Skip to main content

बि.सं. २१०० (अंक १०)


“ओ माई गड, इट्स वन्डरफूल ल्यान्ड !” बसबाट झरेपछि युवतीले यहाँ भन्दा बढी एक शब्द अरू केही बोलीन । मलाई पनि उतिबेलाको गुर्जा गाउँ र यतिबेलाको गुर्जा नगरमा आकाश पातालको फरक लाग्यो । प्राकृतिक सुन्दरतामा मानिसको जादुमयी कलात्मकता मिसिदाँको परिणाम हुनुपर्छ – यो नगर ! यति बिघ्न परिवर्तन भएको हुनुपर्छ भन्ने मैले सोचेकै थिईन । म हुस्सु मान्छेले यहाँ आउनुभन्दा पहिले गुगलिङ गर्नुपर्ने थियो, कम्तिमा पनि केहि भिडियो र तस्बीरहरू हेरेर यो नगरका केही तस्बीर र भिडियोहरू हेर्नुपर्ने थियो । हतारमा घुमघामको कार्यक्रम बनाएर हुर्रिदै घुम्न आउँदा यात्रा धेरै अस्तब्यस्त हुँदो रै’छ भन्ने सिकाई भयो, यो पालीको घुमघाममा । 
हठात् मलाई जेट्लिनाको याद आयो, उसलाई वरिपरी हेरेँ । कतै देखा परिन । मन अलिकति आत्तिएर आयो । लाग्यो – केहि भन्दै नभनी हिडेकी उसको चिन्ता के गर्नु ? अरूको ख्याल नगर्ने मान्छेको एकोहोरो खोजी मैले मात्र के गर्नु ? अर्को मन लाग्यो, छोरीको उमेरकी युवती छे, छोरी नै नभएपनि छोरी जस्तै त हो नी । छोरी सम्झिएर भए पनि उसको ख्याल गर्नु मेरो दायित्व हो । तन्नेरी मन उम्लेर आयो – केको छोरी झैं हुनु ? त्यस्तरी लाडिएर बस्ने केटी ? यात्रा निरसलाग्दो नहोस भन्नलाई मसँग नजिक भई, अब गन्तब्यमा आइपुगेपछि मेरो वास्ता गर्नु उसलाई अनिवार्य लागेन । त्यसैले आफ्नो बाटो तताई । मलाई उसका बारेमा धेरै कुरा सोच्न कत्ति पनि ठीक लागेन । अतः नजिकैको क्याफेमा छिरे । एक कप कफि मगाएँ । र, बाटोमा पढ्दा पढ्दै छाडेको उपन्यासको पाना पल्टाउन थालेँ । 
मान्छेको धेरै भिड भएर हुनुपर्छ । कफि अझै आइपुगेको थिएन । मलाई होटल बुक गर्ने कुराले सताउन थाल्यो । बुक गरिसकेको होटलमा बुकिङ क्यान्सिलेशन गरिसकेको थिएँ, त्यही नखरमाउलीको भाउँतोमा । कती चेपारे घसेर भनेकी थिई, उसले – “अनि हजुरले होटल बुक गर्नुभयो त ? छैन भने मसँगै बस्दा पनि हुन्छ ... ।” झनक्क रिस उठ्यो उसको सम्झनामा । केहि बेर अगाडिसम्म ऊसँग भएका सबै प्रिय वार्ताहरू एकाएक फगत लाग्न थाल्यो । सायद, पुरूष मन उम्लिएर आएको यो पहिलो अवसर हुनुपर्छ । “सर, कफि ।” एकनाशले उपन्यास पढिरहेको मलाई कतै कतै सुनेकोझैं लाग्ने एक युवती आवाजले झस्कायो । आवाज आए तिर पुलुक्क फर्केर हेर्दा म त जिल्लै परेँ ! दुबै हातमा कफि समातेर जेट्लिना पो उभ्भिरहेकी ! 
“अरे, तिमी ..?” मलाई छक्क परेर आफूतिर हेरिरहेको पाएपछि जेट्लिनाले भनी – “ल के भयो ? म त हुँ नी । मलाई बसस्टपमा छाडेर बरु हजुर कता डिसअपिएर भा’को नी ?” कफिको दुवै कप टेबलमा राखी । झोलाभित्र बज्दै गरेको मोबाइल झिकी । र, कुरा गर्न थाली – “अँ म भर्खर आइपुगेँ । मसँग एकजना साथी पनि हुनुहुन्छ .....।” मोबाइल वार्तालाप सिध्याए पछि भनी – “मलाई पिक अप गर्नका लागि कम्पनीको पि.आर. ओ. आएको थियो । पब्लिक रिलेशन अफिसर । ऊ एकदम हतारमा थियो । यसो हेरेँ, आफूलाई वरिपरी कतै देखिनँ । त्यो भएर अलिकति लामै गफ गरेँ ऊसँग । र, एउटा अनुरोध पनि, हजुरलाई यहाँ बसुन्जेल मसँगै बस्ने ब्यवस्था मिलाउन ...” बोल्दाबोल्दै एकैछिन रोकिई र फेरि भनी – “अरे कफि लिनु न ।” दुबै जनाले कफि पिउन थाल्यौं । चीसो ठाउँमा कफिको बेग्लै स्वाद महशुस गरेँ । “तपाइँ कता गायब हुनुभएको नी ?” कफिको पहिलो चुस्की लिएपछि उसले भनी । म बिलखबन्दमा परेँ । मलाई लागेथ्योँ, गायब त ऊ पो भएकी थिई । मैले जबाफ फर्काएँ – म कहाँ गायब हुनू ? गायब त तिमी पो भएकी थियौ नी । बसबाट झर्दा साथ तिमीले बोलेकै एउटै मात्र बाक्य सुनेँ, मैले । म शिकार खेल्ने पहाडमा चलिरहेको बिधुतिय केबलकारतिर नियाली रहेको थिएँ, तिमी अकस्मात गायब भयौ । यता उता हेरँे तिमी कतै पाइँन । अझ इमान्दारिताका साथ भन्नुपर्दा, मलाई लाग्यो तिम्रो लहैलहैमा मैले होटल बुकिङ क्यान्सिलेशन गर्न पुगेछु ! धन्य भगवान, तिमी फेरि भेटियौं !” ऊ फिस्स हाँसी । त्यो हाँसो मलाई मन परेन । उसले भनी – “भनेपछि तपाइँले मलाई खोज्नु भयो, मैले तपाइँलाई । लौ इक्वएल भै गयो नि त !” यो कुरा चाँहि समझदारीको गरी उसले ।

कफि रित्तिसकेको थियो । र, शिसाको झ्याल बाहिर पर देखिएको पहाडमा अधेरी रातको आगमनले दिनलाई च्यापेर ल्याएको स्पष्ट देखेपछि, हामी त्यहाँबाट निस्किन आँट्यौं । पैसा तिर्न काउन्टरतिर बढेको मेरो पाईला टक्कै अडिए, ‘वाइड रेन्जको नोटिस डिस्प्ले’ मा मेरा आँखा दगुरे – “फस्ट पे देन अर्डर !” जेट्लिनालाई हेर्न पुगेँ, ऊसले मेरो दुर्भाग्य चालपाइसकेकी थिई । त्यसैले, फिस्स हाँसी फेरि । लाजले शिरनत भयो मेरो । दुबैजना बाहिर निस्क्यौं । देब्रेतिरबाट चलेको चीसो साँठले भित्रैसम्म कपायो ।

Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…