Skip to main content

म शिशा पुछ्दिनँ ४

गएको हप्ता त हो नी छोरीले आफ्नी आमा (ममी) को मोबाइल फोनमा ‘मिस्ड कल’ गरेको, अनि मेरी दुलहीले छोरीलाई फोन गरेको । आमा–छोरीको मोबाइल वार्ता सुन्दै गर्दा बोलीरहेका दुईजनामा मैले प्रशन्नताको स्पष्ट भाव पाएथेँ, तर मलाई अलि धेरै गम्भीर बनाईदिए मेरा दुई परीहरुले !
“के गर्दैहुनुहुन्छ नी ?” हामीले यताबाट “छोरी” भनेपछि उताबाट छोरीले बोल्ने पहिलो वाक्य नै यहि हो ! त्योदिन पनि छोरीले उनकी आमाले “छोरी” सम्बोधन गरेलगत्तै यहि प्रश्न गरीन् ।
“तिमीसँग कुरा गर्दैछु ।” वा “भर्खर खाजा खाएँ ।” भनेको भएपनि आज म यसरी सायदै यो लेखिरहेको हुनेथिएँ । तर मेरी पत्नीले भनीन – “म भर्खर पढेर आएको, बाबाले खाजा बनाउनु भयो अनि हामीले खायौं !” यसो भनेर सकेपछि उनले पुलुक्क मतिर फर्केर हेरीन् । उनको त्यो हेराईमा मैले असीम अनुग्रहीत भाव पाएथेँ ।
उनीहरु अरु धेरै कुराहरु गर्दै थिए, मलाई चाँहि पत्नीले बोलेको पहिलो वाक्यले नै एक हिसाबले स्तब्ध बनायो । अझ यस्तो भनूँ कि त्यसले मेरो भावुक हृदयलाई क्षतविक्षत पार्‍यो । उनको तात्कालिक अनुग्रहीत भावले मेरो हृदयमा ल्याएर आएको कम्पनको अहिले म वर्णन गर्न सक्दिनँ ।
प्रायःजसो म कामबाट साढे दुईबजेतिर घर फर्किसकेको हुन्छु । उनी फर्किदा साढे तीनमा केही बढी हुन्छ । र त्यो दिन पनि त्यस्तै भएथ्यो ।
मलाई झट्ट याद भो’ – उनी आउँदा मैले चिया तयार पारेर राखेको थिएँ । बिस्कुट त छदैं थियो । हामीले त्यो दिन खाएको खाजा त्यही चिया बिस्कुट थियो । मैले दुई मिनेट पनि नलगाई उमालेको चिया मेरो पत्नीको लागि “खाजा” भयो । साँच्ची, हाम्रा नेपाली नारीहरु आफ्ना श्रीमान्का स–साना कामप्रति पनि कति धेरै अनुग्रहीत हुन सकेका ? बच्चै हुँदा बुबाले उमालेको चाउचाउलाई आमाले भन्नुहुन्थ्यो – “ल बुबाले बनाएको “अर्नी” खाना आओ बाबुहरु !” आमाले यसो भन्दै गर्दा उहाँको मुहारमा पनि म असीम कृतज्ञता देख्थेँ । मामाघरमा जाँदा पनि माईजुले उस्तै प्रेमभाव सहित भन्नुहुन्थ्यो – “ल भान्जा, मामाले बनाएको ‘घिन्ती’ र चिउरा खाऊ !”
वर्षका ३६५ दिन मध्ये मैले मेरी पत्नीलाई पाँच दिन खाजा बनाएर सघाउँछु होला । तर बाँकी दिनहरुमा त उनले नै हो सबथोक बनाउने  हाम्रा लागि । तर म कहिल्यै अनुग्रहीत भइँन ! सायद खाना खाजा बनाएर खुवाउनुपर्ने उनको जिम्मेवारी हो भन्ने ठानेँ मैले । र, त्यसरी खान पाउनुपर्ने मेरो हक ! मनमा अनेकन तर्कनाहरु खेल्न थाले ।
