Skip to main content

म, रत्नपार्क र मेरो भविष्य


स्नातकोत्तर अर्थात एम.ए । कतिपय बुद्धिजीवीहरु यसो पनि भन्दा रहेछन – एम.ए पछिको पढाई आवश्यक छैन । उनीहरुको टिप्पणी सुनेपछि मलाई लाग्यो विश्वबिधालय जीवनमा यो तहको पढाई सर्वाधिक महत्वको पढाई हो । र, विशेष महत्वका साथ यो तहको पढाई पूरा गर्नु आवश्यक छ । तसर्थः स्नातक तहको अध्ययन सिध्याएको ४ वर्षपछि मैले स्नातकोत्तर तहको अध्ययन पूरा गर्ने अठोटका साथ फेरि एकपटक कलेज जीवनको शुरु गरेँ । लागेको थियो – मसँगै पढ्नेहरु दुईचार साल कमका होलान, मेरो उमेरको खिसिटिउरी पो गर्ने हुन कि ? तर कक्षामा प्रवेश गरेको शुरुकै दिनमा मेरो अनुमान फेल खायो – पढ्नेहरुका लागि उमेर प्रधान कुरो रहेनछ । मेरा कतिपय साथीहरु स्नातक सिध्याएको १५–२० वर्षपछि स्नातकोत्तर तहको अध्ययन गर्न आएका रहेछन । उमेरमा म बुढो भन्ने चिन्ता त्यो दिनदेखि रहेन । चालीस कटेकाहरु भएको ठाउँमा म बबुरो २६ मा चलिरहेको सानो केटो नै देखिएको छु । परन्तु समयसँगै म बदलिन नसकेको हुँ, वा महत्वकांक्षा ठूलो भएछ कुन्नी ? थुप्रै समस्याहरु असरल्ल देखिरहेछु ।
कक्षाबाट शुरु गरुँ । पहिलो दिनमै मलाई कक्षाको वातावरण कत्ति पनि रुचीकर लागेन । अगाडि प्राध्यापकको लेक्चर चलिरहेछ, मानौं पछाडी म चटक हेरिरहेको छु । हुनसक्दछ, चटकेहरुको थुप्रै शो चल्ने रत्नपार्कको छेवमै कलेज भएकाले पो हो कि ? कतिपयमा त्यस्तै चटके स्वभाव देखिएको ? न प्रोफेसर आँट गर्छन भन्नलाई – हल्ला बन्द गर न हो केटाकेटी ! न त हल्ला गर्नेहरु नै बोध गर्छन – विशिष्ट तहमा अध्ययन गरिरहेछौं हामी, हामीलाई यो सब सुहाउँदैन ! मेरो कक्षा प्रवेशको शुरुको दिनदेखि मैले अनुभूत गरिरहेको यो वातावरणले फरक मोड अझै लिइसकेको छैन । बरु यो अझै चर्किदै गएको छ । बिस्तारै मेरो पनि बानी परिसक्यो – मौका मिल्दासाथ मैले पनि हल्ला गर्न थालीसकेको छु । सायद बैंश अब बेस्सरी पोखिदैछ – बुद्धिजीवी बन्ने होडमा !
मास्टर्स लेभलको पढाइ भनेर के गर्नु ? सानो चिर्केटो बोकेर आउँछन – प्राध्यापक नामका प्राणीहरु ! कोही आफूले मात्र सुन्ने गरेर पढाएर जान्छन, कसैले कक्षामा ‘पिन ड्रप साइलेन्स’ को वातावरण सृजना गरेर हामी पाका विधार्थीहरुलाई हायलकायल पारेर लेख्न लगाउँछन । परन्तु शैली उहि नै छ । लेक्चर मेथड ! विषयबस्तुमाथि पूरापूर छलफल गर्ने क्लास त दुर्लभ नै छन । अझ भनुँ ती लोपोन्मुख भएका छन् । ग्रामीण विकास अध्ययन गरिरहेका हामीहरुलाई हाम्रा प्राध्यापकहरु भन्ने गर्छन– ग्रामीण विकासका लागि आधारभूत कुरा भनेको हरेक प्रक्रिया सहभागितामूलक हुनु पर्दछ । खैर, आफ्नै कक्षामा सहभागितामूलक पढाइ गराउन सकिरहेका छैन प्राध्यापक कतिपय ! अझ त्यसमाथि मलाई लाग्थ्यो – यो तहको पढाईमा प्रविधीको भरपुर प्रयोग होला । पछिल्ला प्रविधीका बारेमा त अपडेट छन् सबै तर प्रयोग ५ प्रतिशत पनि छैन ! साप्ताहिक प्रोजेक्ट, एसेस्टमेन्ट ती कुन जीवको नाम हो ? कसैलाई केही पर्वाह छैन । एउटा कापी र एक थान कलम बोकेर आउँ, टिप्न मन लागेको ब्ँदाहरु टिप, टिप्न सकेनौ भने सुर्ता नमान । लाइब्रेरीमा लेक्चरको फोटोकपी छ, लिएर जाउँ ! यस्तो टपरटुइँया पढाइ जीवनमै पहिलोपटक गर्दैछु म !
यति स्वतन्त्र बिधार्थी जीवन मैले शिशु कक्षामा पनि गरेको थिइँन । कक्षा बाहिर जाँदा, भित्र आउँदा दुवै हात टमक्क जोडेर अनुमती लिनुपर्थ्यो । ए भगवान ! यो त अनौठो लेभलको पढाइ पढिरहेछु म । लेक्चर चलिरहेको बेला बिचमा भित्र छिरुँ वा बाहिर जाउँ कसैले केहि भन्दैन । यसको फाइदा कति लिएँ मैले हिसाबकिताब छैन ! प्राध्यापकले पढाइरहँदा मलाई झिजों लागेर यदि मैले भनिदिएँ – “सर हजुर हिजो यतिखेर गैसक्नुभएको थ्यो !” प्रोफेसर विचरा केहि बोल्ने हैन, आफूले लिएको चिर्केटो पट्याईवरी गोजीमा राखेर ढोकामा पुगिसकेको हुन्छ – “उसोभए बाँकी भोली पढौंला !”
यो स्वतन्त्र विधार्थी जीवन, पूरानो शैलीको पढाई, चटक चलिरहेको कक्षाभित्रबाट म एउटा बुद्धिजीवी जन्मदैछु !

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...