Skip to main content

फिनल्याण्डमा काम कसरी खोज्ने ?

फिनल्यान्डमा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि जीवन निर्वाह गर्न जागिर खोज्नु चुनौतीपूर्ण काम हुन सक्छ। यस लेखमा, फिनल्यान्डमा जागिर खोज्ने प्रभावकारी तरिकाहरू र उपलब्ध स्रोतहरूको जानकारी प्रदान गर्ने हिसाबले संक्षेपमा तलको जानकारी प्रस्तुत गरेको छु ।

१. काम खोज्नुअघि विचार गर्नु पर्ने कुराहरू

फिनल्यान्डमा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा काम गर्न अगाडि केही महत्त्वपूर्ण बुँदामा ध्यान दिनु पर्छः

  • काम गर्न पाउने अनुमति: तपाईंको भिसाले कति समय काम गर्न अनुमति दिन्छ भनी सुनिश्चित गर्नुहोस्। सामान्यतयाः अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हप्तामा ३० घण्टासम्म काम गर्न पाउँछन्। तर छुट्टीको समयमा पूर्णकालिन कामदार सरह काम गर्न छुट छ । 
  • भाषा ज्ञान: अंग्रेजी मात्र बोलेर पनि केहि कामहरू त पाइन्छ, तर फिनल्याण्डमा ज्यादातर फिनिश भाषा जान्नेहरूलाई प्राथमिकता दिने गरेको यहाँ आएर काम गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुभव रहेको छ ।
  • जागिरको प्रकार: जागिरको छनोट गर्दा सकभर आफ्नो अध्ययनलाई असर नगर्ने खालका अंशकालीन (part-time) कामहरू चयन गर्न ध्यान दिनुस् । पहिले पहिले एक वर्षको पढाइमा आवश्यक ५५ देखि ६० सम्म क्रेडिट घण्टा पूरा गरेको विद्यार्थीले रोजगारदाताले पूर्णकालिन कामदारका रूपमा कम्पनीमा काम दिएको अवस्थामा पढाइ सक्किनु पूर्व नै कामको भिषाका लागि आवेदन दिन पाउने र त्यस्तो किसिमको भिषा पनि लगभग सबै जसोले पाउने गरेको चर्चा हुने गर्थ्यो । तर पछिल्ला अनुभवहरूले त्यसरी भिषा आवेदन गर्दा भिषा प्राप्त नहुने देखिएको छ । त्यसकारण, सकभर छिटोभन्दा छिटो अध्ययन सक्काउने र यस्तो बेला पार्ट टाइम काम गर्न जोड दिने गर्नु उपयुक्त हुन्छ ।

. जागिर खोज्न सहयोगी स्रोतहरू

२.१ अनलाइन पोर्टलहरू

फिनल्यान्डमा जागिर खोज्ने सबैभन्दा प्रचलित तरिका भनेको अनलाइन पोर्टलहरूमा जागिर खोज्ने हो । यहाँ केही विश्वसनीय वेबसाइटहरू र तीनका सिधा लिंकहरू समावेश गरेको छु । 

  • TE-palvelut: फिनल्यान्ड सरकारद्वारा सञ्चालित रोजगारी सेवा।
  • Oikotie: अंशकालीनदेखि पूर्णकालीन कामसम्मका लागि लोकप्रिय पोर्टल।
  • Jobly: अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपयुक्त कामहरू उपलब्ध।
  • Student Work: विद्यार्थी र नयाँ ग्राजुएटहरूका लागि कामको स्रोत।
२.२ स्थानीय कम्पनीहरूको वेबसाइट

धेरै कम्पनीहरूले आफ्नै वेबसाइटमार्फत रोजगारीका अवसरहरू प्रकाशित गर्छन्। जस्तै केही उदाहरणहरू तल उल्लेख गरेको छु:

  • Wolt: फूड डेलिभरी सेवा, जसले अंशकालीन काम खोज्ने विद्यार्थीहरूका लागि राम्रो अवसर प्रदान गर्दछ।
  • Bolt Works: विभिन्न क्षेत्रका लागि कामदार आपूर्ति गर्ने कम्पनी।

. विश्वविद्यालयको सहयोग

फिनल्यान्डका विश्वविद्यालयहरूले पनि आफ्ना विद्यार्थीहरूलाई रोजगारी खोज्न सहयोग गर्ने सेवाहरू प्रदान गर्छन्। विशेषतः यस्ता सेवाहरूको लाभग्राही फिनिश भाषामा राम्रो पकड राख्न सफल विद्यार्थीहरू हुन आउँछन् । किनभने यस्ता कार्यक्रमहरू विशेषतः फिनिश भाषामा नै सञ्चालन गर्ने गरिन्छ । जस्तै केहि कार्यक्रमहरूः

