Skip to main content

ए पत्रकार, मलाई भनिदेउन् कि अनास अरेमेयाब अनास गलत छैनन्

विभिन्न व्यक्तिहरूका नितान्त निजी विषयहरूमा अनेक भातीका प्रश्नहरूले आक्रमण गर्ने, सम्बन्धित व्यक्तिको एक अभिव्यक्तिको अनेक अतिरञ्जनापूर्ण विश्लेषण गर्ने, र अनेक थरीका सस्ता शीर्षकहरू राखेर युट्युबमा भिडियो सामाग्री सम्प्रेषण गर्नेहरूलाई मेरा एक मित्र “सम्चारको बेपार गर्ने युट्युबे बुङ्गाहरू” संज्ञा दिनुहुन्छ । ती मित्रले बुङ्गा भन्नुको तात्पर्य के हुन सक्थ्यो ? म उति गम्भीरतापूर्वक लिँदैनथेँ । तर हालै आफ्नै जिल्लातिर केही युवाहरू क्यामेरा लिएर पत्रकारिताको लिगलिगेमा कुदिरहेको देखेपछि, बुङ्गाको अर्थको भेउ पाउन थालेको छु । बुङ्गा अर्थात् चिन्तन मनन गर्ने क्षमता गुमाएका व्यक्ति । अझै यसो पनि भन्न सकिएला कि चिन्तन मनन गर्ने बानी नै नभएका व्यक्ति ।

घानाका खोजमूलक पत्रकार अनास अरेमेयाब अनास (Anas Aremeyaw Anas) पत्रकारिता परिणाममुखी हुनुपर्ने बताउँछन् । आफ्नो अनुसन्धानमूलक पत्रकारीताका माध्यमबाट १०० भन्दा बढी न्यायधिसहरूलाई जागिरबाट हात धुन बाध्य पार्ने ल्याकत राख्ने पत्रकार अनासका अनुसार कुनै पनि पत्रकारको पत्रकारिता उसको आफ्नै समुदायलाई सबभन्दा प्रगतिशील तरिकाले प्रभाव पार्ने हुनुपर्छ । तर हाम्रा गाउँघरतिरको पत्रकारितामा अनासले परिभाषित गरे अनुसारको अभ्यास पाइँदैन । अरू त अरू अनासकै बिचारलाई सापेक्षिक रूपमा ग्रहण गर्ने क्षमतासमेत केही पत्रकार मित्रहरूमा नरहेको पाउँदा म बडो विस्मयपूर्वक उनीहरूलाई प्रेम गरिरहेछु । सायद मैले उनीहरूप्रति प्रेमभन्दा बढी दया भावले हेरेको हुँ । दया यसर्थमा कि समकालीन समाजको सबभन्दा पिछडिएको चिन्तनका सन्निकट पत्रकारिताको अभ्यासकर्ताहरूमा भेटेपछि उनीहरूप्रति टिठलाग्दो प्रेम जाग्नु अस्वाभाविक पनि हैन ।

मूल कुरोमा प्रवेश गरूँ, हालैका दिनहरूमा नाबालिग किशोरीहरूसँगको अन्तरङ्ग सम्बन्ध कायम गर्न पुगेका विशेषतः केही सार्वजनिक छवि बनाएका प्रतिष्ठित भनिएका पुरुषहरूका विरोधमा किशोरीहरूले एकेक गर्दै बलात्कारको मुद्दा दर्ता गर्न थालेपछि स्वभावतः नेपाली समाज दुई धारमा बाँडिएको अवस्था जो छ। एक धार छ, जो अलि पुरातन सोचको पृष्ठपोषण गर्छ । त्यो समूहमा केही सङ्ख्यामा महिलाहरू पनि छन् जो स्वयं पुरुष अहंको रागमा आफैँ सम्पूर्ण रूपले समाहित भएको छ, जो केटीहरू केटाहरूका मनोरञ्जनका साधनहरू हुन् भन्ने‌‌ बुझाईमा बिश्वास राख्दछन् । उनीहरूको बुझाइमा नारीहरू घ्यु हुन् र पुरुषहरू आगो । घ्युको धर्म पग्लिनु हो, आगोमा समाहित हुनू हो । र, आगोको धर्म खरानी पार्नु हो । कुनै पनि समाजमा दुई विपरीत विचारहरू हुनू अनौठो हैन तर सबभन्दा पच्छ गामी सोचको प्रतिनिधित्व गर्ने खरानी समूहको खरानी टपक्कै टिपेर ललाटमा पहिरिएर उक्त विचारको प्रवक्ता भइटोपल्ने जोसुकै पत्रकारसँग पनि मेरो बहस हुन्छ, हुनेछ ।

कानुनतः १८ वर्षभन्दा मुनिका केटीहरूसँग बालिग युवाहरूले यौन सम्बन्ध कायम गर्न नमिल्ने प्रचलन आम तवरमा धेरै मुलुकहरूमा प्रबन्ध भएको विषय हो । र, हाम्रो देशको हकमा पनि यो कानुनतः व्यवस्थित नियम भएकाले यसको परिपालना गर्नु सबै नागरिकहरूको अनिवार्य दायित्व हो । चाहे तपाईँ पत्रकार हुनुस् या अधिवक्ता, प्राध्यापक हुनुस् या प्रधानमन्त्री । तर, कानुनको बर्खिलाप गरी पीडितलाई झन् पीडित हुने गरी नाबालिगका कारण प्रतिष्ठित मानिसहरू फसेका हुन् भन्ने सोचको जबरजस्त निर्माण गर्नमा जब एउटा सचेत भनिएको पत्रकार नै कम्मर कसेर लागिपर्छ अनि मलाई उसप्रति दयाभन्दा ज्यादा क्रोध जागेर आउँछ र प्रश्न गर्न मन लाग्छ,
ए पत्रकार तिम्रो चेतनाको स्तर यति हो ?

ए पत्रकार तिम्रा आफ्ना नाबालिग महिला नातेदारमाथि यस्तै प्रकृतिको घटना घट्दा तिम्रो बुझाई यहीँ तहमा नै सीमित हुन्छ ?
ए पत्रकार तिमीले समाजलाई आफ्ना सृजनशील विचारले नवीन मार्गमा डोर्‍याउने हो या समाजमै उपलब्ध मुफतको पुरातन मान्यताले तिम्रो चिन्तनलाई मार्ग निर्देश गर्ने हो ?
ए पत्रकार, मलाई भनिदेउन् कि अनास अरेमेयाब अनास गलत छैनन् भनेर । भनिदेऊ कि तिमी पनि अब त अनासकै मार्गमा आउनेछौ ।

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...