एउटा गल्ती, एउटा प्रश्न अनि साइबर जंकीहरू


पहिलो घटना सार्वजनिक हुँदा ती भाइले आफ्नो गल्तीलाई अस्वीकार गरिरहे । सामाजिक संजालमा देखिएका टिप्पणीहरू हेर्दा के बुझिन्थ्यो भने - उनले आत्मालोचित हुनै मानेनन् । यी युवाको वदनियतपूर्ण कर्मसँग एक युवतीको भविष्य जोडिएको थियो । 


उच्च शिक्षा हासिल गर्ने मनोकांक्षा लिएकी ती गाउँले युवतीले यिनै भाइको विश्वासमा परेर रकम बुझाएकी थिइन - उनी विश्वस्त थिइन् - उनको भर्ना हुनेछ । परीक्षाको फाराम भरिनेछ, परीक्षा दिन पाउनेछु । परीक्षापछि के के गर्ने उनका आफ्नै योजनाहरू थिए हुनन, तर जब परीक्षाका लागि प्रवेश पत्र बुझ्न उनी गाउँबाट झरिन् । क्याम्पसमा पुगेपछि उनका आँशुहरू झरे ।  आँशुहरूसँगै उनका सपनाहरू पनि भुँइमा पछारिए, ती कम्तिमा पनि एकवर्षका लागि सम्हालिन नसकिने गरी टुक्रेका सपनाहरू थिए ।  ती गाउँले बैनीसँग आफ्नो गल्तीका लागि उनले माफि माग्न समेत उचीत ठानेनन् । बरू आफ्ना साइबर जंकीका बथान भेला पारेर सामाजिक संजालमा सुनियोजित षडयन्त्रको पाठको रटान लगाइरहे । अहँ उनले सुध्रने अठोट गरेनन् । 

फेरि अर्को उहि प्रकृतीको घटना बाहिर आएको छ । घटनामा उहि भाइ जोडिन पुगेका छन् । यो घटनासँगै सामाजिक संजाल विशेषगरी फेसबुकमा जोडिएका सचेत म्याग्देलीहरूले प्रश्न गर्न थालेपछि, यो विषयलाई म्याग्दीका संचार माध्यमहरूले पनि ठाउँ दिएका छन् । म्याग्दीका अनलाइन मिडियाहरूमा यस घटनाले ठाउँ पाउँदा मलाई आश्चर्य लागेको छ । आश्चर्य यस अर्थमा कि म्याग्देली मिडियाकर्मीहरूलाई खोजी पत्रकारितामा उति धेरै विश्वास छैन । प्रायः (सबै भन्न खोजेको हैन) संचारकर्मीहरूलाई के लाग्छ भने - समाचारले खोज्दै खोज्दै उनीहरूको डेराको ढोका ढकढकाउन आउनुपर्छ । तर यो घटनामा चाँहि सामाजिक संजालमा प्रश्न उठ्नसाथ संचारकर्मीहरू जर्याकजुरूक भए । ती भाइको तस्बीरसहित उनको कर्तुतको जानकारी मिडियामा छरप्रष्टै पारिहाले । गलत गर्ने ब्यक्तिको पनि इज्जत हुन्छ, उसको मानको पनि मनितो राख्दिनु पत्रकारीताको धर्मभित्र पर्छ भन्नेसम्म ख्याल गरेनन् । भोली यहि बेइज्जती सहन नसकेर गल्तीको प्रायश्चितका लागि अकल्पनिय कदम उठायो भने त्यसको जिम्मेवारी कसले लिने ?  प्रश्न अनुत्तरित नै छ । 


