Skip to main content

म, मेरो मान्यता र सकारात्मक सोच

तस्बीरः लिभ एण्ड लभ वर्क
                एकजना साथी भन्ने गर्थ्यो - जब तँलार्इ कुनै ब्यक्तिले अनाहकमा एक थप्पड हिर्काइहाल्यो भने त्यसको प्रतिकार गर्नुको साटो तैलें उसलार्इ बिनम्रतापूर्वक - हजुरले मलार्इ हिर्काउनुको कारण थाहा पाइँन नी ! भनेर सोधिस् भने उक्त ब्यक्ति शीर नत पारेर त्यहाँबाट हिड्छ !
             नकारात्मकता र सकारात्मकताका बारेमा मानिसहरूले चर्चा गर्दैगर्दा,  मैले सोचेँ - अरे, सबैकुरालार्इ म कसरी सकारात्मक रूपमा ग्रहण गर्न सक्दछु ? यस्तो कुरा त सकारात्मक सोचका प्रख्यात ब्याख्यता कर्ण शाक्यमा पनि लागू हुँदैन । हरेक कुराको सकारात्मक पक्ष मात्र खोतल्दै जाने हो भने त मानिसले दःखी हुन पनि पाउने छैन सायद । यो मलार्इ घोर आपत्तिको विषय लाग्यो । र, यसले मानिसमा अनिश्चित र अनियन्त्रित विचारको प्रादुर्भाव गराउँदछ भन्ने पनि लाग्यो । हरेक कुरामा सकारात्मक सोचमात्र राख्ने हो भने मैले थुप्रै समस्याहरूका बीचमा निरीह बन्नु पर्ने पनि देखेँ । जस्तो कुनै ब्यक्ति मेरो नजिक फुङ्फुङ्ती चुरोटको धुँवा उडार्इरहेको छ । मलार्इ चुरोटको धुवा एक रति पनि मन पर्दैन, मलार्इ अत्यन्तै असह्य हुन्छ । मेरा अगाडि यसरी चुरोट पिउनेहरूप्रति अथाह घृणा उत्पन्न हुन्छ । मलार्इ यस्तो लाग्छ कि यी पट्मुर्खहरूलार्इ आफूले पिएको चुरोटको धुँवाले अरूलार्इ असर गर्छ भन्ने पनि हेक्का छैन ? के यी पट्मुर्खहरूलार्इ यति पनि बोध हुँदैन कि उसको आडमा उभ्भिरहेको अर्को ब्यक्तिलार्इ चुरोटको धुँवाको गन्ध मन नपर्न पनि सक्दछ । यस्तो बेला मेरो मन भारी भएर आउँछ । मलार्इ अपर्झट सन्किन मन लाग्दछ । सक्ने भए त त्यस्ता ब्यक्तिलार्इ चुरोटको धुँवैधुँवा खाँदिएको कोठामा बन्द गरिदिउँ जस्तो लाग्दछ । यस्ता कतिपय सन्दर्भहरूमा पनि मानिस उक्त ब्यक्तिप्रति नकारात्मक रूपमा प्रस्तुत नभैकन उसलार्इ सम्झाउन वा मनाउन सक्दछ भन्ने मलार्इ उति हेक्का हुँदैन । यदि भैहालेपनि, कतिपय यस्ता ब्यक्तिहरू पनि हुन्छन्, जसले उल्टै प्रतिरोध गर्न सक्छन् । यस्तोबेला म अनुत्तरित हुन्छु, र सोध्न मन लाग्दछ कर्ण शाक्यहरूलार्इ अब म तिम्रो सकारात्मक सोचको परिभाषाको कुन अर्थ मानुँ ? स्वीकार गरूँ ?
                केहि हप्ता अगाडि, मेरो एकजना साथीको कामको शिलशिलामा कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर पुगेको थिएँ । कर्मचारीहरूको ढिलासुस्ती र कामचोर प्रवृतीले म यति पिडित बन्नु पर्यो कि उक्तै दिन फत्ते हुनु पर्ने कामका लागि म भोलीपल्ट पनि त्यहाँ पुग्नुपर्यो । काम लगभग सक्किन आँट्यो भन्ने बेलामा फाइल हेरिरहेको कर्मचारीले अत्तो थाप्न लाग्यो – हजुरको साथीले बैङ्कबाट ऋण लिनुभएको रैछ, भाखा नाघ्दासम्म पनि ऋण चुक्ता नगरेकाले उहाँको नाम मेरो कम्प्यूटरमा इन्सटल सफ्टवेयरले कालो सूचीमा देखायो, तपाइँको काम आज हुँदैन पछि आउनुस ! म बबुरो तीन छक । मलार्इ रिंगटा चल्यो यो सोच्दा - हैन हाम्रो देशमा कस्तो सफ्टवेयर बनिसकेछ यो ? पछि २०० रूपैया टेबलमा राखेको, उसको सफ्टवेयरले मेरो साथिको नाम कालो सूचीबाट हटाइदियो ! मलार्इ मेरो देशको कर्मचारीतन्त्रको बिद्ममान अवस्थाप्रति दया जागेर आयो । म ऊप्रति र नेपाली कर्मचारीतन्त्रप्रति कुनै पनि हालतमा सकारात्मक बन्न सकिनँ त्यसबेला पनि, र अझै सम्म पनि । काम गरे बापत सरकारबाट तलब बुझ्ने उसलार्इ थप दुर्इ सय किन आवश्यक परे होला ? यसमा म अब कसरी सकारात्मक हुन सकुँ ?
                मसँग यस्ता थु्प्रै प्रसंगहरू छन्, जतिखेर म चाहेर पनि सकारात्मक बन्न सकिनँ । तर यसको मतलब यो नलागोस् कि प्रत्येक विषयलार्इ म पूर्ण नकारात्मक तबरले बुझ्छु । अहिले मलार्इ के लाग्दछ भने ती मध्ये कतिपय यस्ता अवस्थाहरू हुनसक्थे जसलार्इ म सकारात्मक हिसाबले ब्यवहार गर्न सक्थेँ । 
               परन्तु, मान्छेहरूका कुरामा गम्भीर तबरले सोच्दै गएपछि मलार्इ के लाग्यो भने - मैले मात्र सोचेका हरेक कुराहरू सत्य नै हुन्छन् भन्ने छैन । मैले मेरो ठाउँबाट मात्र सोच्ने हो भने दोश्रो पक्षको समस्या, पीडा, ब्यथा वा बिवशतालार्इ म बुझ्ने सामर्थ्य पनि त राख्दिनँ । यसरी आफ्नैमात्र बुझार्इको लिढेंढिपी कस्ने हो भने त मैले संसारमा अरू मान्छेहरूको अस्तित्वलार्इ नकार्नु सिवाय अर्थोक केहि पनि हुनेछैन । मलार्इ मान्छेहरूका टिकाटिप्पणीले एउटा दिब्य बोध गरार्इदिएको छ - संसारमा थुप्रै मान्यताहरू अस्तीत्वमा छन् । र, ती मान्यता बोक्ने कुनै पनि ब्यक्ति आफैमा शतप्रतिशत ठीक छैनन् । अर्थात सकारात्मकताभित्र पनि नकारात्मकताका केहि अवयवहरू हुन्छन ।

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...