Skip to main content

एउटा चोक, फुटबल र हस्ताक्षर


हस्ताक्षर गर्दै जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण बि.क.

“अझै दुई गोल भएको भए त एघारै जनालाई एकएक गोल पुग्थ्यो नी !” २०१४ को विश्वकप प्रतियोगिताको एशियाली छनोटमा जोडर्नसँगको आफ्नो पहिलो खेल ९–० को विशाल अन्तरले गुमाएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापक कोहीपनि आलोचनाको परिधीबाट फुत्कन पाएनन् । सकभर बराबरी वा पराजित भएपनि थोरै गोल संख्याको अन्तरले मात्र पराजित हुने विश्वास बोकेर अम्मान उडेका नेपाली राष्ट्रिय टोलीका बेलायती प्रशिक्षक ग्राहम रोबर्टस् यस पराजय पछि सबभन्दा बढी आलोचित पात्र रहे । आफ्ना खेलाडीहरुमा जोर्डनका खेलाडीहरुलाई टक्कर दिने अद्धितिय क्षमता रहेको बताउँदै आएका रोबर्टस्, टोलीका अन्य खेलाडी सदस्यहरु पक्कै पनि आफ्नो दाबीले पानी खाँदा सर्बाधिक चिन्ताग्रस्त थिए होलान नै तर सामाजिक सञ्जाल फेसबुक र ट्वीटरका भित्तामा नेपाली फुटबलप्रेमीहरुले त्यो अकल्पनीय हारबाट विक्षिप्त हुँदै आलोचनात्मक टिप्पणीको हदै पार गरेर आफ्ना भित्ताहरु कुरुप पारे । 
हुनसक्दछ, हामी नेपालीको यो एउटा संस्कारगत त्रुटी हो, वा परम्परा नै हो । कमजोर पक्षमाथि आलोचना गर्नु स्वभाविक पनि मान्न सकिएला । तर आलोचनाको पनि सीमा हुन्छ भन्ने यथार्थ हामीले कहिल्यै बुझ्न सकेका छैनौं । के हाम्रा खेलाडीहरुले खेल गुमाए भन्दैमा हामीले त्यसलाई अस्वभाविक र अप्राकृतिक मान्नै पर्दछ ? के खेलमा जीत र हार स्वभाविक विषय हैनन् र ? हामीले यस्ता बखतमा किन सम्झदैनौं कि सन् २०१० को विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनाले पहिलो चरण पनि पार गर्न सकेन ? फुटबल आफैमा अनिश्चितताको खेल हो भनिन्छ, तर हामी नेपालीहरु यो विश्वव्यापी मान्यतालाई ठाडै अस्विकार गर्दछौं । त्यसैले हामी मुर्खतापूर्वक अनिश्चित खेलमा पनि सुनिश्चित र स्पष्ट नतिजाको पूर्वानुमान लगाउने गर्दछौं । र, आफूले चाहे अनुसारको नतिजा राष्ट्रिय फुटबल टोलीले हात पार्न सकेन भने दुर्वासाको जस्तो रिस प्रदर्शन गर्न थाल्दछौं ।
उत्कृष्ट प्रतिफल हात पार्नका लागि लगानी पनि सोही अनुरुपको हुनु पर्दछ । हाम्रो कुनैपनि खेलकुद क्षेत्रमा सरकारी वा गैर्‍हसरकारी निकायको लगानी शुन्यप्रायः छ । चिया र दुनोटको भरमा प्रशिक्षणमा उभ्भिन विवश हाम्रा खेलाडीहरुले अन्तर्राष्ट्रिय खेलक्षेत्रमा लगानीभन्दा उत्कृष्ट नतिजा हात पार्ने गरेको यथार्थलाई हामीहरुले नकार्न मिल्दैन । त्यसकारण पनि हाम्रो राष्ट्रिय फुटबल टोलीले खेल गुमाउँदा आलोचनाका तीखा ब्यङ्ग्य बाण हैन सहानुभूतिका शब्दहरुको खाँचो रहन्छ । खेलाडीहरुको मनोबल गिराउने गरी आलोचनात्मक टिप्पणी कुनै पनि हालतमा शोभनीय मान्न सकिदैन । नेपाली खेलकुदप्रेमीले जान्नै पर्ने के हो भने, खेलमा हारजीत स्वभाविक हुन्छ ।
