बि.सं.२१००(अंक ६)


... मैले यात्रा गरिरहेको जस्तो गाढा निलो रंगमा अङ्ग्रेजी बर्णमालाको ‘टि’ अक्षर लेखिएको बसमा यात्रा गर्दा हुने सबभन्दा महत्वपूर्ण फाइदा भनेको गन्तब्यमा नपुगिन्जेल यात्राका क्रममा पर्ने ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरुको पनि आनन्दपूर्वक दृश्यावलोकन एवं भ्रमण गर्न पाइनु रहेछ भन्ने यो यात्राका क्रममा मैले अनुभूत गर्न पाएँ । २० मिनेट पहिले ताकममा आधा घण्टासम्म रोकिएको बस फेरि मुनाको पल्लोपट्टिको यस पाल्टेभिरमा आएर रोकिएको थियो । यसरी विभिन्न महत्वपूर्ण र दर्शनीय ठाउँहरुमा बस पटक पटक रोकिदा यात्राको अवधी अलिकति लम्बिन पुग्दो रहेछ । 
त्यो पाल्टेभिर ३२\३३ वर्ष पहिले जागिरका क्रममा म आउनुभन्दा निकै भिन्न देखियो । उहिले यहाँ बारीका स–साना चोक्टाहरु थिए, अहिले त्यस्तो देखिएन । बारीका धेरैजसो पाटाहरु आकर्षक तरिकाले सम्माइएका थिए । प्राकृतिक सौन्दर्यतामा मानवीय सीपको उच्चतम प्रयोग जस्तो लाग्यो, मलाई । वरपरको मनमोहक दृश्यले युवती खुबै सम्मोहित भई – “ओ माइ गड, कस्तो ब्युटिफूल नेचर !” स्थानीय जातको बाख्रीको सानो पाठी उफ्रिदै उसको नजिकै आइपुग्यो, बडो मायापूर्वक युवतीले सेतो पाठीलाई च्याप्पै समाती । स्त्री उत्तेजनाको लालित्य बोली मेरो कानमा ठोक्कियो – “आहाँ नि ! क्युटी क्युटी पाठी !” 
यहाँ रोकिएको बस अब २० मिनेट सम्म कतै डेग नचल्ने जानकारी गराउँदै बस चालकले यात्रुहरुलाई  आग्रह गर्यो – “ब्यावसायिक पशुपालन र माछा पालनका बारेमा यथेष्ट जानकारी यहाँहरुले लिन सक्नुहुनेछ । हामीहरु अबको बीस मिनेट सम्मका लागि यहि रहनेछौं ।” हामी सँगसँगै हिडिरहेको एउटा परिपक्व उमेरको जस्तो देखिने मानिसले मुख खोल्यो – “एउटै कुरा कति दोहोर्‍याइरहेको होला ? अघि भर्खर बसभित्र भनेको कुरा फेरि किन भन्नुपरेको होला ?”  युवतीलाई उसको कुरा सायद चित्त बुझेनछ, ऊतिर कर्के आँखाले हेर्दै, मसँग गुनासो पोखी – “ईः तपाइँका पालाका मान्छेहरुलाई किन अरुको बारेमा बढी चासो होला ? बिचरा ! चालकले त आफ्नो ड्युटी गर्नुपर्यो नी, नत्र उसलाई आफ्नो कम्पनीमा गार्हो पर्न सक्छ नी । उसले आफ्नो काम गरिरहँदा पनि के को गुनासो होला त्यो बुढा मान्छेको ?” घरि घरि ऊ मेरो युवावयको कालखण्डलाई निकै सराप्दै थिई । उसको यो ब्यहोरा मलाई चाँहि सहिनसक्नुको भैरहेको थियो । परन्तु, बच्चाले जस्तो हरेक कुरामा शिघ्र प्रतिक्रिया ब्यक्त गर्न मलाई उति शोभनीय लागेन । तसर्थः यस्तो बेलामा मैले कि त चुपचाप उसकै कुरा सुनिरहन उचीत ठान्थेँ नभए कुराकानीको प्रसंगलाई एकदमै भिन्न विषयतर्फ मोडिदिन्थेँ । यी दुई उपाय नै मलाई अत्यन्तै उचीत लाग्यो । र, मैले उसै गरेँ ।
स्थानीय जातका कुखुराका राते भालेहरु हामी हिडिँरहेको बाटो भन्दा ६०–७० मिटर परको दुरीमा आफ्ना तीखा चुच्चाले भुँइमा किरा टिपिरहेका देखिन्थे । कुन चट एउटा बदमासले उनीहरुतिर सानो ढुङ्गा हुर्याइदिएछ । ‘क्वाँएक.. क्वाँएक’ गर्दै दर्जन बढी भालेहरु खोरतिर कुलेलम ठोके । युवतीलाई यो घटनाले नछुने कुरै भएन, ढुंगा हान्ने बदमासको रिस मलाई पो पोख्न थाली – “धत ! फेरि कुन पात्तेको बुढोले ती ‘हेल्पलेस’ कुखुराहरुतिर ढुंगा खुर्‍यायो ! कस्तो ‘ननसेन्स’ हँ यी पहिलेका मान्छेहरु ? आफ्नै ‘गभर्नमेन्ट’ ले इश्यु गरेको कानुन नमान्ने ?” खासमा उसले ४ वर्ष पहिले नेपाल सरकारले पशुपंक्षीको अधिकार सम्बन्धी पारित गरेको कानुनी ब्यवस्थालाई स्मरण