Skip to main content

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका
 लोकगायक खड्ग गर्बुजाले आफ्नो 'पिरती' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" 

तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" 
म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्यो, "भाइ, के छ योजना - फिनल्याण्ड नै बस्ने कि नेपाल फर्किने ?" 

उहाँको प्रश्न पूरा नहुँदै, मेरो जवाफ शुरू भैसकेको थियो, "२०१८ डिसेम्बर ३१ । दिन याद गर्नुस् दाई, मेरो नेपाल फिर्तीको दिन !" त्यो के थियो म अहिले जान्दिनँ - प्रश्नानुसारको जवाफ थियो, या मेरो २८ वर्षे युवा जोशको पराकाष्ठा ?  वहाँले पत्याउनुभएन् । दाईसँगै भाउजु पनि हुनुहुन्थ्यो, भाउजुलाई चाँहि सायद विश्वास लाग्यो कि ? फेसबुकमा निकै सक्रिय हुने तिनताका वहाँ दाजैसँग भेट्नुभन्दा पहिल्यै कुनैदिन पोष्टाएको पनि त थिएँ, एउटा स्टाटस जहाँ थियो मेरो नेपाल फिर्तीको दिन अर्थात् २०१८ डिसेम्बर ३१ ! 

नयाँ ठाउँमा आएको एक वर्ष पुगेकै थिएन्, राजन दाईले प्रश्न सोध्दा । आधा वर्ष पनि नपुगेको हुँदो हो म फिनल्याण्ड ओर्लेको मिति नै तोकेर मैले फेसबुकको भित्तो रंगाउँदा । तर यता आएको बार्ह वर्ष पुगिसकेको समय छ जतिबेला तिमीले मलाई यो प्रश्न सोध्यौ । यदि म फेसबुकमै सक्रिय भएको हुन्थेँ भने पनि बुनु, म तिम्रो गहन प्रश्नको जवाफ स्टाटस लेखेर दिन असमर्थ हुन्थेँ । किनकी यो प्रश्न पिरती एल्बमको गीतमा भएको प्रश्नले खोजेको जस्तो सपाट जवाफ दिएर मात्र पुग्ने प्रश्न होईन् । न त यो इश्वी सन् २०१३ को हिउँदमा राजन दाईले सोधेको प्रश्न जस्तो सिधा प्रश्न हो । यो त मेरो मनको जवाफको अपेक्षासहित तिमीले आफ्नो मनदेखि सोधेको प्रश्न हो । दाईलाई लाग्न सक्छ, ए, भाइ के हामीले चाँहि मनको प्रश्न सोध्न जान्दैनौ? मैले स्वीकार गर्नैपर्ने हुन्छ कि तपाइँ हामी जस्ता छोरा मान्छेहरूले खासमा मनको प्रश्न सोध्नै जानेका हुँदैनौं । अनि जवाफ चाँहि ? मनदेखि भन्दा यसको समेत सहि जवाफ मसँग छैन् । 
त्यहि भएर बुने तिम्रो प्रश्नको जवाफ मैले लेखि पठाएथेँ, "You already know my answer"  छोरी मान्छेले झुट बोल्न खासै जान्दैनन्, मलाई यस्तो लाग्छ । त्यसमाथि मलाई बैनीहरू त झन झुटो बोल्छन् भन्ने नै लाग्दैन्, त्यसैकारण तिमीले "I don't, because I don't know mine either" भनेर लेखिपठाउँदा मैले त्यसलाई हार्दिकतापूर्वक स्वीकार गरेको छु । 

अतः मलाई यति भन्न कुनै हिच्किचाहट छैन् कि जो म आज लेख्दैछु, त्यो लेख्दाको क्षणसम्म साँचो छ ।

जो मैले राजन दाईलाई भनेथेँ, त्यो २०१९ को जनवरी पछि सदाको लागि झुटो भैसकेको छ । म त्यसका लागि लज्जित छु । र, क्षमाप्रार्थी पनि । (यो पढ्दै गर्दा दाईले पक्कै मुसुमुसु गर्नुभो म यो लेख्तै गर्दा समेत महशुस गर्न सक्छु ।) एकछिन दाई, म बैनीसँग कुरा गर्दैछु ।

