Skip to main content

संस्कार आफ्नै-आफ्नै, यो नर्वे त्यो नेपाल

 मेरो खुशिः आफ्नो गर्भमा भएको बच्चाको  तस्बीर देखाउँदै हन्ना

हन्ना अर्थात मेरो सम्पर्क ब्यक्ति । मैले कुन दिन के गर्नु पर्ने हो त्यो कामको योजनाकार ! वा, नेपालमा भएको भए मेरो हाकिम ! तर यहाँ चाँहि उनि मात्र सम्पर्क ब्यक्ति । हाकिमपारा खोजेर पनि भेट्न गार्हो । उनी कार्यालय छिर्दा म मेरो कुर्सीबाट उठेर विनित हुँदै अभिवादन गर्नु पर्दैन् । जसले पहिला देख्यो उसले अभिवादन गर्ने । काइदाको रीति भएको देशमा जन्मेकी एक नारी !
आज मुहारभरी नै खुशि बोकेर उनि कार्यालय छिरेकी थिइन । हातमा सानो कागज पनि बोकेकी थिइन, उनले । उनि सरासर मतिर आइन । र, आफूले ल्याएको कागज देखाउँदै भनिन् ‍‑ मेरो बच्चाको अवस्था सामान्य छ । म लाजले पानी पानी भएँ । यस्तै कुनै दिन थियो – जतिखेर मेरी श्रीमती पनि गर्भवती थिइन । र, हामी दुर्इजना लाजले पानी पानी भएका थियौं- कि जतिखेर हामीलार्इ थाहा लाग्यो - हामी बाबा आमा बन्नेवाला छौं । यस्तो बेलामा परिवारका अन्य सदस्यहरूसँगै बसेर हामी दुर्इजनाले  गर्भमा भएको बच्चाको अवस्थाका बारेमा छलफल गर्नु पर्ने थियो । तर नढाँटेर भन्नुपर्दा त्यतिखेर हामीलार्इ धेरैले भनेका थिएँ – बिहे नगरेकै वर्ष दिनमा बच्चा हुँदैछ ? मानिसहरूले हाम्रो अनुपम खुशिको विषयलार्इ मजाकको विषयमा रूपान्तरित बनाएका थिए । मैले कति गाइँगुइ सुनेको थिएँ ‍- ‍"फलानाकी दुलही त पाउनी छे रे" "वर्षदिनमै कस्तो पाउनी बनेकी" "खै पढेलेखेका भएर पनि के गरेका हुन कुन्नी" र्इ सबै हाम्रै बिषयमा बनाइएका कुराहरू थिए । मजाक थिए ।
"हाम्रोमा मान्छेहरू किन अरूको विषयमा कुरा गर्नमा चाख लिन्छन् ?" मेरो टेबल नजिकै आफ्नो गर्भमा रहेको बच्चाका बिषयमा कुरा गरिरहेकी हन्नाले "आफूले छोरीको इच्छा राखेको तर छोरा भएको पुष्टी डाक्टरले गरिदियो" बताइरहदा म तन्द्राबाट ब्यूँतिन पुगेछु । उनी र म जन्मे हुर्केको संस्कार फरक छ । मान्छेका नीजि कुराहरूमा अर्को मान्छेको हस्तक्षेप हुँदैन यिनको नगरीमा, अरूको नीजि कुरामा हस्तक्षेप गर्न सके आफ्नो शान उँचो हुने विश्वास राख्छन् मान्छेहरू मेरो नगरीमा !
हन्नाले भनिन् ‍‑ मैले र मेरो श्रीमानले गर्भमा रहेको बच्चाको स्वास्थ्यको बिषयमा थुप्रै छलफल गर्दै आएका छौं । हामी खुशी छौ – बच्चाको स्वास्थ्य राम्रो छ । हामीलार्इ छोरी होस् भन्ने ठूलो चाहना थियो तर आज थाहा लाग्यो – यो गर्भमा रहेको शिशु छोरा रहिछ ।  तर यो त्यति चिन्ताको विषय पनि भएन् । जेहोस् यो चाँहि छोरी भैदिएको भए हामीसँग एउटा छोरा र अर्को छोरी हुन्थ्यो ।
मैले झल्याँस्स सम्झेँ- मान्छेले श्रीमतीको गर्भावस्थाका विषयमा गरेको लोकटिप्पणीलार्इ निमिट्यान्न पार्न मैले गर्भपतनको समेत सुझाव सुझाएको थिएँ । अहिले सम्झदा असह्य पिडा हुन्छ ‍- कस्तो सुझाब सुझाएको थिएँ मैले आखिर ? त्यो दिन उनी धेरैबेर सम्म रोएकी थिइन, मेरो सुझाव सुनेर ! उनलार्इ चिन्ता थियो सायद, अब उनको श्रीमानले खुशि लुट्दैछ । हामी त्यो रात एकअर्कासँग बोल्दा पनि बोलेनौं । र, उनले त्यो रात खाना समेत खाइनन् । एउटै कोल्टेमा त्यो रात बितेको थियो ।
हुन त हाम्रो समाजमा कतिपय नारीहरू अवाञ्छित गर्भ बोक्न पनि बाध्य छन् । कतिपयले छोरा जन्माउनकै लागि गर्भ बोकेका हुन्छन् । अब ती नारीहरूले कसरी फुर्सद मिलाउन सकुन थाहा पाउनलार्इ ‍- गर्भमा भएको बच्चाको स्वास्थ्यको विषयमा ! तथ्याङ्कहरूले देखाउँछन - सुत्केरी हुन नसकेर मृत्यु हुने महिलाहरूको सूची लामै छ । धेरै फरक छ – जीवन जिउने तरिकामा ! यो नर्वे अनि त्यो नेपाल !

2 comments

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…