Skip to main content

फिनल्याण्डका बारे केहि रमाइला कुराहरू

फिनिशहरू लज्जालु हुन्छन् । 

फिनल्याण्डका प्रायः आप्रवासीहरूले फिनिश नागरिकहरूकाबारे बनाएको करिब साझा धारणा हो यो । हुन पनि हत्त न पत्त फिनिशहरू कोहि अपरिचितसँग संवादको आरम्भ गरिहाल्दैनन् । तर रक्सीको नशामा भएका बेला फिनिशहरू जस्तो सामाजिक प्राणी अर्को सायदै कोही हुन्छ । अति नै कुरा गर्नुपर्छ यिनीहरूलाई - मातेको बेला ।  तर यसको अलावा फिनल्याण्ड र फिनिश नागरिकहरूबारे जान्नुपर्ने थुप्रै विषयहरू छन् । जस्तै --

समयको परिपालना 

समयको परिपालना गर्ने सवाल प्रायः विकसित मुलुकहरूमा सामान्य विषय नै हो । तर फिनल्याण्डका हकमा यो अति नै सामान्य विषय हो । कुनै पनि साथीलाई भेट्न तय गरिएको समय होस् या कुनै सेवाप्रदायक कम्पनीले फोन गर्छु भनेर अग्रिम रूपमा जानकारी गराएको समय होस् । त्यो प्रायः गरी ठ्याक्कै समयमैं हुने गर्दछ । कसैलाई पनि कुनै समय दिएपछि वा कसैबाट भेटघाट गर्ने एउटा निश्चित समय लिएपछि समयभन्दा २, ४ मिनेट अगावै पुग्नु राम्रै मानिन्छ । तर दिए या लिएको समयभन्दा ढिला हुनु उक्त ब्यक्तिको अनादर गर्नु सरोबर नै मानिन्छ । तसर्थः समयको परिपालना गर्न सिक्नु फिनिश समाजमा घुलमिल हुनका लागि अनिवार्य शर्त हो । 

दाहिनेतिर उभ्भिने 

फिनल्याण्डमा गाडीहरू दाहिने तिरबाट गुड्छन् । अगाडि गाडिलाई उछिन्नु पर्यो भने पछाडिको गाडिले देब्रेतिरबाट उछिन्ने काम हुन्छ । त्यस्तै मानिसहरू विशेषतः हिड्ने भर्याङ (Escalater) मा कोहि पनि उभ्भिएर नै अगाडि बढ्न चाह्यो भने दाहिनेपट्टि उभ्भिनु अलिखित नियम जस्तै हो, ताकी बढ्ता हतारमा भएको मानिस उभ्भिएको ब्यक्तिको देब्रेबाट अगाडि बढ्न सकोस् । विशेषतः यस्तो दृश्य धेरै भिडभाड हुने किनमेल केन्द्र (सपिङ सेन्टर), र मेट्रो स्टेशनतिर देख्न पाइन्छ । 

अत्याधिक कफि सेवन  

फिनिशहरू अत्याधिक कफि सेवन गर्ने गर्दछन् । त्यो पनि चिनी र दुधविनाको । (उसो त रक्सी, वियर जस्ता पेय पदार्थ पनि उनीहरू विना सितन नै पिउँछन् । हामीहरूको जस्तो कच्याङकुचुङसित रक्सी पिउने गर्दैनन् ।) कफिको हकमा पनि यिनीहरू घर होस् या कार्यस्थल सकभर नियमित कफि सेवन गरिरहन्छन् । कार्यस्थलमा प्रायः कफि छुट्टी भैरहन्छ । शुरू शुरूमा कफि तीतो लागेपनि पिउँदै गएपछि बिस्तारै मीठो लाग्दो रहिछ । अचेल म पनि सकभर विना दुध र चिनीको कफि पिउने गर्छु । यसले एकप्रकारको ताजगी संचार गर्दछ । तर खै किन हो बेलाबखतमा पिउने वियर या रक्सीमा भने सितन छुटाउनै सकेको छैन । 

लाइनमा मिल्ने 

बस बिसौनीमा बस पर्खदै लामबद्द फिनिशहरू (फोटोःरेडइट)

