Skip to main content

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

ai generated image of Aarti

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key." 

बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने कर्ममा स्थिरता कायम गरिरहेकै छन् ।

ह्या ! मैले आज यो ब्लगपोष्टमा मित्र लक्ष्मीको बारे किन कोट्याएको होला ? उनको बारे खास त्यस्तो प्रसङ्ग त थिएन् । मैले यो ब्लग लेख्न बस्नुको मुख्य कारण त, मैले केहि महत्वपूर्ण ब्लगका विशेष प्रसङ्गमा उल्लेख गरिराखेको एक नाम, राजन दाईसँग केहि दिन अघि गरेको २ घण्टे लामो फोनवार्ताका क्रममा सधैं झैं हुने उनै राजनैतिक विषयहरूको गहन छलपलपछि केहि त लेख्नुपर्छ मैले भन्ने ठानेर हो नी ! 

फेरि लेख्न शुरू गरेपछि बेला बेला वाक्यका बिचमा अनायाश लेख्न पुगिने केहि शब्दहरूले केहि न केहि चस्का दिने हुँदा लेखाई कता कता बरालिन पुग्ने हुँदो रहेछ । जस्तो अहिले म महशुस गर्दैछु, म केही लेख्न खोज्दैछु, फेरि माथिल्लो अनुच्छेदको तेस्रो हरफमा प्रयोग हुन पुगेको "घण्टे" शब्दले यो ब्लगपोष्टलाई कतै बरालिदिने पो हो कि भन्ने भान कसोकसो गरिरहेको छु । प्रिय राजन दाई, हेर्नुस् हजुरले नमाने पनि अब तपाइँ बिस्तारै बुढो हुनु भो ! मैले एक थोक लेखेको, हजुरले अर्कै थोक पढिदिनु भो भने बर्बादै हुन्छ । थाहा छ हजुरलाई कि हाम्रो २ घण्टे फोन वार्ता हुँदा तपाइँले गरेको फोनको दुई घण्टी पूरै नबज्दै मैले फोन उठाएको ? 

"ह्रया यो भाइ पनि कति घण्टे, घण्टा, घण्टी लेखिरहेको होला?" कृपया, यस्तो नसोच्नुस दाई ! मैले आग्रहको यो हरफ यहाँ लेखिरहेछु, तर मलाई थाहा छ तपाइँले माथिल्लो अनुच्छेद पढि भ्याउँदा नभ्याउँदै, मैले यस अनुच्छेदको आरम्भ मैं जे लेखिरहेछु त्यो सोचेर भ्याइसक्नु भो । हुन पनि यो समय घण्टीको छ । घामका कुरा किन सोच्नु र ? कतिपय मान्छे त यसो पनि भन्दा हुन् ! जहाँ सम्म मलाई लाग्दछ, तपाइँ पनि अहिले जे जस्तो भएपनि घण्टीवालाहरूकै शासन हेर्नुपर्छ भन्नेमा हुनुहुन्छ जस्तो कैयौं नेपालीहरू यस्तै सोचाईमा छन् । अनि मैले चाँहि के सोच्दछु ? सोध्नु हुन्न मलाई ? 

मलाई नियमित पढ्नुहुने धेरैले थाहा पाउनु भएकै छ कि मेरा पिताजी र घामबिचको साइनो ! त्यस्तै, राजन दाइको पिताजी र घामबिच पनि उस्तै कसिलो साइनो छ । काका त अहिले पनि बहालवाला नगरपिता हुनुहुन्छ । तर दाइको मन घाममा खासै कहिल्यै अडिएन भन्ने मैले बुझेको छु । अडियोस् पनि कसरी ? बर्षमा गोडा दुई महिनाबाहेक जमेर घामको तातो नपाउने देशमा नै राजन दाइले जमेर बसेको १९ वर्ष त पुगिसक्यो होला ! 

दाई नेपाल छाडेर फिनल्याण्ड आउने तर्खरमा हुँदा भर्खर पृथ्वी लोकमा पर्दापण हुन लागेकाहरूले सात महिना पहिला त हो नेपालको राज्यसत्ताबाट घामवालाहरूलाई हुर्याएर घण्टीवालाहरूलाई चढ्ने वातावरण बनाइदिएको ! घण्टीवालाहरूको सत्तारोहण हुनुभन्दा ठीक छ महिना पहिलेसम्म त घामवालाहरू कै कम्ता रजगज  त थिएन् नी सत्तामा ! बोलाइ नसक्नु, चलाइ नसक्नुका यिनका हर्कत देखेरै हामी दुई घामवालाका सन्तानहरू यो घामै नलाग्ने भूगोलमा घण्टौं गलफत्ती गर्ने गर्थ्यौं । 

"दाई, के कुराले छुन्थ्यो हो तपाइँलाई यो घाम पार्टीको ?" मैले प्रश्न गरेको थिएँ, कुनैबेला!

"भो, त्यसको कुरै नगरौं, बाबु !" सकभर विगत कोट्याउनै नपरोस् भन्ने लाग्दो हो नी दाई तपाइँलाई ? नत्र किन के कारणले भुतुक्कु हुनुहुन्थ्यो घामपार्टीसँग भनेर मैले सोधीबस्दा, तपाइँ त्यसै टार्न खोज्नु हुन्थ्यो । 

एकदिन अचानक फुत्काउनु पनि भो, "नारा यार भाइ नारा! नारै क्या उज्याला!"

