बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।
बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?"
"नेपाल" मैले भनेँ ।
"वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।
मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।)
छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले पूर्ववतः गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उनलाई मुस्कान दिन बिर्सिरहेका थिएनन् ।
युरोपका प्रायः शहरहरू घुमफिर गर्दै गर्दा ती बाजेजस्तै गीत गाउने र बटुवाहरूको स्वेच्छाको दानमा मख्ख पर्ने धेरै गल्ली कलाकारहरूसँग म ठोक्किएको छु । यिनीहरू जीवन्त लाग्छन् मलाई ।
त्यस्तै, युरोपका सबैजस्तो देशहरूले आफ्ना वीर योद्दाहरूको स्मरणमा बनाएका स्मारकहरूले पनि मलाई आल्हादित पारेका हुन्छन् । जस्तै बुडापेष्टको मध्यभागमा अवस्थित हिरोज स्क्वायरको स्तम्भले बनाएथ्यो । शताब्दीऔं पुरानो हंगेरीको इतिहास निर्माणमा महत्वपूर्ण भूमिका खेलेका वीरहरूको स्मरणमा बनाइएको यस स्क्वायरमा पुग्दा मलाई अकस्मात पछिल्लो जनआन्दोलनमा कवि श्रवण मुकारूङले राष्ट्र निर्माता भनिकन पढिएका श्री ५ बडामहाराजधिराजलाई समेत युद्द तयारीका लागि सरसल्लाह दिने, युद्दमा विजयी हुँदा गोर्खाली सेनाको जितको हर्ष बढाईंमा नगरा लगाउने तर इतिहासका पानाका भारीले तीनै पानाहरूमा थिचिएका भनि चिनाएका एक पात्र - बिसे नगर्चीको याद आयो । सायद मुकारूङले जनआन्दोलनमा उनको त्यो कालजयी कविता सुनाउन्थेनन् भने मैले बिसेकाबारे सायदै केहि थाहा पाएको हुने थिएँ । यसैकारण पनि मलाई लागेको छ, नेपालमा मानव इतिहासमा अस्ति भर्खर जस्तो मानिने २५० वर्ष पहिलेको इतिहासमा समेत नसमेटिएका बिसेहरू जस्तै शताब्दी पहिलेदेखि लेखिएका हंगेरीका इतिहासका पानामा पनि त कति धेरै बिसेहरू गुमनाम होलान् !
इतिहासमा लेखिनु वा नलेखिनु त्यो अलग विषय हो, तर समयको सापेक्षतामा हामीले साक्षी भावले हेर्दा खासमा को नायक हो ? कुन विशिष्ट गुणका आधारमा त्यो नायक हुन जान्छ ? वा मानिन्छ ? विशाल भारतमा आफ्नो देश सिक्किम विलय गराउने लेन्डुप दोर्जे के असलमा खलनायकै हुन् ? हुन् भने रसियासँग टाउकोले टेकेर युद्व लड्न नेतृत्व गरिरहेका युक्रेनी राष्ट्रपति जेलेन्सकीलाई के यो शताब्दीकै सब से बडा नायक मान्न सकिएला ? न यी प्रश्नहरू सरल मान्न सकिन्छ न त यिनका जवाफहरू त्यति साधारण हुन सक्छन् । नायक र खलनायकसँग सम्बन्धित प्रश्नहरू सरल प्रश्नहरू हुँदैनन् ।
तर सरल प्रयासमा जो कोही नायक बन्न सक्छ, यस्तो मलाई लाग्छ । चित्तले खराब मानेको कर्म नगर्ने हो भने हर कोही सहजै नायक बन्न सक्छ ।
एउटा मेरा मित्र छन्, जसले केहि बर्ष पहिले मात्रै मदिरापान छाडिदिए । मैले सोधेथेँ, तिमी हामी नियमित मदिरापान गर्ने व्यक्तिहरूमा पर्दैनौं तैपनि तिमीले उप्रान्त मदिरापानै नगर्ने कारण के पर्यो ?