बुनु, तिमीलाई जस्तै मलाई पनि लाग्दैछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै तर तिम्रो मूल प्रश्नको भावना उपप्रश्न बेगर अधूरो भए झैं मेरो यस अनुभूति पनि थप पुष्टाईबिना अपूर्ण छ । मेरो यहि थप प्रष्टतामा राजन दाई अस्पष्टता भेट्नुहुन्छ । वहाँ त्यसलाई त्यति महत्व दिनुहुन्न । जस्तै परदेशबाट स्वदेश फर्केका तिमी हामीजस्ताहरूको भावनाहरूलाई हाम्रा आफन्त, साथीभाई र छरछिमेकहरू दिदैनन् ।  

नेपाल छुट्टी मनाउन जाँदा तिमी, बटौलीकी तिम्री साथीले तिमीसँग अमेरिकी चिजबिजको फरमाइस गरेर एक सूची पठाए झैं , म पनि नेपाल जाने थाहा पाउँदा केहि साथीभाइहरू युरोपियन सामानका फरमाइस लेखि पठाउँथे । अहिले म त्यस्ता फरमाइस पाउँदिन् । किनकी, म फेसबुकमा उपलब्ध छैन् । अर्थात उनीहरूको फेसबुकबाट मेरो फेस हराएको छ । हराएको मान्छेसँग कसैको पनि केहि आश नहुँदो रहिछ कि ? तरपनि जो जसँग सञ्चार सम्पर्कमा रहेँ, ती मध्य धेरै कममा मात्र खास मित्रताको धागो टाँगिएको पाउँछु । उनीहरू जो म खुशी भएको हेर्न चाहन्छन्, तिनीहरू जो मेरो सफलतामा खुशी हुन्छन्, नेपाल आगमनमा मेरो हृदयदेखि स्वागत गर्छन् । तिम्रो बटौलीकी साथी जस्तै केहि साथीहरू मेरा पनि नभएका हैनन्, जो मसँग भेट्नुभन्दा ज्यादा मैले लगिजाने केहि उपाहारका लागि उत्साहित हुन्छन् । 
नौ वर्षपछि बिस्केट जात्राकै मेसो पारेर कत्रो उत्साहसाथ तिमी नेपाल पुगेकी थियौ । तर घर फर्किदाको उत्साह त्यो छोटो बसाईको अवधीभर पनि त कायम हुन सकेन् । हिजो छाडेर जाँदाका साथीसंगत उस्तै नभएको तिमीले पक्कै पनि त महशुस गर्यौ होला । साथीसंगतको के कुरा भयो र ? मलाई त छरछिमेक, इष्टमित्र यहाँसम्मकी परिवारकै सदस्य फरक भएको महशुस हुन्छ । मानाैं कि नाइजेरियाको एक मान्छेले जापानको अर्को मान्छेलाई गिजाको पिरामिडमा भेटेको छ । 

यस्तो किन हुन्छ हँ ? 

भौतिक भेट जस्तो नहुँदो रहिछ कि अभौतिक (भर्चुअल) भेट । पठाउन त मिल्छ रातो मुटुसरी पानको पातको इमोजी तर त्यसले बोकेर नलग्दो रहिछ कि मनदेखिको भावना ? आँशु, हाँसो, नैराश्यता, वैराग्यता, कुण्ठा, आक्रोश सबै भावना बोक्ने इमोजीहरू त छन् नभएका हैनन् तर तिनले किन प्रवाहित गर्न नसकेका हाम्रा साँचा भावहरू ? उसो त कुनै कुनै साथीहरूसँगको संवादमा मैले रिसले रातो भएको अनुहारको इमोजी पठाएपछि त्यो नै अन्तिम वार्तालाप पनि भएकै हो तर मैले रातो मुटुको इमोजी पठाउने गरेका साथीहरूले म हराउँदा पनि किन नखोजेका ?

किन पैसा चाहिँदा मात्र घरबाट सम्झना हुने गर्छ परदेशीहरूलाई?

किन सन्चोबिसन्चो सोध्दैन् कसैले घरदेशबाट?

किन के बित्दैछ परदेशमा साथी तिम्रो भनी सोधी हेर्दैनन् कोही साथी ? 

