Skip to main content

फूलहरुको शहरमा एकदिन


फूलको बगैंचा घुम्न जाने प्रस्ताव जो कोहीका लागि सर्वस्वीकार्य प्रस्ताव हुन सक्दछ । त्यसकारण पनि यस्ता प्रस्ताव मेरा लागि अस्वीकार्य प्रस्ताव हुनै सक्दैनन् । अप्रिल २४ का दिन एउटा यस्तै प्रस्ताव थियो मलाई । लुभेन बेल्जियममा बस्दै आउनुभएका एकजना दाजु नारायण पौडेल मार्फत दाई बिष्णु थापा र मेरो लागि पनि टिकट बुक भैसकेको थियो । साथमा थिए साथी रमेश पौडेल ।

नातामा मेरा दाई र ब्याबहारिक हिसाबले मेरा साथी झलक दाइसँग म लक्जमबर्ग घुम्न निस्कनु अगाडि नै नारायण दाजुले यो सुन्दर प्रस्ताव राख्नुभएको थियो । तसर्थ हर हालतमा म अप्रिल २३ भित्रमा लुभेन आइपुग्नु पर्ने थियो । र, म २३ अप्रिलमै लुभेन फर्किसकेको थिएँ । २४ अप्रिलको बिहान बिष्णु दाई र म हामीलाई बोलाइएको स्थानमा पुग्यौं । तीन वटा बस लहरै मिलाएर राखिएका थिए । मलाई अचम्म लाग्यो र सोधेँ — हैन दाई, तीन तीन वटा बस किन राखेका हुन यहाँ ? पछि थाहा लाग्यो लुभेन शहरमा बस्दै आएका थुुप्रै नेपालीहरु त्यो बिश्व प्रसिद्द फूलको बगैंचामा जादैँ रहेछन् । यसो चिहाएर हेरेको अलिकति नेपाली दाजुभाईहरु जम्मा भैसकेका थिए । एकै ठाउँमा नेपालीको जमघट देख्दा कताकता नेपाल मै भएको जस्तो महशुस भैरहेको थियो । मेरो खुशिको सीमा रहेन ।

फूलहरूको दृश्य
साढे आठ बजे सबै जुटेर सुन्दर फूलको बगैंचा तर्फ प्रस्थान गर्ने सरसल्लाह भएको भए पनि हामी त्यहाँ ठीक समयमा पुग्दा आयोजक संस्थाका पुरुषोत्तम सुवेदी निकै अतालिएका झैं देखिन्थे, भन्दै थिए नाम टिपाएका साथीभाइहरुले धोखा देलान जस्तो छ । तीन वटा बस त मगाइयो एउटा बस पनि नभरिएला जस्तो पो छ त गाँठे ! हुन पनि निर्धारित समय साढे आठ बजे त्यहाँ भेला हुनेको संख्या मुश्किलले दुई दर्जन थियो होला । मनमनै लाग्यो समयको महत्व हामी नेपालीहरुले युरोपमा आएर पनि बुझ्न सकिरहेका छैनौं । नौ बजेपछि मात्र भ्रमण टोलिका सदस्यहरुको जमघट बाक्लिन थाल्यो । साढे नौ बजेतिर सुवेदीजी हतास हतास कराउन थाले, लौं बित्यासै भयो नाम नलेखाएका दाजुभाइ दिदीबैनीहरु पनि आएछन् तीनवटा बसमा नअटाइने भइयो । अर्को एउटा मगाएर जान पर्ने भयो । आधा घण्टादेखि बस कतिखेर हिड्न शुरु गर्छ र कतिखेर त्यो सुन्दर फूलको बगैचामा छिर्न पाइने हो भनेर ब्यग्र प्रतिक्षामा रहेको मेरो रिसको पारो त्यतिखेर चढ्यो जतिखेर सुवेदीजीले हामीलाई सुचित गरे कि मगाइएको अर्को बस आउने समयसम्म हामीले अर्को एक घण्टा पर्खनु पर्ने हुन्छ !

