बि.सं. २१०० (अंक ८)


...लञ्चको प्याकेट रित्तिसकेको थियो । युवतीले पुलुक्क मतिर हेरी । मैले थाहा पाइहालेँ उसको मनोदशा । मनमा लागिरहेको थियो, छोरीकी उमेरकी युवतीसँग परिचय गर्नुको तुक के नै रहला र ? मनमनै यस्तै सोचिरहेको मलाई उसको कुटिल मुस्कानले झस्कायो । म केही भन्न खोज्दै थिएँ, तर उसले मादकताले भरिएको मुस्कान छाड्दै भनी–“खै त थापाजी, हजुरले आफ्नो इन्ट्रडक्सन दिएको ?” बसको गति केही धिमा भयो । बस उकालो चढ्दै थियो । लम्सुङलाई पछाडि पार्दै देउराली तिर उकालो चढ्दै गरेको बसभित्र म युवतीसँग संवादमा लिप्त थिएँ । उसलाई मैले मेरो परिचय दिन जरुरी थियो । र, मैले परिचय दिएँ–“अँ, मेरो नाम बुद्धिमान थापा । उमेर ५६ वर्ष । र मलाई घुम्न मन पर्छ ।” युवतीले फिस्स हाँसो हाँसी । सायद उसलाई मेरो नाम अचम्म लाग्दो हुनुपर्छ । “अँ साँच्ची थापाजी, पहिले पहिलेका मान्छेहरूका नामहरू साँच्चिकै उराठलाग्दो हुने किन हो ? जस्तो मेरो ड्याडको नेम हरीप्रसाद, चाचाको नेम रामप्रसाद...!” म चुपो लागेर बसेँ ऊसँग प्रतिवाद गर्नु औचित्यहीन लाग्यो मलाई । यसपछि निकैबेरसम्म हामी चुपचाप बस्यौँ ।
युवतीले संवाद अगाडि बढाउन थाली–“हजुर किन तपाईँका जमानाको मान्छेहरूको विषयमा मैले केही भनीरहँदा टोटल्ली नर्भस जस्तो देखिनुहुन्छ ? के पुराना कुराहरू सबै चल्दै गरेको समयमा पनि उत्तिकै सान्दर्भिक हुन्छन् र ?” नबोलुँ भने युवती पुनः संवादमा फर्केकी छे, बोलँु भने ऊ एकदमै आग्रहपूर्ण कुरा बोल्दछे । मैले भनेँ–“हुनसक्छ मेरो जमानाको कुराहरू तिम्रो युगका लागि एकदमै अनफिट छन् । तर महत्वपूर्ण कुरा के हो भने तिम्रो युग तिम्लाई जति महत्वपूर्ण छ, मलाई मेरो जमाना उत्तिकै प्रिय छ । जमानाअनुसार केही सन्दर्भहरू फरक हुनु स्वभाविक हो तर पुराना सबै अभ्यासहरू नयाँ युगका लागि शतप्रतिशत अयोग्य कदाचित् हुँदैनन् । पुराना सिकाइहरूले अहिलेको पुस्तालाई धेरै सघाउ पु¥याएको छ । र सहयोग पु¥याउनु पर्छ । जस्तो मेरो नाम मेरा मातापिताले त्यतिखेरको समयका लागि सर्वाधिक उत्तम नाम ठानेर राखिदिनुभयो । उहाँहरूलाई मेरो नामाकरण गर्ने समयमा समेत मेरो भविष्यको चिन्ता थियो । मेरो नामले पुष्टि गर्दछ कि मेरा मातापिताहरू म सदा बुद्धिमानी भएको हेर्न चाहनुहुन्थ्यो । जस्तो तिम्रो हजुरबा–हजुरआमाले तिम्रो बाबा र काकाको नाम हिन्दु धर्मका सर्वपुज्य देवताहरू हरी र रामको स्मरणमा राखिदिएको हुनुपर्दछ । तर मलाई अचम्म लाग्यो कि तिम्रो नाम जेट्लिना कसरी सम्भव हुन गयो ?” युवती झस्केझैँ भावमा प्रस्तुत भई । अघिदेखिको उसको मुहारको चमक अलिकति कम हुन पुग्यो । लाजले पानी–पानी भई ठिटी । अबेरसम्म पनि उसले जवाफ नफर्काएपछि मलाई अप्ठ्यारो लाग्यो, दकस मान्दै मैले भनेँ–“अरे, तिमी किन चुपो लागेको ?” “लेट्स चेन्ज द टपिक, खाली झगडामात्र किन गर्ने ?” युवतीले अलि भावुक हुँदै भनी । 
