Skip to main content

इपियसपिडीत नेपालीहरूलाई खुलापत्र

कोरियन भाषा परीक्षा पासगरी कोरिया जान नपाएका इपियस पिडीत मेरा प्रिय नेपाली दाजुभाई तथा दिदीबैनीहरू,
तस्वीर स्रोतः अनलाइन खबर डट कम
म एक विदेशिएको तिमीहरुकै एउटा दाजु/भाई/साथीको तर्फदेखि हार्दिक प्रेम तथा सम्झना स्वीकार गर । आज अचानक तिमीहरुलार्इ म यो पत्र किन लेख्तैछु, त्यो म सविस्तार वर्णन गर्ने नै छु । तर त्योभन्दा पहिले म तिमीहरुलाई मेरो परिचय संक्षेपमा राख्न चाहन्छु ।  उमेरले म २८ बर्षको युवा हुँ । विवाहित पनि छु । अध्ययनका शिलशिलामा फिनल्याण्डमा छु । अध्ययन पनि गर्दैछु । 

नेपालमै बि.सं. २०६२ मा नै मैले स्नातक तह उत्तीर्ण गरिसकेको छु । स्नातकोत्तरका लागि फिनल्याण्ड, नर्वे र जर्मनी मध्य एउटा देशमा आउन चाहन्थेँ । तर ती देशका कुनैपनि विश्वविद्यालयमा मैले स्नातकोत्तरका लागि भर्ना पाइँन । कारण, यी देशमा स्नातकोत्तर तहमा भर्ना हुनका लागि स्नातक तहको पाठ्यक्रम चार वर्षको हुनुपर्दो रहिछ । फलतः युरोपमा आएर अध्ययन गर्ने मेरो चाहनालाई साकार पार्न मैले फिनल्याण्डमा स्नातकका लागि आवेदन दिएँ । आईएलटिएस पनि गरेँ । प्रवेश परीक्षामा सामेल भएँ । र, उत्तीर्ण भएपछि यहाँ आउन योग्य ठहरिएँ । र, विभिन्न तिकडमपछि म यहाँ आईपनि पुगेँ । तिकडम यस अर्थमा कि कलेजमा नियमित शुल्क नलागे पनि खाना र बस्नको बन्दोबस्तका लागि मेरो प्रायोजन गर्ने मेरो पिताजीको नियमित आर्थिक स्रोत देखाउनु पर्थ्यो जुन न्युनतम बार्षिक १२ लाख हुन आउँछ ।
 
मैले भन्नै पर्ने हुन्छ - परीक्षाको तयारी, आर्थिक व्यवस्थापन र प्रवेशाज्ञा (भिषा) आवेदनका बखत मैले संघर्षका कठिनतम् दिनहरु गुजारेको छु । त्यसैले म तिमीहरुले कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नका लागि गरेको मेहनत, लगानीको मर्म पनि बुझ्दछु । म तिमीहरुको ती कठीन मेहनतको उच्च कदर गर्दछु । परन्तु, कोरियामा काम गर्नका लागि जान पाउनैपर्छ भनी कतिपय तिमीहरुले अड्डी कसेर आमरण अनसन गरेको खबर पढ्दा र आफ्नो माग पूरा नभए केहि दिनपछि नेपाल बन्दको समेत कार्यक्रम गर्ने तिमीहरुको धम्की र घुर्काइको भाषाका बारेमा थाहा पाएपछि भने केहि नलेखी रहन सकिनँ ।

विदेश तिमीहरुले सोचेजस्तो सजिलो छदै छैन । देशमै जस्तो झारा टार्ने कामले विदेशमा न कोरियन वन कमाउन सकिन्छ, न युरो न त रिंगेट नै । हुन त तिमीहरुको रुमानी कल्पनामा विदेशको झिलिमिली मात्र होला, तर नबिर्स केहि गरी तिमीहरु कोरिया पुगिनै हालेछौ भने त्यो तिमीहरुको जीवनकै कठिनतम दिनहरु हुनेछन् ।

