Skip to main content

एउटी चेली, यौनसम्बन्ध र लघु मानवहरू


फेरि एकपटक मैले लघु मानवहरूलाई सम्बोधन गर्नु पर्ने भयो । लघु मानवहरूका एकदम सीमित अनि अपाहिज ज्ञानका विषयमा प्रश्न उठाउनु पर्ने भयो । सन्दर्भ एउटा घटनासँग सम्बन्धित छ । आजै मात्र अनलाइन खबरमा एउटा समाचार पढेको थिएँ, मैले । समाचारको शिर्षकले नै मेरो ध्यान आकृष्ट गर्‍यो – ‘नेपाली चेली दुबईमा पक्राउ !’ समाचार अनुसार एक पाकिस्तानी युवासँगको ‘अवैध’ सम्बन्ध कारण त्यहाँको अदालतले नेपाली चेलीलाई एक वर्षका लागि जेल चलान गरेछ । समाचार पढ्दै गर्दा ‘इन्टरनेशन ट्रान्जिट’ का रूपमा विकास हुँदै गएको भनिएको संयुक्त अरब ईमिरेट्स जस्तो देशमा मध्ययुगिन कानुनी ब्यवस्था देख्दा टिठ लाग्यो मलाई, अनि गम्भिर पनि कि यो सोचेर – जहाँका डान्सबारहरूमा विभिन्न देशबाट युवतीहरू आयात गरिन्छ, नाँगा नाचहरू देखाइन्छ त्यो वैध छ । जुन देशको शेख, मोहम्मद विन रसिद अल जायद चालीस जनाका एक्ला पति छन्, त्यो पनि वैध छ दुवईमा । तर एउटी विदेशी कामदार युवतीले अर्को एउटा विदेशी कामदार युवकसँग यौन सम्बन्ध राख्नु ‘अवैध’ छ दुबईमा ! मलाई साँच्चिकै विरोधाभाषपूर्ण लाग्यो त्यहाँको कानुन ! हुन त संस्कार अनुसारको कानुन हुने हो । कति विदेशीहरूलाई हाम्रा कानुन पनि विरोधाभाषपूर्ण नै लाग्छ होला । खैर, मैले यहाँ उप्काउन खोजेको विषय चाँहि त्यो घटनामा हाम्रा नेपाली लघु मानवहरूले ब्यक्त गरेको टिप्पणीप्रति हो ।
अत्यन्तै लघु सोच छ कि हामीहरूको ? प्रतिक्रिया पढ्दै गर्दा मलाई अनुभूति भैरहेको कुरो हो यो । मैले उक्त समाचार पढ्ने समय ब्यक्त गरिएका सबै १४ थान लघुमानवहरूका टिप्पणी जति सबै नकारात्मक थिए । सबैको एउटै मान्यता थियो – चेलीले ठूलो अपराध गरिनँ । सायद धेरैले आफ्ना कुण्ठा पनि ब्यक्त गरेका हुन त्यहाँ । कुण्ठा अर्थात आफूले केटीको प्रेम नपाउनाले दमित भएको यौनेच्छा ! एउटा अल्पज्ञानी लेख्छ – ‘थुक्क ! नेपालीहरू हुँदा हुँदा त्यसलाई पाकिस्तानी ... नै चाहिने ?” त्यो प्रतिक्रिया छाप्ने सम्पादक कस्तो हो ? –प्रतिक्रिया पाए जस्ता पनि राखिदिने ! त्यो टिप्पणी गर्ने मान्छेको बौदिक दरिद्रता पनि उस्तै फेरि । के नेपाली केटीले नेपाली केटासँग मात्र यौन सम्बन्ध राख्न पर्ने हो ? विदेशमा गएका कति नेपाली केटाहरू छन् जो विदेशी केटीसँग यौन सम्बन्धनै राख्दैनन् ? अनि हाम्री चेलीले आफूले मनले चाहेको विदेशीसँग यौन सम्बन्ध कायम गर्न नहुने ? त्यस्तै अर्को एकजना लेख्छ – पैसा कमाउन जे पायो त्यो गर्ने पनि के को चेली ? उसको टिप्पणीमा मैले नबुझेको कुरो – के युवतीहरू पैसाकै लागि मात्र यौन सम्बन्ध राख्छन् ? अनि फेरि मलाई प्रतिप्रश्न गर्न मन लागेको कुरो – हैन उसकी आमाले पनि आफ्ना बुढासँग पैसा लिएर मात्र यौन सम्बन्ध राख्दीरहिछन् कि क्या हो ? 
अझ एउटा टिप्पणीकर्ता त लेख्दछ – “साला भालू (यौन व्यवसाय गर्ने महिलाहरूलाई होच्याएर भन्दा प्रयोग गरिने शब्द) लाई नेपाल फर्काउने हैन, उतै जेलमा सडाउनु पर्छ....!” मानौं कि नेपाल देश भनेको त्यही एउटा उसको मात्र हो, र यहाँ उसको राज छ । समाचार पढेपछि ब्यक्त गरिएका सबै सबै टिप्पणीहरू पढे पछि मलाई लाग्यो – “हैन हामी शारीरिक बनोटमा मात्र हैन मानशिक बनौटमा पनि लघु नै रहिछौं ! कस्तो धरातलीय ज्ञान हाम्रो ?” यौनलाई किन यतिविघ्न जटिल बिषय बनाईरहेका छौं हामी ? हामी आफू चाँहि कति पानीमा छौं ? के सबै नेपाली पुरूषहरू एउटै मात्र नारीप्रति समर्पित छ त ? के सबै नेपाली लोग्नेहरू आफ्ना श्रीमतीहरूप्रति ईमान्दार छन् त ? वैदेशिक रोजगारमा भूगोलको विभिन्न कुनामा छरिएर रहेका पच्चिस लाखभन्दा बढि नेपाली युवाहरू कोही पनि विदेशी युवतीहरूसँग लसपस नै गर्दैनन् होला त ? के एउटी नेपाली नारी आफूले ईच्छाएको पुरूषसँग यौन सम्बन्ध कायम गर्न उसको स्वतन्त्रताको विषय नै हैन त ? हामी आफूले चाँहि जे गर्दा पनि हुने तर हाम्रा चेलीहरू चाँहि पूरै नेपाली मूल्य र मान्यताहरूलाई पछ्याउनै पर्ने बाध्यात्मक परिस्थितिमा रहने ?  हामीले कहिलेसम्म यस्तो दोहोरो चरित्र प्रदर्शन गरिरहने ? 
अब हाम्रो संकुचित मानसिकतालाई विस्फारित गर्नु जरूरी छ । हामीले कम्तिमा पनि बुझ्नु जरूरी छ – कुनै पनि ब्यक्ति स्वतन्त्र छ, र अरूको मानवअधिकार हनन नहुने हदसम्म आफ्नो स्वतन्त्रताको हकको अभ्यास गर्न ऊ पूर्णत अधिकारसम्पन्न छ । चाहे त्यो छोरा होस् या छोरी !
(सम्बन्धित समाचार यहाँ पढ्नुस)

Comments

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...