“हुन्छ नि त, मलाई पनि झगडा गर्नु त मन छैन । यति लामो यात्रा मीठो कुराकानीले झन् छोटो भएको महशुस गर्नुको आनन्द पनि त लिनु छ ।” युवतीको च्यापू मुसार्दै मैले बोलेँ । युवती अझ बढी खुल्न थाली । र, मेरो प्रशंसामा केही शब्दहरु खर्ची–“यू न, हजुर फिफ्टी कटिसकेको भएपनि यू लुक्स लाइक यू आर इन थर्टिज...!” युवतीको प्रशंसाले पानी–पानी हुने पालो मेरो थियो । उसको प्रशंसा अलिकति बढी नै पो भयो कि ? मलाई दोहोरो संवाद गर्न असहज महशुस भयो । परन्तु, उसका लागि पनि प्रशंसाका केही शब्दहरु खर्च गर्न मैले आफ्नो कर्तव्य ठानेँ । किनकि तत्क्षण मैले याद गरेँ, मेरा पुराना साथी गणेशलालका कुरा– कि, ऊ भन्ने गथ्र्याे, ‘युवतीसँग नजिक हुन उनका सौन्दर्यका बारेमा भएनभएका बखान गर्नुपर्दछ ।’ बुढो तनभित्र युवक मन बेस्सरी उम्लेर आयो । आफुलाई सौन्दर्य विशेषज्ञ मान्दै, युवतीका सुन्दरताका बारेमा मैले भनेँ–“तिम्रो आँखा, नाक, केश र मुहार कुनै कुुरामा पनि मैले केही खोट भेटिनँ । तिमी साँच्चिकै सुन्दरी छौ ।” युवती लाडिएर बोली–“रियल्ली ? फ्लट गरेको त होइन नि ?” लगभग उसले आफ्नो शरीरको सबै भार मेरो काँधमा थमाइसकेकी थिई । मलाई केही अप्ठ्यारो लाग्यो । तर म केही बोलिनँ । बस माथि डाँडामा आइपुगेको थियो । झ्यालबाहिर मैले देखेँ, देउरालीको पाल्टेभीर, ३०/३२ वर्ष पहिले मैले देखेको भन्दा धेरै भिन्न भइसकेछ । एक हुल भेँडाका बथान बाटातिर झर्दै थिए । युवतीले भनी–“थापाजी, अब पैँतालिस मिनेटमा हामी गुर्जा पुग्छौँ हैन ? मेरो त फस्र्ट टाइम हो, सायद हर्बल स्टडिज नपढेको भए यहाँ आउने चान्सेज पनि हुन्थे’न, मेरो । हजुर त पहिला पनि आ’को है ?” युवतीले केही सम्झेझैँ गरेर भनी–“अनि हजुरले होटल बुक गर्नुभयो त ? छैन भने मसँगै बस्दा पनि हुन्छ । यो ठाउँ मेरो लागि नयाँ पनि हो । र हजुरसँग केही समय बस्न पाएँ भने मलाई पनि सजिलो हुने थियो ।” युवतीको प्रस्ताव अस्वीकार्य त होइन तर पनि उति स्वभाविक लागेन । मैले के भनूँ ? जवाफ पाइनँ । जेट्लिना मेरो मुहारमा एकनास हेरिरहेकी थिई । ऊ मेरो जवाफ चाहन्थी...।

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)