Skip to main content

इपियसपिडीत नेपालीहरूलाई खुलापत्र

कोरियन भाषा परीक्षा पासगरी कोरिया जान नपाएका इपियस पिडीत मेरा प्रिय नेपाली दाजुभाई तथा दिदीबैनीहरू,
तस्वीर स्रोतः अनलाइन खबर डट कम
म एक विदेशिएको तिमीहरुकै एउटा दाजु/भाई/साथीको तर्फदेखि हार्दिक प्रेम तथा सम्झना स्वीकार गर । आज अचानक तिमीहरुलार्इ म यो पत्र किन लेख्तैछु, त्यो म सविस्तार वर्णन गर्ने नै छु । तर त्योभन्दा पहिले म तिमीहरुलाई मेरो परिचय संक्षेपमा राख्न चाहन्छु ।  उमेरले म २८ बर्षको युवा हुँ । विवाहित पनि छु । अध्ययनका शिलशिलामा फिनल्याण्डमा छु । अध्ययन पनि गर्दैछु । 

नेपालमै बि.सं. २०६२ मा नै मैले स्नातक तह उत्तीर्ण गरिसकेको छु । स्नातकोत्तरका लागि फिनल्याण्ड, नर्वे र जर्मनी मध्य एउटा देशमा आउन चाहन्थेँ । तर ती देशका कुनैपनि विश्वविद्यालयमा मैले स्नातकोत्तरका लागि भर्ना पाइँन । कारण, यी देशमा स्नातकोत्तर तहमा भर्ना हुनका लागि स्नातक तहको पाठ्यक्रम चार वर्षको हुनुपर्दो रहिछ । फलतः युरोपमा आएर अध्ययन गर्ने मेरो चाहनालाई साकार पार्न मैले फिनल्याण्डमा स्नातकका लागि आवेदन दिएँ । आईएलटिएस पनि गरेँ । प्रवेश परीक्षामा सामेल भएँ । र, उत्तीर्ण भएपछि यहाँ आउन योग्य ठहरिएँ । र, विभिन्न तिकडमपछि म यहाँ आईपनि पुगेँ । तिकडम यस अर्थमा कि कलेजमा नियमित शुल्क नलागे पनि खाना र बस्नको बन्दोबस्तका लागि मेरो प्रायोजन गर्ने मेरो पिताजीको नियमित आर्थिक स्रोत देखाउनु पर्थ्यो जुन न्युनतम बार्षिक १२ लाख हुन आउँछ ।
 
मैले भन्नै पर्ने हुन्छ - परीक्षाको तयारी, आर्थिक व्यवस्थापन र प्रवेशाज्ञा (भिषा) आवेदनका बखत मैले संघर्षका कठिनतम् दिनहरु गुजारेको छु । त्यसैले म तिमीहरुले कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नका लागि गरेको मेहनत, लगानीको मर्म पनि बुझ्दछु । म तिमीहरुको ती कठीन मेहनतको उच्च कदर गर्दछु । परन्तु, कोरियामा काम गर्नका लागि जान पाउनैपर्छ भनी कतिपय तिमीहरुले अड्डी कसेर आमरण अनसन गरेको खबर पढ्दा र आफ्नो माग पूरा नभए केहि दिनपछि नेपाल बन्दको समेत कार्यक्रम गर्ने तिमीहरुको धम्की र घुर्काइको भाषाका बारेमा थाहा पाएपछि भने केहि नलेखी रहन सकिनँ ।

विदेश तिमीहरुले सोचेजस्तो सजिलो छदै छैन । देशमै जस्तो झारा टार्ने कामले विदेशमा न कोरियन वन कमाउन सकिन्छ, न युरो न त रिंगेट नै । हुन त तिमीहरुको रुमानी कल्पनामा विदेशको झिलिमिली मात्र होला, तर नबिर्स केहि गरी तिमीहरु कोरिया पुगिनै हालेछौ भने त्यो तिमीहरुको जीवनकै कठिनतम दिनहरु हुनेछन् ।

