परेली खजाञ्जी, नेट ब्याङ्किङ् र मेरा पन्ध्र महिना

तस्वीरः गुगल :)
”भगवान कसम, त्यति राम्रा परेला भएकी केटी मैले अहिले सम्म देखेको पनि छैन, देख्न पनि नपरोस् !” – हामीसँगै भर्खर भर्खर फिनल्यान्ड पढ्न आएको एक मित्रले बैङ्क खाता खोलेर आएको दिन मेरी बास्सैको ‘खड्काजी' को शैलीमा बैङ्ककी खजाञ्ची युवतीको परेलाको तारिफ गर्दै सुनाएका थिए । सुन्नेमा एउटा म पनि थिएँ, मेरो त्यतिन्जेलसम्म बैङ्क खाता थिएन । प्रथम वर्षको म पनि विलखबन्दमा थिएँ, निर्णय लिन नसकेर कि खाता कुन बैङ्कमा खोल्ने ! दोश्रो वर्षका विद्यार्थीहरू प्रायःको खाता त्यही बैङ्कमा रहिछ । अर्थात उही परेला राम्री भएकी युवतीले काम गर्ने बैङ्कमा । अतएवः ईश्वीसन् २०१२ को सेप्टेम्बरको पहिलो हप्ता निख्रिदै गर्दा म पनि त्यही बैङ्कमा नै खाता खोल्नको लागि गएँ । निवासमा खजाञ्ची युवतीका राम्रा र तिखा परेलाका बारेमा निकै चर्चा भएकाले, ममा त्यो युवती हेर्ने उत्कट चाहना थियो । सौभाग्यवशः मैले खाता खोल्दा मलाई सहयोग गर्ने कर्मचारी त्यही युवती थिई जसका ठाडा ठाडा परेका खेलौना गुडियाका जस्ता परेला थिए । त्यो दिन खाता खोल्दै गर्दा उसँग भएको वार्तालापमा भन्दा मेरो ध्यान उसकै परेला एकदमसँगले आकर्षित गरे जसरी आफ्नो परिधीभित्र रहेका हरचीजलाई पृथ्वी आफ्नो केन्द्रविन्दु तर्फ आकर्षित गर्ने गर्दछ !
खाता खोलेको एक हप्तामा एटिएम (भिसा इलेक्ट्रोन) कार्डको पिन मेरो घरमा आईपुग्यो । पिन आएको तीन दिनपछि भिसा इलेक्ट्रोन कार्ड पनि घरमै आईपुग्यो ! हाम्रो पत्र खसालिने बाकस घरभन्दा १०० मिटर टाढा थियो, जहाँ हामीलाई पठाइएका घरको भाडा तिर्ने बिल, कलेजबाट पठाइने पत्रहरु खसालिन्थे । र, त्यही बाकसमा बैङ्कबाट पठाइएको भिसा इलेक्ट्रोन कार्ड र पिन सुरक्षित आइपुगेका थिए । र, मैले ती त्यहीबाट लिएको थिएँ जसरी मेरा अरु साथीहरुले आ–आफ्ना भिषा इलेक्ट्रोन कार्ड र पिन लिएका थिए । अचम्मको कुरो भिषा इलेक्ट्रोन कार्डको आवरणमा कस्तो चित्र र कुन रंगको राख्ने भन्ने एक दर्जन जति विकल्पहरुबाट मलाई मन पर्ने रंग र तस्वीर ती युवतीले छान्न लगाएकी थिईन जुन मैले मेरो भिसा इलेक्ट्रोन कार्डमा प्राप्त गरेको थिएँ – श्याम श्वेत रंगमा रहेको आवरण जहाँ एउटा धावक दौडिनका लागि तयारी हालतमा छ ! नेपाल हुँदा मेरा दुईतिन बैङ्कमा खाताहरु थिए र ती मध्ये कुनै पनि बैङ्कले मलाई मेरो कार्डको “आवरणको रंग र