म शिशा पुछ्दिनँ ६

समय मैं ऋतुकालमा प्रविष्ट नहुने असाध्य नारी रोगले आक्रान्त मेरी धर्मपत्नीको व्यथा नेपाल छाड्दा पनि उस्तै नै रह्यो । त्यसकारण, उनले यो विदेशी भूमीमा पहिलो पटक यहाँको चिकित्सकसँग चेकजाँच गराउनु पर्ने भयो । त्यस हेतू नजिकैको सरकारी स्वास्थ्य केन्द्रमा फोन मार्फत हामीले चेकजाँचको लागि समयको अग्रीम प्रबन्ध गर्‍यौं । उनका लागि आकस्मिक सेवा आवश्यक नभएका कारण, स्वास्थ्यकेन्द्रले तीन हप्तापछिको समयको ब्यवस्था गरिदियो ! तीन हप्तापछि बिहान आठ बजे उनी स्वास्थ्य केन्द्र पुगीन ।

नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ हावापानीका कारण सिर्जित तनावका कारणले त्यस्तो भएको रे डाक्टरले भनेकी !स्वास्थ्यकेन्द्रबाट फर्केर आफ्नो झोला समेत नबिसाई एकै श्वासमा पत्नीले सुनाईन ।

, ए ! हामी त्यसै के के सोचेर आत्तिएछौं ! ठीकै छ नी त उसोभए ।मैले यतिभनेपछि आफूले स्वास्थ्यकेन्द्रमा बिताएको आधा घण्टाभन्दा बढीको समयमा के के भयो र कस्तो अनुभव रह्यो उनले सविस्तार सुनाइँन । जुन मेरा लागि नौलो विषय थिएनन् ।

म तल बसिरहेकी थिएँ, मेरो नाम लिदैँ डाक्टर आइन । मलाई ह्युभा हुवामेन्ता (शुभप्रभात) भन्दै अभिवादन गरीन । मैले पनि मुन्टो हल्लाएँ । कस्तो लाज लाग्ने नी हैं डाक्टरले पो नमस्ते भन्ने ?!” यती भन्दा मेरी श्रीमतीको अनुहार लाजले अलिकती रातो भएको छर्लड्गै देखेँ मैले । उनलाई सहज बनाउनलाई मैले भन्नु पर्‍यो –“आफ्ना आफ्ना रीतिथिती हुन बुढीमाऊ । उता डाक्टरलाई नमस्ते गर्नुपर्छ । वा भनुँ उमेर, पढाई, ओहोदा नानाथरीका वर्गिकरणमा आफूभन्दा माथिल्लो श्रेणीलाई धनुष्टङ्कार गर्नुपर्यो, मुनिका लाई गराईन्छ पनि, यता सेवाग्राहीलाई सेवा प्रदायकले सम्मान ब्यक्त गर्छन ! हाम्रोमा सम्मान खोजिन्छ मानौं कि त्यो पाउनुपर्ने अधिकार हो, यता सम्मान खोज्नुमा हैन आर्जन गर्नुपर्नेमा विश्वास गर्छन ! यो आर्जन गर्नपट्टि लागे, हामी माग्नपट्टि !
उनले थप्दै गइन् – “उनको जाँच कक्षमा आफूले ढोका उघारेर मलाई पहिला स्वागत गरीन अनि आफू भित्र छिरीन । बस्नलाई मेच देखाइन् । मेचमा सुविस्तापूर्वक बस्नलाई आग्रह गरिन । अप्ठ्यारो तरिकाले अंग्रेजी बोल्दै दुईचार कुराहरु सोधीन । कहिले आएको ? फिनल्याण्ड कस्तो लाग्दैछ ? फिनिश आउँछ कि आउँदैन ? खासमा उनलाई उस्तो अंग्रेजी नआउँदो रहिछ । उमेर पनि पचास पचपन्न भइन होली । उनी अलि अलि मात्र अंग्रेजी बोल्ने म फिनीश कत्ति पनि नबोल्ने । पछि बुझ्नलाई अलि गार्‍हो पर्न थालेपछि मसँग क्षमा माग्दै उनी अंग्रेजीमा दख्खल राख्ने आफ्नी सहायक लिनलाई गइन । आफूले राम्रोसँग संवाद गर्न नसकेकोमा यति धेरै क्षमाशील रहिन की मैले कतिपटक ठीकै छ, बुझिराछु ।भन्दा पनि उनले आइ एम सरीभनेर दोहोर्‍याई रहीन बुढा ! पछि उनको सहायक आएर दोभाषेको काम गरिन ।
मैले एकाग्र मेरी पत्नीलाई सुनिरहेँ ।

पछि चेक गरिसकेपछि आफै ढोका खोलीदिईन । अनि फेरि पनि आफूले अंग्रेजीमा राम्रोसँग दोहोरो संवाद गर्न नसेकेकोमा माफ मागीन । मलाई पो कस्तो अप्ठ्यारो लाग्यो ।
श्रीमतीले आफ्नो अनुभूति मात्र सुनाईनन् नेपालका केही आफ्ना अनुभव र अरुबाट सुनेका अनुभवहरुका बारेमा पनि उप्काईन ।

