बाटोमा भेटिएका एक बृद्ध

यसपालीको यात्राको दोश्रो दिन बिहान ११ बजेतिर धारापानी पुग्नै आँटेका बेला हामीले तस्बिरमा देखिएका यी बृद्ध मानिसलाई भेट्न पायौं । परैबाट ती बृद्धले नमस्कार गर्दै हामी नेर आईपुगे । “म राँडो मान्छेलाई सज्योग (सहयोग) गरेर धर्म गर्नुस् साब ।” खानका लागि गाउँबाट लिएर आएको दुई तीन माना काँचा मकै पुरानो उध्रेको कोटबाट झिकेर देखाउँदै उनले भने – “हजुर, घरमा कोही छैन् (म एक्लो छु) । काममा कसैले डाक्तैनन् । खानका लागि हजुरहरु जस्तै दयालुहरुले दिएको दुई चार पैसा दामले खानेकुरा किनेर खाँदै बाँचेको छु हजुर । बृद्ध भत्ता दिन सचिव नानी पनि आउनु भएन ख्वै ? तपाइँहरुले बाटोमा भेट्नु भएन् ?” बृद्धको कुरा सुने पछि मलाई लाग्यो – मेरो देशमा यिनकै जस्तै नियती भोग्ने बृद्धबृद्धाको सँख्या कति होला ? अनि ती वृद्धहरु मध्ये कोही देशको बागडोर समाल्दै आएका राजनैतिक हर्ताकर्ताहरुका माता, पिता, बाजे वा बज्यै होलान् कि नाई ?! बृद्धप्रति एक मुठी अगाध दया वा माया के पलायो मलाई थाहा भएन् मैले उनको हातमा रु ३०।– को नोट राखिदिए, उनले बाटोको छेऊमै रहेको पातिको बुटाबाट केही पातहरु टिपेर मेरो कानमा पहिरिदैँ भने – साबको जय होस् । उनीबाट लगभग छुट्टिएर मेरा पाईलाले आधा कोषको बाटो नापिसक्दा पनि उनी यथावत उही स्थानबाट मतिरै हेरेर बसिरहेका थिए । मानौं उनले म जस्तो अर्को कुनै उनकै भाषाको एक ‘साब’ आउने प्रतिक्षामा केही घण्टा त्यहि प्रतिक्षा गरिरहेछन् ।
Post a Comment