सेतो ट्युलिप
साढे दश बजेको समयमा हामी चढेको बस गन्तब्यका लागि हिड्यो । र, अरु तीन वटा बसहरुले हामीलाई पछ्याए । हल्यान्डको Lisseमा अवस्थित विश्वको सबैभन्दा ठूलो फूलको बगैचा कुकेनहोफको दुरी बिस्तारै छोट्टिदै थियो र बसमा हामीहरु अन्ताक्षरी खेलिरहेका थियौं । लुभेन, बेल्जियम आएपछि चिनापर्ची भई छोटो समयमै अन्तरंग बनेका रमेश, र बसमै चिनाजान भएका साथीहरु कपिल र कृष्ण अनि म एक समूहमा थियौं भने बसमै चिनापर्ची भएका दिदीबैनीहरु कविता, जानु र शान्तिहरु अर्को समूह । अन्ताक्षरीको गरमागरम प्रतिस्पर्धा चलिरहेको थियो, नारायण दाईले कुन चट सुवेदीजीलाई जानकारी दिनुभएछ, नीराजन त होनहार कवि हो गीत लेख्छ पनि र स्वर पनि एकदम मीठो छ । मलाई फसाद पर्यो, अगाडि गएर दुईचार गीत, गजल नपस्कीकन सुखै पाइँन । राष्ट्रप्रेमले ओतप्रोत केहि गजल र जीवन सम्बन्धी मेरो बुझाइका गीतहरु प्रस्तुत गरे । कम्तिमा पनि आफ्नो परिचय राख्न र प्रवासी नेपाली दाजुभाइ तथा दिदीबैनीहरुका अगाडि परिचीत हुने अवसर पाएकोमा अति नै खुशि लाग्यो । यस्तो महत्वपूर्ण अवसर जुराइदिनुहुने दाजुहरु नारायण पौडेल र विष्णु थापाको म सधैं ऋणी रहिरहने छु ।

बसको अगाडि गै आफ्ना प्रस्तुती दिएर आउन नपाउँदै चेलीबेटीहरु फेरि कराउन थाले, तपाइँहरुको पालो हो ‘ग’ बाट गीत गाउनुस कि हात उठाउनुस । खासमा अन्ताक्षरी जित्ने महशुर त हामी नै हो तर दिदीबैनीहरु हिन्दी गीतका सारै पारखी भएकाले हामीले हार्नु प¥यो । अन्ताक्षरीमा हारिसकेपछि यस्तो लाग्यो, कि अन्ताक्षरी जित्नका लागि समेत हामीले हिन्दी गीत जान्नै पर्ने हुँदो रै’छ । हिन्दी गीत विनाको अन्ताक्षरी हामी कल्पना समेत गर्न नसक्ने अवस्थामा पुगिसकेछौं । नेपाली गीत पर्याप्त नभएर होईन, म यो कुरा मान्दै मान्दिन, बरु बास्तविकता के हो भने हामी नेपाली गीत सुन्दै सुन्दैनौं वा अति नै कम सुन्छौं । अझ मलाई दुख त्यतिखेर लाग्यो, बगैंचा भ्रमण सिध्याएर फर्कने बखत जतिखेर नेपाली गीत बजाइरहेका सुवेदीजीले केहि समय हिन्दी गीत बजाइदिए र पुनः नेपाली गीत शुरु गरेँ, र हाम्रा अगाडि बसेकी एक नेपाली चेलीले ओठ लेप्राउँदै भनिन — बल्ल बल्ल दुईटा हिन्दी गीत सुन्न पाइया‘थ्यो, फेरि झुर नेपाली गीत लगाए ! उनले त्यस्तो प्रतिक्रिया दिदा सुवेदीको मोवाइलबाट माइक्रोफोनमा बजिरहेको थियो चर्चीत गीत, नेपथ्यको रेशम ! जस्तोसुकै होस् अन्ताक्षरीले हाम्रो यात्रालाई स्मरणीय र मनोरञ्जनात्मक चाहिँ अवश्य बनाइदियो ।

