Skip to main content

भ्यूटावर, लामा झोलुंगे पुल र बालबाग

बेनी कालीपुलस्थित भ्युटावर तस्वीर: प्रकाश शर्मा
विकासका योजनाहरू कसरी बनाइन्छन् ? यीनका छनौटहरू कसरी गरिन्छन् होला ? ती विकासका योजनाहरूको अपरिहार्यताको पुष्टी कसरी गरिन्छ होला ? भन्ने प्रश्नहरूले मलाई सधैं नै घच्घचाइरहन्थे । तर पछिल्ला २/४ वर्षदेखि नेपालका सन्दर्भमा हुने विकासका योजनाहरूका बारे सुन्दै, देख्दै र भोग्दै आएपछि मलाई लाग्न थाल्यो - यो त नेताको सनकको विषयमात्र रहेछ । जस्तो - कोही उड्डयन मन्त्रीले ठूलो फराकिलो चौर देख्यो - उसको दिमागमा विमानस्थलबाहेक त्यो चौरमा बन्न लायक अर्को कुनै योजना हुँदैन् । कुनै सांसदले एउटा खोला देख्यो - उसको मगजले त्यहाँ बढीमा देख्ने ठूलो सपनाभनेको मोटर गुड्ने पुल नभए एउटा झोलुंगे पुल । र, कुनै मेयरले बालुवाका वगरमा क्रसर उद्योगबाट पैसा उठाउने बाहेक अर्को कुरामा ध्यान दिन सक्दैन । नेताको सनकका अगाडि योजनाको आवश्यकता, औचित्य र महत्वका बहस निरर्थक रहने हाम्रो देशको बिडम्बनापूर्ण व्यवस्था बन्न गएको छ । यो सनकले भरिपूर्ण बिडम्बनाको गाडी काठमान्डुको सिंहदरबारबाट पूर्व-पश्चिम राजमार्ग भएर त्यसका सहायक मार्गहरूलाई पछ्याउँदै गाउँ गाउँका सिंहदरबारसम्म पुग्दो क्रममा छ । 

केहि हप्ताअगाडि कता कताका शहरबजारका चोकहरूमा कंक्रिटका फूलहरू फुलेका तस्बीरहरूले आँखा नबिझाएका पनि होईनन् तर आफ्नै जिल्लातिर पनि सनककै भरमा भैरहदै गरेका विकासका केहि कामहरूबारे थाहा पाउँदा मुटु भक्कानिएर आएको छ । पर्वत सदरमुकाममा वरपरका बस्तीहरूलाई सदरमुकामसँग जोड्नका लागि झोलुङ्गे पुलहरू बनाइयो, जुन लामा र अग्ला स्थानमा बन्न पुगे । स्वभाविकरूपमा कालिगण्डकीको खोंचमा झोलुंगेपुल हालिएपछि ती डेढदुइ सय मिटर लामा र नदिको किनारबाट सय डेढसय मिटर अग्ला स्थानमा हुने नै भए । मुस्ताङ घुम्नजाने पर्यटकले साहसिक खेलहरू बन्जी जम्प गर्ने सुविधा कुश्मामै पाएपछि एकदिन त्यही बास बसेर बजारकै छेउमा भएका लामा, अग्ला पुलमा सेल्फी खिच्न पुग्ने नै भए तर त्यही देखेर रत्नेचौर - कुँडुले झोलुंगे पुलको महत्व/आवश्यकतालाई पुष्टी गर्न त सकिदैन होला । जुन बस्ती भएर कालोपत्रे सडक गएको छ त्यही बस्तीलाई जोड्न हालिने झोलुंगेपुलको महत्व कसरी दर्शिन्छहोला ? त्यहाँ हालिने पुल भएर दिनमा कति जना मान्छे बजार भर्न जाने होलान् ? सोच्दासोच्दा म तीन छक छु । रत्नेचौर भकुण्डे क्षेत्रमा दुरागामी महत्व राख्ने रत्नेचौर-भकिम्ली- बरंजा सडक कालोपत्रे योजना जति प्रशंसनीय र स्तुतीय छ त्यसको ठीक विपरित रत्नेचौर - कुँडुले झो.पु को योजना आलोचनायोग्न छ । गाउँघरमा परेको योजनाको पनि विरोध गर्ने हो ? सकारात्मक हुनुपर्छ भन्ने तपाइँहरूको मत हो भने, पख्नुस् - मलाई अझ एउटा चिन्ता छ - कुँडुलेका मकैबारीमा झुत्ती खेल्ने रातचाके बाँदरका झुण्ड यहि पुल भएर रत्नेचौरका बारीका मकै सखाप पार्न आउने त होइनन् ? 

