प्रचण्ड, निशानी, र हामीहरू

'राती दश बजेको आलर्म सेट गर्नु, ठ्याक्कै टाइममा हस्तमैथुन गर्नुपर्छ ।'  ब्यक्तिको नाम ट्याग गरेर उनले फेसबुकमा भित्तेलेखन सम्प्रेषण गर्ने गर्थे । उनको भित्तेलेखनमा अंकित ब्यक्ति उनका हितैषी मित्र हुन होइनन् त्यो मेरो सरोकारको कुरो रहेन् । किन्तु, धवलागिरिका पत्रिकाहरूमा स्तम्भकारको परिचय स्थापित गरिसकेका उनको स्तरको ब्यक्तिले फेसबुकमा यस्ता भित्तेलेखनहरू सम्प्रेषण गर्नु कत्तिको उचीत थियो भन्ने मेरो प्रश्न हो ।  

पछिल्ला दिनहरूमा एउटा राम्रै चर्चा बटुल्न सफल अनलाइन पत्रिकाहरूमा प्रचण्ड लक्षित लेखहरू मार्फत स्थापित लेखकको परिचय बनाएका उनलार्इ माथि उल्लेखित उट्पट्याङ यौनजन्य खुराक फेसबुकमा पस्केका कारण केहि फेसबुके साहित्यकारहरूले यौन कविको उपनाम पनि भिरार्इदिए । र, उनी जबरजस्त यौन कविको छवि निर्माणको दिशामा अग्रसर हुन थाले । धन्य अनलाइन पत्रिकाले उनलार्इ यौन कवि हुनबाट बचाए, र एउटा परिचय बनार्इदिए- दिल निशानी मगर ।
निशानीको लेखन शैली विशिष्ट छ । त्यो एकदम जबरजस्त छ । सुन्दर बान्की परेका वाक्य गठन र उस्तै वाचनप्रिय शब्दको छनौटमा उनको शिल्पमाथि डा. गोविन्द भट्टरार्इ पनि प्रश्न गर्न असमर्थ होलान् । तर दुःख लाग्दो कुरो, निशानीको लेखन एकपक्षिय छ । प्रचण्ड लक्षित छ । भलै, लेखमा प्रचण्डलार्इ गालि नगरिएको होस् तर निशानीका लेखका प्रत्येक वाक्यहरूमा प्रचण्डको भत्सर्ना गरिएको छ । प्रचण्डलार्इ यस्तो ब्यक्तिका रूपमा चित्रित गरिन्छ मानौ कि निशानीले खादैँ गरेको खानामा नुन बढि भो त्यहाँ प्रचण्डको क्रुरर हत्कण्डा छ । निशानीलार्इ धेरै भोक लाग्नुमा प्रचण्डको दाउपेच छ । समग्रमा भन्नुपर्दा, निशानीले जे जे नभोग्नु पर्ने थियो त्यो सब प्रचण्डको कारणले घटित भएका हुन ।

साउदीको गर्मीको उखुममा रूकुमको शुके मगरले खरबुज रोप्ने खाल्डो खन्दै छ, खाल्डो शुके मगरको पसिनाले निथ्रुक्क छ, अनि हाम्रा निशानी भार्इको चित्त दुख्तछ । दुखेको चित्तले हिसाब निकाल्न थाल्दछ – जनयुद्दमा उनीसँगै हिडेका तंग्रामका शहादत प्राप्त कुनै मगर युवाको रगतको मूल्य । अनि उनलार्इ याद आउँछ, उनले लडेको जनयुद्दमा घाइते भएका प्युठानका कुनै दर्जी युवाको शरिरमा अल्झेको गोली । उनको दुखेको चित्तले निकालेको हिसाव हतारमा भएको कुनै लेखापरिक्षकले मिलाउन नसकेको कुनै एउटा कम्पनीको वासलात जस्तो मिलान नै हुँदैन । लेखापरिक्षकसँग त फुर्सदको अर्को कुनै समय हुन्छ उसलार्इ वासलात मिलाउनै पर्ने हुन्छ । मिलाउँछ पनि । तर निशानीसँग त्यति धेरै समय हुँदैन । उनको दिमागमा आइडियाको बत्ति झिलिक्क बल्दछ – नमिलेको हिसाब एकैपटक मिल्दछ । जब दिमागमा एउटा नाम फुत्त निस्कन्छ – श्रीमान् प्रचण्ड ।

ब्यक्तिगत रूपमा म प्रचण्डको प्रशंसक होइन । किनकी, म युद्दको पक्षपाति कहिल्यै रहिनँ । तर पछिल्ला दुर्इ दशकहरूमा आम नेपालीहरूको सामाजिक चेतनामा जुन आमूल परिवर्तन आएको छ त्यसको एकमात्र श्रेय प्रचण्डलार्इ मिल्दछ भन्ने मेरो नीजि बुझार्इ हो । त्यसकारण पनि हिजो प्रचण्डले सहि ठहर्याएका हरेक कदमलार्इ बिना कुनै विश्लेषण ज्यूँकात्युँ शिरोधार्य गरि कार्यसम्पादन गरेका निशानीहरूले आज केवल प्रचण्डलार्इ मात्र लक्षित गरी हरेक गलत हिसाबको लेखापरिक्षक प्रचण्डलार्इ नै ठहराउनु जायज छैन भन्नेमा मेरो बलियो विश्वास छ । प्रचण्डहरूलार्इ गाली दिदै गर्दा निशानीहरू स्वंयले द्दन्दकालमा गरेका नाजायत कामहरूप्रति आत्मालोचना गर्नु जरूरी छ कि छैन ? मेरो आव्हान यति मात्र हो – प्रचण्डप्रति रोष प्रकट गर्नुपूर्व आफूप्रति अरूले पोखेका रोषहरूको ब्यवस्थापन गर्नु निशानीहरूको पनि कर्तब्य हुन आउँछ । त्यो तिनीहरूले गर्नुपर्छ ।


Post a Comment