मलाई लागेको कुरा भन्न मैले धक मान्नुपर्ने के थियो र ? मैले भनेको पनि थिएँ, "पार्टी नै घाम भएपछि, नारा त उज्याला हुनै पर्यो नी!"

म त भर्खरको ६ बर्षको हुँदो हुँ जुन बेला १२,१३ वर्षको तपाइँले सुन्नुभएको नारा जुन कण्ठस्थै रहेछ तपाइँलाई अझै ! नहोस् पनि कसरी ? ३५ वर्ष पहिले यति चर्को नारा घन्किएको रहेछ तनहूँका पहाडका तरेलीहरूमा, सुनिदिऔं न हामी पनि फेरि - 

"बेघरबारलाई घर घडेरी, बेरोजगारीलाई काम
जोताहालाई खेतबारी, हेपिएकालाई मान 
सूर्य चिन्हमा मतदान गरौं किरण गुरूङलाई जिताऔं !"

बाफ रे बाफ ! उम्मेदवारको त अझ नाम पनि किरण ! मुखबाट मैले नखुस्काए पनि मनमा मेरो यो लागेको कुरो थियो । तर अहिले यो लेख्न बस्दा फेरि एकपटक मलाई, तपाइँ र म दुबै एउटै पार्टीमा लागेका हाम्रा पिताहरूको नेतृत्वले पूरा गर्न नसकेका उनीहरूका उधारा आश्वासन ती खासमा क्षणिक चटकहरू मात्र थिए भनेर सयौं पल्ट स्वीकार गर्न किञ्चित पछि नहटेकामा गर्व छ । 

बेघरबारलाई यिनले चाहेका भए यी ३५ वर्षमा व्यवस्थित गर्न सक्थे, गरेनन् !
त्यस्तै, स्वदेशमा नै राम्रो रोजगारीको वातावरण भैदिएका भए हामी दुई नै यतातिर त पक्कै हुदैन्थ्यौं होला ? 

साँच्चि ३५ वर्ष पहिले यिनीहरूले लेखेको यी नाराहरू आज यिनीहरूको स्मृतिमा ताजै होलान कि नहोलान् दाई ? आज पनि म केमा विश्वस्त छु भने तीन दशक पहिले उनीहरूले कोरेका नाराको आजीबन आत्मसाथ गर्नुपर्ने अंश उतिबेलै पोलेर खाए, तर जुन अंश उनीहरूले त्यतिबेलैदेखि पुनर्लेखन गर्दै आउनुपर्थ्यो त्यो अंश मात्र शास्त्रको अकाट्य श्लोकजसरी बोकेर आए । नत्र किन ३५ वर्ष पहिलेको उम्मेदवार अहिले पनि संसदिय निर्वाचनमा उम्मेदवार हुनुपर्थ्यो ? किन त्यो किरण पछि किरण अनि किरण फेरि पनि किरण गुरूङ नै हुन्थ्यो होला ? किन रमिला ? सरीता ? सोमबहादुर ? शुके ? उज्जवल या दाजुकै पिता दधिराज भएर फेरिन सकेन होला ? हुन् त नाराको त्यो अन्तिम हरफ फेरिदै आएकै भएपनि दल हाँक्ने मुखियाको सुद्दी नफेरिए पछि देशको अवस्था फेरिन्थ्यो होला र कसरी ?

पुरानो त फेरिएनन्, फेरियौं हैं हामी, बदलिएर आयौं भनेर दावा गरेका एक थरी पुराना फेरि उहि पुरानै पारामा पो छन कि ? भन्ने बिलखबन्दमा छु । तर दाई, यी जो नयाँ भनिएका छन् के ती साँच्चिकै नफेरिएलान् त?  मलाई लाग्दैन् कि यि चुनाव अगाडि जे भनेर देश दौडाहामा थिए, अब बिस्तारै सत्ताको रसस्वादनमा पर्दै गएपछि नफेरिकन उस्तै रहलान् । दुःखद त यो छ कि यी नफेरियुन उस्तै मासुम, निस्कलङ्क र युगिन विचार बोकेका नौजवान नै रहुन् भनेर खबरदारी गर्नेहरू नै यिनका समर्थकका तारो बन्न पुगेका छन् । 

प्रिय राजन दाई, तपाइँ नफर्कने भनेको देश बन्ला त ?
खासमा नबने पनि मलाई खासै फरक पर्दैन्, भन्ने ओठे जवाफ तपाइँले मेरो यो प्रश्नमा दिनै सक्नुहुन्न । 
किन ? तपाइँले प्रश्न सोध्नै पर्दैन् । 
"मैले अब नेपालको समाचार हेर्नै छाडेँ" भन्नुभएको गोडा ३ वर्ष भैसक्यो तपाइँले । हामीलाई थाहा छैन् र तपाइँ कस्तो हुनुहुन्छ भनेर ? सम्चार हेर्ने छाडेको देशको सम्चार तपाइँले घण्टामा १ पटक रिफ्रेश गर्दै हेर्नुहुन्छ ! नत्र भने, प्रत्येक दिन ४, ५ पटक देशको समाचार हेर्ने मैले भन्दा पहिले ३६ वर्षिय सुधन गुरूङले २७ दिन मन्त्री भएर राजीनाम दियो है केटोले भनेर मलाई कसरी भन्न सक्नुहुन्थ्यो तपाइँ ? आकाशवाणी त पक्कै सुन्नुभएन होला ? कि सुन्नु भो ? 

छ्या, यो के लेख्या मैले ? 
यस्तो पनि कुनै ब्लग हुन्छ ? 
२३ अप्रिल, २०२६, २२ः२२

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...