Skip to main content

सार्वजनिक यातायात, हामी र हाम्रो यात्रा


यसरी सिन्की झैं कोचिन्छ यात्रुहरू । तस्बीर  सहारा संसार डट कम 

मलाई हाम्रा सार्वजनिक सवारीहरुमा यात्रा गर्न एकदमै मन लाग्दैन । तर विवश परिस्थितीका कारण सार्वजनिक सवारीहरुमा यात्रा नगर्नका लागि अर्को भरपर्दो र मितव्ययी विकल्प पनि मसँग छैन । त्यसैले, सार्वजनिक सवारीका लागि म त्यस्तो यात्रु हो – जसको हरेक यात्राको पहिलो र अन्तिम रोजाई नै कालो नम्बर प्लेट लपेटेका थोत्रा भारतीय गाडीहरु नै हुन । र, चुपचाप वर्षौदेखि म ती सवारीहरुका माध्यमले हजारौं माइलको दुरी यात्रा गर्दै आएको छु ।
काला प्लेटका गाडीहरुमा यात्रा गर्दा म सधैं निम्छरो र हेपिएको महशुस गर्दछु । मेरो आत्मसम्मान वा स्वाभिमानको एक अक्षरको पनि त्यहाँ कसैलाई मतलब हुँदैन । अरु त अरु म आफुले रकम तिरेर बसेको स्थानमा आफुले चाहेजसरी सहज र स्वतन्त्र तरिकाले बस्न समेत पाउँदिन । मैले धेरै पल्ट, धेरै ठाउँहरुमा ओहोरदोहोर गर्दा मसहित दुईजनाको स्थान भएको जिपहरुमा चढ्दा, सवारीका चालक तथा सहचालकले त्यो तीनजना अटाउने स्थान भएको जिकिर गरी थप एकजनालाई चढाएको देखेको छु । र, यस्तो गल्ती गर्ने सवारी चालक र उसका सहयोगीहरुलाई कारबाही गर्ने अख्तियारी पाएको निकायले समेत चुपचाप रमिता हेरेको तीतो सत्य सायद मैले यहाँ उप्काइराख्नु जरुरी छ जस्तो मलाई लाग्दैन । सार्वजनिक यातायातका सवारी खासगरी बागलुङ – बेनी, बेनी–मालढुङ्गा र बेनी–जोमसोम वा अन्य ग्रामीण सडकहरुमा यात्रा गर्ने तमाम हजारौं यात्रुले यो देख्दै भोग्दै आएका छन् । हाम्रा क्षेत्रमा बढ्दै गएको सवारी दुर्घटनाको एक महत्वपूर्ण कारण सवारी साधनको क्षमता भन्दा बढी यात्रुहरु चढाउनु हो । तर पनि यो तथ्यलाई हृदयगंम नगरी सवारी मालिक र चालकहरुले उहि गल्ती बारम्बार दोहोर्‍याउँदै आएका छन ।
अर्को विर्सनै नहुने कुरो के पनि छ भने, सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले सामान्य रुपमा बोलचाल गर्दा समेत प्रयोग गर्ने शब्दहरु अत्यन्तै तुच्छ र फोहोरी हुन्छन । उनीहरुले प्रयोग गर्ने शब्दहरु सभ्य र सुसंस्कृत वातावरणमा हुर्केको कुनैपनि ब्यक्तिसँग सहजतापूर्वक लिने साहस हुदैँन । ती यति घिनलाग्दो तरिकाले बोल्छन् कि यदि मेरो वशमा हुन्थ्यो भने, फाटेको जुत्ता चप्पल सिलाउँदा प्रयोग हुने धागोले म उनीहरुको तलमाथिको दुइवटै ओठलाई एकैठाउँमा ल्याएर सिलाइदिन्थेँ ! मीठो र सभ्य तरिकाले सञ्चार गर्न आखिर उनीहरु किन यति धेरै कन्जुस्याँइ गर्छन होला ? के उनीहरुलाई मानिसको शिष्टताको पहिलो परिचय उसको विनम्रता र सभ्य बोलीचालीमा हुन्छ भन्ने कुरो सिकाइँदैन ? यदि सिकाइदैन भने, उनीहरुले यससम्बन्धी प्रशिक्षण दिने जिम्मेवारी कसको हो ? 
धौलागिरि भेगमा चल्ने छोटा वा लामा दुरीका अधिकांश सवारी साधनहरु अपेक्षित वा निश्चित गरिएको कुनै पनि समयमा छुददैनन । या त ती दशप्रन्ध मिनेट ढिला गर्छन वा यात्रुले सवारी खचाखच नभइन्जेल एक डेग पनि अगाडि सर्दैन । समयमै गन्तब्यमा पुग्नका लागि हामीले हाम्रा सार्वजनिक सवारीका साधनहरुमा विश्वास गर्न सक्ने १ प्रतिशत पनि आधार हामीसँग सुरक्षित छैनन । हाम्रा क्षेत्रमा गुड्ने कतिपय सार्वजनिक सवारी साधनका चालकहरुले गुड्नु भन्दा अगाडि सवारीमा यात्राका लागि कति इन्धन बाँकी छ भन्ने समेत ख्याल गर्दैनन् । टायरमा हावा कति छ ? इन्जीन ठीक छ÷छैन ? सवारीको सफाइ ? यी कुराहरुलाई उनीहरु कत्ति पनि महत्व दिदैनन् । उनीहरुलाई सिर्फ मतलब हुन्छ एउटै कुराको कि सवारीमा यात्रु खचाखच भएकी÷भएनन ? परिणामतः हामीले यात्रा गर्दै गर्दा थुप्रैपटक हामी सवार गाडीहरुको टायर पन्चर भएर, पट्टा भाँचिएर वा इन्धन सक्किएर सडकमै अलपत्र पर्नुपरेको छ । अरु त अरु कतिपय अभागीहरुले आफू सवार सवारी साधनको ब्रेक नलागेर (फेल भएर) ज्यान समेत गुमाउनु परेको छ ।
प्रतिष्ठा नै कमाउन नसकेका सार्वजनिक सवारी साधनका मालिक, चालक तथा सहचालकले यसपट्टी समयमै ध्यान दिनु आवश्यक छ । यो उनीहरुको मात्र प्रतिष्ठाको विषय हैन यसले हाम्रो खराब सार्वजनिक यातायातको नीतिलाई समेत प्रकाश पारेको छ । के हाम्रो सार्वजनिक यातायात ब्यवस्थापनमा सुधारको आवश्यकता छैन त ?

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...