प्रेम गर्नु अपराध होर्इन्

तस्बीर स्रोतः नागरिक अनलाइन

उदयपुरमा तीन महिने बसाई अत्यन्तै सुखद रहेको थियो, मेरो । तीन महिनाको बसाई एउटा जिल्लालाई बुझ्नका लागि त्यति पर्याप्त समय पक्कै पनि हैन । तर किनकिन मलाई आफ्नो दोश्रो गृहजिल्ला जस्तो लाग्दछ उदयपुर । र, खबरहरुमा म उदयपुरलाई त्यति नै नजिकबाट पछ्याईरहेको हुन्छु, जति म मेरो जिल्लालाई नजिकबाट हेरिहेको हुन्छु । एउटै देशको एकै चौकिल्लाभित्र भएपनि मेरो जन्मजिल्ला र उदयपुरमा धेरै नै फरक पाएको छु मैले । सबै कुरा उस्तै आखिर कहाँको नै हुन्छ र ? तथापी हामीसँग केही संस्कारगत समानता भने पक्कै छन् । र, आज एउटा यस्तै संस्कारगत संयोग भेटे खबरमा । नागरिक दैनिकको अनलाइनसंस्करणमा महेश्वर चामलिङ दाईले लेख्नुभएको खबर – प्रेमलाई निषेध गरिएको खबर ! विस्मातजन्य खबर !
समाचारमा लेखिएको छ – उदयपुरको ताम्लिछा गा.वि.स.को विधालयमा कक्षा १० मा अध्ययनरत एक किशोरले आफ्नै सहपाठी किशोरीलाई प्रेमपत्र लेखेका कारण किशोरीका पिताले मरणाशन्न हुनेगरी कुटपिट गरेछन् । गाउँलेहरु हेरेको हेरै । परिवारका मान्छेहरु पनि जिल्लाराम ! धेरैलाई लाग्न सक्दछ यो सामान्य विषय हो । र, कतिलाई यो पनि लाग्न सक्छ कि आफ्नी छोरीलाई प्रेमपत्र लेख्ने किशोरलाई कुटपिट गरेर किशोरीका पिताले राम्रै गरे । तर मलाई भने समाचार पढेपछि किशोरी र उनका पिताको मनोदशाप्रति दया जागेर आयो । विचरा, प्रेम नबुझेका मनुवाहरु ! हाम्रै वर्तमान सरकार जस्ता रहिछन् यी । सरकार, जो केहि युवाहरुले महिलामाथि हुने र भएका हिंसाको विरोधमा अकुपाई बालुवाटारको अभियान मार्फत सुरक्षाकर्मीहरुलाई गुलाफ उपहार दिन्छन्, सुरक्षाकर्मी “माथिको आदेश”मा धरपकड गर्छ, गिरफ्तार गर्छ । सरकार “गुलाफको भाषा” बुझ्न इन्कार गर्दछ । जनताहरु केहि “प्रेमको भाषा” निषेध गर्दछन् ।
म अस्विकार गर्न सक्दिनँ कि किशोरको यो अध्ययन गर्ने समय हो । पक्कै पनि उनी आफ्नो भविष्य निर्माणका लागि लगनशील भएर अध्ययन कार्यमा जुट्नु पर्छ । यसमा मेरो फरक मत हुनै सक्दैन । किन्तु, मेरो भन्नु के हो भने पहिलो कुरो त कक्षा १० मा अध्ययनरत एक किशोरीले आफूलाई परेको समस्या सर्वप्रथम आफैले नै समाधान गर्ने प्रयास त गर्न सक्थिन होलानी ? आफ्ना लागि लेखिएको प्रेमपत्र किन आफ्नो पिताजीलाई दिईन होली ? पूरा आत्माविश्वासका साथ किशोरको प्रेमप्रस्तावलाई नकार्न पनि त सक्थिन नी । तर हामीसँग संस्कारगत त्रुटीहरु छन्, जसको प्रभाव किशोरीमा पनि परेको छ । अर्थात, तीतो यथार्थ यो हो कि केहि अपवादलाई छाड्ने हो भने घरमा हुकुम बाबाकै चल्दछ । सामाजिक विषयसम्बन्धी निर्णयहरुमा पुरुषकै भूमिका अहम् छ । र, नारीहरुलाई नितान्त आफ्नै विषयहरुमा निर्णय गर्न अघोषित बन्देज लागेको छ । त्यसकारण पनि यहाँ किशोरीको एकदम नीजि विषयमा उनका पिताले आफ्नो भूमिका बढि देख्न पुगेकाले यस्तो हर्कत हुन गएको छ । जुन एकप्रतिशत पनि ठीक छैन । एकदम गलत छ । 
मन पार्नु वा माया गर्नु अपराध हैन । यो प्राकृतिक र अपरिहार्य कुरो हो । प्रेम विनाको संसारको म कल्पना पनि गर्न सक्दिनँ । यस अर्थमा म स्वयं एक असल प्रेमीका नाताले ती किशोरप्रति मेरो सदभाव छ । किशोरले आफ्नो प्रेमको बदला किशोरीबाट पनि जवरजस्ती प्रेमको अपेक्षा नराख्नुजेलको हदसम्म किशोर गलत हुनै सक्दैनन् । त्यसकारण, यो विषयमा, किशोरीका पिताले प्रेमलाई निषेध गरेर एउटा गम्भीर अपराध गरेका छन् । उनी एक पाको उमेरका ब्यक्ति भएका नाताले कम्तिमा पनि किशोरलाई सम्झाईबुझाई गर्नु आवश्यक थियो । भन्नु जरुरी थियो – यो प्रेमपत्र लेख्ने समय होईन बाबु, आफ्नो भविष्य निर्माणका लागि मेहनत गर्ने समय हो ! प्रेमपूर्वक उसलाई सम्झाउँदैमा पक्कैपनि उनको प्रतिष्ठामा आँच आउने थिएन । यो एउटा दुःखद समाचार बन्ने थिएन । र, मानिसहरुले उनलाई प्रेमविरोधी मनुवा भनेर चित्रित पनि त गर्ने थिएनन् । 
र, अन्त्यमा मेरो विनम्रतापूर्वक अनुरोध छ – आफ्ना सन्तानसन्ततीको नीजि विषयमा दख्खल दिएर उनीहरुलाई झनै कमजोर नगराउनुस् प्रिय अभिभावकज्यूहरु । प्रेमले केही पनि हानी गर्दैन् । तर जव हामी प्रेमलाई निषेध गर्न शुरु गर्छौ तब हामीबाट विध्वंसको बिजारोपण प्रारम्भ भैसकेको हुन्छ । जसको अन्त्य स्वभाविक रुपमा भयानक र कठोर हुने गर्दछ । 
जय प्रेम !
2 comments