किन यस्तो फेरियौं हामी?

तस्वीर स्रोत
अब त आफ्नोपनका बारेमा लेख्नुपनि धक मान्नुपर्ने अवस्था सृजना हुन लाग्यो । किनकी, आफ्नापनका बारेमा मानिसहरूलार्इ रूची लाग्नै छाड्यो । अझ विप्रेषणको भरमा राज्य धानिएको हाम्रो जस्तो देशमा प्रत्येकलार्इ के लाग्न थाल्यो भने हामीसँग केहि छैन, जे छ विदेशीहरूसँग छ । हाम्रा संस्कारहरू, संस्कृतिहरू, रितीरिवाजहरू ती सबै मक्किएका छन । हामी मध्ये धेरैलार्इ यस्तो पनि लाग्न थाल्यो कि हाम्रा पहिचानको जगेर्ना गर्नुपर्छ भनेर यदि कसैले आवाज उठाउँछ भने कि त त्यो बदलिदो युगको परिवर्तनको वेगसँग प्रवाहित हुन असमर्थ छ या कि त ऊ पाखण्डी हो । पाखण्डी त तपाइँ हामी जस्तो देखासिकीमा सभ्यता देख्ने, अरूमा आफ्नो पहिचान परावर्तन भएको देख्नेहरूलार्इ भनिनुपर्ने हो तर विडम्बना आफ्नोमा आफ्नै सुगन्ध स्वादन गर्ने मान्छेहरू पाखण्डी भनिएका छन् ।
जोन टोमलिन्सन भन्छन्, सांस्कृतिक साम्राज्यवादको उति लामो इतिहास छैन । इश्वीसनको ६० को दशकदेखि यो विषयमा छलफल हुन थाल्यो । पश्चिमाहरूको प्राविधिक प्रगतिले जतिजति उन्नति गर्दै गयो, त्यो भन्दा तिब्रतर गतिमा यिनका सांस्कृतिक प्रभावमा गरिप राष्ट्रहरू पर्न थाले । आर्थिक आधारमा समुदाय वा राष्ट्र गरिव हुन सक्छ तर के संस्कृति कसैको गरिव र कसैको धनी हुन सक्छ ? तर बनार्इदोरहिछ । एक खास संस्कृतिमा बाँचेका मानिसहरूको सोचलार्इ विकृत बनाइदिएपछि संस्कृतिलार्इ पनि आर्थिक आधारमा धनी र गरिवका नाममा वर्ग विभाजन गरेजसरी टुक्राउन सकिदोरहिछ । यतिसम्म निकम्मा बनाउन सकिदो रहिछ कि एकसमय मेरो एकजना नाइजेरियाली साथी वासिऊले मलार्इ बताएथे कि अफ्रिका र एशियाका मानिसहरूलार्इ पश्चिमाहरूले यस्तो दिमाग हाल्देका छन् ताकी हामीहरू हाम्रो केहि राम्रो देख्दैनौं, राम्रोजति सबै उनीहरूमै छ भन्नेमा हाम्रो अन्धसमर्थन छ!
टुन्स्टलले सांस्कृतिक साम्राज्यवादको सरल टिप्पणी यसरी गरेका छन – विश्वभर विभिन्न समुदायमा छरिएर रहेका असली, परम्परागत र स्थानीय संस्कृतिहरू विशेषतः अमेरिकाबाट उत्पादित विभिन्न चिप्ला व्यापारिक मिडिया उत्पादनहरूका कारण निस्तेज पारिएका छन । हुनपनि विदेशी चमकधमकमा हामीहरूले आफ्ना प्रमाणिक अस्तित्वहरूलार्इ यसरी मेटाउँदै गएका छौं कि ती सामान्य बोलिचालीका भाषामा समेत सहज लाग्न थालिसकेँ । जस्तो, हाम्रा गाउँघरतिर बुढा बाजे बज्यैहरू 'कति बज्यो ?' को सट्टा 'ट्याम कति भो?' भने सोध्ने गर्नुहुन्छ ?
ख्रिष्ट्रियन पर्व क्रिसमसको बेला प्रतिष्ठित पत्रिकाले आफ्नो मुख पृष्ठमै एउटा कार्टुन छाप्यो । कार्टुनमा क्रिसमसको अवसरमा नेपालका प्रधानमन्त्रीले मन्त्रिपदको उपहार बाँडेको देखार्इएको छ । ब्यंग्य जति जायज छ, व्यंग्यको जुन पृष्ठभूमी तयार पारिएको छ । त्यो लज्जास्पद छ । महत्वपूर्ण कुरो नेपालमा मुश्किलले २ प्रतिशत मात्र क्रिश्चियन धर्मावलम्बीहरू रहेको सन्दर्भमा 'क्रिसमसको उपहार' का रूपमा प्रधानमन्त्रीले उपहार बाँडेको देखाउनु कुन हिसाबले सहि ठहर्याउन सकिन्छ ? नबिर्सौ नेपाल धर्मनिरपेक्ष राष्ट्र भएपनि त्यो ८० प्रतिशत भन्दा बढी हिन्दु र १२ प्रतिशतभन्दा बढी बौद्द धर्मावलम्बीहरूको घर हो । र, अधिकांशले मनाउने चाड दशैं तिहार नै हो । आफूलार्इ उदार बताउने केहि युवायुवतीहरूले रमार्इलाका लागि या सामाजिक सञ्जालमा सम्प्रेषण गर्नका लागि क्रिसमसका भोजहरूमा भड्किला नाचहरू नाचे, रक्सी पिए या 'क्रिसमस ट्रि' का अगिल्तिर उभ्भिएर तस्वीर खिचे भन्दैमा त्यो देशको चाड हुँदैन ।

सांस्कृतिक साम्राज्यवादको जकडमा हाम्रा जस्ता गरिव राष्ट्रका जनताहरू यसरी आक्रान्त बनाइएका छन कि करिबकरिब हामीहरू विकल्पविहीन बनाइएका छौं । हामीलार्इ हाम्रालागि सोच्न पनि हाम्रो आफ्नै मगजमा भन्दा आयातित मगजमा निर्भर हुनुपर्ने अवस्था सृजना हुँदैछ । हाम्रा चिजहरू विदेशीहरूले 'वाह! तिम्रा यी चिज कस्ता राम्रा!' नभनुन्जेल हामीलार्इ राम्रो लाग्दैन । राम्रा त ती उनीहरूले नबताउन्जेल अघिसम्म पनि बिछट्टै राम्रा थिए नी, तर हामीले आफ्ना चीजमा सुन्दरता देख्न छाड्यौं । के हामी फेरिएकै हौं त ?
Post a Comment