Skip to main content

नेपाल, गणराज्य र अनुत्तरित प्रश्नहरू


महान् जनवादी पार्टी एकिकृत ने.क.पा. माओवादीले संविधानसभाले निक्र्यौल गर्नु पर्ने राज्य संरचनाको विषयलाई आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरेबमोजिम प्रस्तावित १५ वटा गणराज्यहरूको घोषणा आगामी पौष पहिलो सातासम्ममा गर्दैछ । सस्तो लोकप्रियता प्राप्तीको लालचमा होस् वा आफ्नो हैकमबादी अधिनायकत्वको पुनर्पुष्टिका लागि होस् माओवादीहरूले क्षणिक आवेश र उत्तेजनामा आएर नेपाल र नेपालीको भविष्यलाई दिर्घकालिनरूपमा खतरनाक मोडमा लगेर उभ्याउने भगिरथ प्रयास गर्दैछन् । उनीहरूको यो अपरिपक्व र केटौली पाराले देश निकट भविष्य मै मुठभेडको स्थितीमा पुग्ने अवश्यंभावी छ । जातियताका आधारमा संघिय गणराज्यको नाम दिएर माओवादी नेतृत्वले सिंगो नेपालको रूपलाई टुक्रा टुक्रा पार्ने दिशातिर आफ्ना ध्यानलाई आकृष्ट पारेको छ । नेवारहरुको बाहुल्यता भएको राज्य – नेवा गणराज्य, तामाङ्हरूको बाहुल्यता रहेको राज्य – ताम्सालिङ् गणराज्य, यसैगरी मगराँत, लिम्बुवान, खम्बुवान, खस, मिथिला आदि ईत्यादि । उनीहरूको यो हदको केटौली पाराले देशवासीलाई सशंकित पार्नु अस्वभाविक विषय हुनै सक्दैन् । नेपाली जनताहरूले विस्तारै माओवादीको क्रान्तिकारीता र राष्ट्रवादितालाई नजिकैबाट बुझ्ने र अनुभव गर्ने मौका पाएका छन् ।
जनता निरुत्तर छन् – १०० भन्दा बढी जाती र जनजातीले बसोबास गर्ने यो सानो हिमाली राज्यमा यसरी जातीयताका आधारमा देशलाई संघिय गणराज्य घोषणा गर्दै जाने हो भने भोली यो देशको हविगती कस्तो रहला ? के यो देशलाई जातियताका आधारमा संघियतामा लैजाँदा मात्र १५ वटा जातीय गणराज्य स्थापना गरेर सम्पूर्ण जाति जनजातीलाई समेट्न सकिन्छ त ? यसरी जातीय गणराज्य स्थापना गर्दा चेपाङ्हरूलाई छुट्टै राज्य नचाहिँएला ? छन्त्यालहरूको आफ्नै राज्य नहुने ? त्रिशुली र कर्णालीमा माछा मार्दै जिवीका चलाउने माझीहरूले आफ्नै गणराज्यको महत्वकांक्षा नराख्लान् ? यी प्रश्नहरू अनुत्तरित नै रहन्छन् र आज संघिय संरचनामा दलहरू उपयुक्त निर्णय लिनबाट चुके भने भोली देशको भविष्य गम्भिर संकटमा पर्न सक्ने सम्भावनलाई हामी कसैले नकार्न मिल्दैन् ।
२०६६ जेष्ठ १४ गते आउने भनिएको गणतान्त्रिक नेपालको संविधानमा ६०१ जना राजस्वमा ब्रम्हलुट गरिरहेका संविधानसभाका सदस्यहरूले नेपालको संघिय स्वरुपको कस्तो संरचना कोर्ने हुने त्यो त भविष्यको गर्भमा नै छ । तथापी नेपाली प्रजातान्त्रिक आन्दोलनको सबभन्दा पाको राजनैतिक दल नेपाली काङ्ग्रेसले राज्यको संघिय संरचनाका सम्बन्धमा आफ्नो दलको प्रस्ताव पनि ल्याउन नसक्नु कति दुखदायि छ होला ? ने.का.को पटक पटकको केन्द्रिय समिति बैठक र संसदीय दलको बैठकले यस विषय सम्बन्धी आफ्नो प्रस्ताव ल्याउन नसक्नु यति लाजमर्दो छ कि मानौं अब देश सञ्चालन र व्यवस्थापनमा काङ्ग्रेसको भुमिका अवसान हुने तयारीमा छ । उता संविधानसभामा राज्यको संघिय संरचनामा आवश्यक छलफल र विचार विमर्श गर्न राजनैतिक दलका नेतृत्वहरू संवेदनशील नहुने र यता माओवादीले क्षणिक लहैलहै र उत्तेजनामा अन्तरिम संविधान र शान्ति प्रक्रियाका विभिन्न चरणमा भएका सम्झौताको भावना विपरीत गणराज्य घोषणा गर्दै जाने हो भने, एउटा कुरा निश्चित छ – न यो देशमा जनताको संविधान बन्छ न त यो कुनै संघिय राष्ट्र नै । यो विकसित घटनाक्रमले नेपाली जनतालाई उत्प्रेरित गरिरहेछ, एउटा अर्को भयानक जनआन्दोलनको तयारीका लागि ।
Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…