Skip to main content

म, मेरो मान्यता र सकारात्मक सोच

तस्बीरः लिभ एण्ड लभ वर्क
                एकजना साथी भन्ने गर्थ्यो - जब तँलार्इ कुनै ब्यक्तिले अनाहकमा एक थप्पड हिर्काइहाल्यो भने त्यसको प्रतिकार गर्नुको साटो तैलें उसलार्इ बिनम्रतापूर्वक - हजुरले मलार्इ हिर्काउनुको कारण थाहा पाइँन नी ! भनेर सोधिस् भने उक्त ब्यक्ति शीर नत पारेर त्यहाँबाट हिड्छ !
             नकारात्मकता र सकारात्मकताका बारेमा मानिसहरूले चर्चा गर्दैगर्दा,  मैले सोचेँ - अरे, सबैकुरालार्इ म कसरी सकारात्मक रूपमा ग्रहण गर्न सक्दछु ? यस्तो कुरा त सकारात्मक सोचका प्रख्यात ब्याख्यता कर्ण शाक्यमा पनि लागू हुँदैन । हरेक कुराको सकारात्मक पक्ष मात्र खोतल्दै जाने हो भने त मानिसले दःखी हुन पनि पाउने छैन सायद । यो मलार्इ घोर आपत्तिको विषय लाग्यो । र, यसले मानिसमा अनिश्चित र अनियन्त्रित विचारको प्रादुर्भाव गराउँदछ भन्ने पनि लाग्यो । हरेक कुरामा सकारात्मक सोचमात्र राख्ने हो भने मैले थुप्रै समस्याहरूका बीचमा निरीह बन्नु पर्ने पनि देखेँ । जस्तो कुनै ब्यक्ति मेरो नजिक फुङ्फुङ्ती चुरोटको धुँवा उडार्इरहेको छ । मलार्इ चुरोटको धुवा एक रति पनि मन पर्दैन, मलार्इ अत्यन्तै असह्य हुन्छ । मेरा अगाडि यसरी चुरोट पिउनेहरूप्रति अथाह घृणा उत्पन्न हुन्छ । मलार्इ यस्तो लाग्छ कि यी पट्मुर्खहरूलार्इ आफूले पिएको चुरोटको धुँवाले अरूलार्इ असर गर्छ भन्ने पनि हेक्का छैन ? के यी पट्मुर्खहरूलार्इ यति पनि बोध हुँदैन कि उसको आडमा उभ्भिरहेको अर्को ब्यक्तिलार्इ चुरोटको धुँवाको गन्ध मन नपर्न पनि सक्दछ । यस्तो बेला मेरो मन भारी भएर आउँछ । मलार्इ अपर्झट सन्किन मन लाग्दछ । सक्ने भए त त्यस्ता ब्यक्तिलार्इ चुरोटको धुँवैधुँवा खाँदिएको कोठामा बन्द गरिदिउँ जस्तो लाग्दछ । यस्ता कतिपय सन्दर्भहरूमा पनि मानिस उक्त ब्यक्तिप्रति नकारात्मक रूपमा प्रस्तुत नभैकन उसलार्इ सम्झाउन वा मनाउन सक्दछ भन्ने मलार्इ उति हेक्का हुँदैन । यदि भैहालेपनि, कतिपय यस्ता ब्यक्तिहरू पनि हुन्छन्, जसले उल्टै प्रतिरोध गर्न सक्छन् । यस्तोबेला म अनुत्तरित हुन्छु, र सोध्न मन लाग्दछ कर्ण शाक्यहरूलार्इ अब म तिम्रो सकारात्मक सोचको परिभाषाको कुन अर्थ मानुँ ? स्वीकार गरूँ ?
                केहि हप्ता अगाडि, मेरो एकजना साथीको कामको शिलशिलामा कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर पुगेको थिएँ । कर्मचारीहरूको ढिलासुस्ती र कामचोर प्रवृतीले म यति पिडित बन्नु पर्यो कि उक्तै दिन फत्ते हुनु पर्ने कामका लागि म भोलीपल्ट पनि त्यहाँ पुग्नुपर्यो । काम लगभग सक्किन आँट्यो भन्ने बेलामा फाइल हेरिरहेको कर्मचारीले अत्तो थाप्न लाग्यो – हजुरको साथीले बैङ्कबाट ऋण लिनुभएको रैछ, भाखा नाघ्दासम्म पनि ऋण चुक्ता नगरेकाले उहाँको नाम मेरो कम्प्यूटरमा इन्सटल सफ्टवेयरले कालो सूचीमा देखायो, तपाइँको काम आज हुँदैन पछि आउनुस ! म बबुरो तीन छक । मलार्इ रिंगटा चल्यो यो सोच्दा - हैन हाम्रो देशमा कस्तो सफ्टवेयर बनिसकेछ यो ? पछि २०० रूपैया टेबलमा राखेको, उसको सफ्टवेयरले मेरो साथिको नाम कालो सूचीबाट हटाइदियो ! मलार्इ मेरो देशको कर्मचारीतन्त्रको बिद्ममान अवस्थाप्रति दया जागेर आयो । म ऊप्रति र नेपाली कर्मचारीतन्त्रप्रति कुनै पनि हालतमा सकारात्मक बन्न सकिनँ त्यसबेला पनि, र अझै सम्म पनि । काम गरे बापत सरकारबाट तलब बुझ्ने उसलार्इ थप दुर्इ सय किन आवश्यक परे होला ? यसमा म अब कसरी सकारात्मक हुन सकुँ ?
                मसँग यस्ता थु्प्रै प्रसंगहरू छन्, जतिखेर म चाहेर पनि सकारात्मक बन्न सकिनँ । तर यसको मतलब यो नलागोस् कि प्रत्येक विषयलार्इ म पूर्ण नकारात्मक तबरले बुझ्छु । अहिले मलार्इ के लाग्दछ भने ती मध्ये कतिपय यस्ता अवस्थाहरू हुनसक्थे जसलार्इ म सकारात्मक हिसाबले ब्यवहार गर्न सक्थेँ । 
               परन्तु, मान्छेहरूका कुरामा गम्भीर तबरले सोच्दै गएपछि मलार्इ के लाग्यो भने - मैले मात्र सोचेका हरेक कुराहरू सत्य नै हुन्छन् भन्ने छैन । मैले मेरो ठाउँबाट मात्र सोच्ने हो भने दोश्रो पक्षको समस्या, पीडा, ब्यथा वा बिवशतालार्इ म बुझ्ने सामर्थ्य पनि त राख्दिनँ । यसरी आफ्नैमात्र बुझार्इको लिढेंढिपी कस्ने हो भने त मैले संसारमा अरू मान्छेहरूको अस्तित्वलार्इ नकार्नु सिवाय अर्थोक केहि पनि हुनेछैन । मलार्इ मान्छेहरूका टिकाटिप्पणीले एउटा दिब्य बोध गरार्इदिएको छ - संसारमा थुप्रै मान्यताहरू अस्तीत्वमा छन् । र, ती मान्यता बोक्ने कुनै पनि ब्यक्ति आफैमा शतप्रतिशत ठीक छैनन् । अर्थात सकारात्मकताभित्र पनि नकारात्मकताका केहि अवयवहरू हुन्छन ।

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...