Skip to main content

जनताको हातबाट निस्केका झापडहरू


सायद धेरै नेपालीहरुले अड्कल काटे झैं एउटा अर्को झापड बर्सिएको छ – अर्को एक थान तथाकथित शिर्षस्थ नेताको गालामा ! दुई वर्ष अगाडि माघ महिनाको चिसोमा तथाकथित एक शिर्षस्थ नेताको गाला रन्काएर शुरु भएको झापड श्रृङ्खला अन्ततः गणतन्त्र नेपालको पहिलो कार्यकारी राष्ट्रपति बन्ने ईच्छा राखेका पूर्व प्रधानमन्त्री एवं सबभन्दा ठूलो दलको सबभन्दा ठूलो नेताको गालासम्म आईपुग्नुलाई हामी सामान्य मान्न सक्दैनौं । यो झापड श्रृङ्खलालाई ब्यक्तिगत आवेग वा बहुलठ्ठीपनको संज्ञा दिन सक्दैनौं । र, हामी राम्ररी बुझ्न सक्छौं कि हिजो यहि झापडको शुभारम्भ हुँदा त्यो जनताको आक्रोश हुने र आज उस्तै झापड सुप्रिमोको गालामा बज्रदा त्यो निकृष्ट, षडयन्त्रकारी वा प्रतिगमनकारी हुनै सक्दैन । जो जसले यसलाई गलत ब्याख्या गरिरहेछन्, सन्निकट भविष्यले उनीहरुको यो सतही बुझाईलाई गलत सावित गरेरै छाड्ने छ ।
इतिहास साक्षी छ – जहिले पनि जनताहरुले आफ्ना नेताहरुलाई आक्रमण गरेका छैनन् । किनकी जनताहरुले राजनीतिको प्रयोग राम्रोसँग गर्न जानेका छन् । उनीहरु राजनीतिलाई अराजनैतिक बनाउन जान्दैन् । बिग्रेकोलाई बिग्रेको र सप्रेकोलाई सप्रेको देख्ने आँखा र परिस्थती अनुरुपको सरल बिश्लेषण गर्ने मस्तिष्क हुन्छ – जनताहरुसँग । नेताहरु जस्तो हौवाको सृजना गर्न जान्दैनन् – जनताहरु । राजनीतिको कुटिल चाल सजिलै बुझ्छन् जनताहरु तथापि राजनीतिको खोल ओढेर चालिएका कुटिल चालहरु अस्वीकार्य हुन्छन् – जनताहरुका लागि । यिनै जनताहरु हुन् हिजो आफ्ना नेताहरुले परिवर्तनका लागि मोर्चाबन्दी हुन आग्रह गर्दा सडकमा ओर्लेका । आफ्ना नेतृत्वका सुरक्षाका खातिर छाति खोलेर हाँसी हाँसी गोली थापेका । किन बिर्सिन खोजिदैछ जनताहरुलाई ? किन भनिदैछ जनताको आक्रोशलाई फगत एक ब्यक्तिको बहुलठ्ठीपन ? एक व्यक्तिगत आवेग ? अचम्मको विषय बनेको छ, यो । संविधानसभा मार्फत जनताको संविधान बनाउने र अग्रगामी पहलकदमी लिने भनि बाँडिएका सपनाहरुमा के जनताले साथ दिएका थिएनन ? ती सपनाहरु फगत किन बाडिए ? हो, त्यसैको हिसाब खोजिरहेछन् पदम कुँवरहरु । हुनसक्ला, पदम कुँवर एउटा ब्यक्ति, तर ऊ केवल ब्यक्ति मात्र होइन् तिमीहरुले देखेजस्तो – ऊ सिंगो नेपाली जनताहरुको प्रतिनिधि आवाज हो, आक्रोश हो – तिमीहरुप्रतिको । 
दुईवर्ष अघि, एक तथाकथित शिर्ष नेता झलनाथ खनालको गालामा बज्रेको झापडलाई बुझ्न नसक्नुको परिणती हो यो, अर्को झापड । तिमीहरुले एकअर्कालाई खुच्चिङ मात्र गर्‍यौं । त्यो झापड केवल एकजनाको गालामा मात्र बज्रेको हैन भन्ने सार कुरो बुझेनौं । तिमीहरुकै शब्दलाई सापटी लिएर भन्ने हो भने तिमीहरुले हरेक घटनाक्रमको रुपतत्व मात्र खोज्यौं र त्यस्तै बुझ्यौं । जसले के दियो तिमीहरुलाई ? मात्र एकछिनको आत्मसन्तुष्टि हैन त ? आफ्ना आसेपासेहरुको मात्र नेता बन्न सक्नुलाई तिमीहरुले आफ्नो सामथ्र्य ठान्यौ, र त्यहि सामथ्र्य सबै जनताहरुको साझा र प्रिय नेता बन्न काफि छ भन्ने आत्मरतीमा रमायौं । परिणाम – आज जनताहरुको छातिमा आक्रोशको ज्वाला दन्किदै छ र तिम्रो गालामा जनताहरुको त्यहि ज्वालाको राप पर्दैछ । 
माक्र्सवाद पढ्दैमा कोही माक्र्सवादी, वा समाजवाद पढ्दैमा त्यो समाजवादी बन्न सक्दैन् । पढ्नु एउटो कुरो हो, मनन गर्नु अर्को कुरो हो र ब्यवहारतः त्यसलाई आफ्नो सृजनाशिलताको रंग भरेर प्रयोगमा ल्याउनु ब्यक्तिको कुशलताको पुष्ट्याई हो । यसको सिधा अर्थ हो, तिमीहरु भूलभूलैयामा छौं । र, तिमीहरु कुशल छैनौं । हरेक युद्द लड्नेहरु अलेक्जेन्डर द ग्रेट बन्न सक्दैनन् । झन तिमीहरु त आफूलाई सफल देखाउनका लागि वाहियात आधारहरुमा तर्क गर्न लिन छौं । जसले केहिक्षण त तिमीहरुलाई नेता बनाउँला कालान्तरमा त्यसले तिमीहरुलाई झन भड्खालोमा जाक्ने बाहेक केहि गर्ने छैन । तिमी जे सुकै भन, समयभन्दा ठूलो कोही पनि छैन् । समय तिम्रो पकडबाट फुत्किुन अगावै ब्युँझ ! नत्र पछुताउनु बाहेक अर्को कुनै विकल्प रहने छैन् तिमीहरुसँग ।
पर किन जानु पर्‍यो ? आफ्ना आसेपासेका कुरामा विश्वास गरी जनताको परिवर्तनको चाहनालाई नजरअन्दाज गर्दा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट कसरी पूर्वराजा ज्ञानेन्द्र शाहमा परिणत भए ? किन उनले २४० वर्षदेखिको आफ्ना पूर्खाहरुले जोगाउँदै आएको शान, शौकत, पद र प्रतिष्ठा चुट्कीको भरमा गुमाउनु पर्यो ? किन ? यो गम्भीर यक्ष प्रश्न अव तिमीहरुमा फर्केको छ । कृपया त्यसैले गम्भीर बन्न सिक । फगतको जुँगाको लडाइँमा नभिड । यो उर्जाशिल जीवनलाई आक्षेप, आरोपप्रत्यारोप र निषेधको राजनीतिमा मात्र केन्द्रित नगर । देश र जनताको हितका विरुद्ध ‘विदेशी प्रभु’को तलुवा नचाट ! सोच, एकपटक गम्भीर भएर सोच – जव तिम्रा कारणले जनताको छातिमा आक्रोशको ज्वाला अझ अरु दन्किदै जान्छ त्यसको परिणाम पक्कै पनि राम्रो हुनेछैन ! हेर त एउटा देविप्रसाद जाग्न समय लाग्दो रै’छ, तर जागेपछि कसरी प्रवेश बस्नेत, प्रेमराज देवकोटा र पदम कुँवरहरु जाग्दा रै’छन् ?
झलनाथ खनाललार्इ झापड परेपछिको लेख यहाँ पढ्नुस ।

Comments

Popular posts from this blog

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...