तस्वीर” छनोट गर्ने अवसर दिएका थिएनन । फिनल्यान्ड आएपछि मैले अनुभूत गरेको एउटा यथार्थ यहाँ सबभन्दा शक्तिशाली कोही छ त त्यो आम नागरिक । उसको रुची वा छनौटको बर्खिलाप कसैले केही काम नै गर्दैन भन्दा हुन्छ । चिकित्सककोमा जाँदा चिकित्सक विनीत भावमा प्रस्तुत हुन्छ, प्रहरीकोमा जाँदा प्रहरी विन्रमतापूर्वक प्रस्तुत हुन्छ, रेष्टुरेन्ट, बार, पसल, पुस्तकालय, विश्वविद्यालय जहाँ जाऊ, जता जाऊ करिव शतप्रतिशत सेवा प्रदायक निकायका कर्मचारीहरु मैले विनम्र, शिष्ट र मिजासिला भेट्ने गरेको छु ।
साथीहरुले भनेजस्तो खाता खोलेको तीन महिनामा स्वतः नेट ब्याङकिङको सुविधा प्राप्त गर्नुपर्ने हो तर त्यसो भएन । जसका कारण मैले र मेरा साथीहरुले कोठा भाडा, फोनको विल वा अरु कुनै पनि तिर्नुपर्ने दायित्व कि त बैङ्कमै उपस्थित भएर तिर्नुपर्ने हुन्थ्यो या त नेट ब्याङकिङ प्राप्त गरेको कुनै ‘भाग्यमानी’ लाई गुहार्नु पथ्र्यो । जसरी विगत १५ महिना देखि मैले त्यही गर्दै आएको थिए । निवासको भाडा साथीले तिर्ने अनि साथीलाई मैले नगद दिने, फोनको विल साथीले तिर्ने अनि नगद मैले दिने, नेपाल पैसा पठाउनु परे कि त महँगो शुल्क बुझाएर मनि ट्रान्सफर सेन्टरमा पुगेर पठाउनु पर्ने वा बैङ्कको लामो लाइनमा पालो पर्खेर कार्य सम्पादन गर्नुपर्ने । यसर्थ नेट ब्याङकिङ अत्यावश्यक थियो, मलाई । जसले मेरो समयको वचत हुन्थ्यो । र, धेरै हदसम्म पैसाको पनि बचत । जस्तो नेपालमा पैसा पठाउँदा यहाँका मनि ट्रान्सफरले उक्त दिनको खास विनिमय दर भन्दा कम्तिमा ५ रुपैयाँ कमको दर दिन्छन र दस्तुर पनि निकै महँगो छ । उदाहरणका लागि १ हजार युरो नेपाल पठाउनु पर्यो भने उक्त दिन १ यूरो बराबर १३७ ने.रु. छ भने बढिमा यिनीहरु १३१ ने.रु. प्रति युरो दिन्छन् र १ हजार युरो पठाए वापत दस्तुर लिन्छन ३९ यूरो छुट्टै । तर त्यहि रकम नेट ब्याङकिङ मार्फत नेपाल पठाउँदा उक्त दिन नेराबै को विनिमय दर मै २८ यूरो दस्तुरमा रकम पठाउन सकिन्छ, फरक यत्ति हो बैङ्कबाट रकम पठाउँदा ब्यक्तिलाई नभै उसको बैङ्क खातामा पठाइन्छ र रकम पुग्न ४ दिनदेखि एक हप्तासम्म लाग्दछ । 