किन 'घर कहिले आउने' नभनी 'नेपाल कहिले आउने' ? सोध्ने गर्छन् जो बोल्छन् ती हामीसँग नियमित ?

साँच्ची विदेशीनेहरूको के कुनै घरको ठेगाना हुन्छ ? के मसँग मेरो घरको ठेगाना छ ? के तिमीसँग तिम्रो घरको ठेगाना छ ? हामी बसेको भूगोलको यी भिन्न कुनाहरूमा हाम्रै नाम लेखेर प्रेषित पानी, बिजुली, इन्टरनेटका बील, बिमाको प्रिमियम र सबै सबै हाम्रा आर्जित दायित्व या सम्पत्तिका बिलबिजक हामी बस्दै गरेका घरसम्म आइपुगेकै छन् । त्यसो त मेरो बैंक खातासँग जोडिएका डेबिट/क्रेडिट कार्ड पनि त मबस्ने घरको दैलोबाट फुत्त भित्र छिराइदिएका हुन्, डाँकसेवाका कर्मचारीहरूले । हामीबस्ने ठेगाना पछ्याउँदै आउने हाम्रा नामथर र वतनका चिठ्ठीपत्रहरूले हाम्रा घर भेट्टाउँदा समेत हामीले यसमा घर किन नभेट्टाएको होला हगी? अस्ती मैले बाटोमा भेटेको बुढो फिनिस बाजेसँग कुरा गर्दा उनले मलाई किन तिम्रो बसोबास कता छ ? नसोधेर, तिम्रो घर कुन देशमा पर्यो भनी सोधेका ? के तिमीलाई तिम्रो काम गर्ने ठाउँको अमेरिकी साथीले शहरको कुन टोलतिर तिम्रो घर छ? भनेर सोधेकी छिन् ? कि मैले फिनिश बाजेलाई जवाफ दिनुपरे झैं घर हजुर नेपाल पर्यो ।  त्यस्तै, सवाल तिमीलाई पनि पर्यो, बुनू ? 
मन त लाग्दछ नी मलाई पनि काँधको पछाडी मादले झोला भिरेर घरी बोक्दै घरी फ्याँक्दै अनि टिप्दै सिमाना फिलिममा राजेश हमालले जस्तै गुनगुनाएर त्यो कालजयी गीत उकाली ओराली गर्दै.....भर्दै ..... लड्दै .... तर्दै .... परदेशबाट फर्की आएँ, आफ्नै गाउँ फर्की आएँ ...  । मादले झोला त छैन मसँग, त्यो म किन्न सक्छु । गीत गुनगुनाउन मलाई आउँछ नै, परदेशबाट फर्की पनि जान त सकुँला नी भन्ने पनि लागिरहन्छ । गाउँ मेरो नभएको पनि हैन् तर सवाल तिमीले सोधे झै घरको छ बुनू । प्रश्न गाउँको मात्र हैन आफ्नै गाउँको छ । 

लेख्न त मित्र मुक्तिलाई "किन फर्किनुहुन्छ यो देशमा जुन अब देशजस्तो नै कहाँ रह्यो र ?" भन्ने वहाँको प्रश्नको जवाफ दिदैं बिजुली पत्रमा लेखेकै हो मैले, मलाई त्यहि मेवाको स्वादले घर फर्किन मन लागेको छ । मलाई त्यही अभावको प्रभावले मान्छे बन्न सिकाएको छ । यहाँको व्यस्त दुनियाँमा म खासमा रम्न नसकेकै हुँ । म फर्किने विचारमा छु देश, गुरू । मैले भनिरहँदा, हजुरले सुनाउने यथार्थ वयानले फेरि मलाई अलिकति हतास त बनाउँछन् । तर किन किन मलाई देश फर्किन मन छ । तपाइँ जस्तै मन मिल्ने दुई चार छिमेकीहरूसँग मेरो घरको आँगन जोडियोस्, ताकी जीवनका बुढा दिनहरू युवाकालका दिनहरू जस्तै उत्साहपूर्ण रूपमा बिताउन पाइयोस् ।

तर फेरि सवाल त्यहि नै हो बुनू । 

मभन्दा चारबर्ष पहिले फिनल्याण्ड झरेको मेरो मित्र लक्ष्मीले अझै पनि किन ताप्लेजुङको सिनाम गामको याद अर्छन् हो ? उनलाई सिनाममा चिन्ने उनका बा र आमा मात्रै हुनुहुन्छ । अरूले त सायद बिर्सिसके होलान् । 

अनि मभन्दा तीन वर्षपछि फिनल्याण्ड ओर्लेका भाइ बिनोदले किन उतै फर्किन्छु भनि सोचिबसेका हुन् ? 

