पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."
बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने कर्ममा स्थिरता कायम गरिरहेकै छन् ।
ह्या ! मैले आज यो ब्लगपोष्टमा मित्र लक्ष्मीको बारे किन कोट्याएको होला ? उनको बारे खास त्यस्तो प्रसङ्ग त थिएन् । मैले यो ब्लग लेख्न बस्नुको मुख्य कारण त, मैले केहि महत्वपूर्ण ब्लगका विशेष प्रसङ्गमा उल्लेख गरिराखेको एक नाम, राजन दाईसँग केहि दिन अघि गरेको २ घण्टे लामो फोनवार्ताका क्रममा सधैं झैं हुने उनै राजनैतिक विषयहरूको गहन छलपलपछि केहि त लेख्नुपर्छ मैले भन्ने ठानेर हो नी !
फेरि लेख्न शुरू गरेपछि बेला बेला वाक्यका बिचमा अनायाश लेख्न पुगिने केहि शब्दहरूले केहि न केहि चस्का दिने हुँदा लेखाई कता कता बरालिन पुग्ने हुँदो रहेछ । जस्तो अहिले म महशुस गर्दैछु, म केही लेख्न खोज्दैछु, फेरि माथिल्लो अनुच्छेदको तेस्रो (as per my editor dashboard) हरफमा प्रयोग हुन पुगेको "घण्टे" शब्दले यो ब्लगपोष्टलाई कतै बरालिदिने पो हो कि भन्ने भान कसोकसो गरिरहेको छु । प्रिय राजन दाई, हेर्नुस् हजुरले नमाने पनि अब तपाइँ बिस्तारै बुढो हुनु भो ! मैले एक थोक लेखेको, हजुरले अर्कै थोक पढिदिनु भो भने बर्बादै हुन्छ । थाहा छ हजुरलाई कि हाम्रो २ घण्टे फोन वार्ता हुँदा तपाइँले गरेको फोनको दुई घण्टी पूरै नबज्दै मैले फोन उठाएको ?
"ह्रया यो भाइ पनि कति घण्टे, घण्टा, घण्टी लेखिरहेको होला?" कृपया, यस्तो नसोच्नुस दाई ! मैले आग्रहको यो हरफ यहाँ लेखिरहेछु, तर मलाई थाहा छ तपाइँले माथिल्लो अनुच्छेद पढि भ्याउँदा नभ्याउँदै, मैले यस अनुच्छेदको आरम्भ मैं जे लेखिरहेछु त्यो सोचेर भ्याइसक्नु भो । हुन पनि यो समय घण्टीको छ । घामका कुरा किन सोच्नु र ? कतिपय मान्छे त यसो पनि भन्दा हुन् ! जहाँ सम्म मलाई लाग्दछ, तपाइँ पनि अहिले जे जस्तो भएपनि घण्टीवालाहरूकै शासन हेर्नुपर्छ भन्नेमा हुनुहुन्छ जस्तो कैयौं नेपालीहरू यस्तै सोचाईमा छन् । अनि मैले चाँहि के सोच्दछु ? सोध्नु हुन्न मलाई ?
मलाई नियमित पढ्नुहुने धेरैले थाहा पाउनु भएकै छ कि मेरा पिताजी र घामबिचको साइनो ! त्यस्तै, राजन दाइको पिताजी र घामबिच पनि उस्तै कसिलो साइनो छ । काका त अहिले पनि बहालवाला नगरपिता हुनुहुन्छ । तर दाइको मन घाममा खासै कहिल्यै अडिएन भन्ने मैले बुझेको छु । अडियोस् पनि कसरी ? बर्षमा गोडा दुई महिनाबाहेक जमेर घामको तातो नपाउने देशमा नै राजन दाइले जमेर बसेको १९ वर्ष त पुगिसक्यो होला !
