Skip to main content

यो कस्तो चाड – तीज ?

सानो छँदा तीज आउँदा आमाको पछि लागेर मामाको घर जाने गर्दथ्यौं म र मेरो भाई । आमा, छामाहरु र ठूलीआमाहरुको भेटघाट हुने त्यतिखेरको तिजले हाम्रा आमाहरुलाई एउटा औसर जुटाउने गर्दथ्यो – टाढाटाढाका दिदीबहिनीहरुलाई करिब एक बर्षपछि एकै ठाउँमा जुराउने । आमाहरुले वर्षभरी अनुभूत गरेका दुःखसुखका कुराहरु सुन्न पाउँदा अर्कै किसिमको आनन्द आउने गर्दथ्यो, मलाई पनि । मामाकै घरको तगारोबाहिर रहेको खुल्ला चौरमा गाउँका अरु चेलीबेटीहरु पनि जम्मा भएका हुन्थे, उनीहरुले तीजका भाकामा गाएका गीतहरुले गाउँ नै जुरुक्क पाथ्र्यो । हातका औंला झुराझुरा पर्ने गरी उनीहरुले बजाउने मादलको आवाजले निर्माण गर्ने रौनकका बारेमा शब्दमा म कसरी ब्यक्त गरुँ ? साँच्चीकै भिन्न थियो हाम्रा आमाहरुले उतीबेला मनाउने तिज । 
जति जति मेरो उमेर हुर्कदों छ, उति उति हाम्रा चाडपर्वहरु मनाउने शैलीमा पनि परिवर्तन हुँदै आएको महशुस गर्दै आएको छु, मैले । तीज, महिलाहरुको महान पर्व भन्ने गरिए पनि कतै यो महिलाहरुकै पहुँच बाहिर जान लागेको त हैन ? तीज बिशेष कार्यक्रमहरुमा निश्चित आर्थिक हैसियत भएका महिलाहरुको मात्र उपस्थिती देख्दा यस्तै अनुभूत गरेको छु मैले, हिजाँल । हिजो यो महिला दिदीबहिनीहरु भेट हुने, सुखदुखका कुराहरु साटफेर गर्ने, माइतीमा दर खाने र रमाईलो गर्ने पर्वका रुपमा परिचित थियो । तर अहिले यो पर्व त्यतिमा मात्र सिमित रहेन । खै ! जमानाअनुसार परिवर्तन हुनुपर्दछ भनेर हो वा नेपाली जनताहरुको आयश्रोतमा बृद्धि भएर हो अचेल दिदीबहिनीहरुले तीजमा गर्ने खर्चको रकम आकर्षक नै पाइन्छ । महंगा राता सारी, रातै चुरा र पहेंलपुर सुनले झकिझकाउ हुने दिदीबहिनीहरुको भीड देख्दा यस्तो लाग्छ – हैन यो तीज हो कि महंगा पहिरन र सुनका गहनाहरुको प्रदर्शनी ?
नारी जातिको उन्मुक्ती र अधिकारको बख्यान गरेर नथाक्ने दिदीबहिनीहरुले नारी विशेष चाड तीजलाई किन नारीहरुको आत्मसम्मानमा बृद्धि गर्ने पर्वका रुपमा मनाउन सकिरहेका छैनन् ? आश्चर्यको विषय छ । पर्व मनाउँदा अनावश्यक तडकभडक र रवाफिलो प्रदर्शनमा किन यतिविधी महत्व दिने गर्छन आधुनिक नारीहरु ? मैले केहि गरी बुझ्न नसकेको सन्दर्भ हो यो, आधुनिक तिजको । समाजमा आफूलाई बौद्धिक नारीका रुपमा अगाडि चिनाउन मरिमेटेर लागेका स्वघोषित बौद्धिक नारीहरुको हुल देख्दा सारै टिठ लागेर आउँछ । किन उनीहरु आफूहरु साँच्चिकै बौद्धिक र सृजनशील भएको प्रमाण कार्य सम्पादनबाट पुष्टि गर्न सक्दैनन ? के उनीहरुको दिमागमा समाजमा रहेका अरु महिलाहरुले लगाएको गहनाभन्दा राम्रो र विशेष डिजाइनको गहना लगाउनु आफूहरुको बैशिष्टयता हो भन्ने छ ? के महंगा पहिरनले एक ब्यक्तिको ब्यक्तित्वको बैशिष्टयताको पुष्टाइ गर्दछ र ? बहस गर्नु पर्ने समय भएको छ । रमाइलो गर्नुपर्छ त्यसमा दुई मत हुने कुरै छैन तर महत्वपूर्ण कुरा के हो भने रमाइलो गर्नुको हद कति ? 
आधुनिक डिजाइनका गहनाका महंगा सेट लगाउनु र महंगा ब्रान्डका पहिरन पहिरनुले भद्र ब्यक्तित्वको प्रस्तुती हुँदैन भन्ने तथ्यलाई हृदयङ्गम गर्ने दिब्य चेत कहिले आउँला हाम्रा दिदीबहिनीहरुमा ? तीज मनाउने नाममा महिनैभर दर खाने हाम्रा सम्पन्न दिदीबहिनीहरुको ब्रम्हले सडकमा गिट्टी कुटेर छाक टार्ने सिमान्त दिदीबहिनीहरुले खाने दर का बारेमा सोच्न भ्याएको छ होला कि नाइ ? समाजमा रहेका सबै वर्गका दिदीबहिनीहरुको अधिकतम उपस्थिती र संलग्नता रहने गरी तिज मनाउने कार्यक्रमको आयोजना कहिले हुन सक्ला ? र, कहिले होला तीज तडकभडकविहीन ? अलिकति बढी समावेशी ? अलिकति बढी बौद्धिक ?
महिनैभर खान्छन दर हैन कस्तो चाड यो 
पहेंलपुर हुने रहर हैन कस्तो चाड यो
परम्परा, संस्कृति जोगाउने ढोंग रची
अस्तब्यस्त पार्छन घर हैन कस्तो चाड यो ?
 जय तीज !
यो लेख रूप्से साप्ताहिकका लागि सुरक्षित गरिएको छ ।

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...