बोक्रे विद्वानहरू र एक विवादास्पद लोक गायक

केहि दिनदेखि यता सामाजिक सञ्जालमा 'विद्वान' नेपालीहरूको तारो भएको एउटा नाम हो – पशुपति शर्मा । पछिल्लो दशक नेपाली लोकसंगीतमा चर्चीत गायकका रूपमा परिचित शर्मा विशेषतः रोर्इला गीतका लागि परिचित छन् । उनका गीत मैले धेरै त सुनेको थिइँन, तर म्याग्दी महोत्सबका केहि संस्करणहरूमा उनको प्रस्तुतीले नेपाली लोकसंगीत प्रतिको मेरो चाह थोरै भएपनि बढाएकै हो । नत्र त किशोरवास्था ताकाको नेपाली पप एवं हिपहप संगीतको पारखी म, लोकगीत सुन्नेहरूलार्इ 'पाखे' ठान्दथेँ ।

नेपाली हुनुको नाताले लोकगीतका बारेमा ज्ञान हुनैपर्छ वा पर्दैन भन्ने मान्यतामा म उती गम्भीर छैन । तर नेपाली भएरै पनि नेपाली लोक संस्कृतीलार्इ हेयका भावले हेर्ने मेरो किशोरावस्थाको त्यो सोच घटिया र निम्नस्तरको थियो भन्नेमा म ढुक्क छु । यति हुँदाहुँदै पनि बिस्तारै नेपाली लोक संगीत सुन्दै जाँदा यो अझ अरू कर्णप्रिय लाग्दै आएको छ । तर पछिल्ला बर्षहरूमा नेपाली लोकसंगीतका नाममा तयार पारिएका सस्ता र कोठे भाकाहरूले नेपाली लोकगीतको मर्मलार्इ प्रहार गरेको कुरामा सायदै कोही असहमत होला । उसो त पशुपति शर्माका गीतहरू त्यति धेरै मेहनत साथ तयार पारिएका गीतहरू हुन भन्न मलार्इ असहज लाग्दछ । ती छिनछिनमा गीतहरू निकाल्छन् । र, मलार्इ यस्ता होनहार प्रतिभाको तत्सम्बन्धी क्षमतामा सदा शंका रहने गर्दछ । तापनि लोकसंगीत माध्यमबाट बेलाबेलामा उनले प्रस्तुत गर्ने जनचेतनामुलक गीतसंगीतका लागि भने म उनलार्इ सदा सम्मानपूर्वक सुन्नेनै छु ।
पशुपति शर्माले तीज गीतका रूपमा हामी नेपाली भन्ने भावको जुन गीत प्रकाशनमा ल्याएका छन् त्यसले सामाजिक सद्भभाव खल्बलाउने तथ्यलार्इ न्यायोचित र तार्किक ढंगले कसैले पुष्टि गर्दछ भने म उनको सट्टा जेल जान तयार छु । यथार्थपरक धरातललार्इ चटक्कै बिर्सेर शब्दहरूमा खेल्न रूचाउने, तर्कका दुनियाँमा आफूलार्इ बेहिसाव बादशाहका रूपमा स्थापित गर्न खोज्ने पठ्ठुहरूको दयनिय सोचका लागि उनीहरूलार्इ अकिञ्चन दयाका भावले स्नेह गर्नु सिवाय दिनलार्इ मसँग अरू केहि छैन । बोक्रे बौद्दिकतामा रम्नेहरूले जेजस्ता तर्कहरू गरेता पनि यथार्थताको केन्द्रियता के हो भने अझै पनि हाम्रा 'विद्वान' नेपालीहरू बसोबास गर्ने नेपाल नामको भूभागको सबैतिर जातिय विभेद उत्तिकै अभ्यासमा छ । म विश्वस्त छु – पशुपति शर्मालार्इ दमार्इ, कामी शब्दको प्रयोग गर्यो भनेर ‍औंला ठड्याउने मेरा बाहुन साथीहरूले मेरा दलित साथीहरूलार्इ उनका घरमा हार्दिकतापूर्वक सम्मान गर्न सक्दैनन् । दलित साथीले खानपिन गर्ने भाँडाकुँडा उनीहरूलार्इ प्रत्यक्ष वा परोक्ष माझ्न विवश मात्र पार्दैनन् नओभाइन्जेल भान्साकोठासम्म ती भाँडाकुँडा पुर्याउदैनन् पनि । यसकारण, बोक्रे बौद्दिकतामा रम्नुको कुनै तुक छैन मेरा विद्वान मित्रहरू । समस्या शब्दको छनौट वा प्रयोगमा हैन, समस्या तपाइँहाम्रो हिन्दुवादी सोचमा छ । दलितहरू पनि छिर्न थाले भनेर मठमन्दिरमा सबैजनाकोलागि