उसो त योजना छनोटको त्यो भन्दा दश गुणा हास्यास्पद त बेनी बजारको पनि होचो स्थानमा अवस्थित कालिपुलमा कालीगण्डकी माथि हालिएको पुरानो पुलको ढुंगे खम्बालाई आठ दश लाख खर्च गरी मर्मत गरेर भ्यूटावर बनाउने बारे बेनी नगरपालिकाको एउटा वार्डको योजनाबारे थाहा पाउँदा कति सचेत नागरिकहरूको हंसले ठाउँ छाडिसकेको नै छ । फेरि केहि मानिसहरू कस्ता हुन्छन् भने विकासको काम जस्तोसुकै होस् त्यसकाबारे आलोचना गरिनुहुन्न भन्ने मान्यता राख्छन् । उनीहरूले पढ्ने विकासका किताबहरूमा दीगोविकासको अध्याय नै हुँदैन । विकासको औचित्य भन्ने पाठको चाँहि पाना च्यातिएकाले त्यसबारे उनीहरू त्यति भेउ पाउँदैनन् । अतः म जस्तो विकासका सबै योजनाहरू विनाशर्त कार्यान्वयन योग्य रहँदैनन् भन्ठान्ने मनुवाहरू उनीहरूका लागि नकारात्मकताको मात्र प्रचार गर्ने मानिस बन्न पुगेका छौं । अतः अलिकति सकारात्मक भएर सोच्दा यो भ्युटावरको पनि राम्रो उपादेयता चाँहि देखिदो रहेछ । यो पढ्दै गर्दा तपैंलाई लाग्न सक्ला - त्यस्तो होचो ठाउँमा हुने १५ मिटर अग्लो भ्यूटावरको उपादेयताचाँहि के ? यसो सोच्नुस् त - चार पाँच वर्ष अगाडि नै खुला दिशापिसाबमुक्त जिल्ला घोषणा भएको हाम्रो जिल्ला सदरमुकामको खोलाकिनार के साँच्चै दिशापिशाबमुक्त छन् त? यदि तपाइँको जवाफ - कहाँबाट हुनु ? भन्ने हो भने, बुझ्नुस् ती अटेरीमान्छेहरूको निगरानीका लागि त्यो भ्यूटावर आवश्यक छ । बरू वार्डध्यक्षलाई कसैले थप ज्ञान पनि दिने कि - टावर रूँघ्ने एउटा मान्छेको आवश्यकताको विज्ञापन निकाल्नुस्, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम हुन सक्छ भने वार्डध्यक्ष बेरोजगारी उन्मुलन कार्यक्रम किन नबनाउने ? 

नगरपालिकाका बजेटले बालबालिका खेल्ने स-साना बाल बाग बनाउन नमिल्ने हो ? नगरबासीहरू टहल्न जाने बगैंचा बनाउन नमिल्ने हो ? पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत शिशु स्याहार केन्द्र, युवाहरूका लागि हलभित्र खेल खेल्न मिल्ने भवन, सार्वजनिक पौडी पोखरी, महिला शसक्तिकरणका योजनाहरू, जातिय विभेद निर्मुल पार्ने कार्यक्रमहरू गर्न नपाइने हो ? कि हाम्रा लागि विकासको परिभाषा समकालिन विश्वका बुझाईहरूभन्दा फरक हुन ? हामीले अलि माथि, अलि फरक, अलि बढी सृजनात्मक विकासका योजनाहरू बनाउनै नसक्ने हौं त ?

#Myagdi #Beni #Viewtowers

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...