली साहित्यमा आदिकवी भनेर चिनिने भानुभक्तको जन्मजयन्ती प्रत्येक वर्ष आषाढ २९ गते पर्दछ भन्ने कुराको हेक्का म्याग्दीका थुप्रै साहित्यकारलाई थाहा रहेनछ भन्ने तथ्य मैले त्यतिखेर थाहा पाएँ, जतिखेर १९८ औं भानु जयन्तीका अवसर पारी तय गरिएको कार्यक्रमको निमन्त्रणाका लागि उनीहरुसँग मैले फोन सम्पर्क गर्नु प¥यो । हुन त यस सम्बन्धमा मेरो केहि ब्यक्तिगत गुनासो छैन । र, मलाई यो पनि थाहा छैन कि भानुजयन्ती, लक्ष्मीजयन्ती र भुपीजयन्ती जस्ता दिवसहरु साहित्यकर्ममा लागेकाहरुका लागि महत्वपुर्ण हुन वा हैनन तर मलाई राम्ररी के थाहा छ भने साहित्यकर्ममा लागेकाहरुले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका माथि उल्लेखित मूर्धन्य साहित्यकारहरुका जन्मजयन्तीका सम्बन्धमा समेत हेक्का नराख्नु लाजमर्दो बिषय चाँहि अवश्य हो । हुन त भानु जयन्ती मनाउने सन्दर्भमा पनि म्याग्दीमा छन भनिएका आधा दर्जन कुनै पनि साहित्यिक संस्थाहरुको संस्थागत निर्णयबाट भने भएको हैन । म्याग्दीका क्रियाशिल साहित्यकारद्धय ध्रुबलाल शर्मा र अजयमिलन श्रेष्ठसँग यस पंक्तिकारले बिशेष सम्पर्क र समन्वय गरे पश्चात उक्त कार्यक्रम सम्भव भएको हो । हुन त त्यस...

फूलहरुको शहरमा एकदिन

फूलको बगैंचा घुम्न जाने प्रस्ताव जो कोहीका लागि सर्वस्वीकार्य प्रस्ताव हुन सक्दछ । त्यसकारण पनि यस्ता प्रस्ताव मेरा लागि अस्वीकार्य प्रस्ताव हुनै सक्दैनन् । अप्रिल २४ का दिन एउटा यस्तै प्रस्ताव थियो मलाई । लुभेन बेल्जियममा बस्दै आउनुभएका एकजना दाजु नारायण पौडेल मार्फत दाई बिष्णु थापा र मेरो लागि पनि टिकट बुक भैसकेको थियो । साथमा थिए साथी रमेश पौडेल । नातामा मेरा दाई र ब्याबहारिक हिसाबले मेरा साथी झलक दाइसँग म लक्जमबर्ग घुम्न निस्कनु अगाडि नै नारायण दाजुले यो सुन्दर प्रस्ताव राख्नुभएको थियो । तसर्थ हर हालतमा म अप्रिल २३ भित्रमा लुभेन आइपुग्नु पर्ने थियो । र, म २३ अप्रिलमै लुभेन फर्किसकेको थिएँ । २४ अप्रिलको बिहान बिष्णु दाई र म हामीलाई बोलाइएको स्थानमा पुग्यौं । तीन वटा बस लहरै मिलाएर राखिएका थिए । मलाई अचम्म लाग्यो र सोधेँ — हैन दाई, तीन तीन वटा बस किन राखेका हुन यहाँ ? पछि थाहा लाग्यो लुभेन शहरमा बस्दै आएका थुुप्रै नेपालीहरु त्यो बिश्व प्रसिद्द फूलको बगैंचामा जादैँ रहेछन् । यसो चिहाएर हेरेको अलिकति नेपाली दाजुभाईहरु जम्मा भैसकेका थिए । एकै ठाउँमा नेपालीको जमघट देख्दा कताकता न...

जहाजभित्रबाट एउटा ब्लग पोष्ट

पर्यटन वर्ष मनाइरहेको मेरो देशमा राष्ट्रिय ध्वजाबाहक बिमान कम्पनीको कन्तबिजोगका समाचारहरू पढेर म कति दुखित बन्दै आएको छु, त्यो म यहाँ ब्यक्त गर्न सायदै सकुँला । तर त्यही अभागि देशबाट विकासको चरमतालार्इ अंगालिरहेको नर्वेमा विगत ८ महिनादेखि रहँदै आएको मैले यहाँको नर्वेजियन फ्लाइटको बोइङ B737-800W उडान नं DY 245, ट्रोम्सोदेखि वश्लोको उडान भरिरहेको जहाजभित्रबाट यो ब्लग अपडेट गर्न पाउँदा समेत खुशि ब्यक्त गर्न सकिरहेको छैन । आखिर कहिले आउँला यस्तै दिन हाम्रो विमान कम्पनीको पनि ?