अब फेरि मुल प्रसंगमैं फर्कौं, त्यो भाइले यस्तो हर्कत गर्नुका विभिन्न सामाजिक, सांस्कृतिक र आर्थिक कारणहरू छन । पछिल्ला दिनहरूमा नेपाली समाजको चरित्र यसरी क्षयिकरण हुँदैछ कि समाजमा राजनैतिक वा प्रशासनिक जिम्मेवारीमा भएको मानिसले बदनियतपूर्ण काम गरेपनि ऊ समाजको बहिष्करणमा पर्दैन । विभिन्न प्रलोभनमा पारेर सिधासादा मानिसहरूलाई ठग्ने धन्दा समाजमा मौलाउँदो छ । त्यसैको दुष्प्रभावको मसिनो छायाँ त्यो भाइमा पनि पर्यो । दुःखद त के छ भने, हामी प्रायः उनलाई दुत्कारेर सहि बनाउने कोशिस गर्दैछौं । केहि उनका नजिकका भनौंदाहरू चैं - यस्तो भुलचुक त भैहाल्छ नी, भुक्नेहरूलाई भुक्न दे । भन्दै उनलाई झन जब्बर ठग बनाउन सघाउँदै छन् । फलतः भुलचुकका नाममा हुने ठगी संस्कृतिका रूपमा विकास हुने सम्भावना यथावतै छ । यस्तो हुनुको मूल कारण त हामीले जे छौ‌ं त्यो हुनुको नैतिक मूल्यलाई नजर अन्दाज गर्नाले नै हो । बिधार्थी नेताका नैतिक मूल्यहरूलाई कथित बिधार्थी नेताहरूले शिरोपर गर्ने संस्कार बसालिएको हुन्थ्यो भने इस् भाइले यस्तो गम्भीर त्रुटी सायदै गर्ने थिए । 


अझ महत्वपूर्ण विषय त यो छ कि, क्याम्पस स्थापना भएको करिब तीन दशक पूरा हुँदै गर्दा समेत म्याग्दी क्याम्पस पुरातन शैलीमा बामे सर्नुका कारण पनि यस्ता प्रकृतीका घटनाहरू दोहोरिनु कुनै आश्चर्यको कुरो होइन । कुनै एउटा बिधार्थीले भर्ना वा परीक्षा फाराम भर्न, शुल्क बुझाउन समेत स्वंय उपस्थित भएर वा अर्को कोही यस्तै कथित बिधार्थी नेतालाई अगाडि सार्नुपर्ने स्थितीको अन्त्य गर्नै नसकिने हो र ? डिजिटल भुक्तानीका विभिन्न माध्यमहरू एवं फारामका लागि समेत अनलाइन प्लेटफर्महरू (निशुल्क, सशुल्क) उपलब्ध रहेको स्थितिमा के क्याम्पस प्रशासन ती सुविधाहरू प्रयोग गर्न असमर्थ हो ? क्याम्पस सञ्चालक समितिमा रहेका युवाहरू अनुहारका मात्र युवा हुन् या सोंचका पनि ? कि ती युवा दिमागले इस् भाइले शुरूमै गरेको गल्तीपछि यस्ता त्रुटी नहुन दिन के गर्न सकिन्थ्यो ? भन्ने सोच्नै भ्याएन ! 


भनिन्छ, हरेकले सिक्नकै लागि गल्ति गर्ने छुट हुँदैन । इस् भाइको गल्तीबाट बिशेष गरी बिधार्थी नेता हुँ भनेर क्याम्पस प्राङ्गणमा असनको साढेंका झैं लिला देखाउने भाइहरूले सिक्नु जरूरी छ - अबको समयको नेता इमानले बनेको हुन्छ । बेइमान, ठग, चाकडीबाजको विशेषता नेताको हैन दलालको हो । नेता त्यो हो - जसले आफ्ना नागरिकका आँशुमा आफ्नो तस्बीर देख्तछ, र तिनका आँखा पुछिदिन्छ ताकी उनका नानीमा आफ्नो गर्विलो तस्बीर देखियोस् । दलालले चैं नागरिकका आँशुमा समेत अवसर देख्दछ । चेपारे भाषामा आम मानिसहरूलाई - मनका वह बगाउन अझ धेरै रूनुपर्छ भनेर उक्साउँदै उसले आँशुको व्यापार हुने बजार खोजेको हुन्छ । नेता बन्ने कि दलाल छनोट आ-आफ्नै !



Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)