खेल गुमाउँदा त हामीले तथानाम गर्‍यौं तर घरेलु मैदानमा उत्कृष्ट खेल प्रदर्शन गर्दै त्यही टोलीलाई जब हाम्रो टोलीले १–१ को बराबरीमा रोक्दै सुखद नतिजा हात पार्न सफल रह्यो हामीले बधाईका लागि पनि कन्जुस्याइ गर्‍यौं । नेपाली टोलीको शानदार प्रदर्शनमा खुशी ब्यक्त गर्दै बधाईस्वरुप हामी केही उत्साही युवाहरुले मिलेर श्रावण १३ गते जिल्ला प्रशासन कार्यालय अगाडि भत्काइएको वीरेन्द्रको शालिकमा हस्ताक्षर संकलन गर्ने काम गरेका थियौं । धेरै मान्छेहरुको भीड हाम्रै अगाडिबाट आफ्ना गन्तब्यतर्फ लम्किरहेका थिए, कतिसँग फुर्सद थियो – हस्ताक्षर गर्ने, बधाइ ज्ञापन गर्ने, हाम्रो अभियानमा ऐक्यबद्धता ब्यक्त गर्ने र अलिकति भलाकुसारी गर्ने तर कतिपय यस्ता मान्छेहरु पनि त्यहाँ हिडिरहेथेँ, जो सँग आफ्नो हस्ताक्षर गर्न ५ सेकेण्डको फुर्सद सम्म पनि थिएन । म जान्दिन, उनीहरु के कति कारणले यति बिघ्न ब्यस्त देखाइरहेथे आफूहरूलाई तर मलाई त्यतिखेर अत्यन्तै दुख लाग्यो – जतिखेर जिल्ला विकास समिति म्याग्दीका केहि अधिकृतहरु त्यही बाटो हिड्दै गर्दा हामीले गरेको आग्रहलाई उनीहरुले महत्व दिएनन् । खाना खान हतार भएको जनाउँदै हस्ताक्षर गर्नका लागि ५–१० सेकेण्ड सम्मको समय ब्यवस्थापन गर्न नसकेका ती “अतिब्यस्त मनुवाहरुले” आफूहरुले फर्केपछि हस्ताक्षर गर्ने जानकारी पो गराए । मानौं कि हामीहरु उनीहरुकै हस्ताक्षर लिन चोकमा भेला भएका थियौं र उनीहरु नआइन्जेल हामीहरुले त्यहाँ उभ्भिएर उनीहरुकै प्रतिक्षा गरिरहने छौं । तर ती “अतिब्यस्त मनुवाहरुले” हुलाकचोक सम्म पुग्न १० मिनेट खर्च गरे– बाटामा भेटिएका मान्छेहरुको नमस्ते फर्काउदै र आफ्नो हाकिमी शानको भद्दा प्रदर्शन गर्दै । यहि सानो दृष्टान्त काफि छ, जुनसुकै क्षेत्रमा हामी किन असफल छौं ? थाहा पाउनलार्इ ।
हुन त राजनीति सप्रिन नसकेको देशमा क्षेत्रगत रुपमा ती क्षेत्रको विकास हुनुपर्दछ भनेर हामीले सोच्नु सायदै गलत हुन सक्दछ । तथापी, बिग्रेको वा भत्केको कुरामा टिकाटिप्पणी मात्र गरिराख्नु भन्दा सप्रेको वा सप्रन सक्ने विषयप्रति अलिकति बढ्ता संवेदनशील भएर लाग्नु आजको आवश्यकता हो । कुनै पनि क्षेत्रमा यदि हामी स्पष्ट सुधार वा प्रगति हेर्न, देख्न चाहन्छौं भने त्यस क्षेत्रको सुधार वा प्रगतिमा हामीले के योगदान दिन सक्दछौं त्यतापट्टि पनि हाम्रो ध्यान जान जरुरी छ । तसर्थः नेपाली फुटबल इतिहासमै पहिलो पटक दक्षिण एशियाको सबभन्दा उत्कृष्ट टोलीका रुपमा फिफा वरियाताक्रममा हाम्रो राष्ट्रिय टोली दरिनुलाई हामीले हाम्रो प्रतिष्ठाको विषय बनाउन सक्नुपर्छ । राज्यले पनि खेलकुद क्षेत्रको विकासका लागि आवश्यक लगानी गर्न ध्यान दिनु आवश्यक छ । अझ कम्तिमा पनि खेलकुद क्षेत्रमा लाग्नेहरुको आर्थिक भविष्य सुनिश्चित हुन सक्ने वातावरण निर्माण गर्न सक्ने हो भने हामीले खेलकुदका क्षेत्रमा अझ अरु उत्कृष्ट नतिजाहरु आत्मसाथ गर्न समर्थ हुन सक्नेछौं । होइन भने, चिया र दुनोट खाएर खेलको अभ्यास गर्ने हाम्रा खेलाडीहरुले प्राप्त गर्ने जस्तोसुकै नतिजामा हामी सन्तुष्ट हुन तयार हुनुपर्छ ।
(यो लेख नबविकल्प साप्ताहिकका लागि सुरक्षित गरिएको छ - लेखक)

Comments

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...