"ब्रो मलाई अलि हतार छ, म जान्छु नि पहिला ल ।?" यतिबिधी हतार यहाँ कसैले पनि गर्दैन, विशेषगरी सेवा लिन जाने ठाउँहरूमा । सामान किन्न जाँदा पसलमा बिल तिर्दा होस् वा सभाहलबाट बाहिर निस्किदा यदि ती ठाउँहरूमा मानिसहरूको लाइन लागेको छ भने हरेकले त्यो लाइनमा आफ्नो पालो पर्खिन नै पर्छ । बस बिसौनी होस या मेट्रो स्टेशन त्यहाँ यात्रुहरू लाइन मिलेर नै भित्र पस्ने या बाहिर निस्किने गर्छन् । त्यसैले, कुनै पनि पसल त्यो क्याफे होस् या औषधी पसल त्यहाँ पैसा तिर्नेको लाइन हुनसक्छ, पहिला राम्रोसँग कुनै लाइन भए नभएको सुनिश्चित गरेर मात्र आफू पनि लामबद्द हुनु पर्ने हुन्छ । 

१८ बर्ष मुनिकासँग संगतै नगर्नू

सामान्यतयाः १८ वर्षभन्दा माथिका ब्यक्तिहरू जसलाई वयस्क भनिन्छ, ती वयस्कहरूले १८ बर्षभन्दा कमका नाबालिग किशोर किशोरीहरूसँग सरसंगत गर्नु उचीत हुँदैन । खासमा, फिनल्याण्डमा १८ वर्षभन्दा मुनिका नाबालिगहरूलाई धुमपान एवं मदिरापानका वस्तुहरू बेच्न पाइँदैन । त्यसैले, यदि पसलेलाई चुरोट या बियर किनेको आफ्नो सेवाग्राही (ग्राहक) १८ वर्षभन्दा मुनिको जस्तो लाग्यो भने उमेर खुलेको परिचय पत्र माग्ने अधिकार हुन्छ । खासमा यस्तो सेवालिने मानिस देखिदा ३० वर्षजत्तिको देखिनुपर्ने हुन्छ, नत्र त्यस्तो अवस्थामा तपै १८ वर्ष माथिकै भएपनि साथमा उमेरखुल्ने परिचयपत्र (Passport, वा Personal Card, वा Driving License) छैन भने उक्त ब्यक्तिले धुमपान र मद्यपानसम्बन्धी सेवा लिनु पाउँदैन । 

उसो त १८ वर्ष मुनिका नाबालिगहरूले धुम्रपान र मदिरापन गरेको देखिन्छ, कानुनतः जुन गर्न पाइँदैन । यस्तो कानुनी व्यवस्थाका बाबजुद पनि केहि गैरजिम्मेवार वयस्कहरूका कारण नाबालिगहरूले धुमपान, मदिरापनका वस्तुहरू पाइरहेका हुन्छन् । यदि कोही वयस्कले नाबालिगहरूलाई यस्तो सुविधा दिएको पत्तो प्रहरीले पायो भने जरिवाना तिर्नुपर्ने हुन्छ । यसकारण पनि वयस्कहरूलाई १८ वर्ष मुनिकाबाट परै बस्नु उचीत हुन्छ । 

भाषा

सामान्यतयाः आप्रवासीहरूको बुझाइमा फिनिश भाषा निकै नै गार्हो भाषा हो भन्ने छ । तर व्यक्तिगत रूपमा मलाई चाँहि यो भाषा गार्हो भन्दा पनि अलि भिन्दै खालको छ भन्ने लाग्छ । स्नातक तहमा अन्तरर्राष्ट्रिय विद्यार्थीहरूका लागि ५ क्रेडिटको फिनिश भाषा अनिवार्य नै छ । आधारभूत तहको भाषा सिक्नका लागि यसले ठूलो मद्दत पुर्याउँछ । फिनिश भाषालाई हामी नेपालीहरूले सजिलो तरिकाले सिक्न सकिन्छ (मेरो नितान्त व्यक्तिगत बुझाई) । विशेष गरी यस भाषाका कतिपय शब्दहरू नेपाली भाषा जस्ता सुनिन्छन् । जसलाई सम्झिनका लागि हामीलाई निकै सहज हुन्छ । र, भाषा सिक्नका लागि पहिलो अनिवार्य शर्त भनेको शब्दार्थ, भावार्थको स्मरण गर्नु नै हो । 

Paras (पारस) सबभन्दा राम्रो 
Pappi (पाप्पी) पुजारी  
Runo (रूनो) कबिता
Muna (मुना ) अण्डा 
Maissi (माइसी) मकै 
Tomaatti (तोमात्ती) गोलभेँडा 
 
यहाँलाई यो पढेपछि कस्तो लाग्यो ? कृपया कमेन्टमा लेख्नुस् है त । अनि साँच्ची कोही फिनल्याण्ड आउँदै हुनुहुन्छ भने वहाँलाई यो ब्लगपोस्टकाबारे बताउन नबिर्सनुस ल । 

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...