साढे दुई घण्टाको यात्रा पश्चातः अब हामी बिश्वको सबभन्दा ठूलो फूलको बगैंचामा प्रवेश गरेका थियौं । कुकेनहोफ (जसलाई किचन गार्डेन समेत भनेर चिनिन्छ) लेखिएको बोर्डको मुनि रहेको गेटबाट भित्र छिर्नु अगाडि प्रतिब्यक्ति साढे १४ यूरोको प्रवेश टिकटका लागि हामीहरु लाइनमा उभ्भियौं । मेरा लागि सम्पूर्ण खर्चको जिम्मेवारी बिष्णुदाईले लिनुभएको थियो । उहाँले नै बस रिजर्भ गर्दा प्रतिब्यक्तिको लागत २५ यूरो समेत तिर्नुभएको थियो साथै बगैंचाभित्र प्रवेश गर्नका लागि आवश्यक प्रवेश शुल्क पनि दाईले नै तिरिदिनु भयो । खासमा म लुभेन, बेल्जियम रहँदाको समय भरी मेरो सम्पूर्ण खर्चको व्यवस्था दाईले नै गर्नुभएको थियो ।

संसारको सबभन्दा ठूलो फूलको बगैंचामा मेरा पाइलाहरु पर्दा बित्तिकै मैले आफूलाई सम्हाल्नै सकिन । जताजता नजर लगाउँथे म, त्यतात्यता फूलैफूल देखेँ । रंगीचंगी फूलहरुले ढकमक्कै बगैंचामा कति त मैले खुट्याउन नसक्ने रंगका फूलहरु समेत भेटेँ । विश्वका कुनाकुनाबाट आएका हजारौं मान्छेहरुको भिड थियो फूलबारीमा । सायद बिदाको दिन परेर हुनुपर्दछ, प्रवेशद्धारको वरिपरी त खुट्टा राख्ने ठाउँ समेत भेट्टाउन हम्मे हम्मे थियो । तर ती केहि हजार मानिसका टाउकाहरु करौंडौं फूलहरुको माझमा केहि पनि थिएनन ।

फूलहरुको बिचमा बसेर तस्बिर खिचाउदै एक जोडी । फोटो: नीराजन
राता, सेता र नीला गूलाफहरु हुन वा लालिगुराँश ती खुलेर हाँसेका थिए । आफूलाई हेर्न आउनेहरुलाई ती जिन्दगीको ठीक परिभाषा सिकाउँदै थिएँ । यस्तो लाग्यो मलाई, कि ती हामी मानिसहरुलाई चूनौती दिदैँ थिए – काँडाका बीचमा आफूहरु खुलेर फूल्न सके झैं दुःखका बीचमा पनि सुखपूर्वक जिन्दगी जिउन ! ३२ हेक्टरको क्षेत्रफलमा फैलिएको त्यो सुन्दर फूलको बगैंचामा राखिएका पानीका मनमोहक फाउन्टेनहरुबाट फुट्ने पानीका कलात्मक फोहोराहरुको दृश्य हेर्न पाउनुको आनन्द यहाँ शब्दमा ब्यक्त गर्न असमर्थ छु । सय भन्दा बढी प्रजातिका ट्यूलिपका पैतालिस लाख भन्दा बढी फूलहरुले ढकमक्क यो बागमा हामीले कम्तिमा दश घण्टा बिताउन पायौं भने मात्र यसका हरेक सुन्दरतालाई हामी नजिकैबाट नियाल्यन सकौंला । भिक्टोरिया, लाइटनिङ सन, स्काइ ज्याकेट तथा स्वीट लभ जस्ता नाम दिइएका ट्यूलिपका फूलसँगै टाँसिएर फोटो खिचाउन लालयित मान्छेका बथान बागभित्र हेर्न लायकै हुन्छ ।

विभिन्न ८७ प्रजातिका रुखहरुको छहारीमुनि गलैंचा बिच्छ्याइएका जस्तै लाग्ने दुबोमा पल्टिनुको आनन्दलाई म कसरी स्वर्गीय आनन्द होइन भनूँ ? बगैंचाभित्रका खोल्सामा कलकल बग्ने स–साना खोल्से खोलाहरुले निकाल्ने संगितमय मधुर आवाज विथुवनको संगित भन्दा कम लागेन मलाई ! सँगै गएका अन्य साथीभाईहरुले के पाए कुन्नी तर २४ अप्रिलमा भएको फूलको बागको त्यो एकदिने भ्रमणले मलाई फूल जस्तै सुन्दर छ जीवनका केहि पाटाहरु भन्ने दिब्य ज्ञान चाँहि दिएकै हो । र, ती बगैंचाका फूलहरुले मलाई प्रेरित गरेका छन्, फूल झैं फक्रेको जीवन जिउनलाई !

Comments

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...