"मित्र, अब मेरो छोरीले कुरा बुझ्न थालिन् । सात बर्षकी मेरी छोरीले रक्सी खराब हो भन्ने बुझिन्, म ३७ बर्षको वयस्क मान्छेले उनको बुझाईलाई नजरअन्दाज गर्न मिल्छ त ? त्यसकारण, मैले मदिरापान छाडेँ ।" मेरा मित्रले मलाई कस्तो सपाट जवाफ दिएथे ।
बुडापेस्टको हिरोज स्क्वायरमा गहिरो गरी सोचमग्न हुँदा मैले ती मित्रलाई नायक मानेको छु । जसले आफ्नी हुर्किदै गरेको छोरीको अप्रत्यक्ष अनुरोधलाई आत्मसाथ गरेर आफ्नो प्रिय नशालाई सदाका लागि त्यागिदियो । विना स्वार्थ कसैका लागि आफूलाई प्रिय लाग्ने कुनै कुरा त्याग्नु पनि एक किसिमको नायकत्व प्राप्त गर्नु हो ।
गुलाफको बिचमा बसेर गिटार बजाइरहेका बाजेलाई मैले सोधेथेँ, तपाइँ के पूर्णकालिन रूपमा गल्लीकै कलाकार हो ?
हो, मेरो अर्को कुनै पेशा छैन् । उनले भनेका थिए ।
के यसमा मनग्य आम्दानी हुन्छ ? मेरो प्रश्नमा उनले यस्तो दार्शनिक जवाफ दिए । म केहि बेर सन्न भएँ ।
"सबै पेशा पैसाका लागि हुँदैनन्, केहि आत्मसन्तुष्टिका लागि हुन्छन् । केहि कसैलाई खुशी पार्नका लागि हुन्छन् । मैले गिटार बजाएर गीत गाउँदै गर्दा तिमीले एकोहोरो मलाई सुनिरह्यौ, अलि पर हिड्दै गरेकी आफ्नी बुढीेेकोमा पुगेर सिक्का ल्यायौ र मेरो गिटारको खोलमा खसाल्यौं । जुन खुशी मैले तिमीलाई दिएथेँ, तिमीलाई त्यसको गुन फिर्ता गर्यौ, एउटा मुस्कानको रूपमा अर्को सिक्काको रूपमा !"
म भर्खर हिरोज स्क्वायर पुगेर आएको, खासमा हिरो तपाइँ त यहाँ हुनुहुँदो रहिछ । मैले भनेँ ।
बुढो बाजेले मुस्कुराए मात्र । अनि मैले उनीसँग एउटा तस्बीर खिचाएँ । मलाई खास हिरोहरूसँग तस्बीर खिचाउन खुब रहर लाग्छ ।
यस्तै एउटा नायक भेटेथेँ सन् २०१७ मा नेपाल जाँदा । जसले हाँकेको रिक्सा चढेर म ठमेलबाट कपुरधारासम्म आइपुगेको थिएँ । म भन्दा अल्लि खिरीलो ज्यान भएको मभन्दा २ वर्ष जेठा तामाङ दाई । मैले उनको नाम सोधिनँ । मलाई जहिले पनि के लाग्यो भने नायकको नाम हुँदैन् । किनभने उसको कर्म नै उसको पहिचान हो ।
दाई कति हो नी भाडा? मैले सोध्दा । "भाइ, मेरो रेट छैन्, ग्राहकको मनखुश हो ।" रिक्सा हाँकेका तामाङ दाइले भनेथे ।
त्यसपछि दाइले भाडाको कोठामा आफू, श्रीमती र तीन वटा छोराहरू बस्ने कुरो बताएथे । नेपाली फिल्मका पारखी तामाङ दाइले आफ्ना छोराहरूलाई राजेश हमाल, निखिल उप्रेती र श्रीकृष्ण श्रेष्ठ जस्तो लाग्ने बताएथे ।
किन ? मैले नसोधीरहन सकिनँ ।
