Skip to main content

Posts

प्रेम

अस्ति नै, उनीहरूले मलाई प्रेमको बारेमा धेरै सिकाउन खोजेका थिए । र पनि मैले बुझ्न सकिन कि, प्रेमको बारेमा । म सधैं, प्रेमलाई तौलिन खोज्थेँ व्यर्थका चिजहरूसँग गुन्द्रुकसँग, खोलेसँग । र, असारे झरीसँग । तर, आज आएर मलाई थाहा लाग्यो– प्रेम सागर रहेछ, सम्राटलाई तयार पारिएको चौरासी व्यञ्जन रहेछ । र, रहेछ माघमासको एउटा अति शान्त बर्षा जसले बेशीमा शीतलता अनि लेकमा, एक अञ्जुली हिमपुरी ल्याएर आउँछ ।                            ०६१ माघ

हामी भिखारी

हामी सबै भिखारी निरीह र विपन्न, आस्थाका भिखारी दयाका भिखारी र, परिवर्तनका भिखारी कृत्रिम आस्था घोकेर सिद्धान्त रटेर र, पिछलग्गु भएर व्यवहार शुन्यः बनेका हामी भिखारी आस्थाका । पिछडिएका अनि हुर्मत नभएका चेतनाशून्यः आत्मस्वाभिमान गुमाएका दया नपाई नबाँच्ने ओत नभइ बढ्न नसक्ने हामी भिखारी दयाका । मुठ्ठी नकस्ने संघर्ष वा आन्दोलन नहाँक्ने नबुझ्ने, नसुन्ने अनि बोध नगर्ने आशामा बाँच्ने तर केही नगर्ने सधैं पछि, अन्तिम र ओरालो झरेका हामी भिखारी परिवर्तनका ।

अमान्छे

तिमी आफू ठीक र अरू बेठीक तिमी जान्ने अनि बाँकी नजान्ने मात्र तिमी असल र अरू सबै खराब भन्दैनौ र गर्दैनौ, त्यसैले तिमी नयाँ प्राणी हौ हो, तिमी अमान्छे ! यदि तिमी विश्वस्त हुँदैनौ, चाकडी, चाप्लुसी र चम्चागिरीमा जबसम्म तिमीलाई लागिरहन्छ, सत्य, सत्य नै हो, असत्य, सधैं झुटो नै हुन्छ अब मलाई सन्देह लाग्दैन तिमीलाई भन्नलाई – ए अमान्छे ! जतिखेर तिमीलाई लाग्दैन तिमी बोल्यौ\बोलेनौ अरूलाई पोल्यौ\पोलेनौ, वा, त्यो पीडामा डुबिरहँदा तिमीले खित्का छोड्न जानेनौ, अब त साँच्चिकै प्रमाणित भयौ, तिमी संसारकै एकमात्र  – अमान्छे !

नागरिक चित्कार

केही नागरिकहरु आव्हान गर्दैछन् – दण्डहिनताको हु्ँदै भएन अन्त्य, आऔं नौला कुनै अपराध गरौं । केहि बु्रजुकहरु अपिल गर्दैछन् – अझै सुध्रिएन शासकहरुको व्योहोरा, आऔं यिनलाई बहिष्कार गरौं । आम मान्छेहरु सडकमा चिच्याई रहेछन् – देश हाँक्नेहरु हुँडार निक्ले, आऔं यिनलाई नैतिकता सिकाऔं । राष्ट्रवादीहरु विच सडकमा उफ्रिरहेछन् – देशप्रेमीहरु लोप हुन आँटे, आऔं हाम्रा छातिमा, आफ्नै देश खोजौं । तर, युग–युगदेखि म एक्लै भुत्भुतिरहेछु – कति खप्नु यस्तो पीडा ? आओ सबै पागल बनौं !

तरपनि जाति

काँडा हुन्छ गुलाफमा तरपनि जाति फूल्छ प्रीत करकापमा तरपनि जाति शुरु नभै सिद्धिएकी हाम्रा कुराकानी लुक्छ प्रीत तापमा तर पनि जाति रित्तिएकी सम्झना तिम्रा छातिभरीका दुख्छ प्रीत नापमा तरपनि जाति कहाँ छुटे हातहरु थाहै नभएर सुक्छ प्रीत रापमा तरपनि जाति

दशै

मेरो भित्तामा उभिण्डो परेको पात्रोले प्रत्येक शरदमा एउटा दौडको आयोजना गर्दछ – मेरो विवश नगरमा ! काठमाण्डु घोर्ले खसीको पछि दौडन्छ, बाजुरा उसिना चामलका लागि उछिट्टिन्छ । धरान फेसनको एक श्रृङ्खला बनाउँछ । सोलु हिउँको चीसो बतासमा कठ्याङिग्रएर रोइदिन्छ, दशगजा साँघुरिएर आफैभित्र थाहै नपाई बिलाईदिन्छ । सुनसान गल्लिहरुमा कर्कश आवाजहरु सुनिन्छ, भीडहरुमा आवाज गुपचुप भैदिन्छ, प्रत्येक शरदमा एक दौड हुन्छ, मेरो नगरमा । आशा लिएर आउने दौड आशा बोकेर लैदिन्छ, सफल होला कि भन्ने दौड निरर्थक भैदिन्छ, तथापी युग–युगदेखि प्रत्येक शरदमा एक दौड हुन्छ मेरो नगरमा । फगत एक दौड हुन्छ, मेरो विवश नगरमा !

खोला झै मान्छे

किनारामा बाँच्दै आइरहेको एक मान्छे, खोलाको अनियमित रफ्तारमा जिन्दगी छाम्दै भन्छ – छि ः यो जिन्दगी कहिले उर्लन्छ खोला झैं र, त सधैं पल्टिन्छ– बगरको ढुंगा भै । हिजै त हो, यहाँ माछाहरु भेटिन्थे लेकबाट झर्दै, मुढा पल्टिन्थे पानीका सतत् वेग देखिन्थे त्यसैले, माछा टिप्ने मान्छेहरु मुढा बटुल्ने मान्छेहरु र, वेगसित अतालिने मान्छेहरु थिए – खै, अचेल ? ती सबै कहाँ हराए ! त्यस्तै पाउँछ ऊ आफूलाई हिजाँल न कोही, न केही वर्षातमा उर्लेको खहरे र, हिउँदको त्यसैको वेग झैं ।