दाई नेपाल छाडेर फिनल्याण्ड आउने तर्खरमा हुँदा भर्खर पृथ्वी लोकमा पर्दापण हुन लागेकाहरूले सात महिना पहिला त हो नेपालको राज्यसत्ताबाट घामवालाहरूलाई हुर्याएर घण्टीवालाहरूलाई चढ्ने वातावरण बनाइदिएको ! घण्टीवालाहरूको सत्तारोहण हुनुभन्दा ठीक छ महिना पहिलेसम्म त घामवालाहरू कै कम्ता रजगज त थिएन् नी सत्तामा ! बोलाइ नसक्नु, चलाइ नसक्नुका यिनका हर्कत देखेरै हामी दुई घामवालाका सन्तानहरू यो घामै नलाग्ने भूगोलमा घण्टौं गलफत्ती गर्ने गर्थ्यौं ।
"दाई, के कुराले छुन्थ्यो हो तपाइँलाई यो घाम पार्टीको ?" मैले प्रश्न गरेको थिएँ, कुनैबेला!
"भो, त्यसको कुरै नगरौं, बाबु !" सकभर विगत कोट्याउनै नपरोस् भन्ने लाग्दो हो नी दाई तपाइँलाई ? नत्र किन के कारणले भुतुक्कु हुनुहुन्थ्यो घामपार्टीसँग भनेर मैले सोधीबस्दा, तपाइँ त्यसै टार्न खोज्नु हुन्थ्यो ।
एकदिन अचानक फुत्काउनु पनि भो, "नारा यार भाइ नारा! नारै क्या उज्याला!"
मलाई लागेको कुरा भन्न मैले धक मान्नुपर्ने के थियो र ? मैले भनेको पनि थिएँ, "पार्टी नै घाम भएपछि, नारा त उज्याला हुनै पर्यो नी!"
म त भर्खरको ६ बर्षको हुँदो हुँ जुन बेला १२,१३ वर्षको तपाइँले सुन्नुभएको नारा जुन कण्ठस्थै रहेछ तपाइँलाई अझै ! नहोस् पनि कसरी ? ३५ वर्ष पहिले यति चर्को नारा घन्किएको रहेछ तनहूँका पहाडका तरेलीहरूमा, सुनिदिऔं न हामी पनि फेरि -
जोताहालाई खेतबारी, हेपिएकालाई मान
सूर्य चिन्हमा मतदान गरौं किरण गुरूङलाई जिताऔं !"

यसमा धेरै प्रतिक्रिया पढ्ने मन छ!
ReplyDeleteअलि विखल बन्दमा पारियो यो पटक। ब्लकको लेखाईर, धेरै समय पछाडिको ब्लग पढ्न पाउँदा धेरै कुरा लेखौं जस्तो लाग्यो तर लेख्ने के हो चाहिँ ठिक्क ठम्याउन सकिन।
ReplyDeleteयो ब्लगमा घाम र घन्टीको प्रतकात्मक रूपमा प्रयोग भएको हुनाले मेरो बुझाइ र चाख भनलल विचार गरे मेरो लागि दुवै अलि आफ्नो चाख भन्दा अलि परको हो कि जस्तो लाग्यो । त्यसैले विषय वस्तुको बारेमा केही पनि नलेखौं भन्ने निर्णय गरियो ।
तर एउटा कुरा चाहिँ लेख्नै पर्छ की, तपाइँले उल्लेख गर्दिनँ भन्दै उल्लेख गरेको साथीले भने अनुसार consistency चाँहि कमसेकम ब्लग लेखन मा राख्नुस्। यो तपाइँको एकदम सबल पक्ष हो । अर्को ब्लग चाँडो पढ्न पाइयोस् ।
