एक विवश नागरिक र उसको दैनिकी

आज मैले बढो दुःखको साथ यहाँहरूले जानकारी पाइसकेको कुरोलाई मेरो आफ्नो बुझाइका आधारमा केहि लेख्ने कोशिस गरेको छु । शुरूमा त मलाई हाम्रो देशको यो फोहोरी राजनीतिका विषयमा टिकाटिप्पणी गर्न के आवश्यक छ र भन्ने महशुस भयो । तर एक सचेत नेपाली नागरिक भएको महशुस भएपछि मैले आफूलाई रोक्न सकिन र मेरा औलाहरू कि–बोर्डमा एकतमास नाच्न शुरू गरे । यतिखेर रात्रीको नौ बजेर २५ मिनेट गैसकेको छ । भोली बिहान सबेरै उठेर बिहानी कक्षाका लागि कलेज जाने श्रीमतीको कामलाई सम्हाल्नु र छोरीलाई हेर्नु मेरो नियमित जिम्मेवारी नै हो । अहिले ढिला गरेर सुते भने भोली उठीसक्दा मेरो निद्रा पुग्ने छैन र मलाई आफ्नो कार्यसम्पादनमा निकै नै अप्ठ्यारो हुनेछ भन्ने थाहा हुँदाहुँदै पनि मैले आफ्नो भावनालाई यहाँ रोक्न सकिरहेको छैन् । 
शुरु कहाँबाट गरूँ ? जब लेख्नका लागि एउटै विषयका थुप्रै उपविषयहरू प्राप्त हुन्छन् अनि म जस्ता भर्खर लेख्न थालेका मान्छेहरूलाई विषयप्रवेश सबभन्दा ठूलो चूनौती बनिदिदों रहेछ । मलाई यसबखत झल्झल्ती याद आइरहेको छ त्यो बखत जतिखेर निरंकुश भनिएको राजतन्त्रको समाप्तीका लागि छाति खुल्ला राखेर म सडकमा चिच्याईरहेको थियो – आफ्ना केहि साथीहरूसँग । हुन त मेरो कुनै राजनैतिक हैसियत थिएन र छैनपनि तथापि एक शुद्ध नेपाली नागरिकका हैसियतले मैले लगातार १९ औं दिनसम्म राजतन्त्र मुर्दाबादको नारा बेनीका सडकमा घन्काइरहेँ । मलाई यो पनि याद छ – बैङ्करोड स्थित होटल डल्फिन अगाडि म आन्दोलनमा यति मस्त थिएँ कि प्रहरीको समूहबाट चार्ज भएको झण्डै एक पाउको ढुंगा मेरो घुँडामा आएर बज्रिदा सम्म मैले मुठभेढको केहि अत्तो पाएको थिइन । प्रहरीले आन्दोलनकारीलाई लखेट्न शुरू गर्‍यो । म त्यहि होटलको अगाडी रहेको टिनको छाप्रोमाथि उक्लेँ अनि छानैछानो माथि चढि ने.बै.ली बेनीको ठीक सामुन्ने रहेको शेरचन रेष्टुरेन्टबाट केहि युवा आन्दोलनकारीहरूसँग मिलेर प्रहरीतिर इट्टा हुर्‍याउन थालेँ । प्रहरी कुन चट माथि उक्लीसकेछन् कहाँ पत्तो पाउनु मैले एक लौरो डाढमा बज्रे पछि म अर्धचेत होशमा फेरि छानैछानो सञ्जय फोटो स्टुडियो तिर “तुफान” हानिएँ । दुई तीन जना प्रहरीहरू म लगायत केहि साथीहरूको पिछा गर्दै थिए तर स्वतन्त्रता र न्यायका लागि लड्नलाई सडकमा उत्रेका हाम्रो गतिलाई उनीहरूले पछ्याउन सकेनन् । म अनि मसँगै दौडेका आन्दोलनकारीहरू बच्न सफल भयौं । आन्दोलन सफल भयो भनियो । नेताहरूले भनेपछि म जस्ता सामाजिक हैसियत र प्रभाव नभएका जनताहरू (भन्नलाई जनता भनिए पनि दास झै बनाइएकाहरू) ले मान्नै पर्ने हाम्रो आफ्नै खाले विवशता थिए । तै हामी नेताहरूको जीतका लागि खुशि भैदियौ । हामी आन्दोलनमा न माओवादी थियौं, न कांग्रेस न त एमाले वा अन्य कुनै दल विशेषका मान्छे नै ! हामी नेपाली थियौ र मात्र नेपालीका हैसियतले त्यो महासंग्राममा होमिएका थियौं । आन्दोलन पनि सकियो र हामी पनि विभाजित भयौ । 