  • क्यारियर सेन्टरहरू: विश्वविद्यालयको क्यारियर सेवा मार्फत जागिर खोज्ने अवसर प्राप्त गर्न सकिन्छ।
  • नेटवर्किङ कार्यक्रमहरू: कलेज तथा विश्वविद्यालयहरूले विभिन्न समयमा विभिन्न स्थानीय कम्पनीहरूसँग मिलेर मिटअप कार्यक्रमहरू राख्ने गर्छन् । त्यस्ता कार्यक्रमहरूमा विशेषतः स्थानीय कम्पनीका एचआर अधिकृतहरूसँग नेटवर्किङ गर्ने अवसर प्रदान गरिन्छ।

. सामाजिक सञ्जाल र व्यक्तिगत सञ्जाल

  • LinkedIn: विभिन्न कम्पनीहरूले जागिरका लागि आवेदन फाराम भर्दा समेत लिङ्क्डीनको प्रोफाइल लिंक समेत समाविष्ट गर्न अनिवार्य गरेका हुन्छन् । फिनल्यान्डमा पेशागत नेटवर्किङ र काम खोज्नको लागि LinkedIn महत्त्वपूर्ण सोसल साइट मानिन्छ।
  • स्थानीय समुदाय: त्यसका अलावा स्थानीय फिनिश साथीहरू वा समुदायसँग जोडिएर समेत कामको जानकारी पाउन सकिन्छ। 
  • टपरटुइयाँहरूः यदाकदा जागिर मिलाइदिने बहानामा भर्खर भर्खर फिनल्याण्ड आएका विद्यार्थीहरूबाट केहि टपरटुइयाँहरूले आर्थिक फाइदा उठाउने गरेको जनगुनासो सुनिन आएको छ। यसकारण, जागिर पाइने प्रलोभनमा परेर अन्जान ब्यक्तिहरू विशेषतः विभिन्न सामाजिक सञ्जालहरूबाट जोडिन आएका मानिसहरूको भर पर्ने काम गर्नु हुँदैन् ।  त्यतिमात्र हैन, कतिपय नवआगन्तुक चेलीबेटीहरू दूर्नियत भएका ब्यक्तिहरूबाट यौन दुर्व्यवहारको शिकार हुनुपरेको समेत सुनिन्छ । यस्तो बेला त्यस्ता अपराधिक मानसिकता भएका ब्यक्तिहरूकाबारे फिनिश प्रहरीलाई 112 मा कल गरेर वा फिनिश प्रहरीको वेभसाइटबाट रिपोर्ट गरी आवश्यक कानुनी उपचारको बाटो लिनुपर्छ ।

. लोकप्रिय कामहरू

विद्यार्थीहरूको लागि उपयुक्त कामहरूमा फूड डेलिभरी, पत्रपत्रिका वितरण, रेस्टुरेन्ट वा बारमा सहयोगी, सफाइ सेवा, गोदाममा काम, र सानो व्यवसायहरूमा सहयोगी भूमिका गर्ने जस्ता कामहरू पर्छन् ।

. फिनल्यान्डमा काम गर्दा ध्यान दिनुपर्ने बुँदाहरू

  • कर कार्ड (Tax Card): फिनल्यान्डमा काम गर्न कर कार्ड आवश्यक पर्छ। यो Verohallinto बाट प्राप्त गर्न सकिन्छ।
  • कानूनी काम: केवल वैध र दर्ता भएका कम्पनीहरूसँग काम गर्नुपर्छ । अवैघ तरिकाले काम गर्दा शोषणमा परिने मात्र नभै कार्यस्थलमा हुन जाने दुर्घटनाको जोखिमबाट बच्न उपयुक्त सेवाहरू प्राप्त गर्न वञ्चित हुनुपर्ने हुनसक्छ ।

निष्कर्ष

फिनल्यान्डमा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि जीवन निर्वाह गर्न जागिर खोज्नका लागि उपर्युक्त योजना, धैर्य अनि मेहनत आवश्यक पर्छ। अनलाइन पोर्टलहरू, स्थानीय स्रोतहरू, र विश्वविद्यालयको सहयोग लिएर आफूलाई उपयुक्त जागिर खोज्न सकिन्छ। सही जानकारी र स्रोतको प्रयोग गरेर मात्र फिनल्यान्डमा आफ्नो अध्ययन र जीवनलाई सहज बनाउन सकिन्छ।

(updated on 09.01.2025)

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...