Skip to main content

ख्वै हाम्रो राजनेता ?


ब्यक्तिगत आनीबानी र स्वभावलाई मसिनो गरी केलाउने हो भने महात्मा गान्धीका पनि थुप्रै नकारात्मक पक्षहरु थिए होला । मानिस भएपछि ब्यवहारतः ऊ पूर्णरुपेण भगवान कसरी बन्न सक्छ ? त्यसकारण महात्मा गान्धीलाई भगवान भनिएन/मानिएन । तर उनी निष्ठाको राजनीति गर्थे । र, सधैं परिवर्तन र स्वतन्त्रताको पक्षमा वकालत गरे । परिणाम आज उनी भारतका मात्र हैन विश्वका नेता बन्न पुगे । उनी जिवीत छैनन् तर विश्व राजनीतिका हजारौं जिवीत नेताहरु भन्दा बढी सम्मानपूर्वक स्थान छ उनको । एशियादेखि युरोपसम्म, अमेरिकादेखि अफ्रिकी मुलुकका चप्काचप्कामा उनलाई सम्मानपूर्वक सम्झिन्छन् मान्छेहरु । उनको नाम सम्झिदाँ श्रद्धाले शिरनत गर्छन मानिसहरू । किनकी उनी नेता थिएनन्, राजनेता थिए ।
राजनेताका नामहरु लिदै गर्दा विश्वसमुदायले उत्तिकै सम्मानपूर्वक सम्झिने नामहरु थुप्रै छन् जस्तो मार्टिन लुथर किङ, माओत्सेतुङ, नेल्सन मण्डेला, डा. मोहम्मद महाथिर, ह्युगो चाभेज, विस्टन चर्चिल आदिआदि । यी विश्वप्रसिद्ध राजनेताहरु एकै झिमिक वा सनकमा राजनेता भएका थिएनन् । यिनीहरुले स्वयंलाई राजनेता भनेर घोषणा गरेका पनि थिएनन् । तर आफ्नो भूगोलमा राजनीतिको एउटा साँघुरो सिमाभित्रबाट उठेर जनताप्रतिको उतरदायी राजनैतिक भूमिका निर्वाहका गरेका कारण आज उनीहरु विश्वसमुदायका माझ सम्मानित ब्यक्तित्व भएर परिचित छन् । र, अनन्त भविष्यसम्म भावी पुस्ताले पनि यिनका इतिहास पढ्दा गौरवभान्वित हुनेछन् । 
तर बिडम्बना हामी नेपालीले गतिलो गरि सम्झन लायकका कोही नेता पाएका छैनौ । केहि थिए जसले केहि गर्न पाएनन् । जसको शासन जनताले भोग गर्न पाएनन् । केहि थिए जसले शासन त गरे तर विभिन्न पारिस्थीतिक परिबन्धको घेरालाई तोड्न खोज्दै गर्दा आफैले घुँडा टेके । अहिले पनि लाखौं नेपालीहरु उनीहरुलाई बरोबर सम्झिन्छन् । सायद ती बाँचिदिएका भए वा तिनले शासन गर्न पाएका भए नेपाल अहिले कस्तो हुँदो हो भन्ने रुमानी कल्पनामा हराउने गर्दछन् । परन्तु ती सबै कृत्यहरु फगत छन् । 
अहिले देश संक्रमणबाट गुज्रिरहेको छ, नेताहरुको कानमा बतास लागेको छैन । कहिले सुदुर पश्चिम जल्छ, कहिले तराई ठप्प हुन्छ । कहिले तामाङ सडकमा ओर्लन्छन् त कहिले बाहुनक्षेत्रीहरु देश बन्दको दौडाहामा सडकमै ओर्लिन्छन् । हुँदाहुँदा बर्षौदेखि थिचोमिचोमा पारिएका वा बाहुनक्षेत्रीको शासनबाट शासित भएका भनिएकाहरु सडकभरी नारा घन्काउन पुग्छन् – तातो रगत चाटिन्छ, बाहुनक्षेत्री काटिन्छ ! अब जातियताको मुद्धा बलियो बनेर स्थापित हुँदैछ, राष्ट्रियताको मुद्धा हराउन थालिसक्यो । केहि नेता भनिएकाहरु उक्साउँदै छन् जातजातीहरुलाई – जाऊ मुठभेड गर ! अधिकार खोसेर लिऊ ! तर कोसँग ? कसैलाई केहि पत्तो छैन ! देशमा दण्डहिनता मौलाउँदै गएको छ । सबै क्षेत्र अस्तब्यस्त छ । सबैभन्दा महत्वपूर्ण कुरा त तोकिएकै समयमा संविधान जारी हुनेमा ठूलो आशंका छ । नेताहरु जुँगाको लडाईमा केन्द्रित छन् । देशको ‘आज’ बर्बाद हुँदैछ, उनीहरु आफ्नो भोलीको राजनैतिक भविष्य सम्झेर काम गर्न चाहन्छन् । धुर्तहरु ! आफूआफूबिच मैं तय गर्न सकिने कुरामा विदेशी राजदुतहरुको मध्यस्थता खोज्दैछन् । सायद यसकारण पनि नेपालीहरु विवशतापूर्वक ती नेताहरुलाई बिर्सन सकिरहेका छैनन् जसको उनीहरुले शासन भोग्न पाएनन् । अर्कोतर्फ वर्तमान समयमै भएका नेताहरुप्रति नेपालीहरुको एक रत्ति विश्वास रहेन । जसका कारण देश र जनताका लागि ‘केहि गर्छु’ भन्ने ठानेका नेताहरु पनि जनताका नजरमा ओझेल पर्न थालिसकेका छन् । देश संकटग्रस्त बन्दैछ । साँच्चिकै देशलाई एउट राजनेता चाहिएको छ ।
अहिले उपलब्ध नेताहरुलाई हामीहरु विश्वास गर्दैनौं । एकातिर यो तीतो सत्य छदैंछ । तथापि नेता भन्ने ब्यक्तित्व अमूर्त हुँदैन । त्यो आकाशबाट झर्ने बस्तु होइन । बरु अहिले उपलब्ध नेताहरु बीचबाट एउटा असल नेतृत्व प्रकाशमा आउन मात्र नसकेको हो । देश कठिन परिस्थितीबाट गुज्रिरहेका बेला एउटा दूरदर्शी नेतृत्व अगाडि नदेखिएको मात्र हो । तर हामी के विश्वास गर्न सक्छौं भने हामीसँग उपलब्ध खराब नेताहरुको भीडबाट एउटा असल नेतृत्व हाम्रा लागि यो संगीन परिस्थितीको सामना गर्नका खातिर अग्रपंक्तिमा आउनेछ । र, समयमै हामीले उसलाई चिन्ने मौका पाउनेछौं । र, कालान्तर सम्म त्यो हाम्रा लागि स्मरणीय र सम्माननीय ब्यक्तित्व बन्नेछ ।

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...