अब हामीले नेपालीको स्वार्थ होइन कि आफ्नो दल विशेषले उठाएको मुद्दालाई प्राथमिकताका साथ वकालत गर्न थाल्यौं । यसरी विभिन्न दल र सिद्धान्तमा विभाजित हामीहरू संविधान बनिसक्नु पर्ने समयसम्म आइपुग्दा समेत प्रधानमन्त्रीको निर्वाचनमा रनभुल्लमा परेका छौं । आन्दोलन ताका हाम्रा मुक्तिका कुरा गरेर नथाक्ने दलका नेताहरू संविधानसभाको निर्वाचनपछि प्राप्त आफ्नो वास्तविक रोल नं. लाई बिर्सेर कुर्सी तानातानको रमितामा मस्त हुँदा हिजो निस्वार्थ भावले आन्दोलनमा सहभागि हामी निरीह नेपालीहरू आज नेताहरूले मञ्चन गरेको नाटकको रमिते बन्न पुगेका छौं । कस्तो लाजमर्दो विषय हो यो ? राष्ट्रिय सहमति गरेर संविधान निर्माण गर्ने समय गुज्रिसक्दा समेत आफ्नो गम्भिर त्रुटीलाई सच्चाउन पट्टि नलागेर दलका नेताहरू द्रब्य शाहको बिम्बको रूपमा आफूलाई सारिरहेका छन् । यिनका उम्मेदवारी नितान्त यिनकै मर्जीले सम्म भएको भए पनि सन्तोष मान्नु पर्ने ठाउँ सम्म सुरक्षित हुन्थ्यो । तर, त्यो पनि रहेन्, जब यिनीहरू स्वयं सञ्चालित छन् अरू कसैबाट ! यिनीहरूलाई सञ्चालन गर्ने को हुन् भनेर ? हामी जनताहरूले यिनीहरूलाई कहिल्यै प्रश्न समेत गरेका छैनौं, स्वयं यिनीहरूले समय–समयमा एक अर्कालाई आरोप लगाउँदै आएका बेला आफैले स्विकारेका छन् । हामी हाम्रो साउथ ब्लकमा पर्ने घनिष्ट मित्रशक्ति भारतबाट सञ्चालित छौं । थुक्क ! कुन र कस्तो अर्थ दिने शब्द खोजूँ म नेपाली शब्दसागरमा, यी हरामखोरहरूलाई मनभरी शितलता आउने गरी गालि दिनलाई ? मलाई आग्रह गर्न मन लागेको छ– शब्दविद बसन्तकुमार शम्मा (जो हालसम्मकै सर्बाधिक शब्दहरू समेटेर तयार पारिएको नेपाली शब्दकोष “शब्दसागर” का संकलक हुन्) लाई कि एउटा यस्तो शब्दको श्रीगणेश गर्नुपर्‍यो, जो हाम्रा गैर्‍हजिम्मेवार यी चोर नेताहरूलाई गाली दिनैका लागि प्रयोग गर्न सकियोस् र जसको प्रयोगपछि प्रयोगकर्ताको मन शान्त रहन सकोस् । अर्थात् शब्दको प्रयोग पछि मन आल्हादित हुन सकोस् । 
संविधान सभाको निर्वाचनको उद्देश्य नै २ वर्षभित्रमा नेपाली जनताले आफ्नो मताधिकार प्रयोग गरि निर्वाचित गरी पठाइएका जनप्रतिनिधीहरूले संघिय गणतान्त्रिक नेपालका जनताहरूलाई नेपाली माटो र हावापानी सुहाउँदो संविधान निर्माण गर्ने ! तर दुई वर्षभित्रमा त्यो सम्भव हुन सकेन । राजनैतिक दलका नेताहरुले आफैले तोकेको समयसिमाभित्र संविधान निर्माण गर्नु त परै जाओस् उल्टो जनताको आँखोमा छारो हालेर “संविधान लेखिसक्ने” बहाना बनाएर थप एक वर्षको लागि आफ्नो जागिर पक्का गरे । तर हामी विवश, लाचार र निरीह नेपालीले उनीहरूको यो सब चालीमालीलाई बुझ्न कहाँ सक्नु ?
Post a Comment