Skip to main content

परेली खजाञ्जी, नेट ब्याङ्किङ् र मेरा पन्ध्र महिना

तस्वीरः गुगल :)
”भगवान कसम, त्यति राम्रा परेला भएकी केटी मैले अहिले सम्म देखेको पनि छैन, देख्न पनि नपरोस् !” – हामीसँगै भर्खर भर्खर फिनल्यान्ड पढ्न आएको एक मित्रले बैङ्क खाता खोलेर आएको दिन मेरी बास्सैको ‘खड्काजी' को शैलीमा बैङ्ककी खजाञ्ची युवतीको परेलाको तारिफ गर्दै सुनाएका थिए । सुन्नेमा एउटा म पनि थिएँ, मेरो त्यतिन्जेलसम्म बैङ्क खाता थिएन । प्रथम वर्षको म पनि विलखबन्दमा थिएँ, निर्णय लिन नसकेर कि खाता कुन बैङ्कमा खोल्ने ! दोश्रो वर्षका विद्यार्थीहरू प्रायःको खाता त्यही बैङ्कमा रहिछ । अर्थात उही परेला राम्री भएकी युवतीले काम गर्ने बैङ्कमा । अतएवः ईश्वीसन् २०१२ को सेप्टेम्बरको पहिलो हप्ता निख्रिदै गर्दा म पनि त्यही बैङ्कमा नै खाता खोल्नको लागि गएँ । 

निवासमा खजाञ्ची युवतीका राम्रा र तिखा परेलाका बारेमा निकै चर्चा भएकाले, ममा त्यो युवती हेर्ने उत्कट चाहना थियो । सौभाग्यवशः मैले खाता खोल्दा मलाई सहयोग गर्ने कर्मचारी त्यही युवती थिई जसका ठाडा ठाडा परेका खेलौना गुडियाका जस्ता परेला थिए । त्यो दिन खाता खोल्दै गर्दा उसँग भएको वार्तालापमा भन्दा मेरो ध्यान उसकै परेला एकदमसँगले आकर्षित गरे जसरी आफ्नो परिधीभित्र रहेका हरचीजलाई पृथ्वी आफ्नो केन्द्रविन्दु तर्फ आकर्षित गर्ने गर्दछ !

खाता खोलेको एक हप्तामा एटिएम (भिसा इलेक्ट्रोन) कार्डको पिन मेरो घरमा आईपुग्यो । पिन आएको तीन दिनपछि भिसा इलेक्ट्रोन कार्ड पनि घरमै आईपुग्यो ! हाम्रो पत्र खसालिने बाकस घरभन्दा १०० मिटर टाढा थियो, जहाँ हामीलाई पठाइएका घरको भाडा तिर्ने बिल, कलेजबाट पठाइने पत्रहरु खसालिन्थे । र, त्यही बाकसमा बैङ्कबाट पठाइएको भिसा इलेक्ट्रोन कार्ड र पिन सुरक्षित आइपुगेका थिए । र, मैले ती त्यहीबाट लिएको थिएँ जसरी मेरा अरु साथीहरुले आ–आफ्ना भिषा इलेक्ट्रोन कार्ड र पिन लिएका थिए । अचम्मको कुरो भिषा इलेक्ट्रोन कार्डको आवरणमा कस्तो चित्र र कुन रंगको राख्ने भन्ने एक दर्जन जति विकल्पहरुबाट मलाई मन पर्ने रंग र तस्वीर ती युवतीले छान्न लगाएकी थिईन जुन मैले मेरो भिसा इलेक्ट्रोन कार्डमा प्राप्त गरेको थिएँ – श्याम श्वेत रंगमा रहेको आवरण जहाँ एउटा धावक दौडिनका लागि तयारी हालतमा छ ! 