हजुर, चाख त छ हजुरलाई पनि तर समस्या उहि राजन दाईको झै हो । मलाई लाग्दैन कोही पनि नेपालीलाई नेपालको राजनीतिबारे चासो नभएको होस्। तर हजुरले छैन भन्नु भएकोले मैले जोड गरिन् सरकार।
Deleteब्लग लेखनमा मलाई यसरी नै सक्रितापूर्वक लाग्न प्रेरित गरिराख्नु होला।
धेरै समय पछिको लेख पढ्न पाउँदा खुसी लाग्यो।राजनीति यस्तो चिज हो जसलाई मन परेपनि नपरेपनि हर दिशाबाट उ घेरिएको हुन्छ चाहे त्यो व्यक्ती, समाज अनि देशको पक्ष वा बिपक्ष जे पनि हुन सक्छ। राजनीतिक सचेतना हुनु सबै व्यक्ती को नैसर्गिक अधिकार पनि हो। चाहे ती केही घटना परिघटना ले उसलाई वितृष्णा नै किन नहोस्। लेख यही परिधि भित्र समेटिएको जस्तो लाग्यो। गजब ।नयाँ लेखको ब्यग्र प्रतीक्षा :)
ReplyDeleteअत्यन्तै प्रेरणादायी टिप्पणीका लागि यहाँलाई हार्दिक आभार। यहाँको सकारात्मक तथा सिर्जनात्मक पृष्ठपोषणले मलाई अझै उत्कृष्ट ब्लग पोस्ट लेख्नका लागि प्रेरणा मिल्नेछ।
Deleteप्रिय लेखक भाइ निराजन तिम्रो ब्लगमा त्यति बेसरी म पनि छाइन्छु होला भन्ने मैले बिरलै सोचेको थिएँ। हो त झन्डै ७०% भन्दा बढीमा केन्द्रित भएछु। जब दुई घण्टाको वार्तालापमा एउटा यस्तो ब्लक बन्यो भने झन्डै ३५ वर्ष घाम र म बीच र मेरो बा बीचको सम्बन्धको बारेमा कुरा खोतल्न पाएको भए सायद भाइलाई ठूलै आपत पर्ने थियो होला। किनकि कि अक्षरमा लेखेर सकिने नै थिएनन्हो😀 घामसँगको सम्बन्ध मेरो मनमा सायद मैले बुझ्ने भएपछि रहँदै रहेन किनकि बाल मस्तिष्कमा यति धेरै ब्ल्याकमेलिङ भएको रहेछ कि जुन नारा आजसम्म पनि मैले जस्ताको तस्तै सम्झेको छु र भाइलाई भने पनि र त्यो नारा बाल मस्तिष्कमाथिको भयङ्कर ठूलो आक्रमण थियो। त्यो आक्रमणको घाइते बालक आज झन्डै जीवनको मध्यभागतिर संघर्ष गरिरहेको छु। साँच्ची त्यो नारा भित्तामा रङ्ग्याउने पात्र एकजना नारायण खनाल हुनुहुन्थ्यो गएको वर्ष म नेपाल जाँदा उहाँलाई पनि भेटेको थिएँ। मैले उहाँलाई देखे पछाडि त झन् मलाई मजा लाग्यो जसले त्यस्तो मिठो नारा भित्तामा पोतेको थियो। त्यही मान्छेको जुत्ता बाट बुढी औंला बाहिर निक्लेका थिए। हामी नारा लेख्नलाई भर्याङ समात्दिने मान्छेको के कुरा भयो र?