केहि वर्ष पहिले नै नेपालको एक तर्फी टिकट लिए भनेर नेपाल फर्केका कोही कोही साथीभाइहरू फेरि यतै फर्केका किन होलान् ?
यतै काम धाम भएका मित्र अभिषेक हठात् एकदिन मलाई अन्तिम पटक भेटेर नेपालै कसरी फर्किन् सके होलान् ?

पूर्व घोषणा बमोजिम छ बर्षपहिले नै ढुंगेपालीतिर बसाइँ फर्किसक्नु पर्ने म अझै फिनल्याण्ड मैं बसेर यो ब्लग लेख्दै गरेको किन होला ? 

बुनु, माफ गर मलाई तिम्रो प्रश्नको जवाफ मसँग छैन् । मैले शुरू मैं भनिसकेँ कि तिम्रो प्रश्नले फगत जवाफ मात्र खोज्दैन् । यसले अन्तःस्करणको भाव खोज्छ । मैले कविता लेख्न बिर्सिनै लागिसकेँ । सायद अब मसँग भाव विस्तारै विलिन् हुँदै गएको छ । भावविहीन मानिस र मृत मानिसमा के फरक हुन्छ र ? आखिर मृत मानिसको घरको ठेगाना पनि हुँदैन् । 

Comments

  1. आफु जस्तै मन मिल्ने साथीहरुको आगन छिमेकिहरुको नहुँदा पनि म पनि नेपाल फर्किन नसकेको भुइमान्छे,यो लेख पढदा सारै मज्जा आयो। मुरि मुरि धन्यवाद अर्को उत्कृष्ट लेखको लागि। देसमा बालेन , हर्के जस्ताको उदय ढिला भएकोले पो हो कि या यि हुर्कदै गरेकाहरु पनि निमोठन लागि परेका झुन्ड हरुको हर्कतले मन मृत समान भएको हो , मैले पनि मेसो पाइन।

