Skip to main content

सार्वजनिक यातायात, हामी र हाम्रो यात्रा


यसरी सिन्की झैं कोचिन्छ यात्रुहरू । तस्बीर  सहारा संसार डट कम 

मलाई हाम्रा सार्वजनिक सवारीहरुमा यात्रा गर्न एकदमै मन लाग्दैन । तर विवश परिस्थितीका कारण सार्वजनिक सवारीहरुमा यात्रा नगर्नका लागि अर्को भरपर्दो र मितव्ययी विकल्प पनि मसँग छैन । त्यसैले, सार्वजनिक सवारीका लागि म त्यस्तो यात्रु हो – जसको हरेक यात्राको पहिलो र अन्तिम रोजाई नै कालो नम्बर प्लेट लपेटेका थोत्रा भारतीय गाडीहरु नै हुन । र, चुपचाप वर्षौदेखि म ती सवारीहरुका माध्यमले हजारौं माइलको दुरी यात्रा गर्दै आएको छु ।
काला प्लेटका गाडीहरुमा यात्रा गर्दा म सधैं निम्छरो र हेपिएको महशुस गर्दछु । मेरो आत्मसम्मान वा स्वाभिमानको एक अक्षरको पनि त्यहाँ कसैलाई मतलब हुँदैन । अरु त अरु म आफुले रकम तिरेर बसेको स्थानमा आफुले चाहेजसरी सहज र स्वतन्त्र तरिकाले बस्न समेत पाउँदिन । मैले धेरै पल्ट, धेरै ठाउँहरुमा ओहोरदोहोर गर्दा मसहित दुईजनाको स्थान भएको जिपहरुमा चढ्दा, सवारीका चालक तथा सहचालकले त्यो तीनजना अटाउने स्थान भएको जिकिर गरी थप एकजनालाई चढाएको देखेको छु । र, यस्तो गल्ती गर्ने सवारी चालक र उसका सहयोगीहरुलाई कारबाही गर्ने अख्तियारी पाएको निकायले समेत चुपचाप रमिता हेरेको तीतो सत्य सायद मैले यहाँ उप्काइराख्नु जरुरी छ जस्तो मलाई लाग्दैन । सार्वजनिक यातायातका सवारी खासगरी बागलुङ – बेनी, बेनी–मालढुङ्गा र बेनी–जोमसोम वा अन्य ग्रामीण सडकहरुमा यात्रा गर्ने तमाम हजारौं यात्रुले यो देख्दै भोग्दै आएका छन् । हाम्रा क्षेत्रमा बढ्दै गएको सवारी दुर्घटनाको एक महत्वपूर्ण कारण सवारी साधनको क्षमता भन्दा बढी यात्रुहरु चढाउनु हो । तर पनि यो तथ्यलाई हृदयगंम नगरी सवारी मालिक र चालकहरुले उहि गल्ती बारम्बार दोहोर्‍याउँदै आएका छन ।
अर्को विर्सनै नहुने कुरो के पनि छ भने, सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले सामान्य रुपमा बोलचाल गर्दा समेत प्रयोग गर्ने शब्दहरु अत्यन्तै तुच्छ र फोहोरी हुन्छन । उनीहरुले प्रयोग गर्ने शब्दहरु सभ्य र सुसंस्कृत वातावरणमा हुर्केको कुनैपनि ब्यक्तिसँग सहजतापूर्वक लिने साहस हुदैँन । ती यति घिनलाग्दो तरिकाले बोल्छन् कि यदि मेरो वशमा हुन्थ्यो भने, फाटेको जुत्ता चप्पल सिलाउँदा प्रयोग हुने धागोले म उनीहरुको तलमाथिको दुइवटै ओठलाई एकैठाउँमा ल्याएर सिलाइदिन्थेँ ! मीठो र सभ्य तरिकाले सञ्चार गर्न आखिर उनीहरु किन यति धेरै कन्जुस्याँइ गर्छन होला ? के उनीहरुलाई मानिसको शिष्टताको पहिलो परिचय उसको विनम्रता र सभ्य बोलीचालीमा हुन्छ भन्ने कुरो सिकाइँदैन ? यदि सिकाइदैन भने, उनीहरुले यससम्बन्धी प्रशिक्षण दिने जिम्मेवारी कसको हो ? 
धौलागिरि भेगमा चल्ने छोटा वा लामा दुरीका अधिकांश सवारी साधनहरु अपेक्षित वा निश्चित गरिएको कुनै पनि समयमा छुददैनन । या त ती दशप्रन्ध मिनेट ढिला गर्छन वा यात्रुले सवारी खचाखच नभइन्जेल एक डेग पनि अगाडि सर्दैन । समयमै गन्तब्यमा पुग्नका लागि हामीले हाम्रा सार्वजनिक सवारीका साधनहरुमा विश्वास गर्न सक्ने १ प्रतिशत पनि आधार हामीसँग सुरक्षित छैनन । हाम्रा क्षेत्रमा गुड्ने कतिपय सार्वजनिक सवारी साधनका चालकहरुले गुड्नु भन्दा अगाडि सवारीमा यात्राका लागि कति इन्धन बाँकी छ भन्ने समेत ख्याल गर्दैनन् । टायरमा हावा कति छ ? इन्जीन ठीक छ÷छैन ? सवारीको सफाइ ? यी कुराहरुलाई उनीहरु कत्ति पनि महत्व दिदैनन् । उनीहरुलाई सिर्फ मतलब हुन्छ एउटै कुराको कि सवारीमा यात्रु खचाखच भएकी÷भएनन ? परिणामतः हामीले यात्रा गर्दै गर्दा थुप्रैपटक हामी सवार गाडीहरुको टायर पन्चर भएर, पट्टा भाँचिएर वा इन्धन सक्किएर सडकमै अलपत्र पर्नुपरेको छ । अरु त अरु कतिपय अभागीहरुले आफू सवार सवारी साधनको ब्रेक नलागेर (फेल भएर) ज्यान समेत गुमाउनु परेको छ ।
प्रतिष्ठा नै कमाउन नसकेका सार्वजनिक सवारी साधनका मालिक, चालक तथा सहचालकले यसपट्टी समयमै ध्यान दिनु आवश्यक छ । यो उनीहरुको मात्र प्रतिष्ठाको विषय हैन यसले हाम्रो खराब सार्वजनिक यातायातको नीतिलाई समेत प्रकाश पारेको छ । के हाम्रो सार्वजनिक यातायात ब्यवस्थापनमा सुधारको आवश्यकता छैन त ?

Comments

Popular posts from this blog

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...