Skip to main content

भ्यूटावर, लामा झोलुंगे पुल र बालबाग

बेनी कालीपुलस्थित भ्युटावर तस्वीर: प्रकाश शर्मा
विकासका योजनाहरू कसरी बनाइन्छन् ? यीनका छनौटहरू कसरी गरिन्छन् होला ? ती विकासका योजनाहरूको अपरिहार्यताको पुष्टी कसरी गरिन्छ होला ? भन्ने प्रश्नहरूले मलाई सधैं नै घच्घचाइरहन्थे । तर पछिल्ला २/४ वर्षदेखि नेपालका सन्दर्भमा हुने विकासका योजनाहरूका बारे सुन्दै, देख्दै र भोग्दै आएपछि मलाई लाग्न थाल्यो - यो त नेताको सनकको विषयमात्र रहेछ । जस्तो - कोही उड्डयन मन्त्रीले ठूलो फराकिलो चौर देख्यो - उसको दिमागमा विमानस्थलबाहेक त्यो चौरमा बन्न लायक अर्को कुनै योजना हुँदैन् । कुनै सांसदले एउटा खोला देख्यो - उसको मगजले त्यहाँ बढीमा देख्ने ठूलो सपनाभनेको मोटर गुड्ने पुल नभए एउटा झोलुंगे पुल । र, कुनै मेयरले बालुवाका वगरमा क्रसर उद्योगबाट पैसा उठाउने बाहेक अर्को कुरामा ध्यान दिन सक्दैन । नेताको सनकका अगाडि योजनाको आवश्यकता, औचित्य र महत्वका बहस निरर्थक रहने हाम्रो देशको बिडम्बनापूर्ण व्यवस्था बन्न गएको छ । यो सनकले भरिपूर्ण बिडम्बनाको गाडी काठमान्डुको सिंहदरबारबाट पूर्व-पश्चिम राजमार्ग भएर त्यसका सहायक मार्गहरूलाई पछ्याउँदै गाउँ गाउँका सिंहदरबारसम्म पुग्दो क्रममा छ । 

केहि हप्ताअगाडि कता कताका शहरबजारका चोकहरूमा कंक्रिटका फूलहरू फुलेका तस्बीरहरूले आँखा नबिझाएका पनि होईनन् तर आफ्नै जिल्लातिर पनि सनककै भरमा भैरहदै गरेका विकासका केहि कामहरूबारे थाहा पाउँदा मुटु भक्कानिएर आएको छ । पर्वत सदरमुकाममा वरपरका बस्तीहरूलाई सदरमुकामसँग जोड्नका लागि झोलुङ्गे पुलहरू बनाइयो, जुन लामा र अग्ला स्थानमा बन्न पुगे । स्वभाविकरूपमा कालिगण्डकीको खोंचमा झोलुंगेपुल हालिएपछि ती डेढदुइ सय मिटर लामा र नदिको किनारबाट सय डेढसय मिटर अग्ला स्थानमा हुने नै भए । मुस्ताङ घुम्नजाने पर्यटकले साहसिक खेलहरू बन्जी जम्प गर्ने सुविधा कुश्मामै पाएपछि एकदिन त्यही बास बसेर बजारकै छेउमा भएका लामा, अग्ला पुलमा सेल्फी खिच्न पुग्ने नै भए तर त्यही देखेर रत्नेचौर - कुँडुले झोलुंगे पुलको महत्व/आवश्यकतालाई पुष्टी गर्न त सकिदैन होला । जुन बस्ती भएर कालोपत्रे सडक गएको छ त्यही बस्तीलाई जोड्न हालिने झोलुंगेपुलको महत्व कसरी दर्शिन्छहोला ? त्यहाँ हालिने पुल भएर दिनमा कति जना मान्छे बजार भर्न जाने होलान् ? सोच्दासोच्दा म तीन छक छु । रत्नेचौर भकुण्डे क्षेत्रमा दुरागामी महत्व राख्ने रत्नेचौर-भकिम्ली- बरंजा सडक कालोपत्रे योजना जति प्रशंसनीय र स्तुतीय छ त्यसको ठीक विपरित रत्नेचौर - कुँडुले झो.पु को योजना आलोचनायोग्न छ । गाउँघरमा परेको योजनाको पनि विरोध गर्ने हो ? सकारात्मक हुनुपर्छ भन्ने तपाइँहरूको मत हो भने, पख्नुस् - मलाई अझ एउटा चिन्ता छ - कुँडुलेका मकैबारीमा झुत्ती खेल्ने रातचाके बाँदरका झुण्ड यहि पुल भएर रत्नेचौरका बारीका मकै सखाप पार्न आउने त होइनन् ? 