गर्दै यस्तो भनिरहेकी थिई । उसका कुरा तर्कसंगत थिए । र, केहि हदसम्म म पनि सहमत थिएँ । तर पटक पटक ऊ मेरा उमेरका मान्छेहरु एकदमै विवेकहीन र धूर्त भएको आग्रहपूर्ण तर्क मलाई कत्ति मन परिरहेको थिएन । म यस्तो मौका खोजिरहेको थिएँ ताकि मेरा उमेरका मान्छेहरुप्रतिको उसको आग्रह र भ्रमपूर्ण सोचाइलाई दूर गर्न सकुँ । यस्तैमा हामीले एउटा पाको आवाज सुन्यौं – “बाबु, यसरी पशुपंक्षीलाई दुव्र्यवहार गरिनुहुन्न । पुलिस अंकलले फेरि लग्छन नी फेरि ! अब यस्तो नगर्नू हैं ।” मेरो उमेरको एउटा भद्र ब्यक्ति ६\७ वर्षको फूच्चे केटाको दुवै हातमा समातेर सम्झाइरहेको देखेपछि, कर्के आँखाले युवतीलाई हेर्ने पालो मेरो थियो । हेरेँ । उसको शीर लाजले नत भयो । केहिबेर ऊ निकै शान्त देखिई । म अत्यन्तै शालिनतापूर्वक प्रस्तुत भए – “हेर नानु ! तिमीले सोचेजस्तो हामी पहिलेका मान्छेहरु त्यति बिघ्न असभ्य, संस्कारहिन र अशिक्षित छैनौं । एका दुई मानिसहरुको त्रुटीजन्य क्रियाकलापहरुलाई हेरेर तिमीले सिंगो पुस्तालाई अशिक्षित, बेकामे र घामड छन\हुन्छन भनेर ठोकुवा गर्न मिल्दैन । दुई चार जना ब्यक्तिहरुको खराब नियतलाई हेरेर एउटा सिंगो पुस्ताको गलत मूल्याङ्कन गर्नु तिमीजस्तो शिक्षित युवतीलाई सुहाउने कुरा हैन । विकृती, विसंगती र संस्कारहिन कार्यकलाप गर्ने एकादुई ब्यक्तिहरु जुनसुकै पुस्तामा पनि हुन्छन । अहिले पनि छन । श्रम गर्न अल्छी मानेर सरकारको बेरोजगार भत्ता मात्र खाएर बस्ने भुसतिघ्रेहरुलाई हेरेर यदि मैले तिम्रो सिंगो पुस्तालाई ‘अल्छी र कामचोरहरुको पुस्ता’ भनेर विश्लेषण गरेँ भने के मेरो विश्लेषणलाई तिमी अत्यन्तै उपयुक्त विवेचना ठान्न सक्छ्यौ त ? पक्कै पनि सक्दिनौ !” यति भन्दै गर्दा म विश्वस्त भएँ, अब युवतीले आग्रहपूर्ण कुरा बोल्दिने । हुनपनि उप्रान्त ऊ अलिकति तार्किक र गम्भीरतापूर्वक प्रस्तुत हुन थाली ।
प्रान्तमै ब्यावसायिक पशुपालन र माछापालनका लागि अत्यन्तै प्रसिद्द ठाउँको अवलोकन गर्ने अवसर प्राप्त गर्दा पनि हामीले आवश्यक ध्यान दिन नसकिरहेको महशुस भैरहेको थियो, मलाई । हुन पनि युवतीसँगका मेरा संवादका धेरैजसो विषयहरु पुस्तान्तरणका विषयमा मात्रै केन्द्रित हुन पुगेँ । मानौं कि म समाजशास्त्रको ‘अतिथि प्राध्यापक’ हुँ । र, यसविषयमा मलाई थुप्रै कलेजहरुमा प्राध्यापन गराउनु पर्दछ । मनमा अनेकन कुरा खेलिरहेका बेला युवतीले आफ्नो क्यामेरा मतिर तेर्साउँदै आग्रह गरी – “थापाजी, एउटा ‘पिक’ लिइदिनु न !” वल्टाई पल्टाई गरि हेरेँ, क्यामेरा ‘स्वीच अन’ गर्न आएन मलाई ! क्यामेराको ‘स्वीच अन’ गर्ने बटन खोज्न भगिरथ प्रयास गरिरहेको मलाई, अगाडि देखि नै तस्बीर खिच्ने पोजमा उभ्भिरहेकी युवतीले फिक्का हाँसो हाँस्दै भनि – ‘लेन्समा हेर्नू न !’ पछि थाहा लाग्यो, तस्बिर खिच्ने मान्छेले लेन्समा आँखा पुर्याएपछि क्यामेरा ‘अटोमेटिक अन’ हुँदोरै’छ !
‘क्लिक .. क्लिक..’ उसका दश–बार्‍ह थान तस्बीर खिचिदिएँ, मैले । दश–बार्‍ह थान तस्बिरका लागि उसले उति नै पोजहरु दिई । “नक्कली केटी !” मनमन भनेँ । बस चालकले सबै यात्रुलाई एक कठ्ठा गर्न शुरु गर्‍यो । युवती मलाई १५ रुपैयाँको सिक्का माग्दै थिई – “ट्वाइलेट जानुपर्‍यो !” “लौ, चाहिए जति लिऊ !” मैले जिस्किदै ४–५ वटा सिक्का उसको हातमा राखिदिएँ । युवतीले विना सङ्कोच सबै सिक्का स्वीकार गरी । र, हतार हतार ट्वाइलेट तिर गई  ....
(यसका बाँकी अंकहरु यहाँ पढ्नुहोला)
Post a Comment