प्रवेश निषेध गराउने हाम्रो सोचमा खराबी छ । अन्तरजातिय वा अन्तरसाँस्कृतिक विहे गर्ने जोडिलार्इ गाउँ निकाला गर्ने हाम्रो सोचमा खरावी छ । पशुपतिको गीतमा के खराबी छ ? उनले त गीतबाट स्पष्ट आब्हान गरेका छन् – जातका कुरा गर्ने घाती हुन । के दमै ? के कामी ? के बाहुन ? के क्षत्री ? हामी सबै नेपाली । यदि दमै, कामी भन्ने शब्दावलीले कसैको आत्मसम्मानलार्इ चोट पुग्छ भने त्यो शब्दको प्रयोग माथि नै कानुनी बन्देज लगार्इनुपर्छ । नत्र त दलित भन्ने शब्दको प्रयोगमा पनि आपत्ति उठार्इनु स्वभाविक हो । दलितको अर्थ के हो ? दलिएका हैन ? थिचिएका अछुतहरू हैन ? अब दमैको अर्थ के हो ? दमाहा बजाउने, अर्थात बिहेबारीमा बाजा बजाउने जाती । सार्कीको अर्थ के हो ? मैले त छालाको काम गर्ने जाति भनेर पढेको हो । बुझेको पनि त्यस्तै हो । तर मेरो 'यो बुझार्इ'मा दमार्इ, कामी, सार्की भन्ने जातीहरू 'अछुत' हुन भन्ने कहिँ कतै छैन ।
यस गीतको म्युजिक भिडियोमा एउटा कथा देखार्इएको छ । अन्तरजातीय बिहे गरेका एक जोडीलार्इ गाउँ निकाला गर्न लागिएको दृश्यमा गायकले गएर आब्हान गरेका छन् – दमार्इ, कामी, बाहुन, क्षत्री वा जनजाती हैन, हामी सबै नेपाली । जसले जुन जातकोसँग बिहे गरे पनि त्यसले केहि फरक पार्दैन । यहि भाव त छ यो गीतमा ।
बोक्रे बौद्दिकताको प्रयोग गर्ने हो भने पशुपति शर्माको यो गीत मात्र हैन अरू थुप्रै गीतमा आपत्ति जनाउनु पर्ने शब्दहरू प्रयोग भएका छन् । जस्तो एबिसीडी पढ्दिन भन्दा करार्इकरार्इ पढ भन्यौं ... मा प्रयुक्त गार्इखाने भाषाले बिग्रेको भावले के जनाउँछ ? यसलार्इ हिन्दु जड्तावादी सोचका रूपमा ब्याख्या गर्न सकिन्छ । यसलार्इ पशुपति शर्माले धार्मीक/साँस्कृतिक विचलन ल्याएको आरोप लगाउन सकिन्छ ।
त्यस्तै निशा सुनारसँग गाएको काली रैछौ बोलको रोइला गीतमा सधैं नाङ्गै हिड्थी कट्टु ला'को देखिनँ, कहिल्यै शरीर छेकिनमा पनि नंग्नताको नाङ्गो प्रदर्शन गरिएको छ । के यसमा गायकले कट्टु लाएको देखिनँ भन्नुको तात्पर्य कट्टुले छोपिने अङ्ग देखेँ भन्न खोजेका होलान् त ? बन्द संस्कृति प्रचलनमा रहेको मुलुकमा यो गीत कसरी पचार्इयो ?
अझ रिता थापा मगरसँगको 'यति बानी सुधार..' मा उनले गाएका छन् –अलि नक्कली छ्यौ, बोल्छ्यौ आँखा जुधा'र, यति बानी सुधार । यस गीतमा पनि समस्त नारीहरूलार्इ पुरूषसँग बोल्दा नम्र हुन भनिएको छ । यसले नारीहरूलार्इ आत्माविश्वासी हुनबाट हतोत्साही गरेको छ । नारी पुरूष बराबर भएको सन्दर्भमा यस गीतमा प्रयुक्त यो शब्दलार्इ पनि आपत्तिजनक मान्नुपर्ला नी हैन र?

त्यसकारण, मेरा बोक्रे विद्वान मित्रवरहरूलार्इ आग्रह के छ भने विषय वा प्रसङ्गले के अर्थ राख्दछ त्यसको गहिरो बुझार्इ बिना आफूलार्इ बौद्दिक भनेर नचिनाउँदा मै वेश होला । विरोध शब्दमा हैन, त्यसको भावको गरौं । सक्छौ भने विरोध तिम्रो आफ्नै संकुचित हिन्दु संस्कारको जातिय वर्ण व्यवस्थाको गर । जातिय विभेदको गर । हो, तिम्रो आफ्नै साँघुरो सोचको विरोध गर ! 

Post a Comment