नेपाल हुँदा मेरा दुईतिन बैङ्कमा खाताहरु थिए र ती मध्ये कुनै पनि बैङ्कले मलाई मेरो कार्डको “आवरणको रंग र तस्वीर” छनोट गर्ने अवसर दिएका थिएनन । फिनल्यान्ड आएपछि मैले अनुभूत गरेको एउटा यथार्थ यहाँ सबभन्दा शक्तिशाली कोही छ त त्यो आम नागरिक । उसको रुची वा छनौटको बर्खिलाप कसैले केही काम नै गर्दैन भन्दा हुन्छ । चिकित्सककोमा जाँदा चिकित्सक विनीत भावमा प्रस्तुत हुन्छ, प्रहरीकोमा जाँदा प्रहरी विन्रमतापूर्वक प्रस्तुत हुन्छ, रेष्टुरेन्ट, बार, पसल, पुस्तकालय, विश्वविद्यालय जहाँ जाऊ, जता जाऊ करिव शतप्रतिशत सेवा प्रदायक निकायका कर्मचारीहरु मैले विनम्र, शिष्ट र मिजासिला भेट्ने गरेको छु ।

साथीहरुले भनेजस्तो खाता खोलेको तीन महिनामा स्वतः नेट ब्याङकिङको सुविधा प्राप्त गर्नुपर्ने हो तर त्यसो भएन । जसका कारण मैले र मेरा साथीहरुले कोठा भाडा, फोनको विल वा अरु कुनै पनि तिर्नुपर्ने दायित्व कि त बैङ्कमै उपस्थित भएर तिर्नुपर्ने हुन्थ्यो या त नेट ब्याङकिङ प्राप्त गरेको कुनै ‘भाग्यमानी’ लाई गुहार्नु पर्थ्यो । जसरी विगत १५ महिना देखि मैले त्यही गर्दै आएको थिए । निवासको भाडा साथीले तिर्ने अनि साथीलाई मैले नगद दिने, फोनको विल साथीले तिर्ने अनि नगद मैले दिने, नेपाल पैसा पठाउनु परे कि त महँगो शुल्क बुझाएर मनि ट्रान्सफर सेन्टरमा पुगेर पठाउनु पर्ने वा बैङ्कको लामो लाइनमा पालो पर्खेर कार्य सम्पादन गर्नुपर्ने । यसर्थ नेट ब्याङकिङ अत्यावश्यक थियो, मलाई । जसले मेरो समयको वचत हुन्थ्यो । र, धेरै हदसम्म पैसाको पनि बचत । जस्तो नेपालमा पैसा पठाउँदा यहाँका मनि ट्रान्सफरले उक्त दिनको खास विनिमय दर भन्दा कम्तिमा रुपैयाँ कमको दर दिन्छन र दस्तुर पनि निकै महँगो छ । उदाहरणका लागि एक हजार युरो नेपाल पठाउनु पर्यो भने उक्त दिन एक यूरो बराबर १३७ ने.रु. छ भने बढिमा यिनीहरु १३१ ने.रु. प्रति युरो दिन्छन् र एक हजार युरो पठाए वापत दस्तुर लिन्छन ३९ यूरो छुट्टै । तर त्यहि रकम नेट ब्याङकिङ मार्फत नेपाल पठाउँदा उक्त दिन नेराबै को विनिमय दर मै २८ यूरो दस्तुरमा रकम पठाउन सकिन्छ, फरक यत्ति हो बैङ्कबाट रकम पठाउँदा ब्यक्तिलाई नभै उसको बैङ्क खातामा पठाइन्छ र रकम पुग्न चारदिनदेखि एक हप्तासम्म लाग्दछ । 