महिला अधिकार, महिला पुरुष समानताका आदर्शका कुराहरुमा मैले धेरै पटक लेख्दै र बोल्दै आए । मैले मात्र नभै धेरै पुरुषले त्यसो गर्छौ नै ! तथापि यी लेखेर र बोलेर मात्र प्राप्यसाध्य छैनन भन्ने हामीले कहिल्यै बोध गरेनौं । ‘म’ यस्तो पुरुष भएछु कि गफका गुड्डी हाँक्ने तर सिन्को नभाँच्ने !
अस्तिमात्रै काममा म शिशा पुछ्दै थिएँ, आफैले टल्काएको शिशाबाट सडकमा मैले एउटा लक्का जवान ठिटो देखेँ । उसले बच्चाको झोलुंगो (बच्चा राखेर गुडाउने भाँडो) गुडाउदँै थियो । ऊ बच्चा लिएर मैले काम गर्ने किनमेल केन्द्रभित्र छिर्‍यो । म अर्कोतिरको शिशा पुछ्न कुदेँ, ऊ त्यतैतिरको एउटा बच्चाको सामान पाइने पसलभित्र छिर्‍यो । तत्क्षणः मैले सम्झेँ यदि कुनै नेपाली पुरुष एक डेढ बर्षे बच्चा लिएर बच्चाका लागि केही सामान किन्न पसलमा गयो भने, पसलेले सामान दिनुभन्दा पहिले प्रश्न अवश्य सोध्नेछ – “श्रीमती ख्वै र ? आफै आउनुभएको ?”
हालैको दिन मैले एउटा राष्ट्रिय साप्ताहिकमा कामकाजी महिलाको बारे लेखिएको आलेख पढेको थिएँ । आलेखमा थुप्रै महिलाहरुले नेपाली समाजको “पुरुष अहमता” र “सामन्तवादी चिन्तन” को निकै नै घिनलाग्दो अनुभवहरु बाडेका छन । श्रीमान् श्रीमती दुवै काम गर्छन । श्रीमतीले काममा जानुपहिले चिया तयार पार्ने देखि खाना बनाउने ख्वाउने खाने र छोराछोरीलाई विद्यालय पठाउनेसम्मका तारताम्य मिलाउँछिन । काम सकिएपछि दुवै घर फर्किन्छन् । खाजा बनाउँछिन, छोराछोरी श्रीमानलाई ख्वाउने काम गर्छिन । उनीहरुलाई गृहकार्य गर्न सघाउँछिन । तर पुरुष पात्र आराम मात्र गरिरहन्छ । मनोरन्जन लिन्छ – टिभी हेरेर । इन्टरनेटमा सर्फिङ गरेर । आलेखमा भनेजस्तै वास्तविकता के हो भने नेपाली महिलाहरुका लागि आराम भनेको रातीको छ सात घण्टा सुत्ने समय मात्र हो ।
मानवशास्त्रीहरु भन्छन् – ढुंगे युगमा पुरुषहरु शिकार खेल्न जान्थे, महिलाहरु घरमा बसेर बच्चाबच्चीको स्याहारमा लाग्थे । त्यहाँबाट शुरुभएको पुरुष दासता आज पर्यन्त निरन्तर छ । पुरुष पात्रको यस हैकमवादी चरित्रकै कारण दुवै पात्रहरुको यथोचित विकासमा व्यवधान आएको कटु यथार्थ हो । अब बिलम्ब नगरी नेपाली समाजलाई ढुंगे युगबाट माथी उठाउनु पर्ने बेला भएको छ ।
त्यो दिन आओस्, श्रीमानहरुले खाजा बनाउँदा श्रीमतीहरुलाई अनौठो नलागोस् । सबैकाम सँगसँगै गर्ने समय आओस् । कामहरुमा लैङ्गीक विभाजन नहोस् । आउँदो पुस्ताले यस्तो पढ्न पाउन – कुनै समय कामहरु दुई प्रकारका हुन्थे । केही पुरुषहरुले गर्थे, धेरै कामहरु महिलाहरुले गर्थे !

Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…