ReplyDeleteबाँकी रह्यो घन्टी यानेकी रासोपा यसले नेपाली जनमानस र विदेशमा बस्ने हामी जस्ता नेपालीहरूको लागि साँच्चै नै उत्साह जगाएको छ। त्यही उत्साहका कारण हुनसक्छ मेरा केही साथीहरू नेपाल फर्कनुभएको छ। सदाको लागि भोलि त्यो लिस्टमा यसै ब्लकका लेखक निराजन अनि नि हटाए पछाडि आउने राजन पनि त आउन सक्छ🤣 आशामाथि तुसारापात गरे भोलि घाम र म जस्तै घन्टी र ममा पनि त सम्बन्धको दरार आउन सक्छ। भनिन्छ नि समाजले आफ्नो हैसियत अनुसारको नेतृत्व निर्माण गर्छ। हो हामीले सुदन गुरुङ लाई पनि नेता मान्यौ। गिटी कुट्दा कुट्दै मन्त्री हुनुभएकी एकजना महिला भनेर प्रचारित गरिएकी सीतावादी जसले सम्पत्ति विवरणमा १९ तोला सुन देखाउनुभयो उहाँलाई पनि मान्दिएकै छौं ठिकै छ नि त राम्रो गर कम्तिमा पनि विगतकाले गरेका गल्ती नगर भनिरहेकै छौं। हिजो एमालेले बालमस्तिष्कमाथि प्रहार गर्यो। आज रासोपाले एउटा बुढो मस्तिष्कमाथि प्रहार गर्यो भने आखिर दुवै आक्रमण थिए आक्रमणमा घाइते त आखिर म नै थिए नि त भनेर फेरि अर्को पुस्तालाई भन्नुपर्ने वातावरण अवश्य बनाउने छैनन् भन्ने आशा गरिएको छ।
यसो कुरा सुन्दाखेरि अब त्यो विषयमा पनि कुरा गरेर प्रिय दाईको घामसँगको साइनोबाट उत्पन्न विभिन्न परिस्थितिहरुका बारे अझ विस्तृतमा मनछुने ब्लग लेख्न प्रेरणा पो जगायो दाजुको यो टिप्पणीले। जे होस् यहाँसँगको दोहोरो अन्तरसंवादका कारण मैले कतिपय विषयहरुमा फरक तरिकाले बुझ्ने मौका प्राप्त गरेको छु। त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
Deleteशीर्षक हेर्दा नै यो ब्लग राजनीतिप्रति केन्द्रित छ जस्तो लागेको थियो । तर यो राजनीति भन्दा तत्कालिन नेपाली समाजले सिर्जना गरेको राजनीतिक दल प्रतिको बालमनोविज्ञानमाथि केन्द्रित रह्यो । वास्तवमा तपाईं एमाले नेताको छोरा एमाले, राजन दाई त्यस्तै ! म भने के नेपाली राजनीतिक दलका नारा जस्तै जनताको स्तरले पनि सफलताको सिँढी चढेको भए तपाईंको ब्लग कस्तो हुन्थ्यो होला ? अझ तपाईं र राजन दाई पनि दुवैजना यही देशमा भएको भए बुबाको राजनीतिकै आडमा या आफ्नै बलबुतामा सामाजिक आर्थिक क्रियाकलापमा रहनुभएको भए कस्तो खालको ब्लगको सिर्जना हुन्थ्यो होला ? यही सोच्दैछु ।
ReplyDeleteअब लेखकको लेखकीय गुणको बारेमा त केही भन्नैपर्दैन । तर नेपाली समाजको चेतनाको स्तर जुन खालको छ त्यसले उत्पादन गर्ने नेतृत्व पनि त्यही स्तरको हुन्छ भन्नेमा म ढुक्क छु । अहिलेको नेतृत्वप्रति म त्यस्तो निराश पनि छैन तर हिजो २०६४ पछि जस्तो भयङ्कर उत्साह पनि छैन । आफ्नो उमेरको कारण हो या हिजोको राजनीतिक नाराको उमेरको कारण हो त्यो थाहा भएन । तर तपाईंको लेखनमा चाहिँ परिपक्वता आएको छ ।
प्रतिक्रियाका लागि हार्दिक धन्यबाद गुरू। नजानिँदो तरिकाले कस्तो बुढो हुँदै गएको कुरा झल्याँस्स सम्झाई दिनु भयो, आङ्ग सिरिङ्ग भयो!!!
Deleteदाई, धेरै समय पछिको लेख पढ्न पाउँदा खुसी लाग्यो। तपाइँको लेखनमा जो परिपक्वता र गहिराई छ, त्यो सधैं नै कायम रहोस्। अझै लेख्दै जानुहोस्। धेरै धेरै शुभकामना।
ReplyDeleteधेरै समयपछि भाइको पनि छोटो नै सही सटिक प्रतिक्रिया पढ्न पाइयो। एकदम खुसी लाग्यो। यस्तै माया सदा रहोस्। हार्दिक धन्यवाद प्रिय भाइ।
Delete