यसैकारण म मैले शुरुमा खाता खोलेको बैङ्कमा पाँच पटक सम्म पुगेको थिएँ, उनीहरुले त्यसका लागि प्रहरी कार्ड बनाउनु पर्छ भन्ने जवाफ दिए । जबकी प्रहरीको कार्ड विनै मेरा तीन जना साथीहरुले नेट ब्याङकिङको सुविधा प्राप्त गरिसकेका थिए । मैले यो तथ्य जानकारी गराउँदा जवाफमा मैले सुने – “यो दुर्भाग्यपूर्ण कुरो हो, उनीहरुले प्रहरी कार्ड विना त्यो सुविधा प्राप्तै गर्न सक्दैनन । सायद त्रुटीवश यस्तो हुन गयो !” अब यसमा सवाल जवाफ गरेर मैले पाउने केहि पनि हुन्थेन । हरेक पल्ट मलाई बैङकले निराश बनायो यो मामलामा । 
त्यो बैङ्कको सन्तोषजनक सेवा प्राप्त नभएको लागेपछि म अर्को बैङ्कमा पुगे । काउन्टरमा बसेकी युवतीले अत्यन्तै भद्र शैलीमा सोधीन – “म तपाइँलाई कसरी मद्यत गर्न सक्छुहोला ?” मैले मेरो हैरानी सुनाए पछि पनि उनले खाता खोल्न नमिल्ने जानकारी गराईन । कारण मसँग मेरो खाता भएको बैङ्कको सिफारिश पत्र र पछिल्लो तीन महिनाको खाताको आर्थिक विवरण पत्र साथमा थिएन । 
“हरे फिनल्याण्ड !” फिनल्याण्ड आएपछिको सबभन्दा लामो सुस्केरा मैले त्यो दिन फेर्न पुगेँ ।
आज सबै कागजात सहित बैङ्कमा पुगेँ । एक अधवैशें कर्मचारी थिईन । मेरा सबै कागजातहरु हेरेपछि उनले खाता खोल्न सकिने बताईन । चार÷पाँच फारामहरु भरिन, मलाई बुँदागत रुपमा पढेर सुनाइन्, बुझाइन र दस्तखत गर्न लगाइँन । दुई घण्टासम्म विभिन्न छलफल भए । विशेषतः रकम बचत गर्ने विषयमा । र, बचत गरेको रकमलाई लगानी गर्ने विषयमा । म फेरि अचम्ममा परेँ, महिनाको मुश्किलले १५०० यूरो कमाई हुने मैले कति बचत गर्ने ? अनि कहिले र कसरी लगानी गर्ने सोचिन होली उनले ? अन्ततः छुट्टिनु भन्दा पहिले हामीले के के छलफल ग¥यौं र के उपलब्धी रह्यो भन्ने बुझाएर उनले मलाई विदा गरिन् । उनले भनिन – पहिलो, हामीले दुईवटा खाता खोल्यौं । एउटामा तिम्रो तलब आउँछ र तलब आएको भोलीपल्ट निश्चितः रकम अर्को खातामा स्थानान्तरण हुन्छ । पहिलो खातामा शुन्य दशमलब शुन्य शुन्य पाँच प्रतिशत र अर्को खातामा शुन्य दशमलब एक प्रतिशत ब्याज प्राप्त हुनेछ । (भन्न मन लागेको थियो, त्यो ब्याज बैङ्क नै राखोस्, तर भनिनँ) दोश्रो, तिम्रो भिषा इलेक्ट्रोन कार्ड एक हप्तामा तिम्रा घरमा आउँछ र तिमीले त्यसबाट दिनमा १०० यूरो भन्दा बढि खर्च वा झिक्न नमिल्ने बनाएका छौं । तिम्रो लागि महत्वपूर्ण विषय, आजै बाट तिमीले नेट ब्याङकिङ प्राप्त गरेका छौ, अब तिमीले आफ्नो मोबाइल वा कम्प्यूटरबाट तिर्नुपर्ने सबै दायित्वहरु अनलाइन तिर्न सक्नेछौ ! म उठेर हिड्नै लाग्दा उनले भनिन् – “अनि साँच्ची तिम्रो रोजगारदातालाई यो नयाँ खाता नम्बर दिन नबिर्सनु नी !”

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)