"हामी तीनभाइ फिल्म छ नी, हेर्नु भएछैन् ? ठ्याक्कै त्यही फिल्मको तीन भाइ जस्ता छन् क्या !" गल्कोपाखाको ओरालोमा पेडल मार्नु नपरेपछि तामाङ दाई निस्फिक्री रिक्सा चलाइरहेको जोशमा सायद मजाक गर्दै थिए ।
ती परिश्रमी दाईसँग खास ठूलो सपना केहि थिएन् । सिर्फ एउटा छोरालाई मार्शल आर्टस् राम्रो सिकाउनु थियो, दुइवटा पढ्न टाँठा छोराहरूलाई चाँहि क्याम्पससम्म जाने बनाउनु थियो ।
दाइ, लिनुस् । मैले हजारको नोट दिएँ ।
"ला ! बाबु यसको त मसँग छुट्टा नै छैन् ।" म भन्दा २ वर्ष जेठा मान्छेले मायालु पाराले मलाई बताए ।
सप्पै तपाइँलाई भो । फिर्ता चाहिएन् । मैले भनेपछि, उनले निर्दोष शैलीमा भने - "यत्रो लिनु र ?"
दाई आज घरमा मासु लगेर खानुस् । रक्सी पिउने भए आजको दिन नपिउनुस् ल । मैले अनुरोध गरेँ ।
"रक्सी कहिले कसो मात्र पिउँछु । सधैं पिउँदिन्, बाबु ।" त्यसपछि तामाङ दाई र म छुट्टिएथ्यौं ।
थाहा छैन्, त्यो साँझ तामाङ दाईले घरमा साँच्चिकै मासु लगे या लगेनन् । तर यति चाँहि विश्वास छ, घरपरिवारका लागि हाडछाला घोटिरहेको मान्छेले आफ्ना रहरका घाँटी चाँहि निमोेठेकै हुन्छ ।
यो ब्लगमा मैले यहाँहरूसँग साझा गर्न चाहेको जम्मा जम्मी विषय यत्ति हो कि देश, काल, परिस्थिति अनुसार बदलाव आइरहने देशका सीमा रेखाको सुरक्षाका खातिर बलिदानी दिने सपुतहरू जत्तिकै आफ्ना अनेकन् इच्छा, आकाङ्क्षा र चाहनाहरू बलिदानी दिन तैयार तपाइँ हामी जस्तै सर्वसाधारण मानिसभित्र पनि त्यो नायकत्व त जिवित हुन्छ नै हुन्छ जुन बुडापेष्टको हिरोज स्क्वायरमा प्रतिबिम्वित नहुन सक्छ ।
फरक यत्ति छ, हाम्रो नायकत्व स्मारकमा होइन् त्यो कतै गुलाफहरूको बिचमा गिटार बजाउँदै होला या ठमेलका साँघुरा गल्लीहरूमा रिक्सामा पेडल मार्दै ।
"फरक यत्ति छ, हाम्रो नायकत्व स्मारकमा होइन् त्यो कतै गुलाफहरूको बिचमा गिटार बजाउँदै होला या ठमेलका साँघुरा गल्लीहरूमा रिक्सामा पेडल मार्दै ।"
ReplyDeleteबुधापेस्ट र ठमेलको नलेखिएको साइनो र नायकत्वको यो ब्लग एउटा टनिक भएर आयो जस्तो लाग्यो नायकत्वको खडेरी परेको अहिलेको समाजमा। सबै नायक होलान- नहोलान, आफ्नो नायकीपनलाई जिवन्त चाहिँ राख्न सके समाज गज्जब हुन्थ्यो। बुढापेस्टको गुलाब बगैंचाको संगीत र एउटा नेपाली पहिचानको फिन्निश सामाजिक प्राणीको बीचको केहि समयको अनुभबले एउटा गज्जबको सामाजिक पाठ चाहि सकिएको जस्तो लाग्यो।