हुन त म आफै नेपाल छाड्नुअगाडि निकै नै उत्साहित थिएँ । यहाँ आइसकेपछिका दुईचार दिन पनि निकै नै उत्साहित रहेँ । जब कामका लागि दौडधुप गर्न शुरु गरेँ र काम नपाएर रित्तो हात कोठामा फर्किन विवश हुन्थेँ त्यतिखेरका कुनैपनि मेरा साँझहरु ओभाना थिएनन् । हुन त तिमीहरुलाई मैले जस्तो काम खोजिरहनु पर्दैन तर काम पाएपछिको मेरो अनुभवसँग कोरियामा काम गर्न जानेहरुको अनुभूतिचाँहि थोरै भएपनि समानान्तर हुन सक्लान । त्यसकारण मैले लेख्नैपर्ने हुन्छ जुन काममा मेरो जति मेहनत अहिले बग्दैछ त्यति नै मेहनत र लगनशिलता मैले मेरै देशमा बगाउन सक्ने हो भने म निश्चिन्त छु – त्यसको प्रतिफल मैले यहाँ प्राप्त गरेभन्दा ज्यादा हुन्छ ।

अझ महत्वपूर्ण कुरो त म यहाँ जुन स्तरको काम गर्दैछु त्यो कामले मलाई सिकाउने केही पनि हैन तर विवशताको बाबजुद मैले काम गर्नैपर्ने हुन्छ । हुन त लागेको होला तिमीहरुले भाषा परीक्षामा शतप्रतिशत अंक ल्याएको छौं नभएपनि ९० भन्दा माथि अंक हासिल गरेका छौं, काम सहज र भव्य हुनेछ । यदि त्यस्तो सोच पालेका छौं भने मेरो विनम्र आग्रह छ – नपत्याए तिमीहरुको जस्तै अंक प्राप्त गरेर कोरियामा पसिना बगाईरहेका युवाहरुलाई सोध कि तिमीले गर्नुपर्ने काम के हो ? कति जोखिमपूर्ण काम छ त्यहाँ ? साहूले कस्तो ब्यवहार गर्दछ ? र, कति मानसिक दबदबामा बस्नुपर्दछ त्यहाँ । तिमीहरु किन अबुझ बन्छौ आखिर ? के कोरिया पुगेका सबै नेपाली युवा श्रमीकहरुको सहज दिन बितिरहेछन् त्यहाँ ? महिनौपछि सबैको छुट्टीको दिन मिलाएर उनीहरुले मनाएको छुट्टीको रमझमको तस्बीरहरु वा घुमघामको तस्बीरहरु हेरेर यदि तिमीहरुले कोरिया साँच्चीकै स्वर्ग हो भन्ने बुझेका छौ भने मेरो अनुरोध यत्ति छ – कृपया ती हसिँला तस्विरहरुमा लुकेका पीडाहरु देख्ने कोशिस गर !

मैले निर्क्यौल गरिसकेँ कि मेरो अध्ययन कार्य सिध्याईसकेपछि म यहाँ कुनैपनि हालतमा बस्दिनँ । मलाई सधैंभरी पाईखाना सोहोर्नु छैन । रातरातभरी माइनस २५ को ठिहीमा पत्रिकाहरु बाड्नु छैन । कम्मर दुख्ने गरी होटलको बिस्तरा मिलाईराख्नु छैन । नआउनु थियो आईहालेँ तर यो दलदलमा सधैं फस्नु छैन । त्यसकारण पनि मैले तिमीहरुलाई अनुरोध गर्न चाहेको हुँ – कृपया कोरिया जान पाउनै पर्छ भन्ने तिम्रो बालहठ त्यागिदेऊ । आँखा खोलेर हेर – जति पनि सम्भावना छन्- स्वदेशमै । सम्भावनाहरु पहिल्याऊ । श्रम र विवेकको समुचित प्रयोग गर्न सक्ने हो भने विदेशमा आएर कसैको दास बन्नुपर्दैन, त्यहि मालिक हुन सकिन्छ । म निवेदन गर्दछु – चूनौतीहरुबाट नभाग !

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...