- Get link
- Other Apps
- मुक्ति पौडेल
दश कक्षाको टेस्टमा फेल भएपछी दर्वाङ बजार चाहारेर लाहुरेको भारी बोक्नु मेरो दैनिकी थियो । लाहुरेको भारी नपाएको बेला चितवनतिरबाट आएका राता कुखुरा बोकेर गाँउ गाँउ डुलेर बेच्नु वाध्यता जस्तै थियो । रातो कुखुरा हेर्दा लोकल जस्तै देखिने मासु चाम्रो हुने भएकाले सबैले मन पराउथे । खासगरी रक्सी पसलमा त चाडै नै सकिन्थ्यो । के गर्नु ! परिवार पाल्नै पर्यो । भारी तथा कुखुरा नपाएको दिन दर्वाङका होटलहरुमैदिन वित्थ्यो । भर्खरको देखेर हो या आफ्नै दौतरी जस्तै ठानेर प्राय लाहुरेहरुले मलाईनै भरीया बनाउन खोज्थे । दलाललाई पासपोर्ट बुझाएको दुई महिना भैसकेको थियो ।
एक दिन एउटा लाहुरे आयो । कालो चस्मा, टि सर्ट र जिन्सपाईन्ट लगाएको, गोरो छाला भएको । आँखा र नाकले मात्र नेपाली भएको छनक दिन्थ्यो नत्र विदेशी जस्तै देखिन्थ्यो । हुन त प्राय लाहुरेहरु भर्खर आउदा यस्तै देखिन्छन । महिनादिनमै पछि हामी जस्तै हुन्छन् । छतमा राखेको सुटकेस झार्ने क्रममा खलासीले मान्छेकोभन्दा दोव्वर भाडा लाग्छ भन्दा अनुहार केही विगारेपनि उसले केही भनेन । म आफ्नो रोजगारदाता पाएकोमा भित्र भित्रै दंग थिए । पुर्याउने ठाँउ र मोलतोल गरिसकेपछी म आफ्नै नाम्लोले सुटकेस बाँधी बोकेर अघि अघि हिड्न थाले ।
होटेलमा उसले मलाई वियर र सुकुटी खुवायो । कति दिनदेखी लोकलले काम चलाईरहेको मलाई आज वियर निकै मिठो लाग्यो , बाटोमा उसले विदेशको विकास र कमाईको खुव गफ लगायो । मैले पनि आफुले दलाललाई पासपोर्ट बुझाएर आएको कुरा बताएँ । उसले आफू फिनिस आएको र अब मिलेसम्म अर्कै देश जाने बतायो ।
मेरो भिषा लागेछ, दलाललाई एक लाख विस हजार रुपैया बुझाएर म पनि विदेश गए । दुई बर्षपछी म पनि लाहुरे भएर फर्के । दर्वाङमा गाडीबाट झरेपछी भरिया खोज्दै गर्दा एकजना आएर भन्यो ''दाई भरिया चाहिने हो ? कालो अनुहार दुब्लो शरिर फुस्रो कपाल र मैला लुगा लगाएको मुखबाट ह्वास्स रक्सीको गन्ध आउने त्यही लाहुरे थियो जसको भारी मैले दुई वर्षअघी वोकेको थिँए ।
Comments