यसैकारण म मैले शुरुमा खाता खोलेको बैङ्कमा पाँच पटक सम्म पुगेको थिएँ, उनीहरुले त्यसका लागि प्रहरी कार्ड बनाउनु पर्छ भन्ने जवाफ दिए । जबकी प्रहरीको कार्ड विनै मेरा तीन जना साथीहरुले नेट ब्याङकिङको सुविधा प्राप्त गरिसकेका थिए । मैले यो तथ्य जानकारी गराउँदा जवाफमा मैले सुने – “यो दुर्भाग्यपूर्ण कुरो हो, उनीहरुले प्रहरी कार्ड विना त्यो सुविधा प्राप्तै गर्न सक्दैनन । सायद त्रुटीवश यस्तो हुन गयो !” अब यसमा सवाल जवाफ गरेर मैले पाउने केहि पनि हुन्थेन । हरेक पल्ट मलाई बैङकले निराश बनायो यो मामलामा । 

त्यो बैङ्कको सन्तोषजनक सेवा प्राप्त नभएको लागेपछि म अर्को बैङ्कमा पुगे । काउन्टरमा बसेकी युवतीले अत्यन्तै भद्र शैलीमा सोधीन – “म तपाइँलाई कसरी मद्यत गर्न सक्छु होला ?” मैले मेरो हैरानी सुनाए पछि पनि उनले खाता खोल्न नमिल्ने जानकारी गराईन । कारण मसँग मेरो खाता भएको बैङ्कको सिफारिश पत्र र पछिल्लो तीन महिनाको खाताको आर्थिक विवरण पत्र साथमा थिएन । 

“हरे फिनल्याण्ड !” फिनल्याण्ड आएपछिको सबभन्दा लामो सुस्केरा मैले त्यो दिन फेर्न पुगेँ ।

आज सबै कागजात सहित बैङ्कमा पुगेँ । एक अधवैशें कर्मचारी थिईन । मेरा सबै कागजातहरु हेरेपछि उनले खाता खोल्न सकिने बताईन । चार7पाँच फारामहरु भरिन, मलाई बुँदागत रुपमा पढेर सुनाइन्, बुझाइन र दस्तखत गर्न लगाइँन । दुई घण्टासम्म विभिन्न छलफल भए । विशेषतः रकम बचत गर्ने विषयमा । र, बचत गरेको रकमलाई लगानी गर्ने विषयमा । म फेरि अचम्ममा परेँ, महिनाको मुश्किलले १५०० यूरो कमाई हुने मैले कति बचत गर्ने ? अनि कहिले र कसरी लगानी गर्ने सोचिन होली उनले ? अन्ततः छुट्टिनु भन्दा पहिले हामीले के के छलफल गर्यौ र के उपलब्धी रह्यो भन्ने बुझाएर उनले मलाई विदा गरिन् । 

उनले भनिन – पहिलो, हामीले दुईवटा खाता खोल्यौं । एउटामा तिम्रो तलब आउँछ र तलब आएको भोलीपल्ट निश्चितः रकम अर्को खातामा स्थानान्तरण हुन्छ । पहिलो खातामा शुन्य दशमलब शुन्य शुन्य पाँच प्रतिशत र अर्को खातामा शुन्य दशमलब एक प्रतिशत ब्याज प्राप्त हुनेछ । (भन्न मन लागेको थियो, त्यो ब्याज बैङ्क नै राखोस्, तर भनिनँ) दोश्रो, तिम्रो भिषा इलेक्ट्रोन कार्ड एक हप्तामा तिम्रा घरमा आउँछ र तिमीले त्यसबाट दिनमा १०० यूरो भन्दा बढि खर्च वा झिक्न नमिल्ने बनाएका छौं ।

तिम्रो लागि महत्वपूर्ण विषय, आजैबाट तिमीले नेट ब्याङकिङ प्राप्त गरेका छौ, अब तिमीले आफ्नो मोबाइल वा कम्प्यूटरबाट तिर्नुपर्ने सबै दायित्वहरु अनलाइन तिर्न सक्नेछौ ! म उठेर हिड्नै लाग्दा उनले भनिन् – “अनि साँच्ची तिम्रो रोजगारदातालाई यो नयाँ खाता नम्बर दिन नबिर्सनु नी !”

Comments

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...