Skip to main content

यो कस्तो चाड – तीज ?

सानो छँदा तीज आउँदा आमाको पछि लागेर मामाको घर जाने गर्दथ्यौं म र मेरो भाई । आमा, छामाहरु र ठूलीआमाहरुको भेटघाट हुने त्यतिखेरको तिजले हाम्रा आमाहरुलाई एउटा औसर जुटाउने गर्दथ्यो – टाढाटाढाका दिदीबहिनीहरुलाई करिब एक बर्षपछि एकै ठाउँमा जुराउने । आमाहरुले वर्षभरी अनुभूत गरेका दुःखसुखका कुराहरु सुन्न पाउँदा अर्कै किसिमको आनन्द आउने गर्दथ्यो, मलाई पनि । मामाकै घरको तगारोबाहिर रहेको खुल्ला चौरमा गाउँका अरु चेलीबेटीहरु पनि जम्मा भएका हुन्थे, उनीहरुले तीजका भाकामा गाएका गीतहरुले गाउँ नै जुरुक्क पाथ्र्यो । हातका औंला झुराझुरा पर्ने गरी उनीहरुले बजाउने मादलको आवाजले निर्माण गर्ने रौनकका बारेमा शब्दमा म कसरी ब्यक्त गरुँ ? साँच्चीकै भिन्न थियो हाम्रा आमाहरुले उतीबेला मनाउने तिज । 
जति जति मेरो उमेर हुर्कदों छ, उति उति हाम्रा चाडपर्वहरु मनाउने शैलीमा पनि परिवर्तन हुँदै आएको महशुस गर्दै आएको छु, मैले । तीज, महिलाहरुको महान पर्व भन्ने गरिए पनि कतै यो महिलाहरुकै पहुँच बाहिर जान लागेको त हैन ? तीज बिशेष कार्यक्रमहरुमा निश्चित आर्थिक हैसियत भएका महिलाहरुको मात्र उपस्थिती देख्दा यस्तै अनुभूत गरेको छु मैले, हिजाँल । हिजो यो महिला दिदीबहिनीहरु भेट हुने, सुखदुखका कुराहरु साटफेर गर्ने, माइतीमा दर खाने र रमाईलो गर्ने पर्वका रुपमा परिचित थियो । तर अहिले यो पर्व त्यतिमा मात्र सिमित रहेन । खै ! जमानाअनुसार परिवर्तन हुनुपर्दछ भनेर हो वा नेपाली जनताहरुको आयश्रोतमा बृद्धि भएर हो अचेल दिदीबहिनीहरुले तीजमा गर्ने खर्चको रकम आकर्षक नै पाइन्छ । महंगा राता सारी, रातै चुरा र पहेंलपुर सुनले झकिझकाउ हुने दिदीबहिनीहरुको भीड देख्दा यस्तो लाग्छ – हैन यो तीज हो कि महंगा पहिरन र सुनका गहनाहरुको प्रदर्शनी ?
नारी जातिको उन्मुक्ती र अधिकारको बख्यान गरेर नथाक्ने दिदीबहिनीहरुले नारी विशेष चाड तीजलाई किन नारीहरुको आत्मसम्मानमा बृद्धि गर्ने पर्वका रुपमा मनाउन सकिरहेका छैनन् ? आश्चर्यको विषय छ । पर्व मनाउँदा अनावश्यक तडकभडक र रवाफिलो प्रदर्शनमा किन यतिविधी महत्व दिने गर्छन आधुनिक नारीहरु ? मैले केहि गरी बुझ्न नसकेको सन्दर्भ हो यो, आधुनिक तिजको । समाजमा आफूलाई बौद्धिक नारीका रुपमा अगाडि चिनाउन मरिमेटेर लागेका स्वघोषित बौद्धिक नारीहरुको हुल देख्दा सारै टिठ लागेर आउँछ । किन उनीहरु आफूहरु साँच्चिकै बौद्धिक र सृजनशील भएको प्रमाण कार्य सम्पादनबाट पुष्टि गर्न सक्दैनन ? के उनीहरुको दिमागमा समाजमा रहेका अरु महिलाहरुले लगाएको गहनाभन्दा राम्रो र विशेष डिजाइनको गहना लगाउनु आफूहरुको बैशिष्टयता हो भन्ने छ ? के महंगा पहिरनले एक ब्यक्तिको ब्यक्तित्वको बैशिष्टयताको पुष्टाइ गर्दछ र ? बहस गर्नु पर्ने समय भएको छ । रमाइलो गर्नुपर्छ त्यसमा दुई मत हुने कुरै छैन तर महत्वपूर्ण कुरा के हो भने रमाइलो गर्नुको हद कति ? 
आधुनिक डिजाइनका गहनाका महंगा सेट लगाउनु र महंगा ब्रान्डका पहिरन पहिरनुले भद्र ब्यक्तित्वको प्रस्तुती हुँदैन भन्ने तथ्यलाई हृदयङ्गम गर्ने दिब्य चेत कहिले आउँला हाम्रा दिदीबहिनीहरुमा ? तीज मनाउने नाममा महिनैभर दर खाने हाम्रा सम्पन्न दिदीबहिनीहरुको ब्रम्हले सडकमा गिट्टी कुटेर छाक टार्ने सिमान्त दिदीबहिनीहरुले खाने दर का बारेमा सोच्न भ्याएको छ होला कि नाइ ? समाजमा रहेका सबै वर्गका दिदीबहिनीहरुको अधिकतम उपस्थिती र संलग्नता रहने गरी तिज मनाउने कार्यक्रमको आयोजना कहिले हुन सक्ला ? र, कहिले होला तीज तडकभडकविहीन ? अलिकति बढी समावेशी ? अलिकति बढी बौद्धिक ?
महिनैभर खान्छन दर हैन कस्तो चाड यो 
पहेंलपुर हुने रहर हैन कस्तो चाड यो
परम्परा, संस्कृति जोगाउने ढोंग रची
अस्तब्यस्त पार्छन घर हैन कस्तो चाड यो ?
 जय तीज !
यो लेख रूप्से साप्ताहिकका लागि सुरक्षित गरिएको छ ।

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...