मैले जिस्काउँदै भनेँ – “प्रसव ब्यथाको बेला डाक्टर नर्सहरु सुत्केरी हुन लागेकी महिलालाई खुब थर्काउँछन रे नी हैं हाम्रो मुलुकाँ ?” उनले मुख रातो पारीन । लाजले होला । मैले सोध्न लाज नमानी जिज्ञासा राखिहालेँ – “साँच्ची हाम्री छोरी जन्मिदा तिमीलाई केही गाली गरेकी नाइँ ?” श्रीमतीका दुबै आँखामा आँशु देखेँ मैले ।
उनको आँशु पुछिदिदैं मैले भनेँ – “बोगटी थर कान्छी माईजुले पनि ब्यथा सहन नसकेर रुँदा एउटी नर्सले खुब गाली गरेकी थिई रे नी त । उतिबेला खुब रमाईलो गरीस अहिले हाम्लाई बेकारको टेन्सन न दे भनेर !
जे पायो त्यो !भन्दै, मजाकमा उनको मुड्की प्रेमपूर्वक मेरो छात्तिमा बज्रियो ।

म यसो गम खान्छु यी फिनिश आम मानिसहरु कति सम्म विनयशील हुन सकेका ? कति क्षमाशील प्राणी यी ? एकपटक मेरै कारण एउटा फिनिश अधवैशें मसँग ठोक्किन पुग्यो, मैले आन्तेक्स (माफ गर्नुस् हैं) भन्नु नपाउँदै उसले माफी माग्यो । ऊ त एक आम मान्छे थियो, उसले त्यसो गर्नु स्वभाविक पनि हो । तर यहाँका प्रहरीहरु पनि कसैले केही गल्ती गरिहालेका छन् भने हाम्रातिरका प्रायःजसो प्रहरी दाजुभाईहरु जस्तो सिधैं झम्टिन जाँदैनन् । एकदम शालीन पाराले सम्भावित अपराधीलाई विनम्रतापूर्वक आफ्नो गाडीमा बसाल्छन् । यदि कुनै जण्डै खालको मनुवा परेछ भने चाँहि भुँइमा लडाएर हात पछाडी हत्कडी लगाएर थानामा लान्छन । उसो त मेरै क्याम्पसका प्राध्यापकहरु म होस वा अरु कोही आफ्ना विद्यार्थीले आफूलाई देख्नुभन्दा पहिला उनीहरुलाई देखे भने अभिवादन गर्छन ! धेरै पटक म चकित हुने गरी बडो आश्चर्यमा परेको छु । यसरी म यहाँको संस्कार देखेर चकमकाउन थालेको साढे दुईवर्ष हुन आँट्यो !

सेतोपाटीमा दिल निशानीले ४८ घण्टाका लागि प्रधानमन्त्री बन्न पाए दश वटा बुँदामा काम गर्ने उद्घोष पढेपछी मेरी श्रीमतीले आफ्नो तर्फबाट एउटा बुँदा थप्न चाहिँन – "कि प्रसव पीडामा छटपटिएकी नारीलाई उचीत मानवीय व्यवहार नगर्ने डाक्टर नर्सहरुको अनुमति पत्र खारेज गराई भविष्यमा उक्त पेशा अबलम्बन गर्नै नपाउने ब्यवस्था पनि गर्नुपर्छ । के भन्नुहुन्छ ?"

 मैले के भन्नु ? बुँदाहरुले देश बन्दैन । परिवर्तन हुँदैन । देश बन्ने एउटा अचूक सुत्रमा मेरो सधें विश्वास छ । अल्बर्ट आइन्सटाइनले सरलीकृत गरेर त्यसलाई भनेका छन् – “जुन विश्व हामीले सृजना गरेका छौं त्यो हाम्रो सोचाईको प्रक्रिया हो । हाम्रो सोचको परिवर्तन विना त्यसको परिवर्तन सम्भव छैन !

के त्यो सोचले हाम्रो पुरुष अहमतावादी संस्कारसँग सानिन्ध्यता राख्दैन होला ? के त्यो सोच हाम्रो अपरिष्कृत परम्परागत बुझाई, गराई र शोषणवादी अहम्सँग सन्निकट छैन होला ? हो, प्रिया यहाँको जस्तै सामाजिक व्यवस्था खोज्ने अधिकार हामीसँग त्यतिन्जेल छैन, जतिन्जेलसम्म हामी हाम्रा खोटी सोंचहरूमा परिवर्तन ल्याउन सक्दैनौं ! र, देश पनि त्यतिन्जेलसम्म त्यस्तै रहनेछ । त्यो यसरी नै परिचित हुनेछ पछौटे, घामड र अहमताको भुङ्ग्रोमा भुटिएका मान्छेहरुको वस्तीको रुपमा !
Post a Comment

Popular Posts