    ReplyDelete
    Replies
    1. कति मिठो प्रतिक्रिया। 💙 💙 💙

      Delete
  2. निराजन भाइको योपटकको लेख अलि भिन्न प्रकारको आएको रहेछ अलि बढी भावनात्मक भलै मलाई रुखो प्रश्न गर्ने पात्र को रुपमा चित्रित गरेको न किन नहोस् त्यसमा मेरो कति पनि आपत्ति छैन। सन् २०१३ तिर कामको खोजीमा लागेको एक युवक लाग्थ्यो भर्खरै माओवादी क्रान्तिमा होमिएको योद्धा जस्तो उत्साह जाँगर र गरौँ भन्ने हुटहुटी !अनि उसको अनुहारमा मैले म देखेँ। अनि कसरी म म नरहेको अवस्थामा थिएँ सायद त्यसैले हुनसक्छ उसलाई पहिलोपटक सोधे भाइ तिमी नेपाल फर्कने कि यही बस्ने? उसले सहजै उत्तर दियो म नेपाल फर्कने हो। अनि म फिस्स हाँसे अनि यो कहानी यतिमै टुंगियो।
    जहाँसम्म यो भावुक प्रश्न छ यो प्रश्न घर कहाँ हो भन्ने कुराले मलाई पनि विदेश बसाइको १९ वर्षमा धेरै नै अप्ठ्यारो पारेको छ। जुन तिमीलाई अमेरिकाबाट बुनुले पनि सोधेर पठाएकी रहेछिन्। अनि म आफैलाई उत्तर दिन्छु। किन मैले भन्न नसकेको घर त्यो हो जहाँ म र मेरो परिवार छ। के घर हुनलाई त्यही म्याग्दीको हिमाल चाहिन्छ र त्यही म्याग्दीको डाँडा पाखा चाहिन्छ र? चाहिँदैन होला नि ? भाइले किन भन्न नसकेको घर त्यहाँ हो जुन ठेगानामा तिमीलाई भेट्न सकिन्छ? त्यो समस्या निराजन भाइलाई मात्र भएको त कहाँ हो र दुई वर्ष अगाडि म नेपाल जाँदा मेरो घर सँगै जोडिएको परिवारले नचिनेको कहानी त मैले पनि त कहाँ बिर्सेको छु र। खैर मलाई दुःख किन लागेन भने त्यो घरमा मेरो ठेगाना छैन। मेरो ठेगाना हुन्थ्यो त अवश्य उनीहरुले भन्ने थिए तिमी फलना होइनौ ? उनीहरुले भनेनन् र सोधे हजुर को घर कहाँ पर्यो मैले सहजै उत्तर दिएँ। मेरो घर फिनल्यान्ड अनि एकछिन हाँसो पनि भयो। जहाँ मेरो आफ्नो परिचय छैन ठेगाना छैन अनि त्यसलाई म घर कसरी भनु? जहाँ म १९ वर्ष बसेँ। त्यहाँ मेरो ठेगाना पनि छ, परिचय छ। र भाइले भने जस्तै हरेक हप्ता बिल बिजकका पत्रहरु खुत्रुक्क खुत्रुक्क ढोकाबाट झर्छन् पनि अनि मैले मेरो घर फिनल्यान्ड नभनेर तनहु भिमाद हो कसरी भनु। कति दिन आफूले आफैंलाई ढाँटेर बसिरहने? के आफैले आफैलाई ढाटेर सन्तुष्टि लिनुमै मजा हुने हो र? निराजनलाई धेरै धेरै धन्यवाद यस्तो भावुक सटिक र मिठो उल्लेख लेखेकोमा

    ReplyDelete
    Replies
    1. त्यसैले त तपाईँ मेरो दाई हुनुहुन्छ, म तपाईंको भाइ हुन सकेको छु। कस्तो मीठो टिप्पणी दाई!
      उसो त सिभिल होम्सको एउटा विज्ञापन बज्ने गर्थ्यो तिनताका - घर त्यहाँ हो जहाँ मन बस्छ, मन त्यहाँ बस्छ जहाँ सिभिल होम्सको घरहरू छन् । तर विडम्बना यस कम्पनीका मालिक अहिले जेल परेका छन्, मन त उनको सिभिल होम्स कै घरमा बस्ने थियो होला। कतै हामी पनि इच्छाराज तामाङ भएका त छैनौं? कतै हामी पनि जेलमा त छैनौं दाई? 💙 💙 💙

      Delete
    2. हो हामी जेलमा छौँ तर सुधार गृह जस्तो चारैतिर ठूला पर्खालले घेरिएको जेलमा होइन। हामी हाम्रा पारिवारिक माया ममता को एउटा जेलभित्र छौं। जुन जेलमा हामीलाई सधैं माया खुसी सद्भाव र आशीर्वाद रहिरहन्छ।

      Delete
  3. "परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै" This line has the answer........

    ReplyDelete
  4. दाइलाई अब नियमित पढ्न पाइने भयो । त्यसै पनि म दाइको लेखनको प्रशंसक रहँदै आएको छु ।

    साँच्चिकै मजा आयो दाइ ।

    -मीनरज बसन्त

    ReplyDelete
    Replies
    1. धन्यबाद प्यारो भाइ। म लेखन शैलीमा अझ सुधार गर्दै लाने कोशिश गर्दै जानेछु।

