Skip to main content

नयाँ नेपाल, हामी र हाम्रो धरातल

भूगोल जस्तै सुन्दर हुनुपर्यो हाम्रो मन तस्बीरः गुगल खोज
हाम्रो स्तर, जीवनशैली अनि सोच र हामी बसिरहेको यस भूगोलको विकसित भनिएका देशका बासिन्दाहरुको स्तर, जीवनशैली र सोचमा रहेको भिन्नताको भेद खुट्याउनका लागि सबभन्दा पहिले हामीले उनीहरुका बारेमा थाहा पाउनु पर्ने हुन्छ । जब ती विकसित भनिएका मानिसहरुका आचरण र जीवनशैलीका बारेमा हामीले जानकारी पाउँछौ तब हामीले हामी बाँच्दै आइरहेको सामुदायिक दायराको संकुचनताको भेद थाहा पाउँदछौं । मिहिन पाराले हामीले हाम्रो सोच्ने स्तरका सम्बन्धमा जहिलेसम्म अध्ययन गर्न सक्दैनौं, त्यहिले सम्म हामीले आफ्नै स्तरका बारेमा जानकारी हासिल गर्न सक्दैनौं । तसर्थः कम्तिमा पनि हाम्रो पुस्ताले अधिकतम योगदान दिनु आवश्यक छ, पत्ता लगाउनलाई कि हामी र विकसित मानिसहरुबीच के कति फरक छ ? र, गहन ढंगले विश्लेषण गरिनु आवश्यक छ– सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हाम्रो के कति योगदान रहन्छ ? 
हामी भन्ने गर्दछौं, हाम्रो देश अत्यन्तै अब्यबस्थित छ । यहाँ कानुनी शासनको अभाव छ । नेताहरु सबै चोर हुन । फटाहा छन । तर हामी आफै सम्मानित संसदबाट ऐन कानुनका रुपमा पास भएर आएका नियमहरु पालना गर्न हिच्किचाउँछौं । हाम्रो ठनाइ छ कि नियम नमान्ने हामीहरु अराजक होइनौं, नायक हौं । नियम तोड्न सक्नु हाम्रो बहादुरीपन हो । शौर्य हो । हामी आफूले नियम तोडेकोमा गर्व गर्दछौं तर अरुले नियम परिपालना गर्दाको बखत गरेको सामान्य त्रुटीलाई पनि ठूलो मुद्धाका रुपमा बहस गर्दछौं । किनकी, हामी धेरैजसोलाई लाग्ने गर्दछ, हामी बीर गोर्खालीका सन्तानसन्ततीहरु हौं । यहि हाम्रो पहिचान हो । 
हामीले बिर्सनै नहुने कुरो के हो भने, सभ्य र सुसंस्कृत समाजको निर्माण एकै आवेगमा हुनै सक्दैन । विश्व इतिहासमा कुनै पनि राष्ट्र एकैपटक सभ्य, विकसित र सुसंस्कृत हुन सकेको अभिलेख छैन । एक वा दुई वर्षमा आमुल परिवर्तन असम्भवप्रायः नै छ । तथापि एक पुस्ताले इमान्दारितापूर्वक आफ्नो दायित्व निर्वाह गरिदिदाँ मात्रै आज यो ब्रमाण्डमा थुप्रै देशका नागरिकहरुले सभ्य, सुसंस्कृत र विकसित कहलिने अवसर पाएका छन । त्यसकारण पनि अब नयाँ नेपाल निर्माणको फगत सुगा रटान लगाउनुको साटो भोलीको हाम्रो पुस्तालाई सभ्य, सुसंस्कृत र विकसित नेपाल हस्तान्तरणका लागि अहिलेको हाम्रो पुस्ताले अधिकतम योगदान दिनु आवश्यक छ ।
मलाई अझै याद छ, केहि महिना पहिले युवा स्वयंसेवकका रुपमा नर्वे रहँदा एकजना साथीसँग म एक पवमा बियरको चुस्की लिने मनशायले पसेको थिएँ । वियर माग्दा, पवका मान्छेले मलाई मेरो परिचय पत्र मागे । किनकी, उनले म १८ वर्षभन्दा माथिको युवक हुँ भन्ने कुरामा विश्वास गरेनन । मसँग मेरो उमेर खुलाउने कुनै परिचय पत्र साथमा थिएन । यसको मतलब वियरको मूल्य तिर्छु भन्दा पनि मैले बियर पिउन पाइँन । तर एक महिना पहिले नेपाल सरकारले सार्वजनिक स्थानमा धुमपान गर्न निषेध गरेपनि हाम्रा पसल, मठमन्दिर, चौपारी, सिनेमाघर, रेष्टुरेन्ट र होटलहरुमा न चुरोटका अम्मलीहरुले चुरोट पिउन छाडेका छन न त पसलेहरुलाई चुरोटका पारखीहरुलाई त्यसो गर्नबाटै रोकेका छन । यहि भिन्नता छ हामी र विकसित देशका सभ्य मानिसहरुमा । यसैले प्रष्ट पार्दछ हाम्रा र उनीहरुका सोचका भिन्नता । उनीहरु पालना गर्नका लागि नियम बनाउँदछन्, हामीहरु बर्खिलाप गर्न नियम बनाउँछौं । अब कसरी परिष्कृत बन्न सक्दछ हाम्रो    समाज ? 
हामीलाई महत्वपूर्ण नलाग्ने साना र मसिना मान्यताहरुमा मात्रै समयसापेक्ष परिवर्तन गर्न सक्यौं भने पनि हामीले उज्ज्वल भविष्यको मार्गचित्र कोर्न समर्थ हुन्छौं । यदि साँच्चीकै हामीलाई हाम्रो देश खत्तम भएको लागेको छ र यो देशलाई असफल हुन नदिने दायित्व हाम्रो पनि हो भन्ने लाग्दछ भने कम्तिमा पनि अबदेखि अरुले के गरे होइन्, हामीले के गर्न सक्यौं भन्ने कुराको समीक्षा हुनु आवश्यक छ ।

Popular posts from this blog

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...