के छैन हाम्रो देशमा ? - सबथोक छ !

“म कम्युनिष्ट हुँ, मलाई दलित सलित थाहा छैन् । म त चित्रे (एकजना दलित साथी) ले छोए पनि खान्छु । मलाई यस्तो जातभात र छुवाछुत मन पर्दैन । आफू त कम्युनिष्ट हुँ । कम्युनिष्टले जातीपाती मान्दैनन् ।” कक्षा २ मा अध्ययनरत रहँदा मैले मेरा कक्षाका साथीहरुसँग आफू कम्युनिष्ट भएको फूर्ति लगाउँदै भन्ने गरेका ई वाक्यहरु आज स्मरणमा ताजा हुँदा मन झसंग भएर आउँदछ । हामी कक्षामा कोही कांग्रेस, कोही एमाले र कोही राजावादीका छोराछोरी थियौं । आयश्रोत कमजोर भएका परिवारबाट आउने म जस्तै अरु साथीहरु सबै एमाले थियौं । दुईचार पैसा आम्दानी भएका परिवारबाट आउनेहरु कांग्रेस अनि राजावादी थिए । कांग्रेसीहरु जय नेपालको अभिवादन टक्रयाउथे, हामीहरुलाई सबभन्दा अप्रिय लाग्ने कुनै शब्द थिए भने ती दुई शब्द “जय नेपाल” नै थिए । यी शब्दहरु किन बिझाउँथे मैले अहिले सम्झन सकिनँ । तर हाम्रो तुलनामा जय नेपालमा हाम्रो लालसलाममा जस्तो दम थिएन ।
दाहिने हातलाई दर्‍हो पारेर मुठ्ठी कसेर टाउको माथि पुर्‍याए पछि हाम्रो गज्जबको लालसलाम तयार हुन्थ्यो । अनि मलाई यस्तो पनि लाग्थ्यो — छि ः यिनीहरुको के खालको अभिवादन हो ? हात, खुट्टा, मुन्टो अनि मुखाकृति जस्ताको तस्तै छ, मुखबाट फुत्त “जय नेपाल” भन्ने शब्दहरु ओकले भयो । कस्तो तरिका हो, यिनीहरुको ? हाम्रो जस्तो दर्‍हो अभिवादन पो अभिवादन । यस्ता पनि अभिवादन ? अनि कम्युनिष्ट ठानिएका अरु साथीहरुसँग कानेखुशी गर्थे — यस्ता झारपात अभिवादन, हैं ! त्यसपछि लामो हाँसो छुट्थ्यो, हामी कम्युनिष्टहरु माझ । आज अचम्म लाग्दछ मलाई, हैन त्यस्तो विधी के राजनीति लागेको होला ? अझ कक्षाको मनिटर छनौटको समयमा त झन संसदीय निर्वाचन जस्तो । सम्झना अझै ताजा छ, म नील पुन (२०५१ को आम निर्वाचनमा एमालेका तर्फबाट म्याग्दीबाट विजयी उम्मेदवार) भएर भाषण गरेको क्षण ! ती लहैलहै कसरी आएका त्यसरी ? मसँग उत्तर छैन् अहिले । राजनीतिको आफ्नै बाटो हुन्छ, साँच्चीकै राजनीति गर्नेहरु अराजनीतिक गतिविधीमा बढी व्यस्त हुँदै आएको हाम्रो लागि नौलो विषय नै रहेन । 
अहिले लाग्दछ, न जय नेपाल भन्नेहरुले नेपालको जय गरे, न लालसलाम भन्नेहरुले सर्वहाराकै हित गरेका छन । ती त अभिवादनका नाममा गरिब, असहाय र देशप्रेमी जनताहरुलाई झुक्काउने खेल मात्र रहेछ । नत्र २१ वर्ष भैसक्यो देशमा बहुदलीय व्यवस्था आएको, खै त कहाँ भएको छ नेपालको जय ? १८ घण्टा सम्म जनताहरु अँध्यारोमा बस्न बाध्य छन् । दुरदराजका गाउँहरुमा न पर्याप्त स्वास्थ्य चौकी छन्, न स्वास्थ्य चौकीका बोर्ड टाँगिएका भवनभित्र सामान्य औषधी छन् । अरु त अरु झाडा पखालाले मर्न विवश छन् जनताहरु । जहाँ प्रकोप पिडीत जनताहरु भेट्न सरकारी अधिकारी हेलिकप्टरमा जान्छन् र औषधी तथा राहतका सामाग्री खच्चडमा लोड गरेर पठाइन्छन् । मान्छे मरेर क्रिया उम्किदाको दिन औषधी पुग्छ । अचम्म छ । तर नेताहरु रुघा लागे तिनै जनताले तिरेको राजस्वको खर्चमा भारत, सिंगापुर, बैंकक र अमेरिका पुग्ने व्यवस्था पनि छ,  हाम्रै देशमा । 
विधार्थी छन्, शिक्षक छैनन् । विधालयका नाममा भवनको भित्ताहरु छन्, तर कहाँ हुनु छाना ? चौरमा बसेर पढ्छन साना बालबालिकाहरु । फेरि चर्को बहछ हुन्छ हाम्रै देशमा, बालअधिकारको विषयमा । सडक छन् तर सवारी गुड्न मिल्ने हैसियतका छैनन् । सडक आयोजनाहरु नबनेका पनि हैनन्, बन्छन् तर दोहोरो धूलौटो ट्रयाक खोल्न ५२ बर्ष (हेर्नुस लिंक http://www.ekantipur.com/np/2067/5/30/full-news/317826/) लाग्दछ । धारा छन् तर पानीको थोपा चुहिँदैन । नदी छन शहरका बीचै बीच बग्ने । तर नदीमा पानी हैन ढल बग्छ । न्यायलय पनि छन् तर न्याधिस नै भष्ट्रचारको अभियोगमा जेल पर्छन,                                                                                         (हेर्नुस् लिन्क http://www.nagariknews.com/politics/party-politics/18249-2010-09-14-15-52-40.html) । अब तपाई नैं अनुमान गर्नुस, कति मर्यादित छ हाम्रो देशको व्यवस्था, राज्य सञ्चालनको मूल्य र मान्यता । खेलकुद रंगशाला पनि नभएका होइनन् त्यहाँ खेल होइनन् राजनीतिक सभा, सांस्कृतिक प्रदर्शनी र आन्दोलनको घोषणा पो हुन्छन ! नेता र पार्टी त विश्वभरका जनतालाई पुग्ने छन् । अरु त के कुरा सरकार नै २४ दलले चलाएका थिए, एकताका । 
अचम्म छ । दावी नगरेर मात्र हो, नत्र त हरेक कुरामा विश्व रेकर्डलाई काफि हुने विषयवस्तुहरु छन्, हाम्रो देशमा । हाम्रो देशमा देशद्रोही नेताहरु छन् र त्यत्तिकै संख्यामा मुर्ख जनताहरु पनि छौं ।
बाँकी फेरि फेरिलाई !

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)