      Delete
  5. अहिले हजुरलाई मेवाको बोट, तोरीबारी, अनि भानु मावि आदिको सम्झनाले जति सताएको छ नि ! ति चिजहरू त्यस बखत झै जिवन्त अहिले पक्कै लाग्दैनन् । त्यो परिवेश र अहिलेको परिवेश हाम्रो त्यसबखतको तौल जस्तै गरी फरक परेको हुन्छ । मैले प्राय नेपाली परिवेशको तुलना गरेर यो कुरा गरें । तपाईंलाई बाह्र वर्षमा फरर्किने खोलो जस्तै गरी गाउँ फर्किन मन लागेको, सायद हामी बाह्रै वर्षको हुँदा राजेश हमालले मादले झोला झुण्याउँदै ‘आफ्नै गाउँ फर्की आए’…….गीतको नयँनयाँ सपना सजाउनुभएको छ । तर मैले हिजवआज गाउँमा गाइने किरा भेट्दिन जुनकीरीको प्रकाश भेट्दिन छन त म गाउमै छु तर गाउँको कुनै जिवन भेट्दिन मलाई हिजोआज गाउँ निर्जन लाग्छ निर्जीव लाग्छ । त्यसैले त म फेरि भन्छु प्रिय गुरू . दुखियाको को जाने ठाउँ काँ छ र हामीलाई त जहाँ बस्यो त्यै घर .......

    ReplyDelete
    Replies
    1. मेरो प्यारो गुरू, धेरै धेरै माया अनि धेरै सम्झना पनि। हजार साथीहरु बराबर तपाईं एक काफी लाग्छ, के तपाईं रत्नेचौर बसाइँ आउनु हुन्छ? म भोली नै मादले झोला भिरेर फर्किन्छु। बस् तपाईंको घरको आँगनको एक कुना मेरो घरको आँगनको अर्को कुनासँग जोडिनुपर्यो।

      Delete
  6. कस्तो राम्रो समय सापेक्ष र अर्थपुर्ण विषयको उठान गर्नुभयो दाजु, अनि दाजुको लेखाइ पनि मिठो लाग्यो, पहिलेको भन्दा भिन्न अनि अझ निखरिएको ! अझै येस्तै लेखहरु पढ्न पाईयोस, हामीलाई शुभकामना !!

    ReplyDelete
    Replies
    1. धेरै धेरै माया भाइलाई ।

      Delete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

नांगो नाच, यौनधन्दा र राजधानी

मैले मेरो देशका बारेमा गर्व गर्दा अब गौतम बुद्ध, सगरमाथा, एकसिंगे गैंडा, जैविक विविधताले भरिपूर्ण देश वा जिउँदी देवी कुमारीको नाम लिनुपर्छ जस्तो मलाई लाग्दैन् । हामी अराजकता र उच्छृङ्खलताको सगरमाथा चढिसकेका छौं अब किन फोकटमा अरु अरु बहानामा नेपाली भएकोमा गर्व गर्नु ?! मैले यहाँ उल्लेख गर्न चाहेको सन्दर्भ मेरो पछिल्लो पटकको काठमाडौं भ्रमणको हो । यहाँले बुझिसक्नु भयो होला, काडमाडौं फगत हाम्रो देशको प्रशासनिक वा राजनैतिक राजधानी मात्र रहेन् । त्यो गुण्डाहरुको राजधानी हो, त्यो आन्दोलनकारीको राजधानी हो, हत्या, हिंसा र लुटपाटमा निमग्न अपराधीहरुको राजधानी हो । अनि राजधानी हो त्यो डान्स बारका नाममा नांगै नाच्ने तरुनी र उनीहरुका स्तन, नितम्ब वा हातको एक पटकको स्पर्शका लागि कामातुर बृद्ध सेठ र साहुहरुको पनि । मैले यसपटक यस्ता चार पाँच डान्सबारको भ्रमण गर्न पाएँ कि न जसको कुनै पत्रिका, रेडियो वा टेलिभिजनमा विज्ञापन नै देखिन्छन् न त त्यहाँ हुने कर्तुतका बारेमा तिनै पत्रिका, रेडियो वा टेलिभिजनका हेडलाइनहरु लेखिन्छन वा वाचिन्छन् ! न त ती ठाउँहरुमा समाजमा शान्ति, अमनचयन र सुव्यवस्थाको ठेक्का पाएका ...

एउटा सग्लो रात(कथा)

आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ । सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?” “हजुर ।” मैले जवाफ दिएँ । “म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी । मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?” “धेरै टाढा त हैन, मुस्ताङचोकसम्म पुग्नुपर्ने थियो ।” जवाफमा उसले भनी ।  उसको मुखबाट मुस्ताङचोक फुत्कदाँसाथ ममा नजानिदो उत्साह बढेर आयो । भनेँ – “ए, हो र ? म पनि त मुस्ताङचोक नै जान लागेको नी !” “ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ४०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले खुशी ब्यक्त गरी । मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्...