उसो त योजना छनोटको त्यो भन्दा दश गुणा हास्यास्पद त बेनी बजारको पनि होचो स्थानमा अवस्थित कालिपुलमा कालीगण्डकी माथि हालिएको पुरानो पुलको ढुंगे खम्बालाई आठ दश लाख खर्च गरी मर्मत गरेर भ्यूटावर बनाउने बारे बेनी नगरपालिकाको एउटा वार्डको योजनाबारे थाहा पाउँदा कति सचेत नागरिकहरूको हंसले ठाउँ छाडिसकेको नै छ । फेरि केहि मानिसहरू कस्ता हुन्छन् भने विकासको काम जस्तोसुकै होस् त्यसकाबारे आलोचना गरिनुहुन्न भन्ने मान्यता राख्छन् । उनीहरूले पढ्ने विकासका किताबहरूमा दीगोविकासको अध्याय नै हुँदैन । विकासको औचित्य भन्ने पाठको चाँहि पाना च्यातिएकाले त्यसबारे उनीहरू त्यति भेउ पाउँदैनन् । अतः म जस्तो विकासका सबै योजनाहरू विनाशर्त कार्यान्वयन योग्य रहँदैनन् भन्ठान्ने मनुवाहरू उनीहरूका लागि नकारात्मकताको मात्र प्रचार गर्ने मानिस बन्न पुगेका छौं । अतः अलिकति सकारात्मक भएर सोच्दा यो भ्युटावरको पनि राम्रो उपादेयता चाँहि देखिदो रहेछ । यो पढ्दै गर्दा तपैंलाई लाग्न सक्ला - त्यस्तो होचो ठाउँमा हुने १५ मिटर अग्लो भ्यूटावरको उपादेयताचाँहि के ? यसो सोच्नुस् त - चार पाँच वर्ष अगाडि नै खुला दिशापिसाबमुक्त जिल्ला घोषणा भएको हाम्रो जिल्ला सदरमुकामको खोलाकिनार के साँच्चै दिशापिशाबमुक्त छन् त? यदि तपाइँको जवाफ - कहाँबाट हुनु ? भन्ने हो भने, बुझ्नुस् ती अटेरीमान्छेहरूको निगरानीका लागि त्यो भ्यूटावर आवश्यक छ । बरू वार्डध्यक्षलाई कसैले थप ज्ञान पनि दिने कि - टावर रूँघ्ने एउटा मान्छेको आवश्यकताको विज्ञापन निकाल्नुस्, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम हुन सक्छ भने वार्डध्यक्ष बेरोजगारी उन्मुलन कार्यक्रम किन नबनाउने ? 

नगरपालिकाका बजेटले बालबालिका खेल्ने स-साना बाल बाग बनाउन नमिल्ने हो ? नगरबासीहरू टहल्न जाने बगैंचा बनाउन नमिल्ने हो ? पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत शिशु स्याहार केन्द्र, युवाहरूका लागि हलभित्र खेल खेल्न मिल्ने भवन, सार्वजनिक पौडी पोखरी, महिला शसक्तिकरणका योजनाहरू, जातिय विभेद निर्मुल पार्ने कार्यक्रमहरू गर्न नपाइने हो ? कि हाम्रा लागि विकासको परिभाषा समकालिन विश्वका बुझाईहरूभन्दा फरक हुन ? हामीले अलि माथि, अलि फरक, अलि बढी सृजनात्मक विकासका योजनाहरू बनाउनै नसक्ने हौं त ?

#Myagdi #Beni #Viewtowers

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...