हुन त म आफै नेपाल छाड्नुअगाडि निकै नै उत्साहित थिएँ । यहाँ आइसकेपछिका दुईचार दिन पनि निकै नै उत्साहित रहेँ । जब कामका लागि दौडधुप गर्न शुरु गरेँ र काम नपाएर रित्तो हात कोठामा फर्किन विवश हुन्थेँ त्यतिखेरका कुनैपनि मेरा साँझहरु ओभाना थिएनन् । हुन त तिमीहरुलाई मैले जस्तो काम खोजिरहनु पर्दैन तर काम पाएपछिको मेरो अनुभवसँग कोरियामा काम गर्न जानेहरुको अनुभूतिचाँहि थोरै भएपनि समानान्तर हुन सक्लान । त्यसकारण मैले लेख्नैपर्ने हुन्छ जुन काममा मेरो जति मेहनत अहिले बग्दैछ त्यति नै मेहनत र लगनशिलता मैले मेरै देशमा बगाउन सक्ने हो भने म निश्चिन्त छु – त्यसको प्रतिफल मैले यहाँ प्राप्त गरेभन्दा ज्यादा हुन्छ ।

अझ महत्वपूर्ण कुरो त म यहाँ जुन स्तरको काम गर्दैछु त्यो कामले मलाई सिकाउने केही पनि हैन तर विवशताको बाबजुद मैले काम गर्नैपर्ने हुन्छ । हुन त लागेको होला तिमीहरुले भाषा परीक्षामा शतप्रतिशत अंक ल्याएको छौं नभएपनि ९० भन्दा माथि अंक हासिल गरेका छौं, काम सहज र भव्य हुनेछ । यदि त्यस्तो सोच पालेका छौं भने मेरो विनम्र आग्रह छ – नपत्याए तिमीहरुको जस्तै अंक प्राप्त गरेर कोरियामा पसिना बगाईरहेका युवाहरुलाई सोध कि तिमीले गर्नुपर्ने काम के हो ? कति जोखिमपूर्ण काम छ त्यहाँ ? साहूले कस्तो ब्यवहार गर्दछ ? र, कति मानसिक दबदबामा बस्नुपर्दछ त्यहाँ । तिमीहरु किन अबुझ बन्छौ आखिर ? के कोरिया पुगेका सबै नेपाली युवा श्रमीकहरुको सहज दिन बितिरहेछन् त्यहाँ ? महिनौपछि सबैको छुट्टीको दिन मिलाएर उनीहरुले मनाएको छुट्टीको रमझमको तस्बीरहरु वा घुमघामको तस्बीरहरु हेरेर यदि तिमीहरुले कोरिया साँच्चीकै स्वर्ग हो भन्ने बुझेका छौ भने मेरो अनुरोध यत्ति छ – कृपया ती हसिँला तस्विरहरुमा लुकेका पीडाहरु देख्ने कोशिस गर !

मैले निर्क्यौल गरिसकेँ कि मेरो अध्ययन कार्य सिध्याईसकेपछि म यहाँ कुनैपनि हालतमा बस्दिनँ । मलाई सधैंभरी पाईखाना सोहोर्नु छैन । रातरातभरी माइनस २५ को ठिहीमा पत्रिकाहरु बाड्नु छैन । कम्मर दुख्ने गरी होटलको बिस्तरा मिलाईराख्नु छैन । नआउनु थियो आईहालेँ तर यो दलदलमा सधैं फस्नु छैन । त्यसकारण पनि मैले तिमीहरुलाई अनुरोध गर्न चाहेको हुँ – कृपया कोरिया जान पाउनै पर्छ भन्ने तिम्रो बालहठ त्यागिदेऊ । आँखा खोलेर हेर – जति पनि सम्भावना छन्- स्वदेशमै । सम्भावनाहरु पहिल्याऊ । श्रम र विवेकको समुचित प्रयोग गर्न सक्ने हो भने विदेशमा आएर कसैको दास बन्नुपर्दैन, त्यहि मालिक हुन सकिन्छ । म निवेदन गर्दछु – चूनौतीहरुबाट नभाग !

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...