गेष्टहाउस, यौन ब्यवसाय र कानुन

फोटो गुगल बाट सर्च गरि राखिएको हो । मेरो ख्यालमा हाम्रो नेपाली समाजमा सबभन्दा बढि गलत ढंगले ब्याख्या गरिने विषय केहि छ त, त्यो यौन सम्बन्धि सन्दर्भ नै हुनुपर्छ । मानिसहरू यौनका विषयमा यति गम्भिर देखिन्छन् कि कोही व्यक्तिको कोही युवतीसँग उठबस बढ्न थाल्यो भने मान्छेहरू उनीहरूका विषयमा टिकाटिप्पणी गर्न एकदमै लालयित हुन्छन् । राम्रा/नराम्रा, जायज/नाजायत हरेक किसिमका टिप्पणीहरू हुन पुग्दछन् । अझ कुनै पनि व्यक्ति यौनका मामलामा कमजोर देखियो भने त झन उसको दीनदशा बिग्रयो भन्ने जाने हुन्छ । मानौं उसले यति ठूलो अपराध गरेको छ कि जिन्दगीभर उ क्षमायोग्य मान्छे हुनै  सक्तैन । भन्न त मान्छेहरू भन्छन्, यौन प्राकृतिक कुरा हो । जैविक आवश्यकता हो । र, यसको आवश्यकतालाई कसैले पनि नकार्न सक्तैन । तर मान्छेहरू जब कोहीला ई  यौनका विषयमा खुल्न थालेको पाउँछन् अनि फेरि फरक बन्न पुग्छ, उनीहरूको दृष्टिकोण । अब यौन न त प्राकृतिक कुरा नै हुन्छ न त जैविक आवश्यकता नै । मान्छेहरू यसला ई  सामाजिक संस्कार अनि मूल्य र मान्यतासित जोडेर हेरिदिन्छन् । अरू त अरू एक बलात्कृत नारीको विवशताको समेत खिल्ली उडाउन ...

प्रचण्ड, निशानी, र हामीहरू

' राती दश बजेको आलर्म सेट गर्नु, ठ्याक्कै टाइममा हस्तमैथुन गर्नुपर्छ । '  ब्यक्तिको नाम ट्याग गरेर उनले फेसबुकमा भित्तेलेखन सम्प्रेषण गर्ने गर्थे । उनको भित्तेलेखनमा अंकित ब्यक्ति उनका हितैषी मित्र हुन होइनन् त्यो मेरो सरोकारको कुरो रहेन् । किन्तु, धवलागिरिका पत्रिकाहरूमा स्तम्भकारको परिचय स्थापित गरिसकेका उनको स्तरको ब्यक्तिले फेसबुकमा यस्ता भित्तेलेखनहरू सम्प्रेषण गर्नु कत्तिको उचीत थियो भन्ने मेरो प्रश्न हो ।   पछिल्ला दिनहरूमा एउटा राम्रै चर्चा बटुल्न सफल अनलाइन पत्रिकाहरूमा प्रचण्ड लक्षित लेखहरू मार्फत स्थापित लेखकको परिचय बनाएका उनलाई माथि उल्लेखित उट्पट्याङ यौनजन्य खुराक फेसबुकमा पस्केका कारण केहि फेसबुके साहित्यकारहरूले यौन कविको उपनाम पनि भिरा ई दिए । र, उनी जबरजस्त यौन कविको छवि निर्माणको दिशामा अग्रसर हुन थाले । धन्य अनलाइन पत्रिकाले उनला ई  यौन कवि हुनबाट बचाए, र एउटा परिचय बनाइ दिए- दिल निशानी मगर । निशानीको लेखन शैली विशिष्ट छ । त्यो एकदम जबरजस्त छ । सुन्दर बान्की परेका वाक्य गठन र उस्तै वाचनप्रिय शब्दको छनौटमा उनको शिल्पमाथि डा. गोविन्द भट्टरा ई ...