Skip to main content

जनताको हातबाट निस्केका झापडहरू


सायद धेरै नेपालीहरुले अड्कल काटे झैं एउटा अर्को झापड बर्सिएको छ – अर्को एक थान तथाकथित शिर्षस्थ नेताको गालामा ! दुई वर्ष अगाडि माघ महिनाको चिसोमा तथाकथित एक शिर्षस्थ नेताको गाला रन्काएर शुरु भएको झापड श्रृङ्खला अन्ततः गणतन्त्र नेपालको पहिलो कार्यकारी राष्ट्रपति बन्ने ईच्छा राखेका पूर्व प्रधानमन्त्री एवं सबभन्दा ठूलो दलको सबभन्दा ठूलो नेताको गालासम्म आईपुग्नुलाई हामी सामान्य मान्न सक्दैनौं । यो झापड श्रृङ्खलालाई ब्यक्तिगत आवेग वा बहुलठ्ठीपनको संज्ञा दिन सक्दैनौं । र, हामी राम्ररी बुझ्न सक्छौं कि हिजो यहि झापडको शुभारम्भ हुँदा त्यो जनताको आक्रोश हुने र आज उस्तै झापड सुप्रिमोको गालामा बज्रदा त्यो निकृष्ट, षडयन्त्रकारी वा प्रतिगमनकारी हुनै सक्दैन । जो जसले यसलाई गलत ब्याख्या गरिरहेछन्, सन्निकट भविष्यले उनीहरुको यो सतही बुझाईलाई गलत सावित गरेरै छाड्ने छ ।
इतिहास साक्षी छ – जहिले पनि जनताहरुले आफ्ना नेताहरुलाई आक्रमण गरेका छैनन् । किनकी जनताहरुले राजनीतिको प्रयोग राम्रोसँग गर्न जानेका छन् । उनीहरु राजनीतिलाई अराजनैतिक बनाउन जान्दैन् । बिग्रेकोलाई बिग्रेको र सप्रेकोलाई सप्रेको देख्ने आँखा र परिस्थती अनुरुपको सरल बिश्लेषण गर्ने मस्तिष्क हुन्छ – जनताहरुसँग । नेताहरु जस्तो हौवाको सृजना गर्न जान्दैनन् – जनताहरु । राजनीतिको कुटिल चाल सजिलै बुझ्छन् जनताहरु तथापि राजनीतिको खोल ओढेर चालिएका कुटिल चालहरु अस्वीकार्य हुन्छन् – जनताहरुका लागि । यिनै जनताहरु हुन् हिजो आफ्ना नेताहरुले परिवर्तनका लागि मोर्चाबन्दी हुन आग्रह गर्दा सडकमा ओर्लेका । आफ्ना नेतृत्वका सुरक्षाका खातिर छाति खोलेर हाँसी हाँसी गोली थापेका । किन बिर्सिन खोजिदैछ जनताहरुलाई ? किन भनिदैछ जनताको आक्रोशलाई फगत एक ब्यक्तिको बहुलठ्ठीपन ? एक व्यक्तिगत आवेग ? अचम्मको विषय बनेको छ, यो । संविधानसभा मार्फत जनताको संविधान बनाउने र अग्रगामी पहलकदमी लिने भनि बाँडिएका सपनाहरुमा के जनताले साथ दिएका थिएनन ? ती सपनाहरु फगत किन बाडिए ? हो, त्यसैको हिसाब खोजिरहेछन् पदम कुँवरहरु । हुनसक्ला, पदम कुँवर एउटा ब्यक्ति, तर ऊ केवल ब्यक्ति मात्र होइन् तिमीहरुले देखेजस्तो – ऊ सिंगो नेपाली जनताहरुको प्रतिनिधि आवाज हो, आक्रोश हो – तिमीहरुप्रतिको । 
दुईवर्ष अघि, एक तथाकथित शिर्ष नेता झलनाथ खनालको गालामा बज्रेको झापडलाई बुझ्न नसक्नुको परिणती हो यो, अर्को झापड । तिमीहरुले एकअर्कालाई खुच्चिङ मात्र गर्‍यौं । त्यो झापड केवल एकजनाको गालामा मात्र बज्रेको हैन भन्ने सार कुरो बुझेनौं । तिमीहरुकै शब्दलाई सापटी लिएर भन्ने हो भने तिमीहरुले हरेक घटनाक्रमको रुपतत्व मात्र खोज्यौं र त्यस्तै बुझ्यौं । जसले के दियो तिमीहरुलाई ? मात्र एकछिनको आत्मसन्तुष्टि हैन त ? आफ्ना आसेपासेहरुको मात्र नेता बन्न सक्नुलाई तिमीहरुले आफ्नो सामथ्र्य ठान्यौ, र त्यहि सामथ्र्य सबै जनताहरुको साझा र प्रिय नेता बन्न काफि छ भन्ने आत्मरतीमा रमायौं । परिणाम – आज जनताहरुको छातिमा आक्रोशको ज्वाला दन्किदै छ र तिम्रो गालामा जनताहरुको त्यहि ज्वालाको राप पर्दैछ । 
माक्र्सवाद पढ्दैमा कोही माक्र्सवादी, वा समाजवाद पढ्दैमा त्यो समाजवादी बन्न सक्दैन् । पढ्नु एउटो कुरो हो, मनन गर्नु अर्को कुरो हो र ब्यवहारतः त्यसलाई आफ्नो सृजनाशिलताको रंग भरेर प्रयोगमा ल्याउनु ब्यक्तिको कुशलताको पुष्ट्याई हो । यसको सिधा अर्थ हो, तिमीहरु भूलभूलैयामा छौं । र, तिमीहरु कुशल छैनौं । हरेक युद्द लड्नेहरु अलेक्जेन्डर द ग्रेट बन्न सक्दैनन् । झन तिमीहरु त आफूलाई सफल देखाउनका लागि वाहियात आधारहरुमा तर्क गर्न लिन छौं । जसले केहिक्षण त तिमीहरुलाई नेता बनाउँला कालान्तरमा त्यसले तिमीहरुलाई झन भड्खालोमा जाक्ने बाहेक केहि गर्ने छैन । तिमी जे सुकै भन, समयभन्दा ठूलो कोही पनि छैन् । समय तिम्रो पकडबाट फुत्किुन अगावै ब्युँझ ! नत्र पछुताउनु बाहेक अर्को कुनै विकल्प रहने छैन् तिमीहरुसँग ।
पर किन जानु पर्‍यो ? आफ्ना आसेपासेका कुरामा विश्वास गरी जनताको परिवर्तनको चाहनालाई नजरअन्दाज गर्दा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट कसरी पूर्वराजा ज्ञानेन्द्र शाहमा परिणत भए ? किन उनले २४० वर्षदेखिको आफ्ना पूर्खाहरुले जोगाउँदै आएको शान, शौकत, पद र प्रतिष्ठा चुट्कीको भरमा गुमाउनु पर्यो ? किन ? यो गम्भीर यक्ष प्रश्न अव तिमीहरुमा फर्केको छ । कृपया त्यसैले गम्भीर बन्न सिक । फगतको जुँगाको लडाइँमा नभिड । यो उर्जाशिल जीवनलाई आक्षेप, आरोपप्रत्यारोप र निषेधको राजनीतिमा मात्र केन्द्रित नगर । देश र जनताको हितका विरुद्ध ‘विदेशी प्रभु’को तलुवा नचाट ! सोच, एकपटक गम्भीर भएर सोच – जव तिम्रा कारणले जनताको छातिमा आक्रोशको ज्वाला अझ अरु दन्किदै जान्छ त्यसको परिणाम पक्कै पनि राम्रो हुनेछैन ! हेर त एउटा देविप्रसाद जाग्न समय लाग्दो रै’छ, तर जागेपछि कसरी प्रवेश बस्नेत, प्रेमराज देवकोटापदम कुँवरहरु जाग्दा रै’छन् ?
झलनाथ खनाललार्इ झापड